गल्ति कसले गर्दैन ? जवाफ सजिलो छैन । हुन त राजनीतिकरुपमा फलानो पदमा भएका मानिसले गल्ति गर्दैन भन्ने मानक स्थापित गरेर बेला बेला कुनै पदमा भएका मानिसहरुलाई न्याय भन्दा माथि राखिन्छ तर प्राकृतिकरुपमा त्यो केवल भ्रम वा शक्तिको दुरुपयोग मात्रै हो । गल्ति सबैले गर्छन् । यहाँसम्म कि हामीले कुनै दोष नभएका भनिएका देवीदेउताले पनि गल्ति गरेका उदाहरणहरु शास्त्रमा पाइन्छन् ।
त्यस्तै, इतिहास हेर्दा पनि गल्तिका असंख्य विवरणहरु भेटिन्छन् । हामीले ऐतिहासिक व्यक्तित्व मानेका विभुतीहरुको जीवन पनि गल्तिहरु नभएको हुदैन । त्यस्ता व्यक्तिहरुले गरेको गल्तिका कारण मानव समाजको बाटो फेरिएको छ । नयाँ राज्यहरु बनेका पनि छन् र अनेकौँ राज्यहरु भत्किएका पनि छन् । यसैले गल्ति कसले गर्दैन भन्ने खोजी नै गलत हुन्छ । गल्ति सबैले गर्छन् ।
गल्ति सबैले गर्छन्, सत्य हो तर प्राय: एउटाले गरेको गल्तिको असर अर्कालाई पर्छ । यस्तोमा गल्तिले पिडित बनेकाहरुले कस्तो प्रतिक्रिया दिने ? यो बारेमा केहि लेख्नु भन्दा पहिले एउटा कथा पढौँ ।
दुइजना असाध्यै मिल्ने साथीहरु थिए । तिनको मित्रताको गाउँभरी चर्चा हुन्थ्यो । कसैलाई मित्रताको उदाहरण दिनु पर्यो भने तिनीहरुकै उदाहरण दिइन्थ्यो । उनीहरु साना भन्दा साना कुरामा पनि सरसल्लाह गर्थे । सरसल्लाह गर्दा कहिलेकाँही दुइजनाको कुरा मिल्दैन थियो । बेला बेला भनाभन पनि हुन्थ्यो तर उनीहरु तत्कालै गल्तिको प्रायश्चित गर्थे र माफी माग्थे । यसले गर्दा उनीहरुको वैचारिक मतभेद पनि अन्त्यमा मिलनमा गएर टुङ्गिन्थ्यो । दुईजना उत्तिकै कडा मिहिनेत गर्दथे र दुईजना मिलेर गरेको व्यवसाय पनि राम्रो फस्टाएको थियो । उनीहरुको नाम हेमन्त र पुष्प थियो ।
एकदिन साह्रै गर्मीको दिन थियो । गर्मी साह्रै बढेकोले पुष्पलाई खोलामा पौडी खेल्न मन लाग्यो । उसले आफ्नो इच्छा हेमन्तलाई सुनायो । पुष्पको उपाय हेमन्तले सुनिसक्ने बित्तिकै मन परायो । दुईजना गाउँ भन्दा अलिक पर रहेको खोलामा गएर पौडी खेल्न भनेर घरदेखि निस्किए । बाटोमा हिड्दै गर्दा उनीहरु बिचमा सानो कुरामा विवाद भयो । विवादमा हेमन्त एक्कासी झ्वाँक्कियो । उसले घुमाएर पुष्पको गालामा एक थप्पड हान्यो ।
विवादमा हेमन्तले थप्पड हानेको भए पनि पुष्पले कुनै प्रतिक्रिया जनाएन । उ खोलातर्फ अगाडी बढिरह्यो । झापड हानिसक्ने बित्तिकै हेमन्तलाई आफ्नो गल्तिको पश्चाताप भयो । उ केहि नबोली पुष्पलाई पछ्याउँदै खोलासम्म पुग्यो ।
खोलामा पुग्ने बित्तिकै नुहाउँनका लागि दुवैजना ठिक परे । हेमन्त खोलामा छिर्यो तर पुष्प बगरमा केहि लेखे जस्तो गरेर बसिरह्यो । केहिबेर पछि जब पुष्प खोलामा पस्यो तब हेमन्त आएर अघि पुष्पले लेख्दै गरेको पढ्यो । त्यहाँ लेखिएको थियो, “हेमन्तले आज मलाई झापड हान्यो ।” उसले त्यो पढेर खोलामा आफ्नो साथी पुष्पलाई हेर्यो । पुष्प त खोलाको बिच तिर डुब्न लाग्दै रहेछ । उ खोलाको किनारमा आउँन प्रयास गर्दै थियो तर खोलाले झन् बिच बिच तिर लग्दै थियो ।
हेमन्त दौडदै पुष्प भए ठाउँमा पुग्यो । पुष्पलाई पकडेर किनारमा ल्यायो । आत्तिएको पुष्प केहि बेरमा शान्त भयो र नजिकैको ठुलो ढुंगामा लेख्यो, “आज मलाई हेमन्तले डुब्नबाट बचायो ।”
पुष्पले ढुंगामा लेखेको देखेर हेमन्त छक्क पर्दै सोध्यो, “अघि झापड हान्यो चै खोलामा लेख्यौ र अहिले बचाएको चै ढुंगामा लेख्यौ, किन ?”
“जब कसैले चित्त दुखाउँछ, त्यो कुरालाई भुल्दा राम्रो हुन्छ । त्यसैले मैले चित्त दुखेको कुरा बगरमा लेखेँ ताकि हावा र पानीले त्यो मेटाओस् ।” पुष्पले भन्यो, “तर जब कसैले राम्रो काम गर्छ, तब त्यसलाई सम्झिराख्नु पर्छ । यसैले मैले ढुंगामा लेखेँ ताकि त्यो सँधै रहोस् र कसैको लागि प्रेरणा बनोस् ।” पुष्पको कुरा सुनेर हेमन्तले आफ्नो साथीलाई अंकमाल गर्दै माफी माग्यो । पुष्पले माफी दियो । माफी माग्ने र माफी दिने कुराहरुले उनीहरुको मित्रता थप पारदर्शी र मजबुत बन्यो ।
तर माफी माग्नु वा माफी दिनु केवल सम्बन्धमा पारदर्शीताका लागि मात्र होइन । माफी माग्यो भने मन हल्का हुन्छ भनिन्छ । माफी दिदा पनि मनको भार घट्छ । अर्काको गल्तिको झोला आफुले बेकारमा किन बोकेर हिड्नु ?
अनुसन्धानकर्ता विटभेलिएट र उनको समुहले गरेको एउटा अध्ययनले देखाए अनुसार जो घटनाहरुलाई हुन्दिन्छ र माफी दिनुमा विश्वास गर्छ, उनीहरुमा मुटु तथा नसा सम्बन्धित रोग कम लाग्छ भने रोग प्रतिरक्षात्मक क्षमता पनि बढ्छ । त्यस्तै माफी दिनेस्वभावले स्वास्थसँग सम्बन्धित जस्तै : शारिरिक थकान, औषधीको प्रभाव, मिठो निन्द्रा लगायत पेटसँग सम्बन्धित अन्य कुराहरुमा पनि सकारात्मक प्रभाव पार्छ । त्यस्तै, ब्लड प्रेसर सन्तुलन गर्न, डिप्रेसनको जोखिम कम गर्न तथा मानसिक तनावहरु कम गर्न पनि माफी दिने स्वभावले सघाउँछ ।
माथि उल्लेख गरिएका फाइदाहरुसँगै वास्तवमा माफी दिनुका अन्य धेरै फाइदाहरु छन् ।
१. निर्गुण व्यक्तित्व
फेसबुक लगायत सामाजिक साइटहरुमा देखिन्छ, म ऐना जस्तो छु, तिमी जस्तो व्यवहार गर्छौ, म त्यस्तै हुन्छु तर यो कुरा सहि होइन । कोही अरुको व्यवहारले तपाईको स्वभाव निर्धारण हुनु हुदैन । तपाई स्वभावत: जे जस्तो हुनुहुन्छ, त्यो तपाईको विशेषता हो । त्यो तपाईको पहिचान हो । कोही अरुको व्यवहारले तपाईले आफ्नो पहिचान गुमाउँनु कसरी राम्रो हुन्छ र ? यसैले आफ्नो व्यक्ति निर्गुण रहनु पर्छ । अरुको गुण वा अवगुणका कारण तपाईको विशेषता वा सोचाइ परिवर्तन नहुनु नै निर्गुण हुनु हो ।
अरुको गल्तिमा माफी दिनुको अर्थ तपाईले परिस्थितिलाई स्विकार्नु पनि हो र आफ्नो विशेषतालाई कायम राख्नु पनि हो । यसैले माफी दिने स्वभावले तपाईको व्यक्तित्वलाई निर्गुण बनाउँछ ।
२. स्वस्थ संवेदना
माफी दिनुको अर्थ अरुको गल्तिको बोझ आफुले नबोक्नु हो । माफी दिदा आफुमा भएको अस्वस्थ रिस र बदलाको भावना कम हुन्छ । जसको परिणाम बदला लिने वा अर्काको गल्तिको प्रताडना दिमागमा बोकेर बसिरहने समस्याबाट मुक्ति पाइन्छ ।
तपाईले कुन बेला र कसरी बदला लिने भन्ने भावना बोकेर बसिराख्न पर्दैन । यसले अस्वस्थ संवेदना मात्रै बढाउँछ । माफी दिने हो भने अनावश्यक शक्ति खेर जादैन भने आफ्नो भावनात्मक संवेदना पनि स्वस्थ हुन्छ । विचार र चिन्तन स्वच्छ बन्छ ।
३. सार्थक जीवनको अभ्यास
जीवन कस्तो हुनु पर्छ ? पक्कै पनि जीवन मानसिकरुपमा खुसी भएको हुनु पर्छ । भौतिक कुराहरु परिवर्तनशील हुन्छन् । भौतिक कुराहरुको सम्पन्नताले मात्रै मानिसको जीवन सार्थक मान्न सकिदैन । हामीले समाजमा देख्ने गरेका छौँ, मानसिकरुपमा खुसी नभएकाले भौतिकरुपमा सम्पन्नहरु पनि एकदमै तनावले भरिएको जीवन भोगिरहेका हुन्छन् । खास गरि आफ्नो अभिमान वा अहंकारले र आफ्नो आडम्बरयुक्त सोच र व्यवहारले मानिसहरु तनावपुर्ण जिन्दगी बाँचिरहेका हुन्छन् ।
यस्तोमा अहंकार रहित र माफी सहितको जीवन भोग्नेहरु मानसिकरुपमा पनि खुसी हुन्छन् । माफी दिने गर्दा मनमा तनावको अवस्था रहदैन । यसले सार्थक जीवन बाँच्न सहयोग गर्छ ।
४. सफल व्यक्तित्व
माफी दिने र अर्काको गल्तिलाई भावनात्मक वा सृजनशीलरुपमा सुधार्ने प्रयास गर्ने व्यक्ति वास्तवमै समाजका लागि सफल मानिस हुन् । माफी दिने स्वभावले मानिसलाई फाइदा नै गर्छ । सफलताको बाटोमा हिड्ने मानिसले बदलाको भावना वा रिस बोकेर कहिलै पनि अगाडी बढ्न सक्दैन । यस्तोमा माफी दिएर आफ्नो बाटो लाग्ने मानिस पक्कै पनि सफल बन्न सक्छ ।
५. सम्बन्धमा सुधार
अर्काको गल्तिलाई कोट्याइरहदा सम्बन्धको अर्को पाटोमा बसेका मानिसलाई अपराधबोध हुन सक्छ भने सम्बन्धमा नै तिक्तता भरिन सक्छ । यदि ससाना गल्तिहरुलाई माफी दिएर नजरअन्दाज गरिदिने हो भने सम्बन्ध थप विश्वासिलो बन्छ । यसले बिग्रिन लागेको सम्बन्धलाई पनि सुधार्छ ।
६. क्षमा वीरस्य भुषणम्
सत्य भन्नुको अर्थ जीत मात्रै कदापि होइन । र, जित्नु मात्रै वीर वा बहादुर हुनु होइन । संस्कृतमा श्लोक छ, क्षमा वीरस्य भुषणम् जसको अर्थ हुन्छ, क्षमा नै वीरहरुको गहना हो । क्षमा वा माफी दिने स्वभावले मानिसलाई वीर भनेर चिनाउँछ र क्षमा नै सत्य हो भन्ने उदाहरण दिन सकिन्छ ।
७. राम्रो वातावरण
माफी दिने स्वभावले बिग्रिन लागेको वातावरण पनि राम्रो बन्छ । अर्काको गल्तिलाई धेरै खोजिनीति गर्दै त्यसको नतिजामा पुग्न खोजियो भने वैमनस्य बढ्ने मात्रै होइन कि त्यसले झैझगडा पनि बढाउँछ । झैझगडा भइरहने ठाउँ पक्कै पनि राम्रो वातावरण भएको मानिदैन । यसैले घर तथा कुनै पनि स्थानको वातावरण राम्रो बनाउँनका लागि त्यहाँका सदस्यहरुको गल्तिहरुलाई माफी दिन सक्नु पर्छ ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।