फिल्म हेर्दाका १० वैज्ञानिक फाइदाहरु जाने पछि भन्नु हुनेछ, फिल्म हेर्नै पर्छ

फिल्म तिन कारणले चल्छ – मनोरञ्जन, मनोरञ्जन, मनोरञ्जन । एउटा हिन्दी फिल्मको चर्चित भनाईलाई नेपालीमा अनुवाद गर्दा यस्तो हुन्छ । फिल्ममा राखिएको यो संवादका कारण मात्रै होइन, प्राय: मानिसहरु फिल्म हेरेर पाउँनु पर्ने कुरा मनोरञ्जन मात्रै हो भन्ने सोच्छन् ।

र, यो धेरै हदसम्म सत्य पनि हो तर यसको अर्को पाटो पनि हेरौँ । फिल्म हेरेर केवल मनोरञ्जन मात्रै पाइने होइन ।

सामान्यरुपमा हेर्दा पनि फिल्म यस्तो झ्याल हो, जहाँबाट हामी कहिलै नपुगेको अर्कै संसार चियाउँन सक्छौँ । फिल्मले हामीलाई यस्तो ठाउँमा पुर्याउँछ जसलाई हामी केहि क्षण भोगिरहेको अनुभव पनि गर्न सक्छौँ ।

फिल्म यति शक्तिशाली साधन हो जसले हामीलाई हाँसो, रोदन, पिडा सबै छोटो समयमा अनुभव गराउँन सक्छ । फिल्मको यहि शक्ति र विशेषतामा आधारित भएर अहिले मनोचिकित्सकहरुले फिल्म थेरापीको अवधारणा अगाडी बढाइरहेका छन् ।

फिल्म थेरापी यस्तो चिकित्सकिय अवधारणा हो जसमा फिल्ममा हुने संवेदनाहरुको सघनतालाई प्रयोग गर्दै मानिसहरुको मानसिक समस्याको निदान गरिन्छ । यसो भन्दैमा फिल्म थेरापीमा फिल्म देखाइने मात्र होइन । टिभी सिरियल लगायत भनाई तथा उद्दरणहरु, कमेन्ट र स्टाटसहरुलाई पनि अहिले फिल्म थेरापीमा प्रयोग गरिन्छ ।

फिल्म थेरापी केवल मानसिक रोगीहरुको उपचारमा मात्र सहयोगी हुने होइन । फिल्म हेर्नुले सामान्य तथा स्वस्थ मानिसहरुको स्वास्थ्यमा पनि फाइदा पुर्याइरहेको हुन्छ ।

१. फरक संसारको यात्रा दिमागको ताजापन

फिल्म हेरेको अवधीमा तपाई आफ्नो संसारबाट एकछिन छुट्टिनु हुन्छ । जति कथामा डुब्दै जानुहुन्छ, उति नै तपाई आफ्नो नियमित तथा आकस्मिक समस्याहरुबाट पनि केहि बेर विश्राम लिन पाउँनु हुन्छ ।

यस्तो अलगपनाले दिमागलाई शान्त र ताजा बनाउँछ । दिमागमा स्फुर्ति थपिदिन्छ । यो समयलाई तपाईले आफ्नो शक्ति सञ्चयको समय हो भन्न सक्नुहुन्छ ।

२. आफ्ना नकारात्मक विचारहरुको लेखाजोखा गराउँछ

वास्तविक जीवनमा नायक कि खलनायक छुट्याउँन गाह्रो हुन्छ । कसैका लागि नायक भएका मानिस कसैका लागि खलनायक भएका हुन्छन् तर फिल्ममा नायक र खलनायक छुट्याउँन गाह्रो हुन्न ।

वास्तविक जीवनमा सकेसम्म कोही पनि खलनायक बन्न चाहदैन । खलनायकको अवस्था आफुसँग मिलेमा मानिस हच्किन्छ । आफ्नो विचार र कर्मको लेखाजोखा गर्छ ।

३. यसले तपाईका समस्याहरुमा केन्द्रित हुन सिकाउँछ

तपाईको कुनै पनि कुरामा ध्यान भंग भइरहन्छ भने फिल्म हेरुञ्जेल हुने ध्यानले आफ्नो त्यो समस्या समाधान गर्न मद्दत गर्छ । यस्तै फिल्ममा भएका कुनै पात्रहरुको समस्यामा दर्शकका रुपमा तपाई स्वयमले आफ्ना समस्याहरुसँग तुलना गर्नुहुन्छ । सो पात्रले आफ्नो समस्यालाई कसरी ग्रहण र त्यसको निराकरणका लागि के गर्यो भन्ने कुराले तपाईलाई आफ्नो समस्याहरुमा केन्द्रित हुन सजिलो बनाउँछ ।

४. अवास्तविक घटना तर वास्तविक पाठ

फिल्म हेर्दा तपाईले कुनै पनि वास्तविक पिडा नभोगी अनुभव लिन पाउँनुहुन्छ । त्यो अनुभव दुख वा सुखको मात्र नभएर सफलता वा असफलताको पनि हुन सक्छ । फिल्मको पात्र र घटना तपाईको लागि पाठ हुन सक्छ ।

त्यस्तै केहि कुरा गुमाउँदा देखाइने प्रतिक्रियाको पनि मानक बनाउँछ । जस्तै : असफलता वा सफलता पछाडी पात्रले गर्ने गतिबिधीले तपाईलाई त्यो सहि कि गलत भन्ने छुट्याउँने मौका दिन्छ । जुन तपाईले आफ्नो जीवनका लागि पाठ हुन सक्छ ।

५. सन्देश र आशा

पात्रहरुले बोल्ने संवाद तथा सम्पुर्ण फिल्मको कथाले हामीलाई जीवन उपयोगी सन्देश दिइरहेको हुन्छन् ।

सकारात्मक र मिलनमा गएर सकिने फिल्महरुले तपाईलाई सकारात्मक बनाउँछ । आफु जस्तै भोगिरहेको पात्रले फिल्ममा नै भए पनि सफलता पाए आफ्नो पनि सम्भावना छ भन्ने आशा दिइरहन्छ । तपाईमा निराशा कम हुन्छ र संघर्ष गर्ने शक्ति बढ्छ ।

६. फिल्मले मनको बोझ बगाउँछ

रुनुलाई मनको बोझ बगाउँने पनि भनिन्छ । कति कुराहरुमा हामीले आवश्यक प्रतिक्रिया नदेखाउँदा कुण्ठाका रुपमा मनभित्रै रहेका हुन्छन् । फिल्ममा हुने भावुक दृष्यहरुमा आँशु बगाउँदा तपाईलाई आफ्नो मनको बोझ हटाउँन सहयोग गर्छ ।

फिल्म हेर्दा रुने मानिसहरु रोइ सकिए पछि शान्त, ताजा र सृजनशील भएको अनुभव गर्छन् ।

७. डरसँग परिचय गराउँछ

फिल्मले तपाईको आफ्नो मनभित्रको डरसँग परिचय गराउँछ । तपाईले जब आफु भित्र कुनै वस्तु, पात्र, स्थान वा घटनाबारे डर भएको स्पष्ट अनुभव गर्नुहुन्छ तब त्यो डर निदानका बारेमा काम गर्न पाउँनुहुन्छ । यस्तै पटक पटक आफुलाई डर लाग्ने बिषयसँग फिल्मकै माध्यमबाट भए पनि सम्पर्क भइरहदा त्यो सामान्य हुन थाल्छ ।

८. फिल्मले सिर्जनशील थप्छ

फिल्म खाली पात्रहरुको घटनाक्रम मात्रै होइन । हरेक दृष्य तथा प्रयोग भएका साधनहरुले नयाँ संसार देखाइरहेको हुन्छ । साइन्स फिक्सन फिल्महरुले संसारमा विज्ञान कति चमत्कारिक भइसक्यो वा कति चमत्कारिक हुन सक्छ भन्ने छनक दिन्छन् । त्यस्तै धेरै बिषयवस्तुहरु हुन्छन् जसले हामीलाई त्यसबारेमा जानकारी दिन्छ ।

यस्ता कुराले हामीले देख्ने, सोच्ने र कल्पना गर्ने परिधी फैलाउँछ । हामीलाई सोच्न र सिर्जनशील हुन नयाँ बाटो थपिदिन्छ ।

९. व्यक्तिगत सम्बन्ध राम्रो बनाउँछ

पारिवारिक वा साथीभाईसँग फिल्म हेर्न जानु सम्बन्धका लागि मात्रै होइन, दिमागी ताजापनका लागि पनि गजब राम्रो साधन हो । यसले सम्बन्धमा मजबुती थप्छ ।

त्यस्तै फिल्म हेरिसके पछि राम्रो छ भने आफ्ना साथी तथा आफन्तहरुलाई सिफारिस गरिन्छ । त्यस्तै फिल्म हेरेर पछि सो फिल्मका बारेमा कुरा गर्नाले सामाजिक सम्बन्ध बढाउँछ भने सम्बन्धहरुमा पनि आत्मियता थप्छ ।

१०. सोच्ने क्षमता बढाउँछ

फिल्म हेर्दा हरेकको मनमा फिल्मको कथा, संवाद वा दृष्यका बारेमा केहि न केहि कुराहरु आइरहन्छन् । कुन दृष्य कस्तो हुनु पर्थ्यो वा कुन संवाद कस्तो भए झन् मिठो हुन्थ्यो भन्ने कुरा सोच्न सकिन्छ । फिल्मका बारेमा सोचिने यस्ता कुराहरुले तथा टिप्पणीले तपाईको तर्क गर्ने तथा सोच्ने क्षमता वृदि गर्छ ।

फिल्म हेर्न याद गर्नु पर्ने कुराहरु

हरेक फिल्म हरेक मानिसका लागि उपयुक्त हुन्छ भन्ने हुदैन । तपाईलाई कुन बिषयमा इच्छा छ भन्ने कुराले फरक पार्छ । आफ्नो रोजाइको बिषयमा भएका फिल्महरु हेर्दा माथि उल्लेख गरिएका फाइदाहरु पाउँन सकिन्छ ।

यसका अतिरिक्त आफुले हेरिरहने भन्दा फरक किसिमका फिल्महरु समय समयमा हेर्ने गरे नयाँ स्वाद पाउँन सकिन्छ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment