‘गेम अफ थ्रोन्स’ पुस्ताले महाभारतबाट यी कुरा सिक्न सक्छन्

केहिले भन्ने गर्छन्, यो पुस्ता ‘गेम अफ थ्रोन्स’ पुस्ता हो । ‘गेम अफ थ्रोन्स’ पुस्ता भन्नुको अर्थ कसैले लगाएका थिए, यो पुस्ताले ‘गेम अफ थ्रोन्स’ लगायत पश्चिमा कुराहरुमा सबै थोक देख्छ तर हाम्रो पुर्विय दर्शनमा केहि देख्दैन । ‘गेम अफ थ्रोन्स’ को ड्रयागनलाई विश्वास गर्छ तर जटायुले रामको सेवा गरेको कुरालाई वाइयात भन्छ ।

यस्ता भनाइमा धेरै कुरामा सहमत हुन सकिन्छ र, केहिमा असहमत ।

एक पटक दुई जना फरक उमेर समुहका मानिसहरुको गफ सुन्ने मौका मिल्यो । एकजना अलिक पाको उमेरको मानिसले भन्यो, “गेम अफ थ्रोन्स” हेर्नेहरुले महाभारत पनि हेरिदिए राजनीति र पुर्विय दर्शनका बारेमा धेरथोर ज्ञान लिन सक्थे । त्योसँगै नैतिक शिक्षा र व्यवहारिक शिक्षाको लागि महाभारत भण्डार हो । तर, उ भन्दा कलिलो उमेरको देखिने युवाले भन्यो, “महाभारतमा भएका सबै कुरा गेेम अफ थ्रोन्समा छन् ।”

नयाँ पुस्ताका आफ्नै विशेषता हुन्छन् । शब्दमा भने जस्तै नयाँ पुस्ता अर्थात ताजा पुस्ता, जसले पुरानो कुरालाई उति ख्याल गर्दैन, जसले पुराना कुराहरुको महत्वलाई कम आँक्न सक्छ र भन्न सक्छ कि अहिले जे कुरा छ, त्यसको समाधान वा प्रगति पुरानो कुराले दिनै सक्दैन ।

वास्तवमै त्यस्तै हो त ? सँधै नहुन सक्छ ।

सन्दर्भ महाभारतको भए पनि यहाँ महाभारतको सबै कुराहरुको व्याख्या गर्न सकिदैन । महाभारतको व्याख्या गर्न महाभारतको भन्दा ठुलो आकार र समय लाग्छ । महाभारतमा विश्वास गर्नेहरुले तर्क गर्छन् कि महाभारतमा मानव जीवनका हरेक प्रश्नहरुको जवाफ छ ।

त्यसमाथि महाभारतको एक अंश भागवत गीता संसार प्रसिद्ध छ ।

अहिले यहाँ भागवत गीताको बारेमा पनि लेख्न लागिएको होइन । महाभारत केवल भागवत गीताका लागि मात्रै प्रसिद्ध र विशेष होइन । महाभारतका हरेक पात्रहरुको आफ्नै विशिष्ट गुण छन् । त्यस्तै विशेष पात्र हुन्, विदुर ।

विदुर अर्थात दासी पुत्र । उनको जन्मको अवस्था पनि विशेष छ । उनको जन्मको विशेषताका बारेमा अरु कुनै लेखमा पढौँला । अहिले उनले प्रतिपादन गरेको नीतिका बारेमा कुरा गरौँ ।

विदुर भन्ने बित्तिकै विवेक हुन् । उनी संयमित, विवेकी, स्पष्ट, न्यायिक र महान व्यक्ति थिए ।

विदुर हस्तिनापुर राज्यको शीर्ष स्तम्भमा एक अत्यान्त नीतिपूर्ण, न्यायोचित सल्लाह दिने व्यक्ति मानिन्छ ।

महाभारत युद्धाअघि हस्तिनापुरका महाराज धृतराष्ट र विदुरबीच संवाद भएको थियो । खासगरी महाभारत युद्धपछिको परिणामप्रति शसंकित महाराज धृतराष्ट र विदुरवीच भएको संवाद नै विदुर-नीति हो ।

विदुर नीति आज हाम्रो मार्गदर्शन र उत्प्रेरणा बन्न सक्छ । धृतराष्टको प्रश्नमा विदुरले दिएका जवाफहरुले हामीले आफैलाई बुझ्न सक्छौं । जीवन र जगतप्रतिको दृष्टिकोण स्पष्ट बनाउन सक्छौं ।

यहाँ तिनै विदुरको नीतिका केहि बुँदाहरु उल्लेख गरिएका छन् जसलाई अहिलेको पुस्ताले आफ्नो जीवनमा लागू गर्न सक्छन् ।

१. घमण्ड आफ्नै शत्रु

विशेष परिस्थति बाहेक आत्मप्रंशसामा रमाउँने मानिसहरु घमण्डी हुन्छन् । यस्ता मानिसहरुले हरेक समय आफ्नो तारिफ गर्छन् र आफुलाई अरु भन्दा बढि समझदार सम्झिन्छन् । आफुलाई श्रेष्ठ र अरुलाई निकृष्ठ सम्झिने यस्ता घमण्डीहरुको आयु आफ्नै घमण्डका कारण घट्छ ।

विदुर नीति अनुसार भन्न सकिन्छ कि मानिसले आफुलाई बुद्धिमान सम्झिनु खराब होइन तर अरु बुद्धिमान छैनन्, म मात्रै छु भन्नु चै खराब हो ।

२. लगामविहिन बोली

लगामविहिन बोली हुनेहरुले आफ्नै बोलीका कारण दुख पाउँछन् । अधिक र व्यर्थ बोल्नेहरुले समय समयमा बोली चिप्लिने गर्छ जसको नकारात्मक परिणाम हुन्छ । त्यसैले धेरै बोल्ने व्यक्तिले आफ्नो बोलीलाई संयमित राख्नुपर्छ । किनभने असंयमित बोलीले पनि आयु घटाउँछ ।

३. रिस आफ्नै नाशको कारण

रिस खा आफु, बुद्धि खा अर्को भन्ने उखान पनि छ । यो उखान कहिले देखि प्रचलनमा आयो भन्न सकिन्न तर विदुर नीतिमा रिसका बारेमा प्रस्टसँग भनिएको छ ।

विदुर नीतिका अनुसार रिस मान्छेको सबैभन्दा ठूलो शत्रु हो । रिसाए पछि मान्छेले यस्तो काम गर्छ जसले उनको हानी गर्छ र दुःखी बनाउँछ ।

४. सुख र शान्तिका लागि त्याग र समर्पण

मानिस बाँच्नुको अर्थ के हो ? मान्छे सामाजिक प्राणी हो भने समाजमा सुख र शान्तिपूर्ण जीवनयापनका लागि मानिसमा त्याग एवं समर्पणको भावना हुन आवश्यक छ । जसको मनमा त्यागको भावना हुँदैन, उनीहरुको आयु छोटो हुन्छ ।

५. लोभ र स्वार्थ शत्रु

असाध्यै धेरै अवसरवादी हुनु र लोभी हुनु हानिकारक हुन्छ । यसैले लोभ र स्वार्थलाई व्यक्तिको शत्रु मानिन्छ । जो व्यक्ति आफ्नो मनमा स्वार्थ र लोभको भावना राख्छन्, उनीहरुको आयु कहिल्यै लामो हुँदैन ।

६. धनप्रतिको आशक्ति

धन चाहिन्छ तर धन मात्रै सबै कुरा होइन । धनप्रतिको आशक्तिले मान्छेलाई नर्कमा पुर्याउँछ । धनको पछि लाग्नु हुँदैन । किनभने धन स्थायी हुँदैन । र, धनप्रति आशक्त भएर गरिने कार्यहरु अपराधी तथा अरुलाई पिरोल्ने किसिमका पनि हुन सक्छन् । यसले मान्छे स्वयमलाई हानी गर्छ भने यसको असरमा व्यक्तिको परिवार वा समाजमा पनि नकारात्मकता नै देखिन्छ ।

७. इर्ष्या त्याग्ने व्यक्ति

इर्ष्या त्याग गरेका मान्छेको जीवन स्वस्थ्य हुन्छ । जुन दिन मान्छेले आफैभित्र कमजोरी देख्छ र त्यसलाई सच्याउने प्रयत्न गर्छ, तब उनीहरु सफल बन्छन् ।

८. जीवन असफल पार्ने तीन दोष

परस्त्रीको स्पर्श, अर्काको धन हरण र मित्र त्याग । यी तीन दोष क्रमश: काम, लोभ र क्रोधबाट उत्पन्न हुन्छ । यसले मानिसको जीवनलाई दुखी बनाउँछ ।

९. क्षमा दिनु र गल्ति मान्नु

क्षमालाई कमजोरी वा दोष मान्नुहुँदैन । निश्चय पनि क्षमा परम बल हो । क्षमा निर्बल मान्छेको गुण हो र बलवान व्यक्तिको भूषण हो । यसैले आफुले गरेका गल्तिप्रति माफी माग्न वा अरुका गल्तिलाई माफी दिन सक्नु पर्छ ।

१०. दुखका ६ कारणहरु

इर्ष्या, अर्कालाई घृणा गर्ने, असन्तुष्ट, क्रोध गर्ने, शंकालु र पराश्रति । यी ६ प्रकारका व्यक्ति सधै दुःखी हुन्छन् ।

यीसँगै विदुर नीतिमा जीवनमा सामान्य लाग्ने तर अत्यन्तै व्यवहारिक ज्ञानका खजानाहरु छन् ।

आजको पुस्ता व्यवहारिकरुपमा चलाख छ । जानेको र बुझेको छ तर नैतिक रुपमा कमजोर छ । मान्छेको नैतिक धरातल कमजोर छ भने मानिसको उन्नति र प्रगति मात्रै होइन, जीवन र सन्तुष्टि पनि तासको घर जस्तो हुन्छ, जुन जति बेला पनि भत्किन सक्छ ।

विदुर नीति अहिलेका पुस्ताले पनि पढ्नै पर्ने कुरा हो ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? हामी सकारात्मक सोच बढाउँदै नैतिक धरातलमा जीवनलाई उज्यालो पाटोतिर लैजानका लागि विभिन्न किसिमका लेख तथा रचना प्रकाशित गर्छौँ । हामीलाई तपाईले फेसबुकमा लाइक गर्न तथा हाम्रा लेखहरु सेयर गरेर सहयोग तथा प्रोत्साहन दिन सक्नु हुनेछ ।

नमस्ते, म गणेश कार्की । एउटा आममान्छे । सामाजिक सञ्जाल मात्रै होइन, हाम्रो समाज नै नकारात्मक खबर र जानकारीहरुले भरिएको छ । ‘नकारात्मक मात्रै बिक्छ’ भन्ने सोच व्याप्त छ । यस्तोमा सकारात्मक कुरा लेखेर पनि व्यवसायिक हुन सकिन्छ भन्ने उदाहरण देखाउँने मेरो सानो प्रयास हो । उज्यालो पाटोमा म जीवनको उज्यालो पाटोको बारेमा लेख्छु । अथवा, जीवनलाई उज्यालो पाटोमा कसरी लैजाने भन्ने बारेमा आफुले देखेका भोगेका र पढेका कुराहरु बाढ्नेछु । सामाजिक सञ्जालमा अलिकति भए पनि सकारात्मक र ज्ञानवद्धर्क कुराहरु सेयर हुन योगदान गर्न सकुँ । यस्ता कुरा पढ्न चाहनेले पढ्ने ठाउँ बनोस् । यस्ता कुरा लेख्न सक्नेहरु व्यवसायिक रुपमा लेख्ने हिम्मत गर्न सकुन् । मेरो इच्छा यति हो । यो भन्दा धेरै हाशिल भए म झन् खुसी हुनेछु । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

गणेश कार्की – who has written posts on उज्यालो पाटो.


Post Comment