मान्छेको दिमागमा नै हुन्छ बिष, आफुलाई नसम्हाले परिणाम घातक हुन्छ – एक उदाहरण

जुन सकै कुराको पनि नकारात्मक र सकारात्मक पाटो हुन्छ । आज हामी यी पाटो भन्दा पनि बढी चै बिचार र सोचका बारेमा चर्चा गरौं ।

हामी सबैले प्राय जानीराखेको कुरा हो । नकारात्मक कुराले नकारात्मक बाटो तर्फ नै डोहोर्याउछ । सकारात्मक कुराले सकारात्मक बाटो तर्फ नै डोहोर्याउछ । नकारात्मक बिचारले बिष उत्पन्न गर्छ । सकारात्मक बिचारले अमृत उत्पन्न गर्छ । बिष उत्पन्न गर्ने कि अमृत त्यो तपाईको जिम्मा हो । नकारात्मकतालाई आफु माथि हावी हुन दिइयो भने यसले दिने परिणाम असाध्यै दुखद हुन्छ ।

यो लेख पढिरहदा तपाईलाई लाग्न सक्छ । आफै पनि बिष उत्पन्न र अमृत उत्पन्न गर्न सकिन्छ र ? सकिन्छ । मान्छेको सोच आफैले पनि बिष उत्पादन गर्छ र अमृत पनि । राम्रो कुरा सोच्न सके अमृत नराम्रो सोचे बिष उत्पादन हुन्छ ।

सकारात्मक विचार वा चिन्तनले समाज परिवर्तन गरेका वा परिवर्तनको अगुवाइ गरेको हामीले इतिहासमा देखेका छौँ । सकारात्मक विचारले मान्छेको जीवन धन्य बनाउँछ । मान्छेमा उर्जा दिन्छ । त्यस्तै नकारात्मक चिन्तनको परिणाम भयानक हुन्छ । यसका बारेमा थप कुरा गर्नु भन्दा पहिले हामी योसँग सम्बन्धित एउटा कथा पढौँ । जसमा मान्छेमा भएको नकारात्मक चिन्तनले ल्याउँने परिणामको बारेमा उदाहरण दिनेछ ।

एकपटक एउटा अपराधीलाई फासी दिइने निर्णय गरियो । उसलाई फासीमा चढाउने मिति नजिकिदै गर्दा उसमा डर पैदा हुनु स्वभाविक पनि हो । मृत्यु शाश्वत सत्य हुनाले पनि डर लागेको हुन सक्छ । जेलमा पनि उ भौतारिरहेको हुन्थ्यो । टोलाईरहेको हुन्थ्यो । उसले जति पर ठेल्न खोजे पनि उसले नचाहेको दिन आएरै छोड्यो ।

उसलाई फासी हुने दिन उसलाई कारागारबाट बाहिर ल्याइयो । उसलाई फासी दिनका लागि शहर घुमाइयो र फासी दिने ठाउमा ल्याइयो । यत्तिन्जेलसम्म उसका आखामा पट्टी बाधिएको थिएन । उसले उसको छेउमा आएका आफन्तहरुलाई हेर्यो । आफन्तहरुको आँखामा अझै पनि उसका लागि असिम माया थियो । फासीको दिन उसले आफन्तहरुको माया बुझ्यो । गर्न हुने र गर्न नहुने कामहरुको अन्तर थाहा पायो । आफुले गरेको अपराधप्रति पछुतो मान्यो । र, तुरुक्क आशु झार्यो ।

बाहिर हेर्ने समयवधि सकिएपछि उसको आँखामा पट्टी बाधियो । उसका आँखा अगाडि अध्यारो भयो । उसले मान्छेहरुको क्ल्याङमल्याङ मात्र सुनिरह्यो । क्रमश: उसले केही आवाज मात्र सुनिरह्यो । उसलाई केहि पनि अनुमान थिएन कि बाहिर के हुदैछ । उ पट्टीले बाधिएर बाहिर हेर्न नमिल्ने भए पनि पट्टी भित्रै आँखा बन्द गरेर फासीको लागि तयार भएर बस्यो ।

एकाएक भिडमा एक जना मान्छे देखा पर्यो र बोल्न थाल्यो “आज तँलाई फासीमा चढाएर होइन, एउटा बिषालु सर्पले डसाएर मार्देछौ ।”

यो सुनेर अपराधी तर्सियो । सर्पले डसेर मर्नुको पिडा उसले आफ्नो शरिर भरि महसुस गर्यो तर परिस्थिति उसको प्रतिकुल थियो । उसले त्यसका विरुद्धमा आवाज उठाउँने साहससम्म गरेन । उसको बोली फुटेन । हतकडीमा बाँधिएका दुईहातहरुलाई एक पटक बेस्सरी मुठ्ठी कस्यो तर उसमा केहि जोश आएन । मनदेखि सुरु भएको शिथिलता उसको हातसम्म पुग्यो । उसको हात बिस्तारै खुकुलिए । उ सर्पको डसाइको पिडा सहन तयार भएर बस्यो तर उसको मनको डर झन् भयानक भएर आयो ।

केही मान्छे आएर अपराधीको आँखामा रहेको पट्टी चेकजाच गरे । सबै ठिक थियो । त्यसरी आफ्नो पट्टी चेक हुँदा पनि उसले मृत्युले छोएको ठान्यो । शरिर सिरिङ्ग गर्यो । उसले सर्पको डसाइको पिडा र त्यसपछि हुने छटपटीबाट अरुकुरा सोच्न पनि सकेन ।

त्यहि बिचमा भिडमा बोल्ने मान्छेले एउटा काटीको तिखो टुक्रोले अपराधीका खुट्टामा चसक्क घोच्यो । र, त्यहाँबाट पर गएर बस्यो ।

अपराधीले बल गरेर घोचिएको खुट्टो पछाडी तान्यो । उसले घोचिएको ठाउँमा दबाब दिन अर्को खुट्टोलाई घाउको नजिक पार्न खोज्यो तर सकेन । उसका कानको रंग फेरिन थाल्यो । विस्तारै उसका कान राता हुँदै गए । कानको रंग अनुहारमा फैलिन थाल्यो । उसको रक्तिम अनुहार भयानक देखियो । उसले जिउ बेस्सरी हल्लायो । हातको हत्कडी फ्याल्नलाई बल लगाउँन खोज्यो । केहि बेर छटपटाए पछि उ भुइमा लड्यो । लडेको केहि समयमा उसको मृत्यु भयो ।

कथाको अन्त्य यही हो । यो भन्दा बढी कथा अघि बढ्न सक्दैन किनकी कथाको पात्रको नै यहाँ मृत्यु भैसक्यो । कथामा अपराधी पात्रलाई मुर्ख बनाइएको होइन, झुक्याइएको होइन तर यहाँ मुख्य पात्रमाथि प्रयोग गरियो । फासीको साटो बिषालु सर्पले डसाएर मार्ने भनियो । यसो भनेर उसको मस्तिष्कमा शंका र डरको नकारात्मक सोच स्थापना गरियो । जब काँटीले उसलाई घोचियो, तब अपराधीले सोच्नै सकेन कि यो सर्प भन्दा अरु नै केहि कुरा हुन सक्छ । उसको मस्तिष्कमा नकारात्मक र डरले ठाउँ लिइसकेको थियो । काँटीमा बिष थिएन तर त्यसले उसमा बिषालु सोच पैदा भयो, सोही बिषालु सोचले उसको मुटुको धड्कन रोकिदियो र उसले डरैडरमा मृत्युवरण गर्यो ।

यसको मतलब मान्छेको सोचबाट नै बिष उत्पादन हुदो रहेछ । अपराधी आफैले नकारात्मक बिचार दिमागमा फैलाएर बिष उत्पादन गर्यो र मृत्युवरण गर्यो ।

हामी कथाको अपराधीको जस्तो परिस्थितीमा हुदैनौँ तर हामीले भोग्ने परिस्थितीमा पनि हाम्रो विचार र सोचले फरक पार्न सक्छ । तपाई आफ्नो कामप्रति कस्तो धारणा राख्नु हुन्छ, आफुले भेट्ने मानिसहरुसँग कति सकारात्मक बन्नु हुन्छ भन्ने कुराले पनि तपाईले पाउँने नतिजामा फरक पार्छ । सकारात्मक सोच राखेर काम गर्दा र मानिसहरुसँग भेट्दा पक्कै पनि नतिजा राम्रो नै हुने गर्छ ।

त्यहि भएर नकारात्मक भन्दा सकारात्मक कुरा सोच्ने गरौं । नकारात्मक सोच राखेर सानातिना कुरामा पनि अपराधीले काँटीलाई सर्प सोचे जस्तो गरेर तर्सिने वा डराउँने गर्नु गलत हुन्छ ।

सकारात्मक चिन्तन राख्न तपाईले नयाँ ज्ञान वा जानकारी लिइराख्नै पर्दैन । मानिस स्वयममा यस्ता कुराहरुसँग जुध्न सक्ने क्षमता हुन्छ । तपाईले आफुलाई सिमित गरेर कुनै परिधीमा बाँधिराख्ने कि बाहिर निस्किने भन्नेमा तपाईमा भर पर्छ । तपाईमा आफुमा कति क्षमता छ भन्ने कुरा तपाई स्वयमले थाहा पाउँनु पर्ने हुन्छ । यसका लागि तपाईले आफुलाई चिन्नु पर्ने हुन्छ । आफुमा आत्मविश्वासी हुनु पर्छ । तपाईले यसका लागि उज्यालो पाटोको अर्को लेख पढ्न सक्नु हुनेछ जुन पढेर जसमा तपाईले आत्मविश्वासी जीवन बाँच्ने ८ सत्यहरुका बारेमा थाहा पाउँनु हुनेछ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख उज्यालो पाटोको लागि साथी युवराज कटुवालले लेख्नु भएको हो । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment