आमा भन्नेहरुले ममी भन्न थाले, चिठ्ठी लेख्नेहरु भिडियो कल गर्न थाले तर भावना फेरिएको छैन

आमा भन्नेहरुले ममी भन्न थाले । चिठ्ठी लेख्नेहरु भिडियो कल गर्न थाले तर भावना फेरिएको छैन । परिवर्तनमा नअल्झिनुहोस्, भावना बुझ्नुहोस् ।

माथिको भनाइ उज्यालो पाटो फेसबुक पेजको इनबक्समा आएको थियो । ‘चिटिक्क परेको फोटो बनाएर उज्यालो पाटोको फेसबुक पेजमा सेयर गर्दिनुस् ल ।’ केहि बेर पछाडी प्रेषकले अर्को म्यासेज लेखेका थिए ।

सन्देश जब पढेँ, सामान्यतया हामीले सोच्ने र भनिरहने भनाई भन्दा फरक लाग्यो । हामी धेरैको गुनासो हुन्छ, हामीले हाम्रो परम्परा बिर्सियौँ । हामीले आफ्नोपन बिर्सियौँ र हामीले भावनाको गहिराइलाई भुल्यौँ । हामी प्रबिधिमा अभ्यस्त भएर मानवियता बिर्सियौँ । तर, इनबक्समा आएको सन्देश बिल्कुल यसको विपरित थियो ।

एकछिन सन्देशमा आएको कुरालाई बिर्सिएर व्यवहारमा हेर्ने हो भने हामीलाई सामान्यतया प्रबिधिले बिगारेकै जस्तो लाग्छ । एक दशक अगाडी हामी साँझमा परिवारसँग बसेर एउटै टिभीमा एउटै कार्यक्रम हेरेर रमाइलो गर्थ्यौँ । गाउँतिरको त माहौल नै अर्कै हुन्थ्यो । गाउँभरका मानिसहरु भेला भएर टिभी कार्यक्रममा झुम्थे । भेटघाट भइरहने र कुरा गरिरहने बिषय हुन्थ्यो । मानिसमा आत्मियता र अपनत्वको परिमाण फरक हुन्थ्यो ।

अहिले साँच्चै नै अवस्था फेरिएको छ । प्रबिधिले मानिसलाई सामुहिकताबाट एकाङ्गी बनाएको देखिन्छ तर हाम्रो शास्त्रमा भएको प्रसंगलाई यहाँ जोड्ने हो भने यसको सन्दर्भ थप प्रस्ट बन्छ ।

रामायणमा एउटा प्रसंग छ । जब सीतालाई रावणले अपहरण गरेर श्रीलंका पुर्याउँछन् तर राम र लक्ष्मण सीताको खोजीमा निस्किन्छन् । सीताको खोजीमा जंगल जंगल भौतारिदै थिए । त्यहि खोजमा उनीहरु मतंग ऋषिको आश्रममा पुगे । मतंग ऋषिको आश्रममा रामकी परमभक्तिनी शावरी बस्थिन् । जब ऋषि मतंगले शावरीलाई राम आएको खबर गरे तब शावरीको खुसी र भक्तिले नयाँ उचाइ पायो । शावरीले जीवनमा पहिलो पल्ट आफ्नो परमपुज्य प्रभुलाई देख्न पाएकी थिइन् ।

राम र लक्ष्मणले शावरीलाई आफुलाई भोक लागेको जानकारी गराए । शावरीलाई के चाहिन्थ्यो, उनी राम लक्ष्मणलाई केहि खुवाउँन जागरुक भइन् । वनमा त्यतिबेला बयर बाहेक केहि थिएन । कतै पाकेका र कतै काँचै रहेका बयरको स्वाद कस्तो होला भन्नेमा शावरीलाई द्धिविधा भयो । शावरीले बयरको थोरै चाख्दै मिठो भए बाँकी रहेको भाग भाँडोमा राख्दै जम्मा गरेर राम लक्ष्मणको सामु लिएर गइन् ।

आधा टोकेको जुठो बयर देखेर खान लक्ष्मणलाई संकोच लाग्यो । उनले रामले के गर्छन् भनेर एकछिन पर्खे । रामले बिना संकोच शावरीको जुठो बयर उठाएर कुपुकुपु खान थाले । त्यो देखेर आश्चर्यमा लक्ष्मणले सोधे, “तपाईले यी फोहोरी देखिने वृदाको जुठो बयर कसरी खान सक्नु भयो ?”

तब रामले जवाफ फर्काए, “चोखो छ कि जुठो भन्ने नहेर । कुन भाँडोमा छ भन्ने पनि नहेर । भाव हेर र खाना हेर ।”

रामायणमा माथिको दृष्य एकदमै भावनात्मक मानिन्छ । हामी शावरीको भक्तिभावमा दव्रिभुत हुन्छौँ र रामको महानतामा नतमस्तक तर हामीले यो प्रसंगलाई देवत्वकरण नगरेर व्यवहारिक बनाउँन सकेनौँ । हामीले त्यो प्रसंगलाई साधन र साध्यको भेदमा छुट्याउँन सकेनौँ ।

यसैले आममानिसमा साधनले नै सबै कुरा फरक पार्ने भ्रम छ । यसो त प्रबिधिले मानिसहरुलाई खराब गरेको देखाउँने धेरै अध्ययनहरुको निष्कर्ष पनि छ । यस्तै अध्ययनहरुलाई हेर्ने हो भने २०१२ मा चाइनिज एकेडेमी अफ साइन्सका वैज्ञानिकहरुले गरेको अध्ययन यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छ । सो अध्ययन अनुसार प्रबिधिले मानिसहरुलाई अभ्यस्त बनाउँदै लगेको छ । मानिसहरुको मस्तिष्कको अध्ययन गर्दा प्रबिधिमा अभ्यस्त हुने मानिसहरुको र मद्यपानका अम्मलीहरुको मस्तिष्कमा समानता देखियो । यसले वास्तवमै मान्छेलाई प्रबिधिले असर गर्दै गरेको देखियो ।

तर के वास्तवमै प्रबिधिले हाम्रो सम्बन्ध, विचार र आदर्शहरुलाई क्षय गर्दै लगेको हो त ? या हामी केवल परिवर्तनसँग डराएका मात्रै हौँ ? हामी परिवर्तनहरुसँग डराएको पहिलो पटक होइन ।

हामीले पत्रपत्रिकालाई पनि सुरु सुरुमा गलत भन्यौँ । समाज र आदर्शहरु भाड्यो, भन्यौँ । त्यस्तै, हामीले सुरु सुरुमा टेलिभिजनलाई मुर्खहरुले हेर्ने भाँडो भनेर टाढा बस्न सुझायौँ तर अहिले हामी नै भन्छौँ कि टेलिभिजनको समय वास्तवमै राम्रो थियो । टेलिभिजनले परिवारलाई जोडेर राखेको थियो ।

हामीले कुनै बेला गलत भनेको पत्रपत्रिका र टेलिभिजन अहिले फर्केर हेर्दा सहि थिए भन्ने निष्कर्षमा पुग्छौँ र अहिले प्राप्त प्रबिधिका साधनहरुलाई गलत देख्छौँ । हामी फेसबुक, ट्विटर जस्ता सामाजिक साइटहरुले मान्छेलाई सतही र ढोंगी बनायो भन्छौ । हामी मोबाइलले मान्छेलाई एकलकाँटे बनायो भनेर सक्दो गाली गर्छौँ ।

तर जति गाली गरे पनि वा दुत्कारे पनि हाम्रो हात हातमा मोबाइल छ । हामी प्राय सबै कुनै न कुनै सामाजिक साइटमा धेरै समय बिताउँछौँ । हामी प्रबिधिबाट भाग्न सकेका छैनौँ । के बाध्यता हो हाम्रो ? हामीलाई कसैले बलात् प्रबिधि थमाइदिएको हो र ? प्रबिधिसँग हाम्रो मन रमाएको छैन र ? पक्कै पनि होइन । हामीले दुत्कारे जस्तो नकारात्मक मात्र छैन हामीले दैनिक जीवनमा प्रयोग गर्ने प्रबिधि ।

१. आत्मियताको अन्त्य कि फैलावट ?

प्रबिधिलाई लाग्ने सबै भन्दा पहिलो आरोप हो, यसले हाम्रो सम्बन्धमा हुने आत्मियता खाइदियो, हामी मान्छेसँग कुरा गर्न भन्दा फेसबुकको टाइमलाइन स्क्रोल गर्नमा रमाइलो मान्न थाल्यौँ ।

तर विचार गर्ने हो भने प्रबिधिले हाम्रो आत्मियताको अन्त्य गर्न खोजेकै छैन, बरु हाम्रो आत्मियतालाई विस्तार गरेको छ । हामी अहिले कुनै समयमा एउटा व्यक्तिले राख्न सक्ने सम्बन्धको सिमालाई सहजै भत्काउँन सक्छौँ । हामी टाढा टाढा रहेका आफन्तहरुसँग पनि लाइक र कमेन्ट गर्दा गर्दै नजिक भइरहेका हुन्छौँ । उनीहरुको जानकारी लिइरहेका हुन्छौँ र आफ्नो हालखबर दिइरहेका हुन्छौँ ।

हो, आत्मियताको सघनतामा केहि प्रभाव परेको छ तर जसै हामी प्रबिधिलाई साधन मात्रै मान्छौ र यसले पार्ने असरलाई प्राकृतिक मान्न थाल्छौ, आत्मियताको सघनता पनि बढ्नेछ ।

२. प्रबिधिले छेलेको मान्छे मन

मैले माथि पनि सन्दर्भ उप्काएको थिएँ कि प्रबिधि हामीलाई कसैले बलात् थुपारिदिएको होइन । बरु प्रबिधिले हाम्रा कमजोरीहरुलाई जित्न सघायो, हाम्रा अबरोधहरुलाई छिचोल्न मद्दत गर्यो । हामीले जानेर वा नजानेर भए पनि जे कुराहरु सोचिरहेका थियौँ, ति हात पार्न सहयोग गर्यो । यसैले प्रबिधि हाम्रो दैनिक जीवनमा हामीसँगै अभिन्न अंग भएर रहेको छ ।

वास्तविकता यो हो कि प्रबिधिले हामीलाई सुविधा थपिदियो । हाम्रो कोमलता र अफ्ठ्ठ्याराहरुलाई सम्बोधन गरिदियो । यसैले प्रबिधिले सतहमा जे दृष्य देखाए पनि पर्दा पछाडी यसको चालक भने मान्छेको मन नै हो । मान्छेको सन्तुष्टी नै हो ।

अन्तिममा भन्नु पर्छ, जसरी हिजो पत्रपत्रिका आयो, हामी तर्सियौँ तर पनि मानविय संवेदना त्यसले समाप्त पारेन । सुरुमा मुर्खहरुले हेर्ने भनिएको टेलिभिजनले परिवार जोड्थ्यो भनेर त्यसको महानता सम्झिन्छौँ । त्यसरी नै प्रबिधिसँग पनि अहिले हामी आत्तिएका मात्रै हौँ । यसलाई आत्मसाथ गरेर केवल साधनका रुपमा मात्रै सोचे, योसँग तर्सिनु पर्ने कुरा केहि छैन ।

वाल्मिकीले रामायणमा पनि साधन र साध्य बिचको भेदलाई शावरीका मार्फतबाट बुझाएका छन् । अत: भन्न सकिन्छ, आमा भन्नेहरुले ममी भन्न थाले । चिठ्ठी लेख्नेहरु भिडियो कल गर्न थाले तर भावना फेरिएको छैन । परिवर्तनमा नअल्झिनुहोस्, भावना बुझ्नुहोस् ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment