एउटा देश थियो । त्यो देशमा एउटा राजा थियो र, राजाका कुशल, बौद्धिक एकजना राजगुरु थिए । राजगुरु सैद्धान्तिक, शास्त्रिय र दार्शनिक चेतनामा भिजेका मात्रै होइनन्, व्यवहारिक ज्ञानमा पनि अत्यन्तै निपुर्ण थिए । त्यस्ता राजगुरु आफ्नो जीवनको उतरार्द्धमा थिए । यसैले राजगुरु सकेसम्म चाँडो उत्तराधिकारी तयार पारेर आफ्नो कार्यभार हस्तान्तरण गर्न चाहन्थे । यसका लागि उनले राजाबाट स्विकृति पनि लिइसकेका थिए ।
त्यो राज्यमा निपुर्ण राजगुरु खोज्न त्यस्तो गाह्रो काम पनि थिएन । राजगुरुले आफ्नो जीवनकालभर साह्रै धेरै त्यस्ता चेलाहरु उत्पादन गरिसकेका थिए, जसले राजगुरु पदको गरिमा कायम राख्न सक्थे तर राजगुरु यसमा अलिकति पनि सम्झौता गर्न चाहदैनन् थिए । उनी चाहन्थे कि आफ्ना अति नै उत्तम चेलाहरुबाट सर्वोत्तम चेलो राजगुरु बनोस् । यति गर्न सके उनी आफ्नो तर्फबाट राज्य, राजा र आफ्ना चेलाहरुप्रति न्याय गर्न सकेको विश्वस्त हुन सक्थे ।
यहि सिलसिलाका लागि एकदिन राजगुरुले परिक्षाको मिति तय गरे । उनले आफ्ना सम्पुर्ण चेलाहरुलाई राजगुरु पदको परिक्षामा सामेल हुन निमन्त्रणा पठाए । राजगुरुको अत्यन्तै सम्मानित पदको परिक्षा, त्यसमाथि आफ्ना गुरुको निमन्त्रणा, चेलाहरु सकेसम्म तयार भएर परिक्षामा सहभागी हुन उपस्थित भए ।
परिक्षा सुरु हुनु भन्दा पहिले वृद्ध राजगुरु कोठामा प्रवेश गरे । उनको उपस्थितिले परिक्षा कोठाको महत्व र वजन झनै बढायो । परिक्षामा सहभागी सम्पुर्ण चेलाहरुले उभिएर आफ्ना गुरुलाई अभिवादन गरे ।
“राजगुरुको परिक्षा भनेर तपाईहरु सबैले विशेष तयारी गरेर आउँनु भएको हुन सक्छ तर यहाँ त्यस्तो केहि विशेष परिक्षा हुने छैन । यहाँ तपाईहरुको शास्त्रिय, दार्शनिक ज्ञानमा बहस र जोखाजोख हुने छैन । तपाईहरुलाई सामान्य एउटा समस्या देखाइनेछ र तपाईहरुले त्यसको व्यवहारिक समाधान दिनु पर्नेछ ।” गुरु सौम्यतापुर्वक बोले, “आशा छ ! तपाईहरुले समाधान सहजै दिनुहुनेछ । र, यसको निर्णायक म स्वयम रहनेछु । मलाई यो पनि आशा छ, मेरो निर्णय क्षमतामाथि तपाईहरुले विश्वास गरिदिनु हुनेछ ।”
यति भनेर गुरुले एउटा कुनामा भएको टेबल तिर देखाए । त्यो टेबलमा राज्यभरि प्रख्यात रहेको एउटा सिसाको भाँडो राखिएको थियो । सिसाको भाँडो राज्यमा विशेष मानिन्थ्यो ।
त्यो सिसाको भाँडो विशेष हुनुमा पनि छुट्टै कथा थियो । त्यो भाँडो रानीले पहिलो पल्ट राजालाई उपहार स्वरुप दिएकी थिइन् । विदेशका कुशल शिल्पकारले बनाएको सो भाँडो हिरा जडित थियो । राजाले त्यो भाँडोलाई राज्य सञ्चालनका क्रममा सँधै आफ्नो सिंहासन नजिक राख्थे ।
“मानौँ, त्यो सिसाको हिराजडित भाँडो समस्या हो ।” गुरुले आफ्नो औँलाले टेवल माथिको भाँडोलाई इकिंत गर्दै भने, “यसलाई कसरी समाधान गर्नु हुन्छ ?”
त्यसपछि चेलाहरुको अनुहारमा अनौठो उज्यालोपन देखियो । कुनै अफ्ठ्यारो परिक्षा होला भन्ने संशयमा रहेका चेलाहरुमा शान्तिको भाव दौडियो । सबैले खुसी र कति सजिलो समस्या भनेर छक्क पर्दै एकआपसमा हेराहेर गरे ।
गुरुले पालैपालो आफ्नो आफ्नो विचार राख्न सबैलाई आग्रह गरे । त्यसपछि चेलाहरुले त्यो सिसाको भाँडोलाई मानिएको समस्याको समाधान गर्ने उपायहरु सुझाउँन थाले । शास्त्रिय र दार्शनिकमात्रै होइन, व्यवहारिकरुपमा पनि धेरै चेलाहरुको विचार एकदमै उपयोगी लाग्दथे । सबै जना अरु भन्दा आफ्नो समाधानको उपाय कसरी अब्बल हुन्छ भन्नेमा तर्कहरु प्रस्तुत गरिरहेका थिए ।
कसैले भाँडोमा रहेका हिराहरुकै कारण समस्या भएको हुन सक्ने भन्दै हिरा जडित भाडालाई जोगाउँनु पर्ने बताए । कसैले भाँडोप्रति राजाले देखाएको प्रेम वास्तवमा प्रेम नभएर आसक्ती मात्रै भएको र राजालाई सो आसक्तीबाट उम्किन सहयोग गर्नु पर्ने सम्म भने । कतिपयका दृष्टिकोणमा भाँडोप्रतिको मोह सांसारिक मोह भएको र सांसारिक मोहकै कारण संसार चलेकोले त्यो कायम राख्नु पर्ने बिषय थियो । यसकारण उनीहरुको नजरमा त्यो समस्या नभएर मानविय विशेषता भएकोले स्विकार गर्नु पर्ने बताए ।
त्यहि बिचमा एकजना चेलो आफ्नो ठाउँबाट जुरुक्क उठ्यो । उ केहि पनि नबोली सरासर सिसाको भाँडो राखिएको टेबलसम्म पुग्यो । उसले गुरुसँग आफ्नो समाधानको उपाय देखाउँन अनुमति माग्यो । गुरुले जसै अनुमति दिए, उसले क्षणभर पनि ढिलो नगरि तत्कालै त्यो सिसाको भाँडोलाई जुरुक्क उठायो र खुल्ला झ्यालबाट बाहिर हुत्याइदियो । सिसाको भाँडो झर्याम्म फुटेको तिखो आवाज कोठभारी गुञ्जियो ।
त्यो चेलाको त्यस्तो अचम्मको व्यवहार देखेर अरु सबै चेलाहरु आश्चर्यमा परे । उनीहरु अब गुरुले त्यो चेलालाई के सजाय देलान् भनेर उत्सुक भए । कतिपय चेलाहरु भने कार्यक्रममा केहि नराम्रो हुन लाग्यो भनेर आपतकालिन अवस्थाका लागि सजग भएर बसे ।
त्यो सबै हेरिरहेका गुरु मुसुमुसु मुस्कुराउँदै चेलातर्फ अगाडी बढे । उनले ति चेलालाई प्रेमपुर्वक अंकमाल गर्दै उल्लासपुर्वक भने, “राज्यले नयाँ राजगुरु पायो । राजाका लागि उचित राजगुरु पाइयो ।”
कोठा चकमन्न भयो । कोही बोलेनन् । कसैले केहि प्रतिक्रिया देखाएनन् । किनकी राजगुरुको निर्णयले चेलाहरु छक्क परेका थिए । जुन चेलाले कुनै समाधानको उपाय नगरी त्यति महत्वपुर्ण र बहुमुल्य भाँडो फुटाएको छ, त्यहि कसरी राजगुरु बन्न सक्छ ? चेलाहरुको आँखाले नै प्रश्न गरिरहेको थिए ।
राजगुरुले चेलाहरुको मनोभाव बुझेँ । उनीहरुका प्रश्नको जवाफ दिनु गुरुलाई आवश्यक लाग्यो ।
“हामीलाई नयाँ राजगुरुले समाधानको व्यवहारिक उपाय देखाउँनु भयो ।” उनले भर्खरै राजगुरुका रुपमा छानिएको चेलालाई अगाडी डोहोर्याउँदै भने, “समस्या जति सुकै सुन्दर होस्, त्यसलाई सक्दो चाँडो बाहिर निकाल्नु पर्छ ।”
गुरुको जवाफबाट सबै चेलाहरु सन्तुष्ट भए । वास्तवमै यो व्यवहारिक उपाय थियो । हामी सबै समस्याहरुप्रतिको मोहका कारण नै धेरै समस्याहरुबाट बाहिर निस्किन सकिरहेका हुदैनौँ ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।