कुनै बिषयमा ध्यान केन्द्रित गर्नु र कुनै बिषयबाट ध्यान अन्यत्र मोड्नु संसारकै असाध्यै गाह्रो कामहरु मध्येमा पर्छ । त्यसमा अझ क्षमता भन्दा ठुलो महत्वकांक्षा पनि मिसियो भने भनि नसक्नु अफ्ठ्यारो आइलाग्छ ।
एकादेशमा एकजना राजाको एउटा भाई रहेछ । बाठो । कलाकार भने हुने । अनुहारमा गाम्भिर्यता र कोमलता ल्याउँन सक्ने । भएको पैसा र स्वभाव प्रयोग गरेर मान्छेहरुलाई फकाउँन सक्ने । उसलाई राजा हुने इच्छा भएछ ।
पारिवारिक भोजको अवसर पारेर उसले राजा र युवराजहरुको खानामा बिष मिलाइदिएछ । राजा र युवराजहरु त्यहि कारणले बिते । राजा हुने पालो उसकै आयो । राजा भए पछि उसलाई लाग्यो, यो सारा संसारमै म भन्दा प्रभावशाली कोही छैन । संसारभरका सबै कुरा मैले पाउँनु पर्छ । तर, यस्तै सोचिरहदा उसलाई आफ्नो सिमित आयूको हेक्का भएछ ।
तत्कालै उसले सोच्यो, म जस्तो मान्छे पनि मर्नु पर्ने ? म नरहे यो पद र राज्यको हालत के होला ? यो संसारमा अमर हुने एकमात्र हकदार म अनि ममात्रै हुँ । उसलाई लाग्यो, अब उसले मृत्युलाई जित्नै पर्छ । उसले तपस्या गरेर मृत्युका देव यमराजबाट अमरत्वको वरदान पाउँने बारेमा सोच्यो ।
उसले यमराजलाई फकाउँन हदैसम्मको तपस्या र साधना गर्यो । प्रचण्ड गर्मीमा ढुंगा तताएर ढुंगामाथि बसेर तप गर्यो । चिसोमा मुटु चिस्याउँने पानीमा डुबेर तप गर्यो । आखिर यमराजको केहि लागेन । उनी राजाको तप र साधनाबाट पग्लिएर वरदान दिन राजा सामू उभिए । राजाले एकैपल पनि ढिलो नगरी आफ्नो इच्छा बतायो ।
यमराजले भने, “तिम्रो तप र साधना अद्धितिय छ । म तिमीसँग प्रशन्न छु तर पनि म तिमीलाई अमरत्वको वरदान दिन सक्दिन । जन्मिए पछि मर्नै पर्छ ।”
तब राजाले बढो चतुरताका साथ बोल्यो, “प्रभु ! तपाईका लागि यो त्यस्तो गाह्रो केहि कुरा पनि होइन । संसारमा यति धेरै प्राणीहरु छन् । सबैको प्राण हर्ने तपाई नै हो । सबैलाई मृत्यु दिने तपाई नै हो । यतिका धेरै प्राणी भएको ठाउँमा मबाट ध्यान अन्त लैजानु भयो भने म त्यसै छुट्छु । तपाईको ध्यानबाट छुटे पछि म अमर हुने भइहालेँ नि ।”
राजाको उपाय यमराजलाई गजब लाग्यो । उनले मुस्कुराउँदै भने, “यस्तो अवस्थामा त स्थिती झन् अफ्ठ्यारो बन्छ । म ध्यान हटाउँनै सक्दिन ।”
यमराजको कुराले जिद्धी राजालाई छोएन । उसले जिद्दी गरि नै रह्यो ।
“वास्तवमा मलाई ध्यान हटाउँन सकिन्छ भन्ने कुरामा विश्वास नै छैन ।” यमराजले मुस्कुराउँदै भने, “यदि तिमीले मलाई ध्यान हटाउँन सम्भव छ भन्ने उदाहरण देखायौ भने म पत्याउँला र मानुँला ।” यो वार्तालापको निष्कर्ष के निस्किनेछ भन्ने यमराजलाई थाहा भइसकेको थियो सायद । उनको मुहारमा व्यंग्य मिश्रित मुस्कान देखियो ।
राजाले दायाँबायाँ केहि सोचेन । तुरुन्तै स्विकार्यो । उसलाई आफुले गर्न नसक्ने भन्ने कुराको विश्वासै थिएन । विश्वास गरोस् पनि कसरी ? उसले आफ्नै कुटिलताले दाई मारेर शासन हत्याएको थियो । जनतामा रवाफ फैलाएको थियो । र, भर्खरै मात्र उसले यमराज स्वयमलाई उसको सामुन्ने आउँन बाध्य बनाएको थियो ।
“यो घडी हातमा बाँध । यो घडी तिम्रो मष्तिस्कसम्म जोडिनेछ ।” उनले राजाको हातमा घडी दिदै भने, “तिमीले आधा घण्टासम्म मात्रै मैले भनेको वस्तुबाट ध्यान हटाउँनु पर्ने छ ।”
राजाले घडी हातमा बाँध्दै भन्यो, “त्यस्तो के वस्तु हो ?”
“बाँदर ।” यमराजले भनेँ ।
राजा यमराजको कुरा सुनेर फिस्स हास्यो र भन्यो, “यस्तो जाबो कुरा पो ? म त के के न होला भन्ठानेको । मैले मेरो जिन्दगीमा आजसम्म कहिलै पनि बाँदरप्रति ध्यान दिएको छैन ।”
“आधा घण्टा पुरा भए पछि घडी रोकिनेछ । अनि मलाई सम्झनु ।” यमराजले सचेत गराए, “तर तिमीले आधा घण्टा भित्र कुनै पनि बेला बाँदर भन्ने शब्द सम्झियौ भने पनि यो घडीले फेरि शुन्यबाट समय गन्न थाल्नेछ नि ।”
यमराज त्यहाँबाट अन्तरध्यान हुने बित्तिकै राजा ध्यानमा बस्यो । ध्यानमा बसैको एकैछिनमा यमराजले जाबो बाँदरमा ध्यान नदिनु भने भन्ने सम्झिएर खिस्स हास्यो । घडीको समय शुन्यमा झर्यो ।
राजाको दिमागमा त्यसपछि बाँदरको चित्र र बाँदर शब्द हट्दै हटेन । कुनै बेला राजा के कसो गर्दै साँच्चै नै बाँदरलाई भुल्थे तर कति समय भयो भन्ने हेर्न घडी तिर नजर दौडाउँथे । “२१ मिनेट भइसकेको रहेछ । अब ९ मिनेट बाँदरलाई नसम्झिए म अमर बन्छु ।” उनी यस्तै केहि सोच्थे र घडी फेरि शुन्य देखि गन्न सुरु गर्थ्यो ।
यसरी नै घण्टा बित्यो । दिन बित्यो । र, हप्ता बित्यो । अब राजालाई थाहा भयो, कुनै पनि हालतमा उनी बाँदरबाट आधा घण्टाको लागि मात्रै ध्यान हटाउँन सक्दैनन् । उनी आजित भएर यमराजलाई पुकारे । यमराजसँग माफी मागेर राज्य नफर्की सन्यासी भएर जीवन बिताए ।
यसरी बाँदर बाहेक अन्य कुरामा ध्यान केन्द्रित नगर्दा र बाँदरबाट ध्यान हटाउँन नसक्दा राजाको अमर हुने सम्भावना सकियो । यति मात्रै होइन, उनी जो जिन्दगी एकदमै शानसँग बाचिरहेका थिए, ति सबै एक्कासी मुल्यहिन हुन पुगे । यो सबैको कारण थिए – राजाको अधिक आत्मविश्वास र अधिक महत्वकांक्षा ।
हामीसँग अमर हुने सपना छैन तर हाम्रा धेरै सपना र सम्भावनाहरु हामीले ध्यान केन्द्रित गर्न नसक्दाको कारण सकिने गर्छन् । आफ्नो क्षमता भन्दा बढि ताक्दा आफुले भोगिरहेको जीवनसँगको असन्तुष्टी ।
राजा र यमराजको पाठ हाम्रो जीवनका धेरै क्षणहरुमा उपयोगी रहिरहन्छन् ।
यो कथा सहित ध्यान केन्द्रित गर्ने क्षमता बढाउँने १० व्यवहारिक उपायहरु बारे थाहा पाउँन भने यहाँ क्लिक गर्नुहोस् ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।