आँखा खुल्ला पार्नु पर्छ – व्यवहारिक ज्ञान – प्रेरक कथा

उहिलैको कुरा हो । एकजना ऋषि थिए । उनी धनु विद्यामा सबै भन्दा पोख्त । उनको धनुबाट निस्किएको बाणले कहिलै पनि निशाना चुकाएको थिएन ।

एकदिन उनले आफ्नो सबै भन्दा प्यारो चेलालाई बोलाए । आश्रमबाट केहि पर पुगे पछि उनी टक्क रोकिए । उनीसँगै उनको चेला पनि रोकिए । वनमा ऋषि र उनका चेलाले केहि बेर ध्यान लगाएर वरपरको वस्तुस्थिती बुझे ।

सबै कुरा अनुकुल छ भन्ने निधो भए पछि गुरुले आफ्नो काँधमा बोकेर ल्याएको लामो कपडाको पोको भुँइमा राखे । चेलालाई थाहा भइसकेको थियो कि त्यो भित्र के छ किनभने हरेक दिन लगभग यहि समयमा ऋषिले उनैलाई लिएर यो ठाउँमा आउँथे । काँधबाट कपडामा छोपेर ल्याएको आफ्नो धनु र बाण निकाल्थे ।

सोही कपडा भित्रबाट एउटा गुलाबको रातो फूल चेलालाई दिदै निकै परको कुनै रुखमा देखिने गरि गुलाब राख्न लगाउँथे । चेलाले उसै गरेर गुलाबलाई परको रुखमा राखिदिन्थे । निकै एकाग्र भएर ऋषिले झन्डै ३ सय मिटर परको रुखमा भएको गुलाबलाई निशाना लगाउँथे र भन्थे, “बाबु ! त्यो गुलाबमा मेरो निशाना लाग्ला त ?”

“अवश्य पनि लाग्छ ।” चेलाले नम्र स्वरमा जवाफ फर्काउँथे ।

बितेका केहि हप्तादेखि लगातार यस्तै भइरहेको थियो । आज पनि त्यस्तै भयो तर एउटा कुरा भने आज फरक भएको चेलाले थाहा पाए । ऋषिसँग आज एउटा कालो रंगको बाक्लो रुमाल पनि छ ।

“आज पहिले जस्तो परको रुखमा गुलाब नराख । यतै कतै एक सय पाइलाको दुरीमा पर्ने रुखमा यो फूल राख ।” ऋषिले सदा झै चेलालाई गुलाबको फूल दिदै भनेँ, “तर त्यो फूल यहाँबाट भने मज्जाले देखियोस् नि ।”

गुरुको आज्ञा शिरोपर । चेलाले गुरुले भने बमोजिम गरे ।

कालो बाक्लो रुमाल चेलालाई दिदै ऋषिले भनेँ, “अब मेरो आँखा ढाक्ने गरि यो रुमाल मेरो शिरमा बाँधिदेउ । ताकि म केहि कुरा पनि देख्न नसकुँ ।”

गुरुको आज्ञा शिरोपर । चेलाले यसपटक पनि गुरुले भने बमोजिम गरे ।

गुरु गुलाब राखेको रुख तिर फर्केर धनुबाण बोकेर उभिएका थिए । उनले एकदमै एकाग्र भएर धनुको डोरी तन्काएर सदा झैँ सोधे, “बाबु ! त्यो गुलाबमा मेरो निशाना लाग्ला त ?”

“अवश्य पनि लाग्छ ।” चेलाले सदा झै जवाफ दिदै भनेँ, “मैले हरेक दिन देखेको छु कि तपाईले यो भन्दा धेरै परको निशाना सहजै लगाउँनु भएको छ । यो निकै वर छ र तपाईलाई त्यो कहाँ छ भन्ने राम्रोसँग थाहा छ ।”

गुरुले त्यसपछि बल लगाएर धनु तन्काए । निकै शान्त र सचेततासँग गुरुले धनुबाट बाण छोडे । धनु बेतोडसँग हुन्मुनिदै गयो तर गुलाब भएको स्थानबाट निकै दायाँतर्फबाट । हेर्दा यस्तो लाग्थ्यो कि कोही नयाँ मान्छेले जीवनमा पहिलो पल्ट निशाना लगाएको होस् । ऋषिको निशाना एकदमै धेरै फरकले चुक्यो ।

गुरुले आँखाको पट्टी खोल्दै सोधे, “मैले निशाना लगाए त ?”

“लगाउँनु भएन गुरु ।” चेलाले आश्चर्यचकित हुँदै भन्यो, “मलाई त लागेको थियो तपाईले आज पनि मलाई एकाग्रता र इच्छाशक्तिको उदाहरण देखाउँनु हुनेछ ।”

“मैले भर्खरै तिमीलाई एकाग्रता र इच्छाशक्तिको सबै भन्दा महत्वपुर्ण उदाहरण देखाएँ त ।” ऋषिले भने, “जब कुनै कुरा तिमी चाहन्छौ, त्यसमा केन्द्रित हुनु पर्छ तर खुला आँखाले नत्र जति नै एकाग्रता र इच्छाशक्ति भए पनि काम गर्दैन ।”

“खुला आँखा राख्नुको अर्थ हो, समय र परिस्थितीको आकलन गर्न सक्नु । परिवर्तनलाई आत्मसाथ गर्न सक्नु ।” ऋषिको कुराले ट्वाल्ल परेका चेलाको टाउकोमा मायाले सुम्सुम्याउँदै ऋषिले बताए, “परिवेश कस्तो छ भन्ने सँधै जानकारी राख अनि आफ्नो चाहनामा एकाग्र हौ । सफलता हात पर्छ ।”

नोट : यो कथा मैले पाउलो कोहेलोको ब्लगमा रहेको कथा True Skill बाट भावानुवाद गरेको हुँ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment