कुनै वस्तुको निश्चित मुल्य हुदैन, आफुले बनाउँनु पर्छ – एक कथा र ३ उपायहरु

एकजना कुशल व्यवसायी थिए । गरिब परिवारमा जन्मिएका उनले आफ्नो विवेक र परिश्रमले व्यवसाय राम्रोसँग फैलाएका थिए । मान्छेहरु भन्ने गर्थे, “उनी व्यवसायी होइनन्, व्यवसायिक साम्राज्यका सम्राट हुन् ।” हुन पनि उनको व्यवसायको विविधता र फैलावट अकल्पनिय थियो । उनले गरेका लगभग सबै जसो व्यवसायले सोचे भन्दा प्रगति गरेका थिए । यति धेरै सफलताले पनि उनलाई छुन भने सकेको देखिदैन थियो ।

व्यवसायी अझै पनि उस्तै नियमित काम गर्थे । आफ्नो कर्मको सम्मान गर्थे । आफ्नो परिश्रम र सम्बन्धले मात्र आफ्नो व्यवसाय फैलिएको छ भनेर उनी पटक पटक अरुलाई सुनाउँथे । सफल हुनका लागि कुनै पनि छोटो बाटो छैन तर परिश्रम र चातुर्यताले भने बाटोमा दौडिने सामर्थ्य बढाउँछ र चाँडै सफल भइन्छ भन्थे । उनका कर्मचारी हुन् वा परिवार, सबैलाई परिश्रमका लागि उत्प्रेरित गर्थे । उनमा यस्तो कला थियो कि जस्तो सुकै अल्छि मानिस पनि उनको संगतले काममा जाँगरिलो बन्थ्यो ।

उनै व्यवसायीका तिन जना सन्तान थिए । तिन सन्तान मध्ये जेठोले अब व्यवसायमा आफुलाई सहयोग गरोस् भन्ने उनको इच्छा थियो तर उनी आफ्नो सन्तान नै भए पनि टपक्क ल्याएर ठुलो पदको जिम्मेदारी दिन मञ्जुर थिएनन् । उनी भन्थे, “व्यवसाय यसको पनि हो तर यसले पनि व्यवसायको सम्मान गर्नु पर्छ । माथिल्लो पदसम्म पुग्न आफुलाई दक्ष बनाउँनु पर्छ ।”

व्यवसायीको जेठो सन्तानले किशोरावस्था भर्खरै पार गरेको थियो । उमेरजन्य केहि चञ्चलता भए पनि उसमा बाबुको व्यवसायप्रति निकै चासो थियो । उ आफ्नो बुबाको व्यवसायलाई अझै राम्रो बनाएर बुबालाई खुसी बनाउँन इच्छा गर्थ्यो । यसका लागि मानसिक र सबै किसिमले तयार थियो ।

एकदिन व्यवसायीले आफ्नो जेठो छोरोलाई बोलाए । उनले हातमा एउटा कपडाको टालो बोकेका थिए । त्यो टालोलाई देखाउँदै उनले छोरोलाई सोधे, “बाबु ! यो कपडालाई कति पर्ला ?”

व्यवसायीको हातमा भएको कपडा लिदै छोरोले केहि बेर खेलायो । उसले निश्चित हुदै भन्यो, “बुबा ! यसको १०० रुपैया पर्छ ।”

“त्यसो भए यो कपडालाई आज २०० रुपैयामा बेचेर आउ ।” छोरा तर्फ हेर्दै व्यवसायी बोले, “तर यसका लागि तिमीले आफुले चिनेका मानिसहरुको कुनै पनि किसिमको सहयोग लिन पाउँदैनौँ । यस्तै तिमीले मैले कमाएको परिचय र हैसियतको पनि प्रयोग गर्न पाउँदैनौँ ।”

आज्ञाकारी छोरोको लागि बुबाको यति नै निर्देशन काफी थियो । उ थप केहि प्रश्न नगरी टालो लिएर घरबाट निस्कियो । उ घरबाट निस्किएर सरासर बाटोमा पुग्यो । उ चौबाटोमा पुगेर एकछिन रोकियो । उसले कुन बाटो हिड्ने तय गर्न र टालोलाई कसरी बेच्ने भन्ने टुंगो गर्न केहि समय लियो । चौबाटोमा ट्राफिक बत्ति हरेक बाटोमा जोडिएको थियो । एउटा बाटोको बत्ति हरियो बलेर यातायात सुचारु हुँदा अर्को तर्फका दुई बाटोमा रातो बत्ति बलेका हुन्थे । रातो बत्ति बलेको बेला त्यो बत्ति तर्फ पर्ने सडकमा कार, बाइकहरु रोकिएका हुन्थे ।

बाइक र कारहरु रोकिएको देखेर उसलाई कपडाको टालो बेच्ने उपाय सुझ्यो । उ रोकिएका कार र बाइक तर्फ अगाडी बढ्यो । कारको नजिकै पुगेर उसले ठुलो स्वरमा चिच्यायो, “बाइक र कार पुछ्ने मखमली कपडा किन्नुहोस् । अन्तिम टालो बाँकी छ, किन्नुहोस् र बाइक कार पुछेर टल्काउँनुहोस् ।”

उसको प्रचार सुनेर नजिकैको कारको झ्याल खुल्यो । कारवालाले त्यो टालो २ सय रुपैयामा किन्यो । केटो खुसी हुदै घर फर्कियो । घर पुगेर आफ्नो बुबालाई २०० रुपैया दिदै सबै घटना सविस्तार वर्णन गर्यो ।

छोराको कुरा सुनेर व्यवसायी मुस्कुराए । “अब यहि टालोलाई २ हजारमा बेचेर आउ ।” उनले तत्कालै गोजीबाट पहिले दिएकै जस्तो कपडाको टालो निकालेर छोरालाई दिदै भने, “तर अघि भनेको शर्तहरु अहिले पनि लागू हुन्छन् नि ।”

बाबुको कुरा सुनेर केटो छक्क पर्यो । त्यै पनि आफ्नो बुबाको यो कार्यमा केहि न केहि अर्थ छ भन्ने उसले पहिलै नै अनुमान लगाइ सकेको थियो । यसैले उसले थप प्रश्न नगरी टालो बोकेर कोठाबाट बाहिरियो । उसले यहि टालोलाई पहिलेको जस्तै बाइक र कार पुछ्नेलाई बिक्री गर्न सक्दैन थियो । किनकि कसैले पनि बाइक र कार पुछ्नका लागि २ हजार तिरेर एउटा टालो किन्दैन ।

टालो गोजीमा बोकेर केटो केहि बेर आफ्नो कोठामा बसिरह्यो । कुनै संकेत भेटिन्छ र म यो टालोलाई दुई हजार रुपैयामा बेच्ने उपाय निस्किनेछ भन्नेमा केटो चनाखो थियो । उसले आफ्नो भित्तामा एउटा स्टिकर देख्यो । स्टिकर देख्ने बित्तिकै केटाको दिमागमा जुक्ति फुर्यो । उसले त्यो स्टिकर टालोमा चिटिक्क पारेर सिलायो । त्यो स्टिकर केटाकेटीलाई असाध्यै मन पर्ने मिक्की माउसको थियो । उ स्टिकर टासिएको टालो लिएर केटाकेटी खेल्ने पार्कमा गयो । साँच्चै नै त्यो स्टिकर एउटा बच्चाले खुब रुचायो र उसका अभिभावकले त्यो टालो दुई हजारमा किनेँ ।

केटो खुसी हुदै घर फर्कियो । घर पुगेर आफ्नो बुबालाई २००० रुपैया दिदै सबै घटना सविस्तार वर्णन गर्यो । छोराको सफलताको कुरा सुनेर व्यवसायी पहिले भन्दा पनि स्पस्ट देखिने गरि मुस्कुराए । “अब यो टालोलाई बिस हजारमा बेचेर आउ ।” उनले तत्कालै गोजीबाट अघिल्लो पटक दिएकै जस्तो कपडाको टालो निकालेर छोरालाई दिदै भने, “तर अघि भनेका शर्तहरु अहिले पनि लागू हुन्छन् नि ।”

छोरोलाई एक पटक विश्वास नै भएन । यो टालो जसलाई १०० रुपैयामा किन्न सकिन्छ र उ आफैले २०० मा बेचेको छ । उसका बुबा अहिले २० हजारमा बेच्न भन्दैछन् । कसरी बेच्ने हो भन्ने उसले सोच्न पनि सकेन तर उ हार मान्ने केटो थिएन । उसले आफ्नो पिताको आज्ञा पुरा गर्ने अठोट गर्यो । उ गोजीमा टालो बोकेर घरबाट बाहिरियो । साँझ पर्न लाग्दै थियो । मानिसहरु घर फर्किने हतारमा थिए । यस्तो हतारमा भएका मानिसहरुलाई आफुले कपडाको टालो बिस हजारमा बेच्न सकिने सम्भावना कम थियो । उ शहरमा टहलिन निस्कियो ।

यत्तिकैमा उसले सडकमा खेल्दै गरेको सानो बालक देख्यो । बालक बल खेलाउँदै अञ्जानवश सडकको बिच तिर बढ्दै थियो । उसले त्यति नै बेला देख्यो कि सडकमा एउटा कार तिव्र गतिमा बालक तर्फ बढ्दै थियो । उ दौडेर गएर बालकलाई सडकबाट पर हुत्यायो तर तिव्र गतिमा आएको कारले उसलाई अलिकति ठक्कर दियो । कारको सामान्य ठक्करले पनि उ सम्हालिन सकेन र सडकको किनारमा लड्यो ।

केहि पर पुगेर रोकिएको कारबाट एकजना महिला निस्किन् । ति महिला शहरकी चर्चित नायिका थिइन् । उनी आत्तिदै केटो र बालक भए ठाउँमा आइपुगिन् । दुवै सकुशल थिए । केटोसँग माफी माग्दै उनले औषधी उपचारका लागि हिड्न अनुरोध गरिन् तर शरिरमा खासै केहि नभएको उ अस्पताल जान मानेन । अझ चर्चित नायिकालाई आफ्नो अगाडी देखे पछि सामान्य अवस्थामा भएको देखाउँदै थियो ।

सडक दुर्घटना देखेर दौडदै आएका मानिसहरुले नायिकालाई देखेर त्यहि भिड भएर बसे । भिड निकै बढ्न थाल्यो । नायिकाले केटोलाई आफ्नो कार्ड दिदै केहि परेमा आफुलाई खबर गर्न अनुरोध गरिन् । नायिकालाई देखे पछि केटोको दिमागमा उपाय फुर्यो । उसले गोजीबाट कपडाको टालो निकालेर नायिकाको अटोग्राफ माग्यो । नायिकाले अटोग्राफ दिदासम्म निकै ठुलो भिड जम्मा भइसकेको थियो । उसलाई अटोग्राफ दिएर नायिका हतार हतार कारमा चढेर त्यहाँबाट दुर भइन् ।

सोही भिडमा एकजना मानिस नायिकाको एकदमै ठुलो फ्यान पनि रहेछ । उसले केटोसँग अटोग्राफ आफुलाई दिन अनुरोध गर्यो । केटोले अटोग्राफको मुल्य २० हजार भन्यो । फ्यान निकै धनी रहेछ । उसले त्यहि २० हजार नगद केटोको हातमा राखिदिएर अटोग्राफ सहितको कपडाको टालो लियो ।

केटोले बिस हजार रुपैयाको बिटो बुबाको अगाडी राखिदियो । छोराको कौशल देखेर व्यवसायी बाबु असाध्यै खुसी भए । “तिमीले जस्तो व्यवसाय पनि गर्न सक्छौ ।” खुसीसाथ छोरालाई अंगालो हाल्दै भने, “यति काम गरिसके पछि के सिक्यौ ?”

“कुनै वस्तुको निश्चित मुल्य हुदैन रहेछ । आफ्नो कौशल र ग्राहकहरुको आवश्यकता हेरेर वस्तुको मुल्य आफुले बनाउँनु पर्ने रहेछ ।” केटोले जवाफ दियो ।

वास्तवमै कुनै पनि वस्तुको निश्चित मुल्य हुदैन । तपाईले त्यसको मुल्य आफ्नो कौशलले बनाउँने हो भने तपाई व्यक्तिको मुल्य वा महत्व कति हो ? पक्कै पनि अमुल्य तर यसका लागि तपाईले आफ्नो क्षमताका बारेमा थाहा पाएको हुनु पर्छ । त्यसो भए आफ्नो महत्व बढाउँन के गर्न सकिन्छ ? यसका उपायहरु धेरै हुन सक्छन्, त्यस मध्ये ३ उपायहरु यसरी व्याख्या गर्न सकिन्छ ।

१. नयाँ ज्ञान र सिप हाशिल गरिरहने

यसका लागि आफुलाई अद्यावधिक गरिरहनु पर्छ । केहि कुरा जानेको छु र अरु भन्दा बढि जान्दछु भन्दैमा सिक्ने कुराहरु सकियो भनेर बसियो भने आफ्नो महत्व विस्तारै कम हुदै जान थाल्छ ।

२. नयाँ प्रयोग गर्न अग्रसर भइराख्ने

विज्ञानका प्रयोग मात्र होइन कि व्यवसायमा पनि नयाँ नयाँ प्रयोग गर्न सकिन्छ । यस्तै जीवनमा पनि प्रयोगहरु गर्न सकिन्छ ।

३. सिपहरुको मिश्रण गर्नुहोस्

आफुले सिकेका धेरै सिपहरु मिसाएर नयाँ कुरा गर्न सकिन्छ भन्ने सोच्नु होस् । यसले तपाईलाई क्रियाशिल बनाउँछ भने बजारका लागि नयाँ सम्भावनाको अवसर पनि बन्छ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment