धेरै मानिसहरुको तर्क हुन्छ । खुसी हुने साधनका रुपमा सैद्धान्तिकरुपमा धेरै कुराहरु भन्न सकिएला तर व्यवहारिकरुपमा खुसी हुनका लागि आजको संसारमा एउटा कुरा प्रशस्त आवश्यक पर्दछ, त्यो हो पैसा । मानिसहरू खुसी हुनका लागि आफुसँग प्रशस्त पैसा भए हुन्छ भन्ने ठान्दछन् तर के पैसा भएका सबै मानिसहरु संसारका खुसी मानिसहरुको सूचिमा अग्रस्थानमा पर्छन् त ? हाम्रो समाजमा जोसँग धेरै पैसा छ, ति समाजका सबै भन्दा बढि खुसी छन् त ? के समृदि, सम्पन्नता, पैसा र खुसी एकै कुरा हुन् ?
तर हाम्रै समाज हेर्ने हो भने थाहा हुन्छ, खुसी हुनका लागि पैसा मात्र भएर हुदैन । यदि तपाइसँग रिस, घमन्ड, इर्ष्या छ भने तपाइ कहिल्यै पनि खुसी बन्न सक्नुहुदैन । त्यस्तै असन्तुष्ट मानिसहरु सबै कुरा पाएर पनि खुसी हुदैनन् । अधिक महत्वाकांक्षीहरु पनि दुखी हुन्छन् ।
खुसी थोरै मानिसहरुसँगमात्रै छ । यहि दुर्लभताका कारण मात्रै खुसी विशेष कुरा भएको होइन । भनिन्छ, खुसी रहदा मान्छेकाे आयु पनि बढ्दछ । जीवन रचनात्मक र प्रिय बन्छ । हाम्राे जीवनमा सास फेर्न जति महत्वपुर्ण छ, त्यति नै खुसी रहन पनि महत्वपुर्ण छ । खुसी हुँदा हामी स्वस्थ जीवनशैली पाउने गर्दछाै ।
आउँनुहोस्, खुसी हुनका लागि सामान्य १० कुराहरूकाे बारेमा चर्चा गराैँ । यसलाई उज्यालो पाटोको लागि प्रदिप कार्कीले लेख्नु भएको हो ।
१. घृणा कम गर्नुहाेस् र माया बढि गर्नुहाेस्
विलियम शेक्सपियरले कुनै प्रसंगमा भनेका छन्, “सबैलाई माया गर, केहीलाई विश्वास गर र कसैलाई नराम्रो नगर ।” वास्तवमा खुसी हुने मन्त्र हो यो । यदि तपाई जीवनमा खुसी बन्न चाहनुहुन्छ भने तपाइले घृणा गर्ने बानीलाइ त्यागेर सबैलाइ माया गर्ने बानीकाे विकास गर्नु पर्दछ । किनकि तपाइले अरूलाइ घृणा गर्नुभ याे भने तपाईलाइ पनि घृणा नै गर्नेछन् र माया गर्नु भयाे भने तपाइले पनि माया नै पाउनुहुनेछ ।
अरूकाे माया पाउनु नै खुसीकाे कुरा हाे र यहि मायाले तपाईलाई जीवनभरि खुसी राख्न मद्दत गर्दछ । अरूलाइ माया गर्दा आफुले पनि माया पाउने उदेश्यले नै तपाईलाई जीवनमा खुसी हुनका लागि उत्प्रेरणा प्रदान गर्दछ ।
२. चिन्ता कम लिनुहाेस् र नृत्य गर्नुहाेस्
मानिसहरू बढि चिन्ता लिएर आफ्ना खुसीहरूलाई आफैले त्यागी रहेका हुन्छन् । सानो कुरालाई पनि असाध्यै ठुलो मानेर झन् चिन्ताले समस्या थपिदिन्छन् तर यदि तपाई खुसी हुन चाहनुहुन्छ भने समाधानहरुका बारेमा सोच्नुहोस् । यसाे गर्नाले तपाईकाे मन हल्का हुनेछ र चिन्ताप्रति तपाईकाे ध्यान पनि हट्दै जानेछ ।
एउटा भनाइ छ, चिन्तै चिन्ताले मानिसलाइ चिताकाे बाटाे डाेर्याउँछ । हरेक कुरालाइ सकारात्मक तरिकाले साेच्ने गर्दा पनि निकै आनन्द मिल्ने गर्दछ । नृत्यले मानिसकाे हरेक अङ्गमा सङ्गितकाे सुर भर्दिने गर्दछ । सक्नुहुन्छ भने दिनकाे १/२ घण्टा नृत्य गर्ने गर्नुहाेस् जसले गर्दा तपाईलाई खुसी मिल्नेछ ।
३. कम लिनुहाेस् र बढि दिनुहाेस्
यदि तपाईमा आरिस गर्ने बानी छ भने त्यसलाई तुरून्त हटाउनुहोस् किनकि आरिस गर्ने बानीले तपाईलाई कहिल्यै पनि खुसी हुन दिदैन । बरू तपाईमा भएका कुराहरू अरूसँग पनि बाड्ने गर्नुहाेस् । यसले तपाईलाई खुसी हुन मद्दत गर्दछ । साेच्नुस् त, आफुले जानेकाे कुरा अरूलाई सिकाउँदा कति आनन्द मिल्ने गर्छ ।
आफुभित्र लिने बानिलाइ हटाएर बढि दिने बानीकाे विकास गर्नुहाेस् र हेर्नुहाेस्, तपाई सामु खुसी कसरी आउनेछन् । धेरै जसाे मानिसहरू घरमा बढि पाहुना आए भने पनि यसरी आत्तिने गर्छन् कि मानाै उनिहरूकाे सर्वस्व सकिने छ तर घरमा आएका पाहुनालाइ खुसी बनाएर पठाउनु भयाे भने तपाईलाई पनि कुनै न कुनै कुरामा उनीहरूले खुसी पक्कै पार्नेछन् ।
४. उपभाेग कम र सिर्जना बढि गर्नुहाेस्
भन्न त उपभोक्तावादले गाँजेको समाजमा जति धेरै सामानहरु उपभोग गर्न सकिन्छ, त्यति सम्पन्न मानिन्छ तर सम्पन्नता नै खुसीको प्रतिक होइन । उपभोग गर्ने प्यासलाई कतै न कतै बिट मार्नै पर्छ । आफ्नो आवश्यकता भन्दा बढ्ता देखाउँनका लागि उपभोग गर्न नथाल्नुहोस् । यसले आर्थिक अवस्थामा गोलमटोल ल्याएर चिन्ता थप्छ भने असन्तुष्टी झन् बढाउँछ ।
आफ्नै आँगनमा रकेट बनाउँनुस्, कोठा भित्र कम्प्युटर बनाउँनुहोस् भन्न खोजेको होइन । भन्नको मतलब साना भन्दा साना कुराहरुको आफु सिर्जना गर्न खोज्नुहोस् । हो, तपाई असफल पनि हुन सक्नु हुनेछ तर सिर्जनशिलताको अभ्यास मात्रले पनि मान्छेलाई व्यस्त राख्छ र खुसी दिन्छ ।
५. निराश कम हुनुहाेस् र बढि मुस्कुराउनुहाेस्
यदि तपाइ निराश भएर बस्नु भएकाे छ भने करैले भए पनि मुस्कुराउने गर्नुहाेस् । यसले तपाइकाे निराशापनलाई थारै भए पनि कम गर्न मद्दत गर्दछ । केहि देशहरूमा त मानिसहरू भेला भएर हास्ने पनि गर्दछन् । याे एक स्वस्थ तथा तन्दुरूस्त रहने याेग पनि हाे । यस्ताे याेग गर्नाले तपाइकाे अनुहारमा जतिबेला पनि मुस्कान रहिरहने छ । मुस्कुराउदा तपाइले आफुलाइ मन परेकाे मान्छेलाई आफुतिर आकर्षित पनि पार्न सक्नुहुनेछ । निरास भएर आफ्नाे समय व्यर्थैमा खेर फाल्नु भन्दा त्याे समयलाइ सहि कुरामा सदुपयाेग गर्नु भयाे भने तपाइकाे जीवन खुसीले भरिने छ ।
६. थारै बेल्नुहाेस् र धेरै सुन्नुहाेस्
काेही काेही मान्छेहरूकाे धेरै बाेल्ने बानी हुन्छ जसले गर्दा उनिहरूलाइ आफुले के बाेले भन्ने समेत थाहा हुदैन र पछुताउनु पर्छ । त्यहि भएर जहिलै पनि बाेल्दा आफु के बाेल्दैछु भन्ने कुरामा सतर्क रहनु पर्छ । एउटा भनाइ छ, बाेल्न पाए भन्दैमा प्याच्च नबाेल्नु र बस्न पाए भन्दैमा थ्याच्च नबस्नु । बरू धेरै सुन्ने गर्ने बानीकाे विकास गर्नुहाेस् । यसले गर्दा तपाई कहिल्यै पनि दुखी बन्नु पर्दैन । बरु सुन्ने बानीले मानिसहरुको प्रिय भइन्छ भने केहि ज्ञान र जानकारी पनि पाइन्छ ।
७. थाेरै डराउनुहाेस् र धेरै कोशिस गर्नुहाेस्
हरेक दिन केहि नयाँ गर्ने साेच्नुहाेस् । यदि तपाई नयाँ गर्न चाहनुहुन्छ भने केहि बाधा अड्चन त अवश्य पनि आउँछन । तर ति बाधाहरूकाे नडराइ सामना गर्न सकियाे भने मात्र तपाई अघि बड्न सक्नुहुनेछ । साेच्नुहाेस् त, जब तपाई यस्ता कुराहरूकाे सामना गर्दै अघि बड्न थाल्नुहुन्छ तब तपाईलाइ कति धेरै खुसी मिल्छ हाेला । त्यसैले जे सुकै गर्दा पनि डराउँनु भन्दा बढि काेसिस गर्ने गर्नुहाेस् । डर हाम्राे जीवनकाे सबैभन्दा कमजाेर हतियार हाे भने साहस सबैभन्दा बलियाे हतियार हाे ।
८. न्यायधीश नबन्नुहोस् र धेरै स्विकार्नुहाेस्
कुनै राम्रा वा नराम्रा घटनाक्रममा केहि मानिसहरु आवश्यकता भन्दा बढि ध्यान दिन्छन् र हरेक कुराको फाइदा वा वेफाइदाका बारेमा आवश्यकता भन्दा बढि सोच्ने गर्छन् । सुखी नहुनुको एक कारण यो पनि हो । तपाई हरेक मानिस वा घटनाक्रमका बारेमा न्यायधीश नबन्नुहोस् । हरेक कुरामा प्रतिक्रिया दिन वा हरेक कुराको फाइदा वेफाइदा केलाउँन जरुरी हुन्न । जीवनका धेरै कुराहरुलाई स्विकार्ने मात्रै हो भने मान्छे खुसी हुन्छ ।
स्विकार्नुको अर्थ राम्रो गर्ने प्रयास नै नगर्नु होइन बरु अफ्ठ्यारा बेलामा जीवनको कठिन मोड आएको भनेर नआत्तिनु र सुखमा नमात्तिनु हो । जे जस्तो अवस्थामा छ त्यसलाई आफुले चाहे बमोजिम परिवर्तन गर्ने प्रयास नगर्नु हो । याद राख्नुहोला, जीवनमा सबै कुराको आवश्यकता हुन्छ । हरेक कुरालाई आफ्नो इच्छा बमोजिम चाहने ढिपीले दुख बाहेक केहि पनि दिदैन ।
९. थाेरै हेर्नुहाेस् र बढि गर्नुहाेस्
यदि तपाई खुसी बन्न चाहनुहुन्छ भने कुनै पनि कुरालाइ कम नियाल्ने गर्नुहाेस् र त्याे कुरालाइ बढि गर्ने गर्नुहाेस् । यदि कुनै कामलाइ कसरी गर्ने भनेर गर्नु भन्दा बढि हेरेर मात्र बस्न थाल्नु भयाे तपाईमा झनै निराशा बढ्ने छ र तपाइकाे आत्मविश्वास पनि घट्ने छ । यसले तपाईलाई कदापि खुसी हुन दिदैन र सधै दुखि मात्र बन्नुहुनेछ । त्यसैले सधै कुनै पनि कामलाइ हेर्नु भन्दा बढि त्याे कामलाइ गर्ने गर्नुहाेस । जाे मान्छे धेरै मेहेनत गर्ने गर्छ त्याे मान्छे कहिल्यै पनि असफल भने हुदैन ।
१०. गुनासाे कम र कदर बढि गर्नुहाेस्
खुसी बन्नका लागि तपाइले गुनासाे गर्ने बानीलाइ त्याग्नु पर्दछ । यदि तपाइ हरेक सानाे तिनाे कुरामा पनि गुनासाे गर्न थाल्नु भयाे भने तपाइकाे खुसि पनि हराउदै जान्छ । अरूकाे कामलाइ कदर गर्ने गर्नुहाेस् । अरूकाे कामलाइ कदर गर्दा आफैलाइ पनि खुसी लाग्दछ । एक सच्चा मानिसकाे व्यक्तित्व यसबाट पनि चिनिन्छ कि उसले अरूलाइ र अरूकाे कामलाइ कतिकाे कदर गर्ने गरेकाे छ । अरूकाे कदर गर्ने मान्छेलाइ साथ दिनेहरूकाे पनि कहिल्यै कमि हुदैन ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।
Malai yo tapai ko kura ekdam right lagyo sir…aasa xa aajhai yestai kura haru lekhdai januhos …suvakamna xa hajurlai