बालबालिकालाई कसरी पढ्न बानी लगाउँने ? एक कथा र ५ उपायहरु

गाडीमा पहिले देखि नै केहि यात्रुहरु बसिरहेका थिए । यात्रुहरु गाडी हिड्ने समय पर्खिरहेका थिए । चालक र सहचालकहरु गाडीको खाली सिट भर्नलाई थप यात्रु पर्खिरहेका थिए । पर्खाइको समय बढि नै बोझिलो देखिएको थियो । हातमा भएको मोबाइलले भने सबैलाई साथ दिएको देखिन्थ्यो । सबैका आँखा मोबाइलको स्क्रिनमा टाँसिएका थिए । सबैको शिर निहुरिएको थियो ।

त्यहि बेला एकजना अधबैंशे महिला आफुसँग ६/७ बर्ष जस्तो देखिने बालकलाई लिएर गाडी भित्र पसिन् । नयाँ यात्रुको आगमनले केहि बेर सबैको ध्यान खिच्यो । सबैले एक पटक मोबाइलमा टाँसिएका आँखा उठाएर उनीहरुलाई हेरे । नयाँ यात्रुले त्यसतर्फ ध्यान दिएको देखिएन । बरु उनी खाली सिट कता छ भन्ने खोज्न आँखा डुलाउदै थिइन् । त्यतिकैमा, ति महिला आफुसँगै रहेको बालकलाई लिएर खाली रहेको एउटा सिटमा बसिन् ।

गाडीमा पसेको केहि बेरमा सामान र सिटको सामान्य व्यवस्थापन पछि उनले झोलाबाट दुईवटा किताब झिकिन् । एउटा आफुले लिइन् र अर्को सानो बालकलाई दिइन् । केहि बेरमा नि ति दुईजना किताब पढ्नमा मग्न भएका देखिए । गाडीका अन्य यात्रुहरुले उनीहरुको गतिबिधी वास्ता गरेनन् । सबै फेरि मोबाइलमा व्यस्त भइसकेका थिए ।

“गाडी चल्नु अगाडी नै भाडा तिरौँ ।” सहचालक ठुलो स्वरमा बोल्दै ढोका भित्र पस्यो । बन्द गाडी र चुपचाप यात्रुहरुको बिचमा उसको आवाज निकै चर्को सुनियो । उसले सोही आवाजमा थप्यो, “बिचमा ओर्लिने कोही छैन भने गाडी भित्री बाटोबाट जान्छ र अन्तिम स्टेसनमा मात्रै रोकिन्छ ।” त्यति भनेर उ सबै भन्दा अगाडीबाट भाडा उठाउँन थाल्यो ।

भाडा लिदै उ जब ति महिला र बच्चाको अगाडी पुग्यो, उ एक पटक अनौठो गरेर मुस्कुरायो । “तपाईले त किताब उल्टो समात्नु भएको छ । सुल्टो पढ्न आउँदैन कि क्या हो ?” सहचालकले व्यंग्य मिश्रित आवाजमा झन् ठुलो स्वरमा भन्यो । सायद उ महिलाको हास्यास्पद कार्य सबैलाई सुनाएर हसाउँन चाहन्थ्यो ।

किताबलाई उल्टो समाएर पढे जस्तो गरेकी महिला अकस्मात सहचालकको हस्तक्षेपले तर्सिए झैँ भइन् । उनले किताबलाई केहि बेर घुमाइन् । उनले अलमलमा किताब घुमाएको दृष्य हेर्दा कताबाट पकड्दा किताब सुल्टो हुन्छ भन्ने उनले थाहा नै नपाए जस्तो देखियो । उनले नम्र तर स्पष्ट स्वरमा भनिन्, “मलाई पढ्न आउँदैन ।”

सहचालकमात्र होइन, उनको जवाफ सुनेर वरपरका अन्य यात्रु पनि छक्क परे ।

“तर मेरो यो छोरो पढ्न जान्दछ ।” महिलाले नम्र हुँदै स्पष्ट स्वरमा भनिन्, “मैले जे गर्यो, यसले त्यहि गर्न रुचाउँछ । मैले किताब समाए पछि उसले पनि किताब पढ्न खोज्छ । मैले मोबाइल चलाउँदै यसलाई मात्रै जति पढ् भन्दा पनि कसै गरे पढ्दैन ।” महिलाले मुस्कुराउँदै थपिन्, “ठुलाले गरेकै सानाले सिक्ने रहेछन् । यसैले नजानेर पनि यसको साथी बन्न किताब समाएको उल्टो समाएछु ।”

आफ्नो छोराको चरित्र निर्माणमा महिलाको चातुर्यता देखेर सबै दंग परे । तपाईले यो घटना देख्नु भएको तपाईको मनमा पनि एउटा अमिट छाप पर्ने थियो तर अचम्म लाग्ने कुरा के हो भने, बालबच्चाको चरित्र निर्माणमा अभिभावकको भुमिका कस्तो हुनु पर्छ भन्ने कुरा धेरै वा थोरै हामी सबैलाई थाहा हुन्छ । हामीले यदि घरमा साना केटाकेटी छन् भने देखिरहेकै कुरा हुन्छ कि बालबच्चाले आमाबुबाको सिको कति चाँडो गर्छन् । तर हामी बिर्सन्छौँ । हामी देखिरहेको कुरालाई दैनिक जीवनमा प्रयोग गर्न हेलचेक्रयाइ गर्छौँ । यो हेलचेक्राइको मुल्य भने हामी बालबच्चा ठुला भए पछि र आफु वृद हुदै गर्दा चुकाउँछौँ ।

आफ्ना बालबच्चालाई कुन कुरा सिकाउँनु पर्छ र कुन कुरा कसरी सिकाउँने भन्ने बिषय एकदमै गहन र फराकिलो बिषय हो । यसका बारेमा एउटा लेखमा केहि शब्दहरुको प्रयोग गरेर लेख्न सकिदैन । यसैले यो लेखमा अरु सबै कुराहरुलाई थाती राख्दै केवल केटाकेटीमा पठन संस्कृतिको विकाश कसरी गर्ने भन्ने बारेमा केहि जानकारीहरु बाढ्दैछु ।

१. पढ्नु विकल्प होइन

पढे पनि हुन्छ या नपढे पनि हुन्छ भन्ने चै कसैले पनि सोच्दैन सायद । हामी सबैलाई लाग्छ, सबैले पढ्नु पर्छ तर हामीले पढ्नै पर्छ भनेर आधारभुत आवश्यकता मानेको चै विद्यालय वा कलेजको पढाइ हो । हामीले पढ्नै पर्ने भनिएको कुरामा सिमितता छ । हामी बिर्सन्छौँ कि विद्यालय र कलेजको पाठ्यक्रम बाहिर असाध्यै धेरै पढ्नै पर्ने कुराहरु छन् । हामीलाई ति कुराहरु पढिराख्दा राम्रो भन्ने मात्रै लाग्छ तर वास्तवमा यो सोचाइ गलत छ । पढ्नु विकल्प होइन, जिन्दगीभर पढिराख्नु पर्छ ।

आफ्ना बालबच्चालाई पढ्नु विकल्प हो भन्ने सोचाइबाट बाहिर निकाल्नुहोस् । पढ्नु वास्तवमा राम्रो कुरा हो भन्ने बुझाउँनुस् । पठन संस्कृति संसारभरमै सबै भन्दा कम विवादित संस्कृति हो ।

२. के ले रोक्छ भन्ने थाहा पाउँनुहोस्

तपाईले पढ्नु पर्छ पनि भनिराख्नु भएको हुन सक्छ । घरभरि किताबहरु पनि हुन सक्लान् । तपाईका बालबच्चा पढ्न पनि खोजिरहेका हुन सक्छन् तर पनि पढिरहेका चै हुदैनन् । यो धेरै घरको समस्या हो । हामी धेरैलाई लाग्छ, प्रबिधि त्यसमा पनि मोबाइल र कम्प्युटरले पठन संस्कृतिलाई क्षय गर्दैछ तर तथ्यांक हेर्ने हो भने विकसित देशमा नै पठन संस्कृति राम्रो छ । यसैले दोष केवल मोबाइल र कम्प्युटरहरुको मात्रै पनि होइन । वास्तविक कारण अर्कै हुन सक्छ ।

साथीहरुको खेल्ने समयले पनि यसमा फरक पार्छ । पारिवारिक जमघट र पारिवारिक वातावरणले पनि पठन संस्कृतिमा प्रभाव पारिरहेको हुन्छ । घरमा पढ्ने मान्छेहरु छन् भने स्वत: केटाकेटीको त्यो तर्फको चासो बढ्छ । यसैले केटाकेटीको दैनिक जीवनमा हस्तक्षेप गरेर जबरजस्ती पढ् भन्नु भन्दा के कुराले रोकिरहेको छ भन्ने थाहा पाउँनुहोस् र उचित कदम चाल्नुहोस् ।

३. अभिभावक कति पढ्छन् ?

यो बारेमा माथि घटनाक्रम नै लेखिसकेको छु । अभिभावकको सिको गर्छन् बालबालिकाले । उनीहरु अभिभावकले के भन्छन् भन्ने कुरामा त्यति चासो राख्दैनन्, बरु अभिभावकले के गर्छन् चै पछ्याउँछन् । यसैले आफु पनि पढ्नुहोस् । त्यसको सोझो असर बालबालिकालाई पर्छ ।

४. केटाकेटीलाई झर्को नलाउँनुहोस्

पढ्नु राम्रो हो, पढ् पढ् भनेर मात्रै बालबालिकाले पढ्ने होइनन् । जबरजस्ती लादियो भने उनीहरुले झर्को मान्छन् र उनीहरु स्वतन्त्रता खोसिएको महसुस गर्छन् । यो कति प्रत्युत्पादक हुन्छ भने उनीहरु पढ्न प्रति विकर्षित हुन्छन् । यसैले केटाकेटीलाई झर्को नलगाउँनुहोस् । उनीहरुलाई पठन संस्कृति किन रमाइलो छ भन्ने महसुस गराउँनुहोस् । पढ्ने कुराको रचनात्मक विज्ञापन गर्नुहोस् ।

५. सँगै पढ्नुहोस् र उत्प्रेरित गर्नुहोस्

बालबालिकासँगै पढ्ने हो भने उनीहरु प्रत्यक्ष उत्प्रेरित हुन्छन् । त्यसका अतिरिक्त यो पाठ वा यो पुस्तक पढे पछि यो उपहार पाउँने छौँ भन्ने प्रत्यक्ष इनाम दिने कुराले पनि उनीहरु प्रोत्साहित हुन्छन् । त्यस्तै केटाकेटीहरु धेरै हुन्छन् भने कुनै पाठ विशेष हाजिरीजवाफ जस्तो गराउँने र सहभागीलाई पुरस्कृत गर्ने हो भने पनि उनीहरु पढ्न प्रति आकर्षित हुन्छन् ।

अन्त्यमा, पढ्नुको बेग्लै आनन्द हुन्छ । पढेर ज्ञान आर्जन गर्न सकिने कुराहरु असाध्यै धेरै छन् । यसैले पठन संस्कृतिमा आफ्ना बालबालिकालाई आकर्षित गर्न सके उनीहरु आफै यसमा अगाडी बढ्नेछन् ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

नमस्ते, म गणेश कार्की । एउटा आममान्छे । सामाजिक सञ्जाल मात्रै होइन, हाम्रो समाज नै नकारात्मक खबर र जानकारीहरुले भरिएको छ । ‘नकारात्मक मात्रै बिक्छ’ भन्ने सोच व्याप्त छ । यस्तोमा सकारात्मक कुरा लेखेर पनि व्यवसायिक हुन सकिन्छ भन्ने उदाहरण देखाउँने मेरो सानो प्रयास हो । उज्यालो पाटोमा म जीवनको उज्यालो पाटोको बारेमा लेख्छु । अथवा, जीवनलाई उज्यालो पाटोमा कसरी लैजाने भन्ने बारेमा आफुले देखेका भोगेका र पढेका कुराहरु बाढ्नेछु । सामाजिक सञ्जालमा अलिकति भए पनि सकारात्मक र ज्ञानवद्धर्क कुराहरु सेयर हुन योगदान गर्न सकुँ । यस्ता कुरा पढ्न चाहनेले पढ्ने ठाउँ बनोस् । यस्ता कुरा लेख्न सक्नेहरु व्यवसायिक रुपमा लेख्ने हिम्मत गर्न सकुन् । मेरो इच्छा यति हो । यो भन्दा धेरै हाशिल भए म झन् खुसी हुनेछु । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

गणेश कार्की – who has written posts on उज्यालो पाटो.


One thought on “बालबालिकालाई कसरी पढ्न बानी लगाउँने ? एक कथा र ५ उपायहरु

Post Comment