तपाईले आफ्नो जीवनको सबै भन्दा महत्वपुर्ण र विशेष भनेर कल्पना गरिरहेको मान्छे वास्तवमा ‘त्यो एउटा मान्छे’ हो कि होइन ? यो झन्डै आठ अर्ब जनसंख्या भएको विश्वमा ‘त्यो एउटा मान्छे’ वास्तवमा कसरी छान्ने हो ? भाग्य वा लेखान्त भनेर पर्खिने हो कि केहि लक्षणहरु देखिन्छन् र त्यसलाई पछ्याउँने हो ?
सपनाको राजकुमार वा सपनाकी राजकुमारी, हाम्रो परम्परागत सोचमा मिल्ने जोडी वा सफल दाम्पत्य हुन सक्ने जीवनसाथीको चाहनालाई यसरी नै सम्बोधन गरिन्छ । सपनाको राजकुमार आउँने भन्ने गीतहरु बन्छन्, काव्यहरु श्रृजना गरिन्छ । सपनाकी राजकुमारीका लागि पनि त्यस्तै कल्पनाहरु भेटिन्छन् ।
जसरी भनिए पनि वास्तवमा त्यो सबै सफल जोडीका लागि गरिने सम्बोधन हुन्, बिम्ब हुन् । यस्तो जोडी जो जीवन रहेसम्म सुखदुखमा साथै रहोस् । यस्तो जोडीको सबैलाई चाहना हुन्छ । मलाई पनि यस्तै चाहना छ भनेर गीत वा कवितामा लेखे पनि वा केहि नलेखे पनि, सबैलाई आफुले असाध्यै पुर्ण र सहि जीवनसाथी पाइयोस् भन्ने चाहना भने हुन्छ नै ।
त्यस्तै पुर्ण र सहि जीवनसाथी भनेर कल्पना गरिने सम्भावित जोडी वा भइरहेको साथीलाई ‘त्यो एउटा मान्छे’ भनेर सम्बोधन गरिएको हो । ‘त्यो एउटा मान्छे’ अर्थात यस्तो एउटा मान्छे जो आफ्नो सुखदुखमा साथ रहोस्, आफुलाई फल्न, फूल्न र प्रगति गर्न सहायक बनोस् । जोसँग हित्तचित्त मिलोस् । जोसँग लोभलाग्दो जिन्दगी बाँच्न सकियोस् । जो सम्बन्धप्रति इमान्दार होस् ।
आफुसँग मिल्ने जीवनभरका दौँतरी कसरी छान्ने भन्ने बारेमा धेरै मानिसहरुले अध्ययन गरिसकेका छन् । ति विभिन्न अध्ययन तथा जानकारीहरुका अनुसार ‘त्यो एउटा मान्छे’ भन्ने थाहा पाउँने केहि बुँदाहरु संकलन गरेका छौँ ।
१. विचार परिवर्तन हुन्छ
‘त्यो एउटा मान्छे’ देख्ने बित्तिकै पत्ता लाग्ने होइन । फिल्ममा देखाए जस्तो एक झलकमा सारा जीवन यसैका लागि त्याग गरिदिउँ वा सबै कुरा यसकै नाम गरिदिउँ भन्ने भावना नआउँन सक्छ तर सो ‘त्यो एउटा मान्छे’ को संगतमा विचारहरु फेरिन थाल्छन् ।
उ नजिक हुँदा उसको आत्मियता र निकटता असाध्यै प्रिय हुन्छ । साना साना कुराको पनि ठुलो अर्थ लागे जस्तो हुन्छ । र, उबाट अलिकति टाढा भए पछि उसको सम्झनामा डुबिन्छ । कुनै नौलो कुरा देखियो भने सो कुरा ‘त्यो एउटा मान्छे’ सँग नै अनुभव सेयर गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । मिठो परिकार चाख्दा पनि उसलाई सम्झना गरिन्छ । दुख पर्दा उसको साथ खोजिन्छ ।
सन् २००५ मा न्युयोर्कको स्टोनी ब्रुक युनिभर्सिटीमा भएको अध्ययनले देखाएको थियो कि साँचो माया र पक्का सम्बन्धले दिमागमा जैविकरसायनहरुको प्रतिक्रिया फरक पार्दछ । त्यस्तो एउटा मान्छेको सम्झना गर्दा दिमागमा खुसी बनाउँने न्युरोनट्रान्सिमटरमा प्रभाव पर्छ र मानिसले आनन्दको अनुभव गर्छ ।
अझ सम्बन्धको प्रारम्भिक चरणहरुमा यो क्रिया अत्यन्तै शक्तिशाली र सघन हुने गर्दछ ।
२. सम्बोधनमा फरक पर्छ
‘त्यो एउटा मान्छे’ सँग भेट्दा मान्छेले आफु स्वयमलाई बच्चा भएको अनुभव गर्न थालिन्छ । बच्चा हुनुको अर्थ हो, जिम्मेवारीको भारलाई बोझ नसम्झिनु । ढुक्क हुनु । त्यस्ता उटपट्याङ कुरा, तर्क र कामहरु गर्नु जो अरुले गरेको देख्दा ‘के गरेको होला यस्तो’ भनेर अनौठो मानिन्थ्यो ।
त्यो एउटा मान्छेसँगको सम्बोधन फरक हुन्छ । नामले भन्दा उपनामले बोलाउँनमा रुचि हुन थाल्छ । त्यस्तै, मनमा अहमता वा म मात्रै वा मेरो मात्रै भन्ने धारणा परिवर्तन हुन्छ । भनिन्छ, त्यो एउटा मान्छे भेटिए पछि मानिसहरु बहुबचनमा कुरा गर्न थाल्छन् । हरेक कुरामा उसलाई जोड्न थाल्छ ।
सन् २००२ मा युनिभर्सिटी अफ टेक्सासमा भएको अध्ययन अनुसार, त्यो एक मान्छेलाई भेटिसके पछि मानिसको सम्बोधनमा फरक पर्छ । उसले म र मेरोको सट्टा हामी र हाम्रो भन्न सुरु गर्छ । हामी यसो गर्नेछौँ । हाम्रो यस्तो हुनेछ । हामीले यति खर्च गर्यौँ । आदि आदि ।
३. फरक विचार तर समर्थन र सहयोग
‘त्यो एउटा मान्छे’ भेटिनुको अर्थ आफ्नो फोटोकपी वा क्लोन भेटिनु होइन । तपाईहरु बिचमा असमानता पक्कै पनि हुन्छन् तर ति असमानतालाई एकअर्काले स्विकारिन्छ । र, असमानतालाई सम्मान गरिन्छ तर सम्बन्ध बढ्दै गएपछि एकअर्काका रुचिहरुमा घुलमिल हुन थालिन्छ । ‘त्यो एउटा मान्छे’ सँगको सम्बन्ध दालमा चामल मिसाए जस्तो हुदैन, बरु दुधमा पानी मिसाए जस्तो हुन्छ । छुट्याउँन गाह्रो । एकअर्काका बानीमा पनि धेरथोर मिलन हुन थाल्छ ।
ति कुनै पनि परिवर्तन तपाईको लागि बाध्यकारी हुदैनन् । अर्थात्, ‘त्यो एउटा मान्छे’ ले तपाईलाई यो बानी परिवर्तन गर् भनेर भनिरहन पनि पर्दैन । तपाई जस्तो हुनुहुन्छ, त्यस्तै स्विकार्छ र तपाईको जीवनको सबै भन्दा महत्वपुर्ण सहयोगी बन्छ । तर रमाइलो कुरा के छ भने, तपाईमा भने स्वत: परिवर्तनहरु आउँन थाल्छन् । उसलाई यो कुरा गरेको मन पर्दैन भन्दै आफ्ना बानीहरु छोड्न रहर लाग्छ भने उसलाई यस्तो मन पर्छ भनेर परिवर्तन हुन मन लाग्छ ।
४. खुसी साथ सम्झौता र त्याग
सामान्यतया, मानिसहरुले कुनै चाहेको कुरा त्याग्नु पर्दा वा कुनै कुरामा सम्झौता गर्दा चित्त दुख्छ, मानिसहरु निराश हुन्छन् । तर कसैका लागि तपाईले त्याग गर्न पाउँदा वा सम्झौता गर्न पाउँदा खुसी महसुस गर्नु हुन्छ भने त्यो साथी तपाईले खोजेको ‘त्यो एउटा मान्छे’ हुन सक्छ ।
यदि तपाईले ‘त्यो एउटा मान्छे’ भेट्नु भयो भने तपाई खुसी साथ त्याग गर्न थाल्नुहुन्छ । त्यस्तै, साना वा ठुला कुराहरुसँग सम्झौता गर्नु हुन्छ । तर तपाईले त्यो एउटा मान्छेको लागि त्याग गर्न पाउँनु भयो भने आफुलाई भाग्यशाली सम्झिनु हुनेछ ।
सन् २०१५ मा जापानको कोबे विश्वविद्यालयको अध्ययनले बताए अनुसार कुनै जोडीमा यो किसिमको त्यागको भावना देखिएन भने त्यो सम्बन्ध राम्रो नभएको वा सम्बन्ध बिग्रिएको देखिएको थियो ।
५. परिचय गराउँन हिनता वा संकोच मानिदैन
तपाईका लागि ‘त्यो एउटा मान्छे’ गौरवको सम्बन्ध हुन्छ । मानिसहरु भेट्दा उसको बारेमा कुरा गर्न मन लाग्छ । ‘त्यो एउटा मान्छे’ सँग तपाईको सम्बन्ध छ भन्ने देखाउँन पाउँदा तपाईलाई खुसी हुन्छ । यसैले तपाई आफ्नो परिवार वा साथीभाईसँग ‘त्यो एउटा मान्छे’ लाई चिनाउँन पाउँदा लज्जा, हिनता, संकोचको भावना अनुभव गर्नु हुन्न ।
जो मानिसप्रति तपाईको मनमा हिन भावना आउँछ वा जसलाई आफ्ना साथी वा आफन्तसँग चिनाउँदा संकोच लाग्छ, त्यो मानिस तपाईको ‘त्यो एउटा मान्छे’ हुनै सक्दैन ।
६. तर धेरै देखावटी गरिदैन
आवश्यता पर्दा ‘त्यो एउटा मान्छे’ लाई आफन्त वा साथीहरुको अगाडी गौरवसँग चिनाइन्छ तर त्यसो भन्दै ‘त्यो एउटा मान्छे’ लाई तपाई प्रदर्शनीमा नै भने राख्नु हुन्न ।
तपाईहरु आफ्नो विशेष दिनहरु वा घटनाहरु सामाजिक साइटमा केवल सम्झनाका लागि राख्नु हुन्छ । मानिसहरुलाई देखाउँनकै लागि आवश्यकता भन्दा बढी आफ्ना सम्बन्धका तस्विर र कुराहरु बारम्बार पोस्ट गर्नुहुन्न ।
एकअर्कामा समाहित हुँदै सकेसम्म एकअर्कालाई समय र शक्ति दिनुहुन्छ । एकअर्काको गोपनियतालाई सम्मान गर्नुहुन्छ ।
७. एकअर्काका जोकर
सुन्दा अनौठो लाग्न सक्छ तर ‘त्यो एउटा मान्छे’ सँगको तपाईको सम्बन्ध गजबको हुन्छ । तपाईहरु एकअर्काका जोकर बन्नुहुनेछ । जोकर बन्नुको अर्थ एकअर्काका लागि अचम्म अचम्मका रमाइला कामहरु गर्नु हुनेछ ।
अरु मानिसका लागि तपाईहरुको तह र सम्मान फरक हुन सक्छ । तपाई अरु मानिसहरुको अगाडी हैसियत र व्यक्तित्वको जति व्यवस्थापन गरे पनि ‘त्यो एउटा मान्छे’ का लागि भने तपाई त्यस्ता जति पनि कामहरु गर्न सक्नुहुन्छ, जुन तपाईको व्यक्तित्व र हैसियत अनुसार सुहाउँदिला हुदैनन् । तर जति त्यस्ता ‘वाइयात लाग्ने काम’हरु गरे पनि तपाई झन् आनन्दित र खुसी हुनु हुनेछ ।
८. ओछ्यान मात्रै होइन तर ….
प्रेममा यौन गौण हुन्छ भनेर यौन मिसिएको भावनालाई कलुषित भावना भन्न मिल्दैन । व्यवहारिक पाटोबाट हेर्ने हो भने यौन आवश्यकता पनि हो, शरिरका लागि पनि र सम्बन्धका लागि पनि ।
शारिरिक सम्बन्धले दुईको प्रेमलाई अर्को चरणमा पुर्याउँछ तर केवल त्यतिका लागि मात्रै पनि सम्बन्ध हुदैन । तपाई ‘त्यो एउटा मान्छे’ का लागि रोमान्टिक बन्नु हुनेछ । भर्खरै यौवनावस्था छुँदै गरेको जस्तो भावनाहरु आउँनेछन् तर तपाईको सम्पुर्ण योजनाहरु भने केवल यौनका लागि मात्रै हुदैनन् ।
यदि तपाईको सबै योजनाहरु चै खाली ओछ्यानसम्म पुग्न र यौनका लागि मात्रै हुन्छन् भने सम्बन्धमा खतराको घण्टी बजिरहेको छ र वास्तवमा त्यो मानिस तपाईको ‘त्यो एउटा मान्छे’ होइन भन्ने सम्झिनु पर्छ ।
यी माथिका ८ वटा बुँदाहरु तपाईको सम्बन्धमा देखिएका छैनन् भने तपाईहरुको सम्बन्ध कामै नलाग्ने छ भन्ने अर्थ भने लाग्दैन तर यी माथिका बुँदाहरुले तपाईहरुले तपाईको जीवन सुरम्य बनाउँनेछन् । तपाई कसैको सम्बन्धमा पहिले देखि नै हुनुहुन्छ भने आफ्नो सम्बन्धमा माथिका ८ वटा बुँदाहरु लागू गर्न खोज्नुहोस्, जीवन रोचक र प्रिय लाग्नेछ । सम्बन्ध दिगो हुनेछ । तर सबै भन्दा मुख्य शर्त भने, सम्बन्धमा एकोहोरो एकजनाले मात्रै सम्बन्ध जोगाउँन सक्दैन ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।