जिन्दगीले हानेको झटारोलाई कसरी सम्हाल्ने ? दुखबाट उठ्ने व्यवहारिक उपायहरु

मान्छेलाई दुख मन पर्दैन । कोही पनि चाहदैन कि आफुलाई दुख परोस् या आफु दुखी हुनु परोस् । मान्छेले खोज्ने खुसी हो तर खुसीको पनि विशेषता गजबको हुन्छ ।

खुसी हुन कारण चाहिन्छ । मान्छे दुखको अनुपस्थितीमा अर्थात कुनै दुख नपर्दैमा खुसी हुन सक्दैन । उसलाई खुसी हुन खुसी हुने कारण चाहिन्छ तर दुखी हुन कुनै कारण नै चाहिदैन । खुसीको अवस्था नहुदैमा मान्छे दुखी हुन्छ । आफुले सोचे जस्तो जिन्दगी नै लामो समय बिताइरहेमा पनि मान्छेलाई त्यसमा रस छुट्छ, मान्छे आफ्नै चाहनासँग र जिन्दगीसँग दुखी हुन थाल्छ ।

र, जिन्दगी यस्तो अफ्ठ्यारो हुन्छ कि यसमा दुखी हुनु पर्ने असाध्यै धेरै कारणहरु नखोजीकन भेटिन्छन् भने जिन्दगीमा साँच्चै दुखी हुनु पर्ने अवस्था त सामान्य मानिसहरुको जीवनमा साह्रै धेरै आउँछन् । यसलाई हामी समयले दिएको दुख वा खराब समय भन्छौ । जिन्दगीको यात्रामा यसलाई जिन्दगीले हानेको झटारोको रुपमा बुझ्न सकिन्छ । अनिश्चित जिन्दगीमा कहाँबाट कुन समयमा कस्तो झटारो आउँछ भन्ने जति नै तयारी गरे पनि पुर्ण तयार कहिलै हुन सकिदैन ।

यस्तोमा कतिपय मानिसहरु ति अफ्ठ्यारालाई सम्हाल्नै सक्दैनन् । उठ्नै नसक्ने गरि थला पर्छन् । कति सम्हालिन ढिलो गर्छन् र धेरै खुसीका धेरै सम्भावनाहरुलाई छुटाउँछन् । यो सत्य हो । जीवन भोगाइमा यस्ता पात्रहरु जतासुकै भेटिन्छन् । कतिपय अवस्थामा आफैले पनि भोग्न सकिन्छ ।

त्यसो भए के दुखबाट उठ्न वा भनौँ, जिन्दगीले हानेको झटारोलाई सम्हाल्न असम्भव नै हो त ? पक्कै पनि होइन । केहि यस्ता उपायहरु हुन्छन् जसले बाँच्ने साहस मात्र दिदैनन्, जसले भविष्यप्रतिको आशा मात्रै जगाउँदैनन्, हामीलाई उठ्ने हिम्मत पनि दिन्छन् । जिन्दगीले हानेको झटारोलाई सम्हाल्दै सकेसम्म कम क्षति हुन सहयोगी सिद्ध हुन्छन् । यहाँ म त्यस्तै उपायहरुका बारेमा लेख्दैछु । आशा छ, उपयोगी हुने छ ।

आफु भित्र के भइरहेको छ भन्ने थाहा पाउँने

कुनै अफ्ठ्यारो समय आयो । मानौँ, सम्बन्ध बिग्रियो । कारोबार बिग्रियो । धोका पाइयो । सम्पति गुमाइयो । यस्ता धेरै अफ्ठ्यारा समयहरु हुन्छन् जसमा हामी दुखी अनुभव गर्छौ तर कतिपय समयहरुका दुख आफ्नो भ्रम मात्रै पनि हुन सक्छ । हामीलाई केहि समय कामबाट छुट्टी चाहिएको हुन सक्छ, अथवा केहि समय नजिकका मान्छेसँग बिताउँन मन लागेको हुन सक्छ, अवस्था जे जस्तो भए पनि आफु किन दुखी अनुभव गर्दैछु भन्ने आफैभित्र खोज्नु पर्छ । आफु के चाहेको छु भन्ने स्पष्ट हुनु पर्छ ।

कतिपय अवस्थामा मानिस आफ्नो रहर वा समस्या नचिनेर दुखी भइरहेको हुन्छ । आफु भित्रको चाहना थाहा पाए नयाँ सम्भावनाहरु देखिन्छन् । विनाशमा पनि प्रगति गर्ने आधार देखिन सक्छ । यसैले विना कुनै पुर्वाग्रह, विना कुनै महत्वकांक्षा, आफु भित्र के भइरहेको छ भन्ने थाहा पाउँनु पर्छ । र, त्यसको समाधान के हो भन्नेमा विचार गर्न थाल्नु पर्छ ।

कतिपय अवस्थामा आफ्नो भन्दा अरुको पिरले खाइरहेको हुन्छ । कतिपय अवस्थामा आफ्नो अभिमान बिचमा आइरहेको हुन्छ । यसैले वास्तवमा भइरहेको के हो भन्ने छुट्याउँनै पर्छ । अरुले के भन्ला भन्ने कुरा भ्रम हुन्छ धेरै जसो समयमा । कतिपय कुरा अरुले वास्ता पनि गरेका हुदैनन् र कतिपयमा अरुसँग भन्ने केहि कुरा नहुन पनि सक्छ ।

आफ्नो प्रतिक्रिया कस्तो हुन्छ ?

आकस्मिक रुपमा हुने यस्ता घटना वा दुर्घटनाले हाम्रो सोच्ने र निर्णय गर्ने क्षमतालाई आक्रमण गर्छ । हामीमा आवेग यति धेरै बढ्छ कि हामीले गरेका कतिपय निर्णयहरु गलत हुन्छन् र पछि हामी त्यसमा पश्चाताप गर्नु पर्ने स्थितीमा पुग्छौ ।

यस्तो अवस्थामा कसै कसैले भने फरक किसिमको चरित्र देखाउँछन् । जस्तो कि कुनै कोठामा आफुलाई बन्द गरेर बिल्कुलै रुपमा अरुसँग सम्बन्धविच्छेद गर्ने । यस्तो अवस्थालाई अंग्रेजीमा Stonewalling भनिन्छ । यसको अर्थ हो, कुनै तनावपुर्ण अवस्थालाई प्रत्यक्ष भेट्नु भन्दा त्यसबाट भाग्न खोज्नु र अरु कोहीसँग त्यसबारे कुरासम्म नगर्नु । यस्तो अवस्थाले समस्या झन बिगार्न सक्छ ।

यसैले कुनै घटनाहरुमा आवश्यक परे भन्दा बढि आवेगमा आएर प्रतिक्रिया दिनु भन्दा केहि समय लिनु आवश्यक हुन्छ । यसका लागि आफुलाई शान्त पार्न सक्नु पर्छ । आफुलाई शान्त पार्ने सामान्य उपायहरु हुन्, पानी पिउँने । खुल्ला हावामा निस्किने । लामो लामो श्वास लिने ।

वास्तवमा समस्या के हो ?

कतिपय अवस्थामा हामी आकस्मिक फेरिएको अवस्थासँग अनावश्यकरुपमा डराइरहेका हुन सक्छौँ ।

महेशले खासै धेरै सोच्दै नसोची बाख्रापालन सुरु गर्यो । बाख्रापालन लहडमा सुरु गरेको उसले जब आफ्नो काम अगाडी बढाउँदै गयो तब उसलाई त्यसका अफ्ठ्यारा र समस्याहरुका बारेमा थाहा हुन थाल्यो । उसले बाख्रापालनमा धेरै समय दिनु पर्थ्यो । खोर गनाउँथ्यो, सफा गरिरहनु पर्ने । काम गर्ने मान्छे खोज्यो, मान्छे नभेटिने ।

विस्तारै बाख्राहरुमा पनि केहि समस्याहरु देखिन थाले । नियमित रुपमा खुवाउँनु पर्ने खुराक वा औषधीका बारेमा उसलाई थाहा थिएन । यसले समस्या झन् थपिदिएको थियो । बाख्राहरु उत्पादन भइसके पछि कृषकले पाउँने थोरै मुल्यका बारेमा पनि उसले थाहा पायो ।

यसबाट बाख्रापालन पुर्व नै उसले यसबारे धेरै कुरा अध्ययन गर्नु पर्ने रहेछ भन्ने थाहा पायो । महेश आफ्ना नजिकका साथीहरुसँग बाख्रा सहित खोर बेच्न पाए हुन्थ्यो भन्ने कुरा गर्थ्यो । एकदिन साँच्चै नै उसले भने जस्तै बाख्रा र खोर किन्ने मान्छे आए । उसले बेच्यो तर त्यहि दिन देखि आफु बेरोजगार भएँ भन्ने पिरले चिन्तित भयो ।

मान्छेको विशेषता यस्तै हुन्छ । कुनै समस्या नभए पनि आफुले चाहेको जस्तै कुरा भए पनि मान्छे दुखी हुन सक्छ । यसैले कुनै समस्याहरुबाट झन् धेरै प्रगतिको सम्भावना पनि खुल्न सक्छ । यसैले वास्तवमा समस्या के हो भन्ने बारेमा ठण्डा दिमागले व्यवहारिक भएर सोच्नु पर्छ ।

समाधान के हुन्छ ?

संसारमा सबै कुराहरुको समाधान हुदैनन् । अझ धेरै कुराहरुको त आफुले चाहे जस्तो समाधान सम्भव नै हुदैन । यो मान्नै पर्ने कुरा हो । व्यवहारिक कुरा पनि यहि हो । यसैले कुनै समस्या पर्ने बित्तिकै समाधान के हुन्छ भन्ने सोच्नै पर्छ ।

हरेक समस्याको दुइटा बाटो हुन्छ । एक, समाधान हुन्छ । दुई, समाधान हुन्न । जुन समस्याको कुनै समाधान नै छैन, त्यसका बारेमा धेरै सोचेर झन् दुखी हुनु भन्दा त्यसलाई स्विकार्नु सबै भन्दा उत्तम उपाय हो । जति चाँडो स्विकार्न सकियो, उति चाँडो आफ्नो सामान्य जीवनमा फर्किन सकिन्छ । जति ढिलो गरिन्छ, उति अफ्ठ्यारोमा परिन्छ ।

र, जुन समस्याको समाधान हुन्छ, त्यसको समाधान पट्टी लाग्ने हो, न कि समस्या पर्यो भनेर दुखी भएर बस्ने । समाधान छ भने दुखी हुनु पर्ने कारण पनि हुन्न । मान्नै पर्छ कि अनिश्चित जिन्दगीले बेला बेला सबैलाई झटारो हान्छ नै । यो जिन्दगीको अति नै सामान्य नियम हो ।

अन्तिममा भन्नु पर्दा, दुख अवश्यम्भावी छ तर यसको निदान पनि छ । दुखको निदान गर्ने तिर ध्यान लगाएर जिन्दगीको झटारोको व्यवस्थापन गर्नु नै वास्तविक जीवन हो । वास्तविक जीवनलाई स्विकारेर बाँच्न सके मान्छे खुसी हुन सक्छ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

नमस्ते, म गणेश कार्की । एउटा आममान्छे । सामाजिक सञ्जाल मात्रै होइन, हाम्रो समाज नै नकारात्मक खबर र जानकारीहरुले भरिएको छ । ‘नकारात्मक मात्रै बिक्छ’ भन्ने सोच व्याप्त छ । यस्तोमा सकारात्मक कुरा लेखेर पनि व्यवसायिक हुन सकिन्छ भन्ने उदाहरण देखाउँने मेरो सानो प्रयास हो । उज्यालो पाटोमा म जीवनको उज्यालो पाटोको बारेमा लेख्छु । अथवा, जीवनलाई उज्यालो पाटोमा कसरी लैजाने भन्ने बारेमा आफुले देखेका भोगेका र पढेका कुराहरु बाढ्नेछु । सामाजिक सञ्जालमा अलिकति भए पनि सकारात्मक र ज्ञानवद्धर्क कुराहरु सेयर हुन योगदान गर्न सकुँ । यस्ता कुरा पढ्न चाहनेले पढ्ने ठाउँ बनोस् । यस्ता कुरा लेख्न सक्नेहरु व्यवसायिक रुपमा लेख्ने हिम्मत गर्न सकुन् । मेरो इच्छा यति हो । यो भन्दा धेरै हाशिल भए म झन् खुसी हुनेछु । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

गणेश कार्की – who has written posts on उज्यालो पाटो.


Post Comment