सफल हुन चाहने मान्छेहरुले बिहानको ८ बजे अगाडी गर्नु पर्ने ८ कुराहरु

अहिलेको पुस्ताका लागि बिहानको ८ बजेको समय भर्खर बिहान हुँदै गर्ने समय हो । अहिलेको पुस्ता राती भरसक सुत्न चाहदैन र बिहान उठ्न चाहदैन । यो अहिलेको पुस्ताको विशेषता हो । सायद राती एकाग्रता बढि हुन्छ, सायद राती इन्टरनेट राम्रोसँग चल्छ, सायद पब्जीमा पनि राती पिङ कम हुन्छ । राती ढिलो सुत्नुका कारणहरु खोज्ने हो भने यस्ता धेरै सायदहरु भेटिन्छन् ।

यदि तपाई सोच्नु हुन्छ कि सामाजिक साइट तथा इन्टरनेटले विश्वलाई सानो गाउँ बनाइदिएको छ र नेपालमा भएका युवापुस्ताहरु अन्य देशमा भएका साथीभाई तथा आफन्तहरु कुरा गर्न अबेरसम्म बस्छन् तर तपाईको यो सत्यता आंशिक मात्र सत्य हो । नेपालमा मात्र होइन, अन्य देशमा पनि अहिलेको पुस्ता रात परेको थाहा पाउँदैन । संसारभरकै अहिलेको पुस्ता भोली बिहान उठ्नै पर्ने बाध्यता भएर मात्रै निदाउँन तयार हुन्छ ।

तर हामी सबैलाई थाहा छ, यो जीवनशैली सहि होइन । हामीले राती बेलामा सुत्ने र बिहान सबेरै उठ्ने कुराका फाइदाहरु पहिलेदेखि नै सुनिरहेका हौँ । पुर्विय दर्शनमा ब्रम्ह मुर्हुत अर्थात् बिहान घाम झुल्किनु भन्दा अगाडी उठिसक्नुको फाइदाका बारेमा धेरै व्याख्याहरु पाइन्छन् त्यस्तै अंग्रेजीमा पनि भनाई छ – ‘अर्ली टु बेड अर्ली टु राइज मेक्स अ पर्सन हेल्दी, वेल्दी एण्ड वाइज’ । अंग्रेजी भाषाको यो भनाई निकै पुरानो हो । यसको अर्थ यो हो कि बेलुका चाँडै सुत्दा र बिहान सबेरै उठ्दा मानिस स्वस्थ, सम्पन्न र बुद्धिमान बन्छ ।

वास्तवमै बिहान चाँडै उठ्दाका धेरै फाइदा छन् । फाइदा यसकारण कि हामीले दिन सुरु हुने बित्तिकै तयार हुने अवसर पाउँछौँ । बिहान चाँडै उठेर मात्रै हुन्न, बिहान उठे पछि केहि कामहरु पनि गर्नु पर्छ जसले गर्दा तपाईलाई फाइदा हुन्छ । नत्र बिहान सबेरै उठेर मात्रै फाइदा हुने भने होइन । यहाँ त्यस्तै केहि कुराहरु संकलन गरिएको छ, जसलाई बिहान ८ बजे अगाडी गरिसक्नु भयो भने तपाईलाई सफल हुन सहयोगी सिद्ध हुनेछ ।

१. शरिर चलाउँने

शरिर चलाउँने अर्थात् कसरत गर्ने । सामान्यतया हामी धेरैका लागि कसरत गर्नु भनेको काम हो, त्यो पनि असाध्यै गाह्रो काम । र, कतिपयका लागि कसरत गर्नु भनेको जिममा गएर भारी कुराहरु उठाउँनु । तर कसरत गर्नु भन्नाले त्यति कुरामात्रै होइन । एउटा नियमबद्ध तरिकाले सामान्यरुपमा शरिर चलाउँने हो भने पनि त्यसले हाम्रो शारिरिक कसरत हुन्छ ।

सम्झनुहोस् त, दिनमा कति समय तपाईले आफ्नो शरिरका लागि लगानी गर्नु हुन्छ ? यदि शरिरका लागि लगानी गर्नु भयो भने तपाईले जिन्दगीमा सबै भन्दा असल र सहि उपयोग गर्दै हुनुहुन्छ । शरिरका लागि लगानी गर्नु भन्नाले महंगा पहिरन वा श्रृंगार होइन । बरु कसरत लगायतका कुराहरुको लागि समय दिनु हो । बिहान सबेरै उठेर दिनमा १ घण्टा मात्रै कसरत गर्ने हो भने शरिरको ढाँचा परिवर्तन हुन्छ । शरिरमा रक्तसञ्चार राम्रो हुन्छ । मस्तिष्क ताजा र सक्रिय बन्छ । यसले गर्दा तपाईमा सकारात्मक चिन्तन बढ्छ, तपाई सृजनशील बन्नुहुनेछ र तपाईमा जाँगर र उत्पादनशीलता पनि बढ्नेछ ।

यसैले बिहान ८ बज्नु भन्दा अगाडी शरिर चलाउँने नियमित बानी बनाउँन सके उत्तम हुन्छ ।

२. ध्यान गर्ने

हामी मानव समाजको यस्तो समयमा छौँ, जहाँ हामीमा क्षमता भन्दा बढि चाहना छ, हामीले पाउँन सक्ने भन्दा धेरै सम्भावनाहरु देखेका छौँ र थाम्ने भन्दा बढि जानकारीहरु समेटेका छौँ । यी कारणहरुले गर्दा हामी सामान्य अवस्थामा बढि एकलकाँटे छौँ, दुखी छौँ र क्रियाशिल पनि छौँ । हामीलाई अनुपात्दक हुने र रोकिने समय छैन । हामीलाई दगर्नु छ, हामीलाई जित्नु छ । हिजो भन्दा आज राम्रो हुनु छ र त्यसको गति पनि हिजो भन्दा आज बढि हुनु छ ।

यसले शारिरिक मात्र होइन, मानसिकरुपमा पनि हामीलाई गलाएको छ । यी सबै कुराहरुबाट केहि समय दिमागलाई टाढा राख्न सकियो भने हाम्रो दिमाग झन् तरोताजा हुन्छ । यसका लागि ध्यान सबै भन्दा राम्रो उपाय हो । पुर्विय दर्शनमा केहि हजार बर्ष पहिले नै ध्यानको बारेमा धेरै अनुसन्धानहरु भएका छन् । हामी सबैलाई कसरी ध्यान बस्ने भन्ने धेरथोर जानकारी पनि छ । यसैले थप बिधिहरु थाहा पाएर बिहान केहिबेर ध्यान बस्दा हामी थप रचनात्मक र क्रियाशिल हुन सक्छौँ ।

३. रणनीति बनाउँने

बिहान चाँडो उठ्नुको अर्थ हो, हामी दिन सुरु हुँदा आज के गर्ने भन्ने बारेमा निर्णय गर्न सक्छौँ । यसैले बिहान उठेर ८ बजिसक्नु अगाडी नै विशेष अवस्था बाहेकका समयमा मेरो दिन यसरी बित्नेछ भनेर खाका तयार पार्न सक्छौँ । त्यस्तै, आवश्यकता अनुसार दिनभरको लागि रणनीति तयार पार्न सक्छौँ । तयारी अवस्थामा रहेकाले बिषम परिस्थितिसँग जुध्न पनि सजिलो हुन्छ । यसले मानिसलाई सफलताको बाटोमा डोहोर्याउँछ ।

४. थिति बसाउँने

दिनभर गर्नु पर्ने कामहरुका बारेमा हामीलाई अघिल्लो दिन पक्का पनि थाहा हुन्छ । कुनै अपर्झट हुने कुराहरुलाई अलग गर्ने हो भने नियमित दिनमा गरिने कामहरु के के हुन्छन् भनेर हामी सूची बनाउँन सक्छौँ । यसैले बिहान चाँडै उठेर दिनभरका कामहरुको थिति बनाउँनुहोस् । एउटा पद्दति बसाउँनुहोस् । दिनलाई जे पर्छ, त्यहि टर्छ भनियो भने भद्रगोल हुन्छ र हामी आत्तिन्छौँ । हाम्रो दिन त्यहि भद्रगोल मिलाउँदा मिलाउँदै बित्छ । यस्तो भयो भने कति बेला सृजनशील हुनु ! कति बेला कामहरु गर्नु ! कति बेला नयाँ विचार दिमागमा आउँनु ! यसैले बिहान उठेर दिनभरको थिति बसाइयो भने हामीलाई कामहरुमा केन्द्रिकृत हुन सजिलो हुन्छ ।

५. एक घण्टा तयार भइसक्ने

तपाईको बिहानै कतै जाने काम छ ? त्यस्तो भयो भने तपाईले के गर्नुहुन्छ ? धेरैको के बानी हुन्छ भने बिहान चाँडै उठ्नु छ भने बेलुका मोबाइलमा अर्लाम राखिन्छ । समयको लेखाजोखा गरिन्छ । जस्तै बिहान ७ बजे कतै पुग्नु पर्ने छ । अर्लाम् राख्नु भन्दा अगाडी हिसाब हुन्छ । ७ बजे पुग्नु छ, १० मिनेट ढिलो पुगे पनि केहि बिग्रिदैन । पुग्न ३० मिनेट लाग्छ, यसैले ६ बजेर ४० मिनेटमा हिडिसक्नु पर्छ । बाथरुममा १० मिनेट लाग्छ । लुगा लगाउँन बढिमा ५ मिनेट । यसैले ६ बजेर २५ मिनेटमा उठियो भने समय पुग्छ तर अर्लाम् लगाउँछु ६ बजेर २० मिनेटको । ५ मिनेट थप समय ।

हामीलाई यस्तो हिसाब पक्का जस्तो लाग्छ तर यसै पनि हामीले १० मिनेट ढिलो पुग्ने हिसाब गरेका हुन्छौँ र त्यसमा अर्को कोही बाथरुम गइदियो भने हाम्रो समय मिलान चौपट हुन्छ । यस्ता अफ्ठ्याराहरुबाट बच्न कतै निस्कनु भन्दा एक घण्टा अगाडी पुर्णरुपमा तयार भइसक्ने गर्यौँ भने न घरमा हतार हुन्छ, न सडकमा हतार गर्नु पर्छ । र, हतारले राम्रो नतिजा ल्याउँने सम्भावना कम हुन्छ ।

६. केहि खाने र प्रशस्त पानी पिउने

बिहानको खानालाई अंग्रेजीमा के भनिन्छ ? ब्रेकफास्ट । यो त अति नै सामान्य प्रश्न भयो । सबैलाई थाहा हुन्छ तर के तपाईलाई थाहा छ, वास्तवमा बिहानको खानालाई ब्रेकफास्ट किन भनिन्छ ?

बिहानको खानालाई अंग्रेजीमा ब्रेकफास्ट भन्नुको अर्थ छ । ब्रेकफास्टमा भएको फास्ट शब्द अंग्रेजीको फास्टिङ शब्दसँग सम्बन्धित छ । फास्टिङ अर्थात व्रत । हामीले बेलुका खाना खाए पछि बिहानसम्म केहि खाएका हुदैनौँ । अर्थात् बेलुका पछि हामी बिहानसम्म निकै लामो व्रतमा हुन्छौँ, बिहानको खानाले हामी त्यो व्रत अर्थात फास्टिङलाई तोड्छौँ अर्थात अंग्रेजीमा ब्रेक गर्छौँ । यसैले व्रतलाई तोड्ने भएर ब्रेकफास्ट भनिएको हो । यसैले बिहानको खाना एकदमै महत्वपुर्ण हुन्छ ।

व्रत पछि खाइने भएकाले केहि हल्काफुल्का र स्वस्थ खाना खानु पर्छ र प्रशस्त पानी पिउँनु पर्छ । राती पानी शरिरले उपयोग गरिरहेको हुनाले हाम्रो शरिरमा पानीको मात्रा अपुग भएको हुन सक्छ, त्यसका लागि पिउँनु पर्ने हो प्रशस्त पानी । यसले हामीलाई ग्यास्ट्रिक लगायतका समस्या पनि समाधान गर्छ । हाम्रो शरिर स्वस्थ बनाउँछ ।

७. सबै भन्दा गाह्रो कामलाई निप्ट्याउँने

दिनभर गर्नु पर्ने धेरै कामहरु हुन्छन् । ति कामहरु मध्यै गर्नका लागि सबै भन्दा सजिलो काम छान्दा दिनको सुरुवात राम्रो हुन्छ तर दिनको अन्त्य कसरी हुन्छ भन्ने चै निश्चित हुदैन । किनकी तपाईको सबै भन्दा गाह्रो काम जसले तपाईको समय लिन्छ र मिहिनेत चाहिन्छ, त्यो चै बाँकी नै हुन्छ । गाह्रो काम अनि कम समयले तपाईमा तनाव थप्छ । दिनको अन्त्य बिग्रिने सम्भावना बढि हुन्छ ।

यसैले कामलाई मकै छोडाएको कुरासँग तुलना गर्नुहोस् । तपाईले केटाकेटीहरुसँग बसेर कहिलै मकै छोडाउँनु भएको छ ? छ भने तपाईले भोग्नु भएको छ । केटाकेटीलाई मकै छोडाउँन दिनु भयो भने पक्कै पनि एउटा रेखा छोडाएर बाँकी उनीहरुलाई छोडाउँन दिइन्छ । यसलाई बाटो बनाउँनु पनि भनिन्छ । यसरी छोडाए पछि केटाकेटीहरुले सजिलो गरेर पुरा मकै छोडाइसक्छन् । जसरी मकै छोडाउँदा सबै भन्दा पहिले एउटा रेखा छोडाइन्छ तर त्यो रेखा छोडाउँन गाह्रो हुन्छ । त्यसरी नै सबै भन्दा गाह्रो काम थाल्ने हो भने अफ्ठ्यारो कामका लागि समय पनि प्रशस्त हुन्छ । त्यस्तै सबै भन्दा गाह्रो काम पहिले सकेर दिन सुरु गर्ने हो भने दिनभर हल्का अनुभव गरिन्छ ।

८. लक्ष्य र योजनाका बारेमा बोल्ने

बिहान चाँडै उठेर कसरत लगायतका कुरा पछि परिवारका सदस्यहरुसँग दिनभरका कामका बारेमा कुरा गर्ने हो र त्यसको रणनीतिका बारेमा कुरा गर्ने हो भने आफुले सोचे भन्दा फरक कुरा थाहा पाउँन सकिन्छ । आफ्नो योजनामा के कमजोरी छ भन्ने पनि पत्ता लाग्छ । परिवारका सदस्यले योजनामा केहि गडबडी देखे सचेत गराउँन समय पाउँछन् । त्यस्तै आफुले पनि त्यसको कमजोरी बारेमा सोच्न र परिवर्तन गर्न समय पाइन्छ ।

त्यस्तै बिहानै परिवारसँगको भेटघाट र अन्तर्क्रियाले परिवारिक वातावरण पनि राम्रो बन्छ । यसले आफुले गरेको काममा परिवार सहयोगी बन्छ । सफलताका पहिलो सुत्र परिवारको साथ पाउँनु हो । यसका लागि बिहानै आफ्नो लक्ष्य र योजनाका बारेमा कुरा गर्नु फलदायी हुन्छ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment