“तिमी जिन्दगीमा के बन्न चाहन्छौ भन्ने कुरा के ले निर्धारण गर्छ ?” पढाइ भइरहेको कक्षामा शिक्षकले विद्यार्थीलाई उठाएर सोधे । आज पढाइ भइरहेको बिषय थियो, जीवनको उद्देष्य । शिक्षकले भर्खर मात्रै महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको एक लाइन सुनाइसकेका थिए । त्यो थियो, ‘उद्देष्य के लिनु, उडी छुनु चन्द्र एक ।’
शिक्षकको उत्प्रेरणाले विद्यार्थीहरु जीवनको लक्ष्य छान्नु पर्ने रहेछ भन्ने सम्म चै बुझ्न कोशिस गर्दै थिए तर कक्षा ९ मा पढ्दै गरेका विद्यार्थीहरु, चौध पन्ध्र बर्षका कलिला उमेरका, यीनले जीवनको लक्ष्यका बारेमा के अडान लिन सक्थे र ? उनीहरुको अलमले र चञ्चले उमेरका इच्छा, भावना र मनस्थितीका बारेमा शिक्षकलाई थाहा नहुने होइन तर पनि पढाउँनु शिक्षकको कर्म हो । शिक्षक कर्म गर्दै थिएँ ।
शिक्षकले आफुतिर औँलाले देखाएर प्रश्न गरे पछि कक्षाको एउटा विद्यार्थी जुरुक्क उठ्यो । उसले कक्षामा भएका साथीहरुले आफुलाई हेरिरहेको थाहा पाइसकेको थियो, “म के बन्न चाहन्छु भन्ने कुरा भर्खरै हेरेको फिल्मले निर्धारण गर्छ ।” उसले कक्षामा आफ्नो ‘सेन्स अफ ह्युमर’ प्रदर्शन गर्यो । कक्षामा एक्कासी हाँसोको आवाज गुञ्जियो ।
विद्यार्थीले जिस्किएर भने पनि कुरा गम्भिर नै हो । बालबालिका वा किशोरवस्थामा रहेकाहरुको जीवनको लक्ष्य साना भन्दा साना कुराले पनि फरक पार्छ । उनीहरुलाई आफुले हेर्ने चलचित्रले पनि फरक पार्छ र आफुले भेटेका मानिसहरुले पनि फरक पार्छन् । उनीहरु जीवनमा के बन्ने भन्ने कुरा साना भन्दा साना कुराले फरक पार्छ । उनीहरुलाई जीवनमा के बन्ने हो भन्ने प्रश्नले साँच्चै नै हैरान पार्छ ।
यसो त वयस्कहरुका लागि पनि जीवनमा के बन्न चाहनु हुन्छ भन्ने प्रश्नले कायल नै बनाउँछ । हामी जीवनको निकै लामो समय यो प्रश्नसँग विभिन्नरुपमा साक्षात्कार गर्छौँ । यो अनिवार्य प्रश्न हुन्छ । म यो प्रश्नबाट कसरी बच्ने भन्ने बताउँन सक्दिन तर यो किन वास्तवमै यो प्रश्न महत्वपुर्ण भन्ने बारेमा संकेत गर्न सक्छु ।
के जीवनको लक्ष्य वास्तवमै महत्वपुर्ण छ ?
जीवन यसै पनि अस्थायी छ । त्यस माथि हाम्रो रोजाइ र हाम्रो लक्ष्य फरक पार्ने धेरै कुरा हुन्छन् । यस्तोमा हाम्रो जीवनको लक्ष्य स्थायी होला भन्न सकिन्न । यसो भए किन जीवनको लक्ष्य महत्वपुर्ण छ त ? यसको सजिलो जवाफ छ । किनभने जीवनको लक्ष्य निर्धारण गरे पछि यसले हाम्रो जीवनको बाटो पहिल्याउँन सजिलो हुन्छ । हामी कस्ता मानिसहरुको संगत गर्ने वा कुन कुरामा बढि समय र बल प्रयोग गर्ने भन्ने निश्चित गर्न सजिलो हुन्छ । यसले हाम्रो अनावश्यक शक्ति खर्च गर्नु पर्ने अवस्थाबाट जोगाउँछ ।
त्यसो भए कसरी छान्ने त जीवनको लक्ष्य ?
जीवनको लक्ष्य छान्न सबै भन्दा पहिले आफ्नो क्षमता र सिमितता बुझ्नु पर्ने हुन्छ । यसो भन्दैमा हामीले जीवनको लक्ष्य छान्न सक्छौँ र छानिएको लक्ष्य सहि वा स्थायी हुन्छ भन्ने हुन्न तर यसले केहि खाका भने देखाउँछ । यसैले जीवनको लक्ष्य छान्नका लागि ५ वटा तहमा छलफल गर्न सकिन्छ ।
१. आफ्नो इच्छा सबै भन्दा महत्वपुर्ण र क्षमता त्यस पछि
जीवनको लक्ष्य छान्नु भनेको केवल सफलता पाउँनु वा पैसा कमाउँनु मात्रै होइन । कुनै ठुलो पदमा पुगेर अथाह शक्ति हासिल गर्नु मात्रै पनि होइन । आफ्नो इच्छा भन्नुको अर्थ आफ्नो सृजनशीलता के मा छ भन्ने थाहा पाउँनु हो । आफुलाई के गर्दा खुसी हुन्छ भन्ने थाहा पाउँनु हो । यदि तपाईले आफुलाई के गर्दा खुसी लाग्छ भन्ने थाहा पाउँनु भयो भने तपाईको जीवनको लक्ष्य के हो भन्ने निश्चित गर्ने बाटोमा धेरै अघि पुग्नु हुनेछ ।
त्यस्तै इच्छा मात्र भएर हुदैन । कसैको शारिरिक मानसिक क्षमता कुनै विशेष कुरामा अरुभन्दा अब्बल हुन सक्छ । यदि यस्तो फरक क्षमता छ भने त्यहीसँग सम्बन्धित कुरालाई नै जीवनको लक्ष्य निर्धारण गर्ने हो भने यो सबै भन्दा सुन्दर हुन्छ ।
२. सुरुमा सबै विकल्पहरुलाई खुला राख्नुहोस्
तपाईको जीवनमा के बन्ने भन्ने कुराको टुंगोमा पुग्न हतार नगर्नुहोस् । सुरुमा सबै विकल्पहरु खुला राख्नुहोस् । सकेसम्म धेरै भन्दा धेरै बिषयहरुका बारेमा जानकारी बटुल्नुहोस् । हामीलाई सामान्यतया एकै समयमा एक भन्दा बढि बिषयहरुमा रुची भइराखेको हुन्छ । तर ति सबै रुची आफ्नो जीवनको लक्ष्य बन्न सक्दैनन् । ति केवल उमेर वा समय अनुसारको आकर्षण मात्रै पनि हुन सक्छन् ।
आफुलाई रुची भएका वा आफ्नो आकर्षण भएका बिषयहरुको सूचि बनाउँनुहोस् । यस मध्यै तपाईलाई कुनमा रस भिज्छ वा कुनमा केहि गर्न सक्छु भन्ने हुन्छ । त्यसमा थप मिहिनेत गर्नुहोस् । यसो गर्दा तपाईले आफ्नो लक्ष्य र आकर्षण विचको फरक छुट्याउँन समय पाउँनुहुनेछ ।
३. निर्णय तपाईको तर अरुको कुरा पनि सुन्नु पर्छ
यो पक्का हो कि म मेरो जीवनमा यो बन्छु अर्थात मेरो जीवनको लक्ष्य यो हो भन्ने अधिकार तपाईसँग मात्र हुन्छ । यसो भन्दैमा तपाईले आफ्नो यो अधिकार सबै भन्दा पहिले नै प्रयोग नगर्नुहोस् । तपाईले रोजेको बिषय पहिले कसैले रोजिसकेको हुन सक्छ । तपाईले हिड्न तयार परेको बाटो पहिले कसैले हिडेर पार गरिसकेको वा पार गर्न नसकेर बिचैमा छोडेको पनि हुन सक्छ । यस्तोमा तपाईले अरुका कुरा सुन्नु भयो त्यसका बारेमा सजिलो र अफ्ठ्यारो थाहा पाउँनु हुनेछ । यस्तो भयो भने यसबारे निर्णय लिन तपाईलाई सजिलो हुने छ ।
४. धेरै समय पर्खेर भने नबस्नुहोस्
अझै समय छँदैछ वा यो बारे अझै बुझेर निर्णय गर्नेछु भनेर लामो समय पर्खिएर भने नबस्नुहोस् । हतार गर्नु र चाँडो गर्नुमा फरक हुन्छ । यसैले जीवनको लक्ष्य छान्न हतार नगर्नुहोस् र ढिला पनि नगर्नुहोस् । सुस्ततासँगै आलश्यता बढ्छ । बिषयवस्तु आवश्यकता भन्दा बढि जटिल र बोझिलो देखिन सक्छ । यसैले धेरै समय पर्खिन तिर पनि नलाग्नुहोस् ।
५. असाध्य हो कि फरक हो, छुट्याउँनुहोस्
अरुले रोजेको भन्दा फरक लक्ष्य भयो भने समाजमा भिन्न छाप छोड्न सजिलो हुन्छ तर फरक हुनु नै असल हुनु भने हुदैन । भनिन्छ नि नयाँ किनेको सलाइको बट्टामा पहिलो पल्ट बालेको काँटी अरु सबै काँटी भन्दा फरक हुन्छ तर त्यसो भन्दैमा त्यो उपयोगी भने हुदैन । त्यसलाई फेरि बाल्न सकिदैन । कोर्नका लागि अरु जस्तै काँटी नै चाहिन्छ । त्यसैले फरक हुने लहडमा असाध्य बिषय वा लक्ष्यलाई नछान्नुहोस् । तर परिश्रम गर्न भने नडराउँनुहोस् । आफ्नो वर्तमान परिस्थितीको अधिकतम उपयोग गर्दा प्राप्त हुने कुराहरुलाई भने पछ्याउँने हिम्मत गर्नुहोस् ।
लक्ष्यले जीवन निर्धारण गर्दैन, फेर्न सकिन्छ
सामान्य अवस्थामा तपाईको जीवन कस्तो हुने भन्ने तपाईले बोकेको लक्ष्यले पनि निर्धारण गर्न सक्छ तर यसको अर्थ यो होइन कि तपाईको लक्ष्यले मात्र तपाईको जीवन निर्धारण गर्छ र तपाईले जुनसुकै अवस्थामा पनि एकपटक लिएको निर्णयलाई बोकेर बस्नु पर्छ । तपाई जुनसुकै बेला आफ्नो लक्ष्य बदल्न सक्षम हुनुहुन्छ ।
जीवनमा विभिन्न परिस्थिती र समयले हाम्रो रुची परिवर्तन गर्न सक्छ । यो स्वभाविक प्रक्रिया हो । यस्तोमा बदलिदो अवस्थामा पनि पुरानै कुरामा टाँसिएर बसिरहन आवश्यक छैन । स्वतन्त्र भएर लक्ष्य परिवर्तन गरेर नयाँ बाटो समात्न सक्नु हुन्छ ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।