तपाईलाई सफल बनाएर जीवन परिवर्तन गराउँने १२ चरणहरु यस्ता छन्

जीवन परिवर्तन गर्ने आधार सफलता हो । असफलताले सफलताका लागि भर्याङको काम गर्छ, सफलतासम्म पुग्न सक्ने बाटो बनाउँन सक्छ तर जीवन तब सम्म परिवर्तन भएको मानिदैन, जबसम्म सफलता हाशिल हुदैन । त्यसो त, जीवनमा सफलताको मानकहरु फरक फरक हुन सक्छन् । यहाँ सफलता भन्नाले आर्थिक फाइदा वा प्रगति मात्रै पनि भन्न खोजिएको होइन ।

सफलताका लागि सबै भन्दा पहिलो शर्त छ, सफलतालाई भाग्यको फल नसम्झिनु । सफलता कर्म नै हो । कर्मबाट नै सफलता प्राप्त हुन्छ तर एकोहोरो कर्मबाट मात्रै पनि सफलता हाशिल हुने भने होइन । कुन समयमा के गर्नु पर्छ भन्ने थाहा पाउँनु सफलता प्राप्त गर्ने अर्को शर्त हो ।

सफलता पाउँन र जीवन परिवर्तन गर्न केहि विश्वव्यापी चरणहरु हुन्छन् । ति चरणहरु मानिस, स्थान र समय अनुसार केहि परिमार्जित हुन सक्छन् तर आधारभुत सैद्धान्तिक अवधारणा भने एकै हुन्छ ।

यहाँ त्यस्तै तपाईलाई सफल बनाएर जीवन परिवर्तन गराउँने १२ चरणहरुका बारेमा जानकारी दिन गइरहेका छौँ । यी चरणहरुलाई बुझ्ने हो र व्यवहारिकरुपमा लागू गर्ने हो भने सफल हुन सजिलो हुन्छ ।

१. आफु के चाहन्छु, चिन्नुहोस्

यो आधारभुत कुरा हो । तपाई सफल हुनका लागि तपाईले आफ्नो चाहना बुझ्नु पर्ने हुन्छ । कसैले जबरजस्ती थोपरिदिएको जिम्मेवारी लिएर वा त्यस्तो जीवन बाँचेर तपाई सफल हुन गाह्रो हुन्छ । यसको अर्थ तपाई त्यसबाट सफल हुनै सक्नुहुन्न भन्ने होइन तर तपाई जुन अवस्थामा हुनुहुन्छ, त्यो अवस्थामा अनुकुल हुने कुरामा तपाई के चाहनु हुन्छ भन्ने तपाईले चिन्नु भयो भने तपाईलाई सफलताको बाटोमा अगाडी बढ्न सजिलो हुनेछ ।

यसैले आवश्यकता भन्दा बढि महत्वाकांक्षी नहुनुहोस् तर आफ्नो चाहना र लक्ष्य बुझ्नुहोस् ।

२. आफु किन त्यो चाहन्छु, थाहा पाउँनुहोस्

जब तपाईले आफु के चाहन्छु भन्ने चिन्नुहुन्छ तब तपाईले त्यसको कारण पनि थाहा पाउँनु पर्नेछ । तपाईले भन्न सक्नु हुनेछ कि म बैंकर बन्न चाहन्छु किनकी बैंकर बन्यो भने पैसा असाध्यै कमाउँन सकिन्छ तर के पैसा कमाउँनु मात्रै जीवन सफल हुनु हो त ? पैसाको दलदलबाट आफ्नो विचारलाई बाहिर निकाल्नुहोस् । यस्तो लक्ष्य लिनुहोस्, जसले तपाईलाई खुसी दिन्छ र तपाईले त्यसलाई व्यवसाय पनि बनाउँन सक्नु हुन्छ ।

अथवा, धेरै मानिसहरु अरु मानिसहरुको देखासिकी गर्दै आफ्नो लक्ष्यहरु निर्धारण गर्छन् । यसले तपाईलाई केहि समय खुसी देला तर त्यो तपाईको लायक वा तपाई त्यसको लायक हुनुहुन्छ कि हुनु हुन्न भन्ने चै मुख्य हुन्छ । देखासिकी वा लहडमा आफ्नो चाहनाहरु निर्धारण नगर्नुस् ।

३. काम थाल्नुहोस्, गजबले गर्नुहोस्

आफ्नो चाहना वा लक्ष्य के हो र म त्यो चाहना वा लक्ष्यप्रति किन आकर्षित छु भन्ने थाहा भए पछि तपाईले त्यसको लागि काम गर्न थाल्नु पर्नेछ । काम गर्दा चाहिने भन्दा बढि हल्ला गरेर सुरु नगर्नुहोस् । काम यसरी चुपचाप गर्नुहोस् कि त्यसले मानिसहरु स्वयम आकर्षित भएर त्यसबारे चासो देखाउँन् ।

अनि, काम गर्दा झारा टार्ने वा पछि राम्रो गरुम्ला, अहिले यतिले चलिहाल्छ नि भन्ने सोचेर काम नगर्नुहोस् । काम सुरु गरेको पहिलो दिन नै किन नहोस्, काम गजबले गर्नुहोस् । काममा लगनशिल र इमान्दार हुनुहोस् । सकेसम्म पुर्ण काम गर्न खोज्नुहोस्, चलिहाल्छ नि भन्ने जुगाड शैलीलाई आफ्नो जीवनबाट हटाउँनुहोस् किनकी काम चलाउ तरिकाले तपाईले काम चलाउँन मात्रै सक्नुहुन्छ, सफल हुन सक्नुहुन्न ।

४. समस्याहरु चिन्नुहोस्

तपाईले जति सुकै मनको काम गरे पनि वा जति सुकै सजिलो हुने किसिमको काम गरे पनि त्यसमा समस्या त आउँछन् नै । कहिलेकाँही समस्याहरु यति जटिल र अफ्ठ्यारा बनिदिन्छन् कि तपाईलाई बाटो मोड्न मन हुन्छ । तर नडराउँनुहोस् । समस्यालाई सके सम्म पहिले नै चिन्ने प्रयत्न गर्नुहोस् र त्यसका समाधानहरुका बारेमा सोच्नुहोस् ।

सम्भावित समस्याहरुलाई तपाईले बुँदागतरुपमा टिपोट गर्नु भयो भने त्यसले तपाईलाई समस्यासँग परिचित गराउँछ । तपाईले हरेक समस्याका ३ वटा समाधानहरुका बारेमा सोच्नु भयो पछि समस्या आएको बखतमा तपाई आत्तिनु हुन्न ।

५. डरलाई उपयोग गर्नुहोस्

डर यस्तो भावना हो जसलाई तपाईले दबाउँन सक्नुहुन्न । जति डर लाग्ने बिषयमा कुरा गर्नुहुन्छ, दिमागमा उति नकारात्मक भावनाहरु बढ्छन् । तपाईले यो वास्तविकतालाई मान्नै पर्छ ।

तपाईले काम सुरु गर्न लाग्दा वा काम सुरु गरिसके पछि यस्ता अवस्थाहरु आउँछन् कि तपाईलाई भविष्यको डरले सताउँछ । कुराहरु बिग्रिने हुन् कि भन्ने डर बढ्न सक्छ । यस्तो डरबाट आत्तिएर सफल हुन सकिदैन । यस्तो डरलाई तपाईले उपयोग गर्नु पर्ने हुन्छ ।

यस्तो पनि हुन सक्छ भन्ने डरलाई तपाईले ज्ञान वा सम्भावित समस्याका रुपमा आंकलन गरेर त्यसबाट मुक्त हुने समाधानका उपायहरुमा तयारी गर्नुहोस् । यसले तपाईको बाटो सजिलो बनाउँछ ।

६. परिष्कृत गर्दै जानुहोस्

आफुलाई, आफ्नो कार्यकक्ष, समूह सबै सम्बन्धित कुरालाई परिष्कृत गर्दै जानुहोस् । मेरो काममा सबै भन्दा जान्ने म नै छु या मैले जान्नु पर्ने सबै कुराहरु जानीसकेको छु भन्ने नसोच्नुहोस् । सिक्न बाँकी कुराहरु झन् भन्ने मान्नुहोस् । सिक्न र थप कुराहरु जान्नका लागि तयार हुनुहोस् ।

७. अनिश्चिततालाई आत्मसाथ गर्नुहोस्

भनाई छ, सँधै अनिश्चिततालाई पर्खनुहोस् । वास्तवमा हामीले जति तयारी गरे पनि कुनै न कुनै किसिमको अनिश्चितताले छुन्छ नै ।

हामीले सोचेको कुरा र गरेको कामहरु यति धेरै कारकतत्वहरुले फरक पार्छन् कि हामी ति सबै कारकतत्वहरुमा नियन्त्रण राख्न सक्दैनौँ । यसैले ति कुनै कारकतत्वमा आएका फरकपनाले हामीले सोच्दै नसोचेको परिणाम आउँन सक्छ ।

यसैले सकारात्मक वा नकारात्मक दुवै किसिमका अनिश्चितता आए तिनीहरुलाई आत्मसाथ गर्ने गर्नुहोस् । सोचे भन्दा राम्रो भए मात्तिने वा नसोचेको अफ्ठ्यारो आए आत्तिने गरेर सफल हुन गाह्रो हुन्छ । असफलतालाई पाठका रुपमा लिएर त्यसबाट सिक्नुहोस् ।

८. प्राथमिकताहरु तय गर्नुहोस्

जिन्दगीमा गरिने कामहरु ३ किसिमका हुन्छन् । ति हुन् : १. गर्नै पर्ने कामहरु २. गर्नु पर्ने कामहरु ३. गर्दा हुने कामहरु । हामी प्राथमिकता तय गर्न नजानेर ‘गर्नै पर्ने’ कामहरु छोडेर ‘गर्दा हुने’ कामहरु गरिरहेका हुन्छौ जसले हामीलाई अगाडी बढ्नबाट रोक्छ ।

सफल हुनका लागि यी ३ किसिमका कामहरु छुट्याउँनु पर्छ । ति कामहरुलाई उनीहरुको प्राथमिकताका आधारमा समापन गर्न समय, शक्ति र स्रोतको प्रयोग गर्नु पर्छ ।

त्यस्तै उद्देष्यहरुको पनि प्राथमिकता तय गर्न सकिन्छ । कुन उद्देष्यका लागि कसरी काम गर्ने भन्नका लागि पनि प्राथमिकता तय भएको उचित हुन्छ ।

९. ‘क-वर्ग’ को समूह भेट्नुहोस्

एप्पल कम्पनीका संस्थापक स्टिभ जब्स भन्थे रे, “तपाईले क वर्गको समूह बनाउँनु भयो भने चाँडै नै प्रगति गर्नुहुन्छ । ख वर्गको समूह बनाउँनु भयो भने आफुले बेस्मारी मिहिनेत गरेर क वर्गले गर्ने काम गर्न सक्नुहुन्छ तर ग वर्गको समूहबाट तपाईले कुनै पनि हालतमा क वर्गले गर्ने काम पाउँन सक्नुहुन्न ।” यसैले आफ्नो समूह बनाउँदा क वर्ग अर्थात उत्तम र योग्य मानिसहरुको समूह बनाउँनु पर्छ ।

यसका लागि आफन्त वा साथीभाई र तत्कालै उपलब्ध हुने मानिसहरुको घेरा भन्दा बाहिर निस्कन सक्नु पर्छ । तपाईले आफ्नो व्यक्तिगत सम्बन्धलाई आफ्नो सफलताको बाटोमा ल्याएर राख्नु भयो भने अगाडी बढ्न गाह्रो हुन्छ ।

१०. उत्तम अवस्थाको अभ्यास गर्नुहोस्

तपाई सफल हुनु भयो भने के गर्नुहुन्छ ? तपाईले किताब लेख्नु भयो र तपाईले सोचे जस्तै किताब बिक्री भयो, तपाईले सोचे जस्तै प्रसिद्धि कमाउँनु भयो, अब तपाई के गर्नुहुन्छ ? त्यो उत्तम अवस्थाको अभ्यास हरेक दिन गर्नुहोस् । आफुलाई सोही सफलताको मार्गमा छु भन्ने निश्चिन्त गराउँनुहोस् ।

कहिलै पनि आफुले सोचेको कुरा, लक्ष्य र कामलाई सानो नसम्झिनुहोस् । विनम्र बन्नु र लघुताभाषमा अडिनु फरक हुन्छ । विनम्र बन्नुहोस् तर लघुताभाषमा जकडिएर आफुलाई कम नआक्नुहोस् ।

११. सम्भावनाहरु बढाउँने छलफल गर्नुहोस्

सम्भावनाहरु असिमित हुन्छन् । सम्भावनाका सबै ढोका र मार्गहरु खुला राख्नुहोस् । अझै फैलन सक्ने, अझै राम्रो हुन सक्ने अवस्थाहरु के के हुन सक्छन्, त्यसबारे सोच्नुहोस् र छलफल गर्नुहोस् तर अधिक महत्वकांक्षी भने नहुनुहोस् । र, सबै भन्दा ठुलो कुरा, मैले मिहिनेत गरे पछि पाउँनै पर्छ भन्ने लहडबाट बाहिर निस्कनुहोस् ।

१२. सबैप्रति आभारी हुनुहोस् (मन दुखाउँनेहरुसँग पनि)

कोही पनि एक्लो प्रयासले सफल हुदैन । कसैको सफलतामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा साह्रै धेरै मानिसहरु जोडिएका हुन्छन् । ति सबै मानिसहरुलाई तपाईले प्रत्यक्षरुपमा आभार प्रकट गर्न सक्नुहुन्न तर सम्भव भएसम्म आफ्नो सफलतामा साथ दिनेहरुलाई आभार व्यक्त गर्न ढिलो नगर्नुहोस् ।

त्यस्तै असफलताले सिकाउँछ । तपाईलाई अफ्ठ्यारो पार्न खोज्ने र तपाईलाई मन दुखाउँनेहरुले पनि तपाईलाई केहि सिकाइरहेका हुन्छन् । ति प्रति पनि आभारी रहनुहोस् । तिनीहरुलाई देखाइदिन्छु भन्ने बदला भावनाले तपाईलाई नै पिरोल्छ । माफ दिनुहोस् र अगाडी बढ्नुहोस् ।

 

तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment