ब्रेक अपको समयको जस्तो कमजोर र संवेदनशील अवस्था मानव जीवनमा सायदै पर्छ । ब्रेक अप पछिको समयमा बलियो भइराख्नु असम्भव जस्तो लाग्छ । जतिसुकै उदाहरणहरु अगाडी राखियोस्, जति अरुले हौशला दिउन्, ब्रेक अपको समय निकै नै गाह्रो हुन्छ सहनलाई ।
जुन सुकै कारण भए पनि ब्रेक अप सहन कठिन हुन्छ । अझ केहि परिस्थितीहरु जस्तै धोका पाउँनु, कोही अरुसँग सम्बन्ध बनाएर ब्रेक अपको स्थितीमा पुग्नु आदिले यसमा झन् असहजता थप्छन् । आपसी समझदारीमा नै भएको हो भने तपाईले आफुलाई त्यस्तो अवस्थामा पाउँनुहुनेछ, जहाँ आफु अड्किएको जस्तो अनुभव गर्नु हुनेछ । आफु रित्तो भए जस्तो वा भनौँ, निकासको कुनै बाटो नभए जस्तो सोच्न थाल्नु हुनेछ ।
हुन पनि, ब्रेक अपको समयमा उचित सरसल्लाह वा साथसहयोग नपाउँदा मानिसहरु त्यसमै रुमल्लिएर बस्ने मात्र होइन, स्थायीरुपमा दुख पुग्ने गरिका हर्कतहरु गर्न पुग्छन् ।
त्यसो भए त्यस्तो के उपाय हुन्छ जसले ब्रेक अप पछि बलियो हुन सहयोग गर्छ ? कसरी ब्रेक अप भइसके पछि पनि मानिसहरु अगाडी बढ्छन् जीवनमा ? कसरी आफ्नो नियमित दैनिकीमा फर्किने ? १२ उपायहरु यस्ता छन् तर स्मरण रहोस्, यो सैद्धान्तिक कुरामात्रै होइन र यसमा व्यवहारमा लागू गर्ने तपाईको जिम्मेवारी हो ।
१. आफ्नो भावनाबाट नचल्नुहोस्
मैले माथि नै भनिसकेँ, ब्रेक अपको समयमा जस्तो कमजोर र संवदेनशील अवस्था मानव जीवनमा सायदै पर्छ । यसैले, यो समयमा हुने आवेगात्मक गतिबिधी र निर्णयहरु पनि सामान्य अवस्थामा भन्दा गहन र जटिल हुने गर्छन् । कतिपय अवस्थामा त अपराधीक या हिंसात्मक । अनेक किसिमका भावनाहरु आउँछन् । तपाईलाई गलत हो भन्ने त लाग्ला तर पनि यति धेरै तर्कहरु जन्मिन्छन् कि तपाईले आफ्नो भावनालाई नकार्न गाह्रो हुन्छ ।
यसैले जीवनमा भावनाबाट चल्न नहुने समय हो ब्रेक अप पछिको समय । आफ्नो दिमागको सक्दो प्रयोग गर्नुहोस् । आफ्नो प्रत्येक गतिबिधी वा निर्णयले आफुलाई वा अरुलाई के कस्तो असर पार्छ भन्ने बारेमा सोच्नुहोस् । यतातिर धेरै सोच्नु भयो भने आफ्नो भावना र आवेगलाई रोक्न सहायक सिद्ध हुनेछ ।
२. मान्नुहोस् कि भोग्ने तपाई मात्रै होइन
‘मलाई मात्रै किन यस्तो भयो ?’ वा ‘मसँग नै यस्तो किन हुनु पर्ने ?’ यस्ता धेरै प्रश्नहरु दिमागमा आउँछन् तर यो केवल आवेग मात्रै हो । ब्रेक अप भोग्ने संसारमा कोही पनि एक्लो मान्छे हुदैन । अरु धेरैले धेरै किसिमका ब्रेक अपहरु भोगेका हुन्छन् । हुन सक्छ, ति ब्रेक अपहरु तपाईको भन्दा दर्दनाक हुन् तर पनि मानिसहरु आफ्नो नियमित जीवनमा फर्किएका हुन्छन् ।
आफ्नै गल्तिले यो हुन गयो भनेर आफुलाई मात्रै दोष दिएर बसियो भने र आफुलाई मात्रै परेको हो भन्ठान्ने हो भने अवस्थाबाट पार पाउँन गाह्रो हुन्छ । असाध्यै धेरै यस्ता घटना हुन्छन् जुन खराब सम्बन्धका कारणले वा कसैको अधिक महत्वकांक्षाले वा साथीको चरित्रको कारणले घट्न पुगेका हुन्छन् । यस्तोमा आफुले मात्रै यस्तो भोगेको भन्ने सोच्नु सरासर आफैलाई दुख दिने कारण हो ।
३. आफ्नो भावनालाई महसुस गर्नुहोस् र लेख्नुहोस्
ब्रेक अप अनुभव हो, पिडादायी पक्कै हुन्छ तर यसले सिकाउँछ पनि धेरै कुरा । यो बेलाको भावनालाई महसुस गर्नुहोस् । यो पिडाबाट भाग्न नखोज्नुहोस् बरु पिडालाई महसुस गर्नुहोस् र आफ्नो पिडाको बारेमा लेख्नुहोस् । तपाईले राम्रै लेख्न पर्छ भन्ने छैन । तपाईले लेखेको कुरालाई कसैलाई देखाउँनै पर्छ भन्ने छैन तर लेख्दा मन हल्का हुन्छ । आफ्नो भावना लेखेर आफैले पढ्दा पनि फरक अनुभुति हुन्छ ।
त्यसका अतिरिक्त आफुले लेखेर आफ्नो अनुभुतिलाई पछि आफैले हेर्न पाइन्छ । लेख्न थाले पछि कति ठाउँ आँशु बग्लान् । कति ठाउँमा भक्कानो छुट्ला तर कतै न कतै, कुनै न कुनै रुपमा तपाई भित्र भएको रित्तोपन बाहिरिन्छ । तपाई भित्र भएको पिडालाई कुण्ठा हुनबाट रोक्छ । यसले तपाईको मन हल्का पक्कै बनाउँछ ।
४. आफ्नो गलत सोचाइलाई सच्याउँनुहोस्
यस्तो भोग्ने त म मात्रै होला भन्नेदेखि बदलाको भावनासम्म आउँछ दिमागमा । बदलाको भावनाले तपाईको घाउ निको पार्दैन, उल्टो बढाउँछ । त्यस्तै ब्रेक अपको पिडा सहन नसकेर आत्महत्या गर्नेहरुको पनि कमि छैन । तर कुनै पनि यस्ता भावना र गतिबिधीले समाधान दिदैन । कतिपय भावनाले तपाईलाई माया गर्ने अरु मान्छेलाई पनि समस्या पार्न सक्छ । यस्ता गलत सोचाइहरु दिमागमा आउँन थालेमा आफुलाई सच्याउँनुहोस् ।
यदि सन्तुलित भएर आफुलाई सम्हाल्ने हो भने कसैको पनि जिन्दगी ब्रेक अपले बिग्रिदैन । भावनामा बगेर हेर्दा त्यसपछिको बाटो नदेखिएको मात्रै हो तर त्यहाँ पनि समाधानको बाटो हुन्छ । कतिपय अवस्थामा मान्छे यति बलवान बन्छ कि त्यसपछिको बाटो झन् सुन्दर र आत्मिय हुने गर्छ ।
५. आफ्ना नजिकका मानिसहरुसँग नजिकिनुस्
ब्रेक अप हुनुको अर्थ सम्बन्ध सकिनु मात्रै होइन । मान्छेको मनमा एउटा रित्तोपन बस्नु हो जसमा पहिले कोही मानिस बसेको हुन्छ । त्यो ठाउँ भर्नु पर्छ । हो, उहि मान्छे जस्तो गरेर तपाईको मनको त्यो स्थान अरु कसैले भरिहाल्न सक्दैन तर आफ्नो नजिकका मानिसहरुले थोरै खाली ठाउँ भने पक्कै भर्नेछन् । आफ्ना नजिकका मानिसहरुसँग झन् नजिकिनुहोस् । आफ्नो मनको पिडा केहि नलुकाइ भन्नुहोस् । साथीभाई तथा आफन्तहरु चाहिने भनेकै यस्तै बेलामा हो ।
मेरा भावनाहरु सुनाएँ भने मलाई गिज्याउँनेछन् भन्ने नसोच्नुहोला । उनीहरुले गिज्याउँने होइनन्, तपाईलाई भिन्न तरिकाले आफ्नो पिडा भुल्न हौस्याइरहेका हुन्छन् । जसले वास्तवमै तपाईलाई गिज्याउँछन्, ति तपाईका आफन्त होइनन् । त्यस्तालाई चिन्ने मौका पनि पाइन्छ ।
६. शुन्य सम्पर्क नीति
‘मेरो जीवनबाट जाने भए जाउ, तर अन्तिम पटक भेट्न आउ’ एउटा नेपाली गीतको पंक्ति हो यो । तपाईलाई पनि लाग्न सक्छ, जे भए पनि अन्तिम पटक भेटुँ । किन यस्तो भयो भनेर प्रश्न गरुम् । किन यस्तो गरिस् भनेर सोधौँ । मैले के गल्ति गरेँ भन्ने थाहा पाउँ । तर यो सहि तरिका होइन । यदि तपाई ब्रेक अप पछि बलियो हुन चाहनु हुन्छ भने पुर्णरुपमा सम्बन्धविच्छेद गरेर बस्नुहोस् ।
शुन्य सम्पर्क नीति भनेको यस्तो प्रक्रिया हो, जसमा तपाईले कुनै पनि तरिकाले सम्पर्क गर्नुहुन्न । फेसबुक लगायतमा अनफ्रेन्ड गरिदिनुस् । म्यासेज वा कल नगर्नुहोस् । यसले कुराहरु विस्तारै बिर्साउँदै लान मद्दत गर्छ ।
८. यादहरुबाट उम्किनुहोस्
भन्न असाध्यै सजिलो छ तर व्यवहारिकरुपमा यो गाह्रो कुरा हो तर असम्भव कुरा होइन । यादहरुबाट उम्किन सकिन्छ । ब्रेक अप पछि बलियो हुने हो भने त पुराना यादहरुबाट उम्किनै पर्छ । पुराना यादहरुको पिडा बोकेर मान्छे आफ्नो नियमित जीवनमा फर्किन गाह्रो हुन्छ ।
यादहरुलाई बिट मार्नुस् । मिठा यादहरु गीतमा र कथाहरुमा विशेष हुन्छन्, प्रिय लाग्छन् तर व्यवहारिक जीवनमा वियोगका यादहरुले निकै पिरोल्छन् । व्यवहारिक बन्नुस् । याद आउँने सबै कुरालाई पर पुर्याउँनुहोस् ।
९. व्यस्त रहनुहोस् र मन पर्ने कामहरु गर्नुहोस् ।
वियोगका गीतहरु सुनेर एकान्तमा रुँदै बसेर तपाई कदापि बलियो बन्न सक्नु हुन्न । तपाईले दुर्घटनाबाट ध्यान मोड्नै पर्छ । कुनै पनि नराम्रा कुराहरुबाट ध्यान मोड्ने सबै भन्दा सजिलो उपाय हो, आफुलाई व्यस्त राख्ने । तर अल्छि लाग्दा कामहरु जबरजस्ती गरेर तपाईको ध्यान मोडिदैन । यसले अनावश्यकरुपमा दिमागमा झन् भार बढाउँछ ।
यसैले आफुलाई मन पर्ने कामहरु गर्नुहोस् । सकेसम्म रचनात्मक कामहरु गर्नुहोस् । यसले तपाईमा जाँगर ल्याउँछ र पुराना नमिठा कुराहरु बिर्सिएर बलियो हुन सहयोगी हुने गर्छ ।
१०. सकारात्मक हुनुहोस्
ब्रेक अप हुनुको अर्थ भत्किनु हो । तपाई जति सकारात्मक भए पनि यो वास्तविकतालाई स्विकार्नु पर्छ । सकारात्मक हुनु भनेको वास्तविकतालाई नस्विकारी अफ्ठ्यारो अवस्थामा पनि सजिलो भनेर भ्रममा बाँच्नु होइन । सकारात्मक हुनुको अर्थ अफ्ठ्यारोलाई पनि स्विकार गर्नु हो र, त्यसबाट सकेसम्म कम क्षतीमा बाहिर निस्कनु हो ।
यसैले तपाई ब्रेक अप पछाडी सकियो वा भत्कियो भन्ने मात्र सोच्नु हुन्न । कुनै एउटा विकल्प सकिदैमा सबै थोक सकिदैन, बरु अरु विकल्पका ढोकाहरु खुल्ला हुन्छन् भन्ने कुरामा विश्वास गर्नुहोस् ।
११. आफुलाई माया गर्नुहोस्
‘म तिमीलाई आफु भन्दा बढि माया गर्छु’ प्रेममा यसो भनिन्छ । प्रेममा हुँदा वा साथै हुँदा उसका लागि सबै कुरा गर्नु दायित्व वा प्रेम हुन सक्छ तर जब ब्रेक अप भएको हुन्छ तब पनि पुरानै कुरामा अड्किएर बसिन्छ भने आफु प्रतिको बेइमानी हुन्छ । तपाईले सबै भन्दा बढि माया गर्नु पर्ने तपाई आफैलाई हो ।
आफ्नो चित्त दुख्ने, आफ्नो भविष्य बिग्रिने र आफ्नो बाटो बन्द हुने कुनै काम पनि गर्नु हुदैन ।
१२. साथी खोज्नुहोस्
फलामले फलाम काट्छ भने झैँ सजिलो कुरा हो यो । मनमा जुन खालीपन हुन्छ, त्यसलाई भर्न साथीको आवश्यकता पर्छ । सोही किसिमको सम्बन्ध बनाउँन सके विगतबाट छिट्टै बाहिरिन सम्भव हुन्छ ।
यसो भन्दै साथी बनाउँन हतार भने गर्नु हुदैन । पहिलेको साथीसँग तुलना गरेर सम्बन्धमा चिसोपन पनि थप्नु हुदैन तर साथीलाई पहिलेका कुराहरु इमान्दारपुर्वक भन्दा मन हलुंगो हुनेछ ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।