तपाईलाई थाहा छ, अबको पाँच बर्षमा तपाई कस्तो हुनुहुन्छ भन्ने तपाई आफुले अनुमान गर्न सक्नुहुन्छ ? तपाईले सजिलै अनुमान गर्न सक्नुहुन्छ कि अबको दिनमा तपाईको हैसियत र आम्दानी कस्तो हुनेछ । यसका लागि कुनै ज्योतिषी ज्ञान चाहिदैन । कतै चिना टिपन वा हात हेराएर यो बारे भन्न सकिदैन । यो थाहा पाउँन सजिलो छ । एक पटक आफ्नो संगत हेर्नुहोस् ।
भनिन्छ, मानिस आफुले संगत गर्ने ५ जना मानिसहरुको औसत हुन्छ । अर्थात, आफुले संगत गर्ने ५ जना साथीहरुको बानी ब्यवहार, आचरण र उन्नति प्रगति जस्तै जस्तै आफ्नो पनि बानी ब्यवहार, आचरण र उन्नति प्रगति हुने गर्छ । संगतले यति धेरै फरक पार्छ ।
सामान्य प्रश्नको जवाफ दिनुहोला । रुघा कसरी सर्छ ? पक्कै पनि रुघा लागेका मान्छेको नजिक पर्नाले । संगतको कुरा पनि त्यस्तै हो । राम्रो र सकारात्मक सोच भएका मानिसहरुको छेउ पर्नु हुन्छ भने तपाईमा पनि त्यहि कुराको प्रभाव देखिन्छ । खराब र नकारात्मक सोचले भरिएका मानिसहरुको संगतमा पर्नु भयो भने या त तपाईले आफुलाई कुनै दिन जेल भित्र भेट्नुहुन्छ, या शारिरिक, आर्थिक र नैतिकरुपमा उठ्नै नसक्ने गरि थला परेको अवस्थामा ।
साथी संगत यति प्रभावशाली कुरा हो । यसलाई कम आँक्ने गल्ति गर्नु महंगो सावित हुन सक्छ । त्यसो भए सहि संगत कसरी चिन्ने त ? कसलाई राम्रा साथी मान्ने त ? यसको जवाफ गाह्रो छैन । केहि संकेतहरुको अवलोकन गरेर प्रस्ट थाहा पाउँन सकिन्छ कि संगत ठिक छ कि छैन !
१. संगत रमाइलो छ
संगत गर्दा रमाइलो नहुने अवस्थामा कसैले पनि संगत गरिराख्दैन । तपाईको साथी सहि छ या छैन र तपाईको संगत सहि छ या छैन भन्ने कुरा कतिको रमाइलोसँग तपाईको साथ बित्छ भन्ने कुराले फरक पार्दैन । बरु त्यो रमाइलो कसरी भइरहेको छ भन्ने कुराले फरक पार्छ ।
तपाईलाई पक्कै पनि थाहा हुन्छ, संगतमा तपाईहरुले गर्ने रमाइलोले तपाईहरुलाई क्षणिक फाइदा मात्रै दिइरहेको छ कि सँधै यस्तो चल्न सक्छ ! आफ्नो मनलाई सोध्नुहोस् । आफ्नो ठाउँमा अरुलाई राखेर हेर्नुहोस् । पक्कै थाहा हुन्छ ।
राम्रो संगतमा सृजनशीलतमा रमाइलो हुन्छ । खराब संगतमा नकारात्मकतामा र तडकभडकमा । रक्सीको नसामा डुबेर रमाइलो गर्नु र कुनै सृजनशील काम गरेर रमाइलो गर्नु कति फरक छ भन्ने कुरा त तपाई स्वयमले थाहा पाउँनुहुन्छ ।
संगत कस्तो छ भन्ने कुरा रमाइलो कति छ भन्ने मानकका आधारमा निष्कर्षमा नपुग्नुहोस् ।
२. छायाँ जस्ता साथी
छोटकरीमा भन्दा छायाँ जस्ता साथीको जीवनमा काम छैन । छायाँ उज्यालोमा मात्रै बन्छ तर जति उज्यालोपना घट्न थाल्छ, छायाँ हराउँन सुरु हुन्छ । अन्धकार रातमा छायाँ कतै पनि हुदैन ।
तपाईको सजिलो समयमा मात्रै देखिने साथी वास्तवमा साथी नै होइनन् । तपाई अफ्ठ्यारोमा पर्दा तपाईका भन्दा ठुला समस्या सुनाएर तर्किनेहरुबाट तपाईले कस्तो साथ पाउँनु हुन्छ र तिनलाई साथी मान्नुहुन्छ ? वास्तवमा साथी चाहिने भनेकै अफ्ठ्यारो बेलामा हो, जीवनको अँध्यारो समयमा हो । जहाँबाट कोही साथीले बाहिर निकाल्दियोस् ।
तपाईले संगत गरेका मानिसहरुले तपाईलाई अफ्ठ्यारो पर्दा देखाउँने व्यवहारका बारेमा ध्यान दिनुस् । उनीहरुका बहाना सुन्नुहोस् । उनीहरुले तपाईलाई गर्ने सहयोगका बारेमा निष्पक्ष टिप्पणी गर्नुहोस् । संगत सहि छ कि छैन भन्ने पत्ता लगाउँन सक्नुहुन्छ ।
३. तपाईलाई देउता मान्ने साथी
तपाईलाई देउता मान्ने साथी मैले यहाँ दुई कारणहरुको आधारमा लेखेको छु । पहिलो कारण हो, यस्ता साथी जो उसलाई दुख पर्दा मात्रै सम्झिन्छ तर सुखमा र सामान्य अवस्थामा तपाईलाई वास्तै गर्दैन । यो कुरा अकारण नै पटक पटक हुन्छ भने सम्झिनुहोस् तपाईको उ साथी होइन ।
तपाईलाई देउता मान्ने साथीको दोस्रो कारण हो, तपाईको देवत्वकरण । तपाईको संगतमा तपाईलाई यसरी मान्छन् कि मानौँ तपाई देउता हो । तपाईमा कुनै गल्ति कमजोरी नै छैनन् । तपाईले गरेका हरेक कुराहरुको ति समर्थन मात्रै गर्दैनन्, बरु उल्टै गजबै राम्रो हो भनेर तारिफ गर्छन् । यस्तो अवस्थामा बुझ्नु पर्छ, तपाईलाई तिनले प्रयोग गर्दैछन् । तपाईसँग भएको स्रोत वा साधन वा सामर्थ्य केहि उनीहरुलाई चाहिएको छ र तपाईलाई फकाउँदैछन् ।
राम्रो साथीले तपाईका कमजोरीहरुका बारेमा तपाईलाई जानकारी दिन्छ । गाली गर्छ । रोक्छ । तर, तपाई रिसाउँनु हुन्छ भनेर बनावटी तारिफमा उत्रिदैन । तपाईलाई मान्छे बनाइराख्छ । देउता बनाउँदैन ।
४. सुदामाको प्रश्न
एक पल्ट सुदामाले कृष्णलाई सोधे रे, “कृष्ण ! हाम्रो मित्रता देखेर संसार चकित पर्छ । वास्तवमा मित्रताको मतलब के हो ?” कृष्णले सुदामालाई जवाफ फर्काएछन्, “यदि मित्रतामा मतलब रह्यो भने त्यो मित्रता नै कहाँ रह्यो र ?”
यसबारे धेरै भन्न वा सोच्न आवश्यक छैन । कसैले मतलबका लागि मात्रै तपाईसँग सम्बन्ध राखेको छ भने त्यो व्यवसायिक वा अन्य किसिमको संगत हुन सक्ला तर मित्रताको संगत होइन ।
५. तपाई कस्तो हुनुहुन्थ्यो ? कस्तो हुनु भो ?
सबै भन्दा महत्वपुर्ण र विशेष लक्षण हो यो । तपाई आफुले आफैलाई नियाल्नुहोस् । जुन व्यक्तिहरुलाई तपाईले आफ्नो राम्रो साथी भनेर संगत गरिराख्नु भएको छ, तिनको संगत पछि तपाई कस्तो हुनु भयो ? तपाईमा कस्ता कस्ता परिवर्तन आए ?
तपाईमा राम्रा परिवर्तन आएका छन् भने तपाईको संगत राम्रो छ । तपाईमा आएका परिवर्तनहरु राम्रा छन् वा ठिकै हुन् नि भन्नका लागि अनेक तर्क र कुतर्क गर्न थाल्नु पर्छ भने तपाई आफैलाई ठग्दै हुनुहुन्छ । तपाईले गर्नु भएको संगत सहि छैन । छोड्नुहोस् ।
६. योजनाका बारेमा पछि कुरा गरुम्ला न
तपाई कुनै योजना बनाएर उत्साहित हुनुहुन्छ । तपाईलाई लाग्छ कि त्यो योजना सृजनशील छ, उपयोगी छ र गजब छ । तपाई आफ्नो साथी संगतमा त्यो योजना सुनाउँनु हुन्छ । साथीले कुनै उत्साह बिना भन्छ, “योजनाका बारेमा पछि कुरा गरुम्ला न । अहिले रमाइलो गरौँ ।” र, यस्तो पटक पटक हुन्छ ।
तपाईका कुनै पनि योजनामा उनीहरु सामान्य अवस्थामा प्रतिक्रियासम्म दिदैनन् । यस्तो संगतले तपाईलाई ओरालो मात्रै लगाउँछ । साँचो साथीले तपाईको योजना सुन्छ । कमजोरी पत्ता लगाउँछ र झन् सुधार्छ ।
७. साथीको अनुहार
‘संगत गर्न साथीको अनुहार पनि राम्रो हुनुपर्छ’ यदि यसलाई शर्त राखिन्छ भने यो संगत र मित्रताको सबै भन्दा कलंकित शर्त हुनेछ । अनुहार वा शारिरिक बनावटले संगत कस्तो भन्ने कुरामा रौँ जति पनि फरक पार्दैन । यहाँ मैले उठाउँन खोजेको कुरा अर्कै छ ।
मानौँ, तपाईसँग आफ्नो नीजि जीवनको उत्साहपुर्ण खुसीको कुरा छ । तपाईले साथीलाई त्यो कुरा सुनाउँनु भयो । साथीको अनुहार कस्तो हुन्छ ? तपाईको जो साथी हो, त्यो वास्तवमा साथी बन्न लायक छ कि छैन भन्ने कुराको निर्णय यस्तो अवसरमा उसको अनुहारले गर्छ । अर्थात, उ तपाईको खुसीको समाचारले खुसी बन्यो कि दुखी ? जान्नु पर्ने कुरा यो हो । सामान्य इर्ष्या वा मेरो पनि यस्तै भइदिए हुन्थ्यो भन्ने भावना देखाउँनु स्वभाविक हो तर तपाईको खुसीमा दुखी हुनु ? पक्कै पनि स्वाभाविक होइन । यस्तो संगत सक्दो चाँडो छोड्नुहोस् ।
याद गर्नुपर्ने कुरा, विद्धानहरुले भनेका छन् – खराब संगत गर्नु भन्दा एक्लै हुन राम्रो हुन्छ ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।