समाधान सँधै समस्याको नजिकै हुन्छ – एउटा प्रेरक कथा

शनिबारको दिन थियो । भदौको महिना । दशैँ आउँन लागेको थियो । बिहानै देखि दिन सुन्दर देखिन्थ्यो ।

यस्तो दिनमा सन्तोषजीको मन बिहानैबाट फुरुङ थियो । उनी सबेरै देखि आफ्नो घरको बरन्डामा बसेर पत्रिका पढिरहेका थिए । उनको ६ बर्षको छोरो बिहानसम्म सुतिरहेको थियो । उनकी श्रीमती घरको कुनै काममा व्यस्त थिइन् ।

लगभग ८ बजेको हुँदो हो । सन्तोषजीको छोरो ब्यूँझियो । ओछ्यानमा आफ्ना बुबाआमा कसैलाई देखेन । उ सरासर बरन्डामा आयो ।

कुर्सीमा बसेर पत्रिका पढिरहेका सन्तोषजीको काखमा बस्न खोज्यो । सन्तोषजीले उठाएर काखमा राखे तर छोरो त्यतिमा अडिएन । उ सन्तोषजीले पढिरहेको पत्रिका चलाउँन थाल्यो । घरि यताबाट तान्थ्यो, घरि उताबाट । घरि अर्को पन्ना पल्टाउँने भनेर ढिपी गर्थ्यो भने घरि यहि पन्नामात्रै देखाउँनु भनेर पन्ना पल्टाउँनै दिदैन थियो ।

बिहानै पत्रिका पढ्ने ‘मुड’मा सन्तोषजीलाई छोराले राम्रैसँग बाधा पुर्याइरहेको थियो ।

सन्तोषजीले छोरालाई भुलाएर आफु पत्रिका पढ्ने कोशिस नगरेका होइनन् तर छोरो भुलाउँन दिएको कुराबाट तत्कालै अलग हुन्थ्यो र फेरि पत्रिका तान्न थाल्थ्यो । सन्तोषजीले छोरोलाई आमातिर पठाउँन नखोजेका पनि होइनन् तर आमालाई शनिबारको दिन बिहानैदेखि भ्याइनभ्याइ थियो ।

सन्तोषजीले उपाय लगाए । उनले पत्रिकाको एउटा पन्नामा भएको विश्वको नक्सा च्यातेर छुट्याए । त्यसलाई अझ सानो सानो १० वटा जति टुक्रा पारे । र, आफ्नो छोरालाई दिदै भनेँ, “यो नक्सा जोडेर पहिले जस्तो थियो, त्यस्तै बनाउ ल ।”

सन्तोषजीलाई ढुक्क थियो, भर्खर कक्षा १ मा पुगेको आफ्नो छोरोले कुनै पनि हालतमा यो मिलाउँन सक्दैन । कथमकदाचित मिलाइहालेमा पनि दिनभरीको लागि त पक्कै पुग्छ । त्यति बेलासम्म उनले पत्रिका पढिसक्ने मात्र होइन, अरु धेरै कुराहरु गर्न छोराको चकचकबाट छुट्टी पाउँन सक्थे ।

छोरो खुसी भयो । नहोस् पनि किन, उसलाई भर्खरै उसका बुबाले खेल्नका लागि गजबको कुरा बनाइदिएका थिए । उ कागजका सबै टुक्रा भेला पारेर बुबाकै छेउमा पलेटी कसेर बस्यो । सन्तोषजी पत्रिकामा डुबे ।

लगभग ५ मिनेट हुँदै थियो । छोरोले खुट्टामा कोट्याउँदै भन्यो, “बुबा हेर्नु त मैले मिलाएँ ।”

पत्याउँने कुरै थिएन । ६ बर्षको छोरोले च्यातेर दर्जन जति टुक्रा बनाइएको विश्वको नक्सा कसरी मिलाओस् ? उसलाई भुगोल भनेको के हो भन्ने सम्म थाहा छैन । उसलाई संसारमा देश र महादेशका नाम त कुरै नगरौँ, कति वटा देश र कति वटा महादेशले भुगोल बनेको छ भन्ने नि थाहा छैन । उसलाई कुन देशको छिमेकमा को पर्छ भन्ने के पत्तो होस् ? भुगोलको कुन आधार मानेर उसले यति चाँडै विश्वको नक्सा जोडोस् ?

“बाबु ! एकैछिन अझै मिलाउ । अनि म हेर्छु ल ।” सन्तोषजीले जोडिएको नक्सा तिर हेर्दै नहेरी विश्वासका साथ छोरोलाई भनेँ ।

“मैले मिलाइ त सकेँ ।” छोरोले जिद्धी मात्रै गरेन । झन् दह्रोसँग उनको खुट्टामा कोट्याइरह्यो ।

सन्तोषजीसँग अब नक्सामा नहेर्नुको विकल्प थिएन । उनले पढ्दै गरेको पत्रिकाबाट आँखा हटाएर नक्सामा आँखा डुलाए । मुसुक्क हाँसेर छोरो उनी तिर हेर्दै थियो । सन्तोषजीका आँखा चम्किला भएर आए । उनको छोरोले विश्वको नक्साका टुक्राहरु उचित स्थानमा जोडेको छ । विश्वको पुरा नक्साको छेउमा बसेर अझै छोरो उसरी नै मुस्कुराइरहेको छ ।

“तिमीलाई आमाले सिकाएको होला ?” सन्तोषजीलाई अझै पत्यार भएन । यति अफ्ठ्यारो समस्याको यति चाँडै समाधान हुन सक्ला भन्ने रत्तिभर उनलाई विश्वास थिएन ।

“आमा यहाँ आउँनु त भको छैन ।” छोरोले निर्दोष जवाफ फर्कायो ।

सानो छोरोलाई हेर्दै उनले भने, “अनि कसरी यति चाँडै नक्सा ठ्याक्कै मिलायौ त ?”

“नक्सामा मात्रै हेरेर त मैले मिलाउँनै सकिन ।” छोरोले भेद खोल्यो, “नक्सा छापिएको पन्नाको अर्को तिर मान्छेको फोटो छ । मैले त्यो फोटो जोडेँ । नक्सा आफै मिल्यो ।”

“साँच्चै नै, समस्याको कति नजिकै समाधान रहेछ । हेर्ने दृष्टिकोणले यति फरक पार्ने रहेछ ।” छोराको जुक्तीले सन्तोषजीको दिमागमा निशाना लगायो । उनी समस्यालाई छोराले कति सजिलै समाधान गरिदियो भनेर दंग परे । तत्कालै उनको दिमागमा विचार आयो, ‘मैले पनि त छोरालाई पत्रिका पढ्न नदिने मात्रै सोचिरहेँ । समस्या ठानेँ तर आज शनिबारको दिन, छोरो पनि खाली छ र आफु पनि खाली छु । पत्रिका त जति बेला नि पढ्न सकिन्छ तर छोरासँग खेल्ने अहिले कति राम्रो समय छ ।’

उनले अघिसम्म समस्या मानिरहेको छोरोलाई अवसर देखे । उनले त्यो बिहान निकै बेर छोरोसँग खेलेर बिताए । उनलाई छोरोले अञ्जानवश नै गजबको ज्ञान दिएको थियो ।

नोट : यो कथा मैले कहाँ पढेको हो या सुनेको हो भन्ने थाहा छैन । यसैले स्रोत खुलाउँन सकिन ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइट विरुद्ध प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

नमस्ते, म गणेश कार्की । एउटा आममान्छे । सामाजिक सञ्जाल मात्रै होइन, हाम्रो समाज नै नकारात्मक खबर र जानकारीहरुले भरिएको छ । ‘नकारात्मक मात्रै बिक्छ’ भन्ने सोच व्याप्त छ । यस्तोमा सकारात्मक कुरा लेखेर पनि व्यवसायिक हुन सकिन्छ भन्ने उदाहरण देखाउँने मेरो सानो प्रयास हो । उज्यालो पाटोमा म जीवनको उज्यालो पाटोको बारेमा लेख्छु । अथवा, जीवनलाई उज्यालो पाटोमा कसरी लैजाने भन्ने बारेमा आफुले देखेका भोगेका र पढेका कुराहरु बाढ्नेछु । सामाजिक सञ्जालमा अलिकति भए पनि सकारात्मक र ज्ञानवद्धर्क कुराहरु सेयर हुन योगदान गर्न सकुँ । यस्ता कुरा पढ्न चाहनेले पढ्ने ठाउँ बनोस् । यस्ता कुरा लेख्न सक्नेहरु व्यवसायिक रुपमा लेख्ने हिम्मत गर्न सकुन् । मेरो इच्छा यति हो । यो भन्दा धेरै हाशिल भए म झन् खुसी हुनेछु । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

गणेश कार्की – who has written posts on उज्यालो पाटो.


Post Comment