ध्यान केन्द्रित गर्ने क्षमता बढाउँने १० व्यवहारिक उपायहरु

कुनै बिषयमा ध्यान केन्द्रित गर्नु र कुनै बिषयबाट ध्यान अन्यत्र मोड्नु संसारकै असाध्य कामहरु मध्येमा पर्छ । पुरानो एउटा कथा छ – एकादेशमा एकजना राजाको एउटा भाई रहेछ । बाठो । कलाकार भने हुने । अनुहारमा गाम्भिर्यता र कोमलता ल्याउँन सक्ने । भएको पैसा र स्वभाव प्रयोग गरेर मान्छेहरुलाई फकाउँन सक्ने । उसलाई राजा हुने इच्छा भएछ ।

पारिवारिक भोजको अवसर पारेर उसले राजा र युवराजहरुको खानामा बिष मिलाइदिएछ । राजा र युवराजहरु त्यहि कारणले बिते । राजा हुने पालो उसकै आयो । राजा भए पछि उसलाई लाग्यो, यो सारा संसारमै म भन्दा प्रभावशाली कोही छैन । संसारभरका सबै कुरा मैले पाउँनु पर्छ । तर, यस्तै सोचिरहदा उसलाई आफ्नो सिमित आयूको हेक्का भएछ ।

तत्कालै उसले सोच्यो, म जस्तो मान्छे पनि मर्नु पर्ने ? म नरहे यो पद र राज्यको हालत के होला ? यो संसारमा अमर हुने एकमात्र हकदार म अनि ममात्रै हुँ । उसलाई लाग्यो, अब उसले मृत्युलाई जित्नै पर्छ । उसले तपस्या गरेर मृत्युका देव यमराजबाट अमरत्वको वरदान पाउँने बारेमा सोच्यो ।

उसले यमराजलाई फकाउँन हदैसम्मको तपस्या र साधना गर्यो । प्रचण्ड गर्मीमा ढुंगा तताएर ढुंगामाथि बसेर तप गर्यो । चिसोमा मुटु चिस्याउँने पानीमा डुबेर तप गर्यो । आखिर यमराजको केहि लागेन । उनी राजाको तप र साधनाबाट पग्लिएर वरदान दिन राजा सामू उभिए । राजाले एकैपल पनि ढिलो नगरी आफ्नो इच्छा बतायो ।

यमराजले भने, “तिम्रो तप र साधना अद्धितिय छ । म तिमीसँग प्रशन्न छु तर पनि म तिमीलाई अमरत्वको वरदान दिन सक्दिन । जन्मिए पछि मर्नै पर्छ ।”

तब राजाले बढो चतुरताका साथ बोल्यो, “प्रभु ! तपाईका लागि यो त्यस्तो गाह्रो केहि कुरा पनि होइन । संसारमा यति धेरै प्राणीहरु छन् । सबैको प्राण हर्ने तपाई नै हो । सबैलाई मृत्यु दिने तपाई नै हो । यतिका धेरै प्राणी भएको ठाउँमा मबाट ध्यान अन्त लैजानु भयो भने म त्यसै छुट्छु । तपाईको ध्यानबाट छुटे पछि म अमर हुने भइहालेँ नि ।”

राजाको उपाय यमराजलाई गजब लाग्यो । उनले मुस्कुराउँदै भने, “यस्तो अवस्थामा त स्थिती झन् अफ्ठ्यारो बन्छ । म ध्यान हटाउँनै सक्दिन ।”

यमराजको कुराले जिद्धी राजालाई छोएन । उसले जिद्दी गरि नै रह्यो ।

“वास्तवमा मलाई ध्यान हटाउँन सकिन्छ भन्ने कुरामा विश्वास नै छैन ।” यमराजले मुस्कुराउँदै भने, “यदि तिमीले मलाई ध्यान हटाउँन सम्भव छ भन्ने उदाहरण देखायौ भने म पत्याउँला र मानुँला ।” यो वार्तालापको निष्कर्ष के निस्किनेछ भन्ने यमराजलाई थाहा भइसकेको थियो सायद । उनको मुहारमा व्यंग्य मिश्रित मुस्कान देखियो ।

राजाले दायाँबायाँ केहि सोचेन । तुरुन्तै स्विकार्यो । उसलाई आफुले गर्न नसक्ने भन्ने कुराको विश्वासै थिएन । विश्वास गरोस् पनि कसरी ? उसले आफ्नै कुटिलताले दाई मारेर शासन हत्याएको थियो । जनतामा रवाफ फैलाएको थियो । र, भर्खरै मात्र उसले यमराज स्वयमलाई उसको सामुन्ने आउँन बाध्य बनाएको थियो ।

“यो घडी हातमा बाँध । यो घडी तिम्रो मष्तिस्कसम्म जोडिनेछ ।” उनले राजाको हातमा घडी दिदै भने, “तिमीले आधा घण्टासम्म मात्रै मैले भनेको वस्तुबाट ध्यान हटाउँनु पर्ने छ ।”

राजाले घडी हातमा बाँध्दै भन्यो, “त्यस्तो के वस्तु हो ?”

“बाँदर ।” यमराजले भनेँ ।

राजा यमराजको कुरा सुनेर फिस्स हास्यो र भन्यो, “यस्तो जाबो कुरा पो ? म त के के न होला भन्ठानेको । मैले मेरो जिन्दगीमा आजसम्म कहिलै पनि बाँदरप्रति ध्यान दिएको छैन ।”

“आधा घण्टा पुरा भए पछि घडी रोकिनेछ । अनि मलाई सम्झनु ।” यमराजले सचेत गराए, “तर तिमीले आधा घण्टा भित्र कुनै पनि बेला बाँदर भन्ने शब्द सम्झियौ भने पनि यो घडीले फेरि शुन्यबाट समय गन्न थाल्नेछ नि ।”

यमराज त्यहाँबाट अन्तरध्यान हुने बित्तिकै राजा ध्यानमा बस्यो । ध्यानमा बसैको एकैछिनमा यमराजले जाबो बाँदरमा ध्यान नदिनु भने भन्ने सम्झिएर खिस्स हास्यो । घडीको समय शुन्यमा झर्यो ।

राजाको दिमागमा त्यसपछि बाँदरको चित्र र बाँदर शब्द हट्दै हटेन । कुनै बेला राजा के कसो गर्दै साँच्चै नै बाँदरलाई भुल्थे तर कति समय भयो भन्ने हेर्न घडी तिर नजर दौडाउँथे । “२१ मिनेट भइसकेको रहेछ । अब ९ मिनेट बाँदरलाई नसम्झिए म अमर बन्छु ।” उनी यस्तै केहि सोच्थे र घडी फेरि शुन्य देखि गन्न सुरु गर्थ्यो ।

यसरी नै घण्टा बित्यो । दिन बित्यो । र, हप्ता बित्यो । अब राजालाई थाहा भयो, कुनै पनि हालतमा उनी बाँदरबाट आधा घण्टाको लागि मात्रै ध्यान हटाउँन सक्दैनन् । उनी आजित भएर यमराजलाई पुकारे । यमराजसँग माफी मागेर राज्य नफर्की सन्यासी भएर जीवन बिताए ।

यसरी बाँदर बाहेक अन्य कुरामा ध्यान केन्द्रित नगर्दा र बाँदरबाट ध्यान हटाउँन नसक्दा राजाको अमर हुने सम्भावना सकियो । हामीसँग अमर हुने सपना छैन तर हाम्रा धेरै सपना र सम्भावनाहरु हामीले ध्यान केन्द्रित गर्न नसक्दाको कारण सकिने गर्छन् । सफलताको सबै भन्दा पहिलो शर्त नै आफुले गरेको वा गर्नु पर्ने काममा ध्यान केन्द्रित गर्न सक्नु हो ।

आज यो लेखमा म तपाईलाई ध्यान केन्द्रित गर्ने १० वटा व्यवहारिक उपायहरुका बारेमा जानकारी दिनेछु । आशा छ, थोरै भए पनि तपाईलाई सहयोगी हुनेछ ।

१. आवश्यक समय सुत्नुहोस्

अनिदोपनले दिमागको सक्रियता कम गराउँछ । सुस्त दिमागले तपाईमा एकाग्रता नै रहदैन । यस्तो अवस्थामा ध्यान केन्द्रित गर्छु भन्ने जिद्धी नै बेकार हो । त्यसैले ध्यान केन्द्रित गर्ने क्षमता बढाउँन उमेर र अवस्था अनुसार आवश्यक पर्ने समय मस्त सुत्नुहोस् ।

२. नियमित कसरत गर्नुहोस्

नियमित गरिने कसरतले शरिरमा रक्तसञ्चार राम्रो हुन्छ भने शरिर पनि स्वस्थ हुन्छ । यसले हाम्रो एकाग्रता र ध्यान केन्द्रित गर्ने क्षमता वृदि गर्छ ।

३. सामान्य कसरत गर्नुहोस्

कसरत भन्ने बित्तिकै ‘सिक्स प्याक’ निकाल्ने भन्ने नसम्झिनुहोस् । बढि गरिने शारिरिक व्ययामले शरिर र मस्तिष्कलाई थकाउँछ । यसले गर्दा ध्यान केन्द्रित हुन सक्दैन । अत: सामान्य कसरतहरु गरेर शरिर र मस्तिष्कलाई स्फुर्त बनाउँनुहोस् ।

४. दिमागलाई तालिम दिनुहोस्

मुख्य त दिमागलाई स्वतन्त्र नछोडिदिनुहोस् । दिमागलाई आफुले चाहेको कुरामा मात्रै एकाग्र हुन तालिम दिनुहोस् । दिमागलाई कसरी तालिम दिने भन्ने कुरामा पछि कुनै लेख लेख्नेछु ।

५. पौष्टिक खानेकुरा खानुहोस्

पौष्टिक खानेकुराले स्वस्थ राम्रो बनाउँछ । यस्तै सन्तुलित र स्वस्थ खानाले दिमागमा चाहिने आवश्यक पोषण पुर्याउँछ जसले मस्तिष्कलाई ताजा र सक्रिय बनाउँछ । यसले गर्दा हाम्रो ध्यान केन्द्रित गर्ने क्षमता बढ्छ ।

६. ध्यान बस्नुहोस्

दिमागलाई आफ्नो नियन्त्रणमा राख्नका लागि ध्यान बस्नु सबै भन्दा राम्रो उपाय हो । नियमित रुपमा थोरै भए पनि ध्यान बस्नाले दिमागमा रहेका विकारहरु निस्किन्छन् ।

७. छुट्टी लिनुहोस्

एकैखालको काम गराइ वा दैनिकीले पनि हाम्रो दिमागलाई नियन्त्रण गर्न अफ्ठ्यारो भइराखेको हुन्छ । बेला बेलामा लिइने छुट्टी र मनोरञ्जनले हाम्रो कामप्रतिको लगाव बढाउँन सहयोग पुर्याउँछ जसले हाम्रो ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ ।

८. तनाव लिन बन्द गर्नुहोस्

तनावले हाम्रो सम्पुर्ण ध्यान नै तनाव तिर तान्ने गर्छ । तनाव मुक्त रहन सके हामी आफुले चाहेको बिषयमा ध्यान केन्द्रित गर्न सक्छौ ।

९. एक समयमा एउटा काम गर्नुहोस्

हुन त जमाना ‘मल्टि टास्किङ’को छ तर एकै समयमा एक भन्दा बढि काम गर्दा हाम्रो सम्पुर्ण ध्यान हामीले चाहेको बिषयवस्तुमा मात्रै ध्यान केन्द्रित हुदैन ।

१०. दिमागमा स्फुर्ति आए पछि काम गर्नुहोस्

अल्छि लागि लागि काम गर्नु भयो भने कुनै पनि हालतमा तपाईको ध्यान केन्द्रित हुदैन । यसैले दिमागमा स्फुर्ति आए पछि मात्रै काम गर्नुहोस् । दिमागलाई स्फुर्ति ल्याउँने तरिकाहरुका बारेमा पछि लेख्नेछु । उज्यालो पाटो हेर्दै गर्नुहोला ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

नमस्ते, म गणेश कार्की । एउटा आममान्छे । सामाजिक सञ्जाल मात्रै होइन, हाम्रो समाज नै नकारात्मक खबर र जानकारीहरुले भरिएको छ । ‘नकारात्मक मात्रै बिक्छ’ भन्ने सोच व्याप्त छ । यस्तोमा सकारात्मक कुरा लेखेर पनि व्यवसायिक हुन सकिन्छ भन्ने उदाहरण देखाउँने मेरो सानो प्रयास हो । उज्यालो पाटोमा म जीवनको उज्यालो पाटोको बारेमा लेख्छु । अथवा, जीवनलाई उज्यालो पाटोमा कसरी लैजाने भन्ने बारेमा आफुले देखेका भोगेका र पढेका कुराहरु बाढ्नेछु । सामाजिक सञ्जालमा अलिकति भए पनि सकारात्मक र ज्ञानवद्धर्क कुराहरु सेयर हुन योगदान गर्न सकुँ । यस्ता कुरा पढ्न चाहनेले पढ्ने ठाउँ बनोस् । यस्ता कुरा लेख्न सक्नेहरु व्यवसायिक रुपमा लेख्ने हिम्मत गर्न सकुन् । मेरो इच्छा यति हो । यो भन्दा धेरै हाशिल भए म झन् खुसी हुनेछु । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

गणेश कार्की – who has written posts on उज्यालो पाटो.


Post Comment