टिभीमा अन्तराष्ट्रिय कार्यक्रम ‘हु वान्ट्स टु बि अ मिलिनियर’ को नेपाली संस्करण ‘को बन्छ करोडपति ?’ चलिरहेको थियो । कार्यक्रम सञ्चालक राजेश हमाल । कार्यक्रममा पैसाको महत्वको कुरा उठ्यो । राजेश हमालले आफ्नो वजनदार बोलीमा गाम्भिर्यता थप्दै बोलेका थिए, “मेरी आमाले भन्नुहुन्थ्यो, जसले पैसा केहि होइन भन्छ, उसले संसार बुझेको छैन र, जसले पैसा नै सबै थोक हो भन्छ, उसले जीवन बुझेको छैन ।”
उनको यो वाक्य सकिने बित्तिकै कार्यक्रममा गडगडाहट ताली बजेको थियो । टिभीको स्क्रिनमा टासिएका मेरा आँखा केहि नयाँ कुरा थाहा पाए झै गरेर चम्किएका थिए । मैले पैसाको महत्वका बारेमा सुनेका अनगिन्ती भनाईहरुमा यो भनाई सबै भन्दा सहि र व्यवहारिक लागेको थियो । अहिले पनि लाग्छ ।
यसैले पैसाको महत्वको कुरामा म प्राय राजेश हमालले आफ्नो आमाको भनेर सुनाएका ति पंक्तिहरुको सम्झना गर्छु । यो पंक्तिहरुले वास्तवमै पैसाको व्यवहारिक मुल्य बताउँछन् । ति पंक्तिहरुले पैसालाई भगवान झै मानेर जे पनि गर्न पछि नपर्नेहरुलाई चेतावनी दिन्छन् भने पैसाको वास्ता नगरेर वेपर्वाह उडाउँनेहरुलाई खबरदारी गर्छन् । उहि पंक्तिहरुले पैसाको जतन गर्न र प्रयोग गर्न सिकाउँछन् ।
तपाईलाई पनि ‘जसले पैसा केहि होइन भन्छ, उसले संसार बुझेको छैन र, जसले पैसा नै सबै थोक हो भन्छ, उसले जीवन बुझेको छैन ।’ भन्ने उक्ति सत्य लाग्छ सायद । यदि सत्य लागेको हो भने आफ्नो निष्कर्षलाई केहि समय कायम राख्नुहोला । यसको प्रसंग म पछि पुन: उप्काउँने छु ।
तर अहिले यहाँ उठाउँन खोजेको बिषय यी पंक्तिहरुको बारेमा होइन । यहाँ म ति पंक्तिको बारेमा लेख्न गइरहेको छु, जुन सामाजिक साइटहरुमा अत्याधिक सेयर भएको हुन्छ । सो भनाइमा भनिएको हुन्छ, “म मेरो दिमागमा भएको पैसालाई बैंकमा कसरी सार्न सक्छु ?” यहि भनाई लेखिएको मिम मध्येमा एउटा मिमको नमुना तल प्रस्तुत गरेको छु ।
माथि प्रस्तुत भनाईले झट्ट सुन्दा मानिसमा सकारात्मक भाव प्रवाह गरे झै लाग्छ । मानिसमा केहि गरौँ भन्ने आशा जगाएको भान हुन्छ तर वास्तवमा सो भनाई गलत छ । फेसबुक लगायतका सोसल साइटमा अत्याधिक सेयर भएको सो भनाईको भावमा भने मेरो असहमति छ ।
राम्ररी विचार गर्दा माथि लेखिएको भनाइको भावमा भएको नकारात्मकता थाहा पाउँन सकिन्छ । सो पंक्तिमा भएको ‘दिमागमा भएको पैसा’ ले के जनाउँछ ? पक्कै पनि दिमागमा भएको पैसाको बारे चिन्तनलाई जनाउँछ । अर्थात्, विचारले मुख्य उद्देष्यका रुपमा कमाउँनुलाई लिएको छ । के मान्छेको मुख्य उद्देष्य पैसा कमाउँनु हुन्छ ? हामीलाई लाग्न सक्छ, पक्कै पनि हुन्छ । हामीले गर्ने व्यवसाय, जागिर लगायत सम्पुर्ण कुराको उद्देष्य पैसा कमाउँनु हो । र, यो सत्य पनि हो । तर पैसा कमाएर मात्रै हाम्रो आवश्यकता पुरा हुन्छ त ? पक्कै पनि हुदैन ।
हामीले वास्तवममा चाहने भनेको पैसा होइन तर पैसा मार्फत प्राप्त गर्न सकिने सुविधा, आराम, सुरक्षित भविष्य लगायत स्वास्थ्यका लागि आवश्यक रकम आदि आदि हुन्छ । केवल पैसा थुपार्दैमा माथिका कुनै पनि आवश्यकताहरु पुरा हुदैनन् । न पैसा जम्मा गर्दा सुविधा सम्पन्न कुनै सामग्री बन्छ, न यो घोटेर सेवन गर्दा औषधी हुन्छ । यसैले स्वयम् पैसा महत्वपुर्ण होइन, पैसाको विनिमयबाट प्राप्त हुन सक्ने कुराहरुको असिमितता चै महत्वपुर्ण हो ।
तर ‘म मेरो दिमागमा भएको पैसालाई बैंकमा कसरी सार्न सक्छु ?’ भन्ने भनाइले अन्य कुराको अस्तित्व भन्दा पैसाको अस्तित्वलाई प्रमुख मान्छ । यसले राजेश हमालकी आमाले भन्नु भएको भनिएको उक्तिलाई मान्दैन । पैसा नै सबै भन्दा महत्वपुर्ण हो भन्ने चिन्तन दिमागमा राखिरहेको देखाउँछ । यो गलत हो किनभने पैसा जसरी हाम्रो मुख्य आवश्यकता होइन तर आवश्यकता पुरा गर्ने साधन हो । त्यस्तै पैसा पनि चिन्तन गर्नु पर्ने मुख्य बिषय होइन, बरु कुनै बिषयमा पारंगत वा व्यवसाय गरे पछि प्राप्त हुने सहउत्पादन (बाइप्रोडक्ट) मात्रै हो ।
यदि तपाईले कुनै कामलाई कसरी मानिसहरुसम्म उत्पादन वा सेवाका रुपमा पुर्याउँन सक्छु भन्ने सोचेर त्यसको काम अगाडी बढाउँनु भयो भने त्यसको सह उत्पादनका रुपमा पैसा आफै प्राप्त हुन थाल्छ । यो भयो एकदमै सैद्धान्तिक कुरा । यसलाई व्यवहारिक पाटोबाट विश्लेषण गर्दै दिमागदेखि बैंक खातासम्मको बाटोलाई यसरी बुँदागत गर्न सक्छौँ ।
दिमाग अर्थात सृजनशीलता
सोच्ने, खोज्ने र सिक्ने काम दिमाग हो । यसर्थ बजारलाई आवश्यक उत्पादन तथा सेवाको बारेमा सोच्ने, त्यसको उत्पादन गर्ने र बजारसम्म पुर्याउँने काम महत्वपुर्ण हो । आम्दानी गर्ने तरिका पनि यही हो । सोझै पैसालाई दिमागमा राखियो भने हामी उत्पादन वा सेवालाई नजरअन्दाज गर्न थाल्छौँ, यसले उत्पादन र सेवाको गुणस्तरमा सम्झौता हुन्छ । यसरी न काम राम्रो हुन्छ, न आम्दानी राम्रो हुन्छ ।
यसैले दिमागमा पैसा राख्ने भन्दा पनि दिमागमा भएको सृजनशीलता वा नयाँ सोचलाई कसरी व्यवहारिक बनाउँन सकिन्छ भन्नेमा ध्यान दिनु उचित हुन्छ । यसले हामीलाई पैसाका लागि जे पनि गर्न तयार बनाउँदैन, बरु बजारका लागि थप सृजनशील हुन तथा आफ्नो सोचलाई थप निखार्न बल दिन्छ ।
सृजनशीलता के मा खोज्ने ?
सृजनशीलता के मा खोज्ने भन्ने प्रश्न महत्वपुर्ण हुन्छ । बजारमा माग छ या यो बिक्छ भन्दैमा त्यो कुरा आफ्नो लागि सहि नहुन सक्छ । बजारमा त जे पनि चल्छ । राम्रो गायक पनि चल्छ । राम्रो चित्रकार पनि चल्छ । तर गायनको राम्रो बजार छ भन्दैमा तपाईले आफुमा भएको चित्रकारितालाई मार्नु हुन्न । बरु चित्रकारितालाई कसरी प्रयोग गर्दा बजारमा आकर्षण हुन्छ भन्ने तर्फ ध्यान पुर्याउँनु पर्छ ।
यहाँ गायक र चित्रकारको उदाहरण मात्रै हो । यस्ता आफुले रोजेको बिषय र बजारमा तुरुन्तै बिक्ने देखेको बिषय बिचको अन्तरद्धन्द्ध सँधै चल्छ । आफुले पढेको बिषय भन्दा अर्को बिषयमा भविष्य देख्नेहरुको कमि हुदैन । दिमागमा भएको पैसाको चिन्तनले पनि हामीलाई आफ्नो सृजनशीलताबाट भड्काउँछ । यसैले पैसालाई बिर्सेर सृजनशीलता खोजियो भने पैसा सहउत्पादनका रुपमा सँगै प्राप्त गर्न सकिन्छ ।
उत्पादन वा सेवा
आफ्नो ज्ञान, सिप, क्षमता र रहरलाई उत्पादन तथा सेवाका रुपमा बाहिर ल्याउँनुहोस् । त्यसलाई बजारमा प्रस्तुत गर्नुहोस् । पैसा त हुन्छ नै ।
यसैले आफ्नो दिमागमा भएको पैसालाई बैंक एकाउन्टमा कसरी सार्ने भन्ने सोचाइबाट जोगिनुहोस् । बरु त्यसको सट्टा आफ्नो दिमागलाई कसरी बढि भन्दा बढि उत्पादनशील र सृजनशील बनाउँन सकिन्छ भन्ने सोच्नुहोस् । आफ्नो रहर र खुबीलाई आकार दिएर उत्पादन वा सेवाको सृजना गर्नुहोस् । उत्पादित सेवा तथा सामग्रीलाई बजारसम्म पुर्याउँनुहोस् । यो भनेको बजारसम्म पुग्नु मात्र होइन, आम्दानी गर्नु पनि हो । यति गरे पछि आम्दानी स्वत: तपाईको अगाडी आइपुग्छ । होइन त ?
तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।