तपाईको बारेमा ८ सत्यहरु जसलाई आत्मसात गरेर आत्मविश्वासी जीवन बाँच्नुहोस्

लेख सुरु गर्नु भन्दा पहिले एउटा पौराणिक पात्रको बारेमा भन्न चाहन्छु । त्यो पौराणिक पात्रको बारेमा तपाईलाई राम्रोसँग थाहा छ । ति हनुमान हुन् । उनमा गजबको क्षमता थियो । उनी जे पनि गर्न सक्थे । त्यति बलिया थिए तर दुखको कुरा के भने, उनलाई आफ्नो शक्तिको बारेमा थाहा थिएन ।

कुरा के भएको थियो भने सानो छँदा हनुमान अचम्मै चकचके थिए तर बलिया भने अद्धितिय । सानो मान्छेमा भएको अत्याधिक बलले उनलाई झन् चकचके बनाइदियो । उनी ठुला ढुङ्गाहरु मात्र होइन, खेल्दै रमाइलो गर्दै अजंगका रुखहरु पनि उचालेर पर परसम्म फ्याल्थे । उनको यो क्रिया दुरुस्तै त्यस्तै हो, जस्तो साना केटाकेटी बगैचामा गएर फूल र बिरुवाहरु कौतुहलतापुर्वक उखेल्ने र फ्याल्ने गर्छन् ।

तर हनुमानले उखेलेर फ्याल्ने ठुला रुखहरु हुन्थे । ति रुखहरु कहिले ऋषीहरुको आश्रममा पुग्थे र ऋषीहरुका आश्रम भत्काइदिन्थे । ध्यानमा बसिरहेका ऋषीहरुको भागाभाग चल्थ्यो । यति हुँदाहुँदै पनि ज्ञानवान ऋषीहरु सबै सहन्थे । कसैले हनुमानलाई सम्झाउँने वा थर्काउँने गर्न सकेनन् ।

एकदिन अति भयो । ध्यानमा बसिरहेका मतन ऋषीको आश्रममा आएर ठुलो रुख बजारियो । आश्रम भत्कियो । ऋषीको ध्यान भड्कियो । ऋषी भड्किए । तत्कालै हातमा पानी लिएर हनुमानलाई श्राप दिए, “तिम्रो यो अद्धितिय बलको बारेमा तिमीलाई थाहै नहोस् । तिमी जिम्मेवार हुने उमेरमा कसैले सम्झाइदिए पछि चै सबै फिर्ता होस् ।”

हनुमानले आफ्नै सामर्थ्य बिर्से । अब हनुमान अरु औसत बानरहरु जस्तै भए ।

अहिले हनुमान भेटिदैनन् । मतन ऋषी मरिसके । तर हाम्रो समाज मतन ऋषी जस्तो भएर बसेको छ । हामीलाई सानै देखि हाम्रो क्षमताका बारेमा अवमुल्यन गर्न सिकाउँछ । तैले यो गर्न सक्दैनस्, तैले यसो गर्नु हुदैन । जस्ता असाध्यै धेरै बन्धनहरु हाम्रो दिमागमा भरेर हामीलाई अड्चन दिन्छ । र, हामी हनुमान जस्तै आफ्नै क्षमता बिर्सन्छौँ ।

नत्र हामीमा असाध्यै धेरै सामर्थ्य छ । यहाँ म त्यस्तै क्षमताका बारेमा कुरा गर्दैछु, जुन असाध्यै औसत भनिएका मानिसहरुसँग पनि हुन्छ । यो क्षमता तपाईसँग पनि छ र मसँग पनि छ । कुनै क्षमताहरु बढाउँन अभ्यासको जरुरत पर्छ । नियमित अभ्यास र लगनशिलताले ति क्षमताहरु थपिन्छन् तर क्षमता हुने चै आफै भित्र हो ।

१. तपाई आफुले सोचे भन्दा बलियो हुनुहुन्छ

माथिको कथामा भनिसकेँ कि समाजले हामीमा भएको क्षमतामा बिर्को लगाइदिन्छ । समाजका सबै कुरा नटेरेर अराजक हुने भन्ने धारणा मेरो पनि होइन तर हामी समाजका पुरातन र परम्परागत ढाँचामा मात्रै बाँचिरह्यौ भने आफ्नो क्षमताका बारेमा हनुमानलाई झै आफैलाई थाहा हुदैन । यसैले त्यो सिमा भन्दा बाहिर निस्किनै पर्छ ।

हामी जस्तै मान्छेहरुले समाजमा गर्न नसक्ने भन्ने कुराहरु गरेको हामीले देखेकै छौँ । हामीसँगै पढ्ने साथी जसको पढाइ औसत थियो, त्यसले मास्टर्स सकेर राम्रो काम गर्दैछ ।
ताप्लेजुङको एउटा सानो दुर्गम गाउँबाट निस्केर सन्दुक रुइतले संसारभरका लागि आँखाको अपरेसन गर्ने नयाँ प्रबिधि दिएर लाखौँलाई संसार हेर्न सक्ने बनाए ।

क्षमतालाई ताप्लेजुङको बाटो नपुगेको गाउँको पहाडले छेकेन । तपाईको जीवन पनि यस्तै हो । आफु भित्रको क्षमता देख्नुहोस् । तपाई आफुले सोचे भन्दा पनि बलियो हुनुहुन्छ । हिम्मतको मात्रै आवश्यकता हो । त्यसलाई सदुपयोग गर्नुहोस् ।

२. तपाई आफुले सोचे जस्तो कमजोर हुनुहुन्न

समाजले हाम्रो क्षमता रोक्दैन मात्रै, उल्टो हाम्रो कमजोरीलाई पहाड बनाएर देखाउँछ । बारम्बार हामीले हाम्रो कमजोरी मात्रै देखिरहे पछि हामी स्वयम आफु कमजोर नै छु भन्ने मान्न थाल्छौँ ।

हाम्रो नेपालको सानो उदाहरण हेरौँ । अस्ति भर्खरसम्म असाध्यै भनेको लोडसेडिङ जनार्दन शर्मा र कुलमान घिसिङको जोडीले सकेर देखायो तर यस्तो होला भन्ने कसैले पनि सोचेको थिएन । हामीलाई लाग्थ्यो, भ्रष्टहरु घेराबन्दीमा एकदुई जना असल मान्छेहरुले मात्रै चाहेर केहि गर्नै सक्दैनन् तर हेर्नुस् त परिणाम ! अहिले प्राबिधिक समस्या बाहेकको अवस्थामा बत्ति हुन्छ । लोडसेडिङ भनेर बिजुली नपुगेर लाइन काट्न पर्दैन ।

यसैले भनिए जस्तो वा सोचे जस्तो कमजोर तपाई हुनुहुन्न । कोही एकजनाको सम्बन्धको कारणले मात्रै तपाई सामर्थ्यवान भएको हुनुहुन्न । तपाईमा क्षमता भएर नै तपाईले केहि गरिरहनु भएको छ वा गर्न सक्नुहुनेछ ।

३. तपाईको विगतमा जस्तो तपाई हुनुहुन्न र तपाईको विगत नै तपाईको भविष्य होइन

पक्कै पनि, तपाईको विगतमा जस्तो तपाई हुनुहुन्न र तपाईको विगत नै तपाईको भविष्य होइन । तपाईको विगत, राम्रो या नराम्रो जे जस्तो भए पनि तपाईले त्योबाट पाठ सिक्नु भएको छ । राम्रो विगत हुनेको त्यहि विगत सम्पति भयो । नराम्रो विगत हुनेको त्यो भोगाइ र पाठ सम्पति हो ।

त्यति भोगिसके पछि तपाईको ज्ञान वा क्षमता त्यति मात्रै रहदैन जति विगतमा थियो । अनि, तपाईको भविष्य पुर्णरुपमा विगतमा मात्रै आधारित हुदैन । यदि विगतमा जे थियो, सँधै त्यहि रहिरहने भए झापामा सामान्य किसानको छोरो केपी ओली प्रधानमन्त्री बन्ने थिएनन् । (नोट : यो राजनीतिक कुरा होइन । ओलीका राजनीतिक पृष्ठभुमि, सिद्धान्त वा गतिबिधीसँग यो पोस्टको लिनुदिनु छैन । केवल सामान्य किसानको छोरो प्रधानमन्त्री बन्नु चानचुने कुरा होइन भन्ने उदाहरण मात्रै हो ।)

यसैले अस्ति नै खराब भयो, अब पनि खराब हुन्छ भन्ने हुदैन ।

४. कसैले पनि तपाईको समस्या समाधान गर्दिदैन

तपाईको जिन्दगी हो । यसमा भोग्ने र पाठ सिक्ने जिम्मा तपाईको हो । तपाईलाई अरुले जानकारीसम्म दिन सक्छन् । तपाईलाई अरुले सामान्य सहयोग सम्म गर्न सक्लान् तर सम्पुर्ण बाटो हिड्नु पर्ने तपाईले हो । सो बाटोमा भेटिएका समस्या पनि तपाईका निजि हुन् ।

तपाईले समाचारमा पढ्नुहुन्छ, हरेक दिन मानिसहरुको मृत्यु हुन्छ तर के ति सबै मृत्युमा तपाईलाई त्यति नै शोक हुन्छ, जति परिवारका कसैको सानो दुर्घटनामात्रैमा पनि हुन्छ ? व्यवहारिक भएर, सत्य भन्दा पक्कै पनि हुदैन । किनकी, आफ्नो भनेको आफ्नो हो । समस्या पनि त्यस्तै हो ।

तपाईको समस्याले तपाईलाई जति अनुभुति दिन्छ, त्यति सघन संसारमा अरु कसैलाई दिनै सक्दैन । त्यसैले तपाईका लागि कसैले तपाईको समस्या समाधान गर्दिदैन । तपाई स्वयमले समाधान गर्नु पर्नेछ ।

५. आफ्नो जिन्दगीलाई कता मोड्ने भन्ने सामर्थ्य तपाई स्वयमसँग छ

तपाई आर्थिक रुपमा कमजोर अवस्थामा हुनुहुन्छ । तपाईले त्यति धेरै पढ्न सक्नु भएन । बाहिर जानलाई भिसा पनि लागिरा छैन । तपाई स्वस्थ हुनुहुन्न । यी भनिएका सबै कुरा भए पनि तपाई अझै पनि तपाईले सोचे जस्तो कमजोर हुनुहुन्न ।

तपाई जस्तो अवस्थामा भए पनि तपाईको जिन्दगी अगाडी बढ्ने राम्रो बाटो र खराब बाटो सँधै रहन्छ । त्यो बाटो मध्ये कुन बाटो हिड्ने भन्ने निर्णय तपाई स्वयमले गर्न सक्नुहुन्छ । तपाईको निर्णयले नै तपाईको जीवनले बाटो समात्ने हो ।

६. आफुलाई सम्मान गर्नुहोस् र सम्मान खोज्नुहोस्

आफ्नो विचार र पुर्णरुपमा आफ्नो सम्मान गर्नुहोस् । संसारमा हरेक मानिस अरु भन्दा भिन्न छ । भिन्न हुनुको अर्थ हो, संसारमा हरेक मानिस अरु मानिस भन्दा फरक क्षमताको छ । आफुलाई अरुसँग तुलना गरेर आफ्नो अवमुल्यन नगर्नुहोस् । आफ्नो क्षमताको सम्मान गर्नुहोस् र आफुलाई हिनभावबाट टाढा राख्नुहोस् ।

त्यस्तै अरुबाट पनि सम्मान खोज्नुहोस् । सम्मान खोज्नुको अर्थ मपाइ हुनु पनि होइन । सम्मान खोज्नुको अर्थ जबरजस्ती सम्मान गर् भन्नु पनि होइन । सम्मान आर्जन गर्ने कुरा हो । र, सम्मान आर्जन गर्ने पहिलो शर्त हो, अरुको सम्मान गर्नु । अरुको सम्मान गर्दा आफ्नो अपमान हुने होइन, बरु तपाईको संस्कार देखाउँछ । मानिसहरुमा तपाई प्रतिको सम्मानभाव बढ्छ ।

७. विनाशर्त तपाईलाई माया गर्ने मान्छे भेट्नुहुनेछ

र, आफ्नो जीवनसाथी कस्तो हुन्छ भन्ने कुराले मानिसको सुखदुख फरक पर्छ । कुनै कारणवश तपाईलाई माया गर्ने मान्छेहरु पुर्णरुपमा तपाई प्रति समर्पित हुदैनन् । त्यस्तै कुनै कारणले आफु पनि कोही अरुप्रति आकर्षित हुन सकिन्छ । त्यस्तोमा आफुले भेटेको मान्छे आफुले खोजेको त्यो एउटा मान्छे हो कि होइन भन्ने थाहा पाउँनु पर्छ ।

नथाक्नुस् । पवित्र मनले पर्खनुहोस् । संसारमा तपाई जस्तै भावना भएको मान्छे खोजिरहेको अर्को कोही पक्कै हुन्छ । तपाईले भेट्नु हुनेछ ।

८. जिन्दगीलाई माया गर्नुहोस्, फिर्तामा कुनै दिन जिन्दगीले पनि माया गर्छ

खुशी मनाऔं । गुनासो केही नराखौ । आफू यो संसारमा भएकोमा गर्व गरौ । केही घटना घटे, म त सकिए, मेरो भन्नु पनि केही छैन भन्दै चिच्याएर पनि समस्या सुल्झिदैन, बरु झन कच्पटिन्छ । त्यस्तै जीवनसँग असन्तुष्टिहरु त धेरै होलान् तर पनि म जिबित छु भन्ने कुरामा सन्तुष्ट हुन सक्नुपर्छ । जिबित हुनु भन्दा ठुलो धन यो संसारमा के होला ? भन्नुस त !

आफुसँग जे छ त्यसैमा रमाउन सक्नुपर्छ । हामीसँग जे छैन, त्यो खोज्छौ तब आफैलाई दुख तर्फ डोहोर्याउछौ । असन्तोषी प्राणी भएरै पनि होला, हामीमा भोक व्याप्त छ । लोभ असंख्य छ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment