एकदिन प्रोफेसरले आफ्नो कक्षामा पस्ने बित्तिकै आफ्ना विद्यार्थीहरुलाई आज सरप्राइज टेस्ट लिने बारेमा बताए । कक्षा कोठामा एकै पल्ट तनाव फैलियो । विद्यार्थीहरु नजिकका आफ्ना साथीहरुसँग मुखामुख गर्न थाले ।
त्यतिकैमा प्रोफेसरले हरेक विद्यार्थीलाई एउटा सेतो पाना बाड्दै हिड्न थाले । ज-जसले त्यो कागज हातमा पारे, ति झन् तनावमा र कौतुहल देखिए किनभने सेतो पानामा केहि पनि लेखिएको थिएन । जब प्रोफेसरले सबैलाई एक एक पाना सेतो कागज बाडिसकेँ तब कक्षाको अगाडी आएर भने, “तपाईहरुसँग अब १० मिनेटको समय छ । तपाईले मैले दिएको सेतो एक पाना कागजको बारेमा लेख्नुहोला । धेरै अफ्ठ्यारा र ठुला कुराहरु लेख्न पर्दैन, त्यो सेतो पानामा जे देख्नुहुन्छ, त्यसकै बारेमा लेख्नुहोला ।”
यति सुने पछि विद्यार्थीहरुले त्यहि सेतो पानामा लेख्न थाले ।
१० मिनेट समय बिते पछि प्रोफेसरले ति सेतो पाना उठाएर जम्मा पारे । र, सबैको अगाडी ति पानामा लेखिएका कुराहरु पढ्न थाले । लगभग सबै जसो विद्यार्थीले सेतो पानाको बिचमा भएको सानो कालो टिकोको बारेमा लेखेका थिए । कसै कसैले त पुरा पेज नै ध्यान लगाएर हेर्दा मात्र देखिने त्यो सानो कालो टिकोका बारेमा मात्रै लेखेका थिए ।
सबैको लेख पढिसके पछि प्रोफेसरले भन्न थाले, “सबै भन्दा पहिलो कुरा, तपाईहरुको यो टेस्टबाट तपाईहरु कसैलाई पनि म नम्बर दिने छैन । म त केवल तपाईहरुलाई केहि काम दिन चाहन्थेँ जसले तपाईहरुलाई केहि सोच्ने बनाओस् ।
लगभग सबैले नै आफ्नो लेखमा त्यो मसिनो कालो टिकोको बारेमा लेख्नु भयो तर कसैले पनि त्यो कागजको सेतो भागका बारेमा भने दुई हरफ पनि लेख्नु भएन । सबैको ध्यान केवल त्यहि कालो टिकोमा मात्रै गएछ । दुखको कुरा, हाम्रो जीन्दगीमा पनि सँधै यस्तै हुने गर्छ ।
हामी सबैसँग त्यहि सेतो पाना जस्तो जीवन हुन्छ, जसको हामी आनन्द लिन सक्छौ तर हामी त्यसको वास्ता नगरि केवल जीवनको त्यस्तै सानो कालो टिकोको बारेमा मात्रै सोचिरहन्छौँ । हामी सबैको जीवन समय र प्रकृतिले दिएको सबै भन्दा राम्रो उपहार हो जसमा साह्रै धेरै माया र करुणा भरिदिएको छ । हामीसँग खुसी हुने कयौँ कारणहरु छन् । संयोगले कसैसँग सबै राम्रा कुरा हुन्छन् र कसैसँग अलिकति थोरै । हामी कसैसँग केहि राम्रा साथीहरु होलान् । हामी कसैसँग राम्रो र मायालु परिवार होला । कसैसँग एउटा राम्रो जागिर होला । बस्नका लागि राम्रो घर र जीवनसाथी होला । हाम्रो दिनहरु अघिल्लो दिन भन्दा केहि न केहि फरक हुन्छ र केहि न केहि रमाइलो हरेक दिन हुन्छ ।
यति धेरै राम्रा कुराहरु हुँदाहुँदै पनि हाम्राे ध्यान चै जीवनको त्यहि कालो टिको तिर मात्रै जान्छ । कहिले स्वास्थ्यको समस्या कालो टिको भएर बस्छ । कहिले पैसाको कमि कालो टिको भएर बस्छ । कहिले सम्बन्धका समस्याहरु, कहिले साथीहरुसँगको मनमुटाव, कहिले परिक्षा त कहिले नोकरी र जागिरका समस्याहरु ।
यदि हामी जीवनमा देखिएको त्यो कालो टिकाबाट ध्यान हटाएर हेर्ने हो भने हाम्रो जीवनमा त्यो कालो टिको भन्दा सेतो भाग नै धेरै हुन्छ । हामी हरेकले भोगिरहेको जीवन लाखौँका लागि सपना जस्तो मात्रै हुन्छ होला । हामीले पाएको सफलता पाउँन लाखौँ मरिमेटेर लागेका होलान् तर त्यहि सानो कालो टिकोले हाम्रो दिमाग नै रित्तो बनाइदिएको हुन्छ ।
हामीले हाम्रो ध्यान कालो टिकोबाट उठाएर सेतो भागमा लगाउँनु पर्छ । जीवन यसै उज्यालो छ, यति भए जीवन झन् चम्किलो हुन्छ ।”
त्यसपछि प्रोफेसर चुपचाप कक्षाबाट निस्किए । विद्यार्थीहरुले निकै बेर शान्तसँग प्रोफेसर निस्किएको ढोका हेरिरहे ।
साथीहरु, सकारात्मकताले जीवनका दुखहरु जादुको छडी जस्तो गरेर हटाइदिदैन तर यसले हाम्रो जीवनलाई अर्थपुर्ण बनाइदिन्छ । सकारात्मकताले अँध्यारो नहटाउला तर यो अँध्यारो रात पछि बिहानी आउँछ भन्ने आशा देखाइरहन्छ । जीवन भनेको दुखै दुख र सुखै सुख मात्र होइन । दुख सुख नै त जीवन हो । त्यहि सुखदुखमा हामीले गर्ने व्यवहार नै त हाम्रो जीवन हो । सकारात्मक सोच्ने मान्छेहरु दुख पर्दा पनि आत्तिदैनन् र समाधानमा चाँडो पुग्छन् । अफ्ठ्याराहरु थप कसिला हुनु अगाडी नै खुकुलिन थाल्छन् ।
यसैले, सकारात्मक बनौँ र जीवनको उज्यालो पाटोमा ध्यान दिउँ ।
नोट : हिन्दी फेसबुक पेजबाट भावानुवाद गरिएको ।
तपाईलाई यो कथा कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप कथा तथा लेखहरु पाउँन सक्नु हुनेछ ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।
अति उत्तम लेख पढ्न पाइयो