कसरी खुशी बन्ने ? सबैका लागि उपयोगी हुने ५ उपाय यस्ता छन्

खुशी के हो ? धेरैले सोच्लान्, खुशी भनेको सफलता हो र सम्पन्नता हो । कसैले खुशी हुन कुनै ठुलो भोज गर्लान् भने कतिले अरु भन्दा ठुलो घर बनाउलान् । कसैका लागि शारिरिक सम्बन्ध पनि खुशीको कारण बन्न सक्छ भने कसैका लागि आफ्ना प्रिय मानिसहरुसँग बस्नु मात्रै पनि खुशीको कुरा हुन्छ । तर यी त सबै अनुभवहरु हुन् । यी खुशीहरु हैनन् ।

मानिस खुशी हुने सोचेर झन् धेरै दुखी भइरहेको हुन्छ । खुशीको खोजीमा भौतारिएर यस्ता अनौठा अनौठा कामहरु गर्छ कि उ झन् दुखको जञ्जालमा फस्छ । वास्तवमा खुशी हुन के गर्ने ? खुशीको रहस्य के हो ?

एक समयको कुरा हो । एउटा गाँउमा महान ऋषी थिए । मान्छेहरु आफ्ना समस्याहरु लिएर उनीकहाँ आउथे र ऋषीबाट निराकरणका उपायहरु खोजेर जान्थे ।

एकदिन एकजना व्यक्ति उसका सामु आएर सोधे, “गुरु ! म यो कुरा जान्न चाहन्छु कि सँधै खुशी हुने तरिका के के हुन् ?”

“यसलाई यहाँ बताउँन गाह्रो हुन्छ” ऋषीले भने, “तिमी मसँग जङगल हिड । म तिमीलाई खुशी हुने तरिका बताउँछु ।”

यसपछि दुवैजना जङगल तर्फ लागे । बाटोमा ऋषीले एउटा ठुलो ढुङगा उठाएर त्यस व्यक्तिको हातमा दिदै भने, “ल यो ढुङगा बोकेर हिड ।”

गुरुको कुरा ति व्यक्तिलाई अनौठो लाग्यो तर यस्ता महान् ज्ञानी गुरु पक्कै पनि बिनाकारण यस्तो अनुरोध गर्दैनन् भन्ने सोचे । उनले चुपचाप त्यो ढुंगोलाई बोके । ढुंगो निकै भारी थियो । भारी ढुंगा बोकेर उनी गुरुसँगसँगै हिड्न थाले ।

केही समयपछि ढुंगाले ति व्यक्तिको हात दुखाउँन थाल्यो तर पनि उनी चुप हिडिरहेका थिए । उनी दुखाई कम गर्न बेला बेला ढुंगाको अवस्था परिवर्तन गर्थे । गुरुले उनले ढुंगाको स्थान परिवर्तन गरेको थाहा नपाउँन् भनेर उनी सजग थिए ।

हिडेको धेरै समयपछि दुखाई अत्ति नै भयो । उनी दुखाई सहन नसक्ने अवस्थामा पुगे । “ऋषिवर हात धेरै दुखिसक्यो ।” उनले विनम्रतापुर्वक बोले, “म यो ढुंगा बोकेर अब एक कदम पनि हिड्न सक्दिन ।”

ऋषिले सहजता पुर्वक जवाफ दिए, “त्यसो भए ढुंगा फ्यालिदेउ ।”

गुरुको यस्तो जवाफ सुन्ने बित्तिकै उनले तत्काल भुइमा ढुङगा फालिदिए । उनले ढुंगा फ्याले पछि गुरुले उनलाई ध्यान दिएर हेरे । र बोले, “हो, यहीको खुशीको रहस्य ।”

गुरुले दिएको जवाफले ति व्यक्ति छक्क परे । उनले गुरुले खुशीको रहस्य भनेर बताएको कुरा उनले बुझेनन् ।

ति व्यक्तिले सोधे, “गुरु मैले त केही बुझिन नी !”

“जसरी तिमीले यो ढुङगा केही समयसम्म हातमा राख्दा हात दुख्यो । त्यसरी नै हामी आफै नै दुख पाउँने कुराहरु जीवनमा बोकेर हिड्छौँ । ति कुराहरु हाम्रो सफलताको चाहना पनि हुन सक्छ, सम्पन्नताको लोभ पनि हुन सक्छ वा परिवारको मायाप्रेम वा यस्तै धेरै चाहना वा महत्वकांक्षा वा रहरहरु हुन सक्छन् जुन ढुंगा झै भारी भएर हाम्रो जीवनमा बसेका हुन्छन् । जब हामी लामो समयसम्म यस्ता चिजहरु राख्छौ, यस्ता चिजहरुले हामीलाई दुखी बनाइरहन्छन् । जति धेरै दुख थपिन्छ, त्यति धेरै निरासा हामीमा छाउँछ ।” ऋषिले बुझाउन थाले, “यसैले हाम्रो जीवनमा कस्ता कुराहरु राख्ने र कस्ता कुराहरु फ्यालिदिने हो भन्ने कुरा हामीमा निर्भर रहन्छ । अनावश्यक महत्वाकांक्षाहरुको बोझलाई हामीले केही समयसम्म उठाउन सकौला तर ति कुराहरु लामो समय बोकिरहे जीवनबाट खुशी टाढा पुग्छ । यसैले, यदि तिमी खुशी रहन चाहन्छौ भने दुखका ढुङगाहरुलाई फ्यालेर अधि बढ्न सिक्न पर्छ र यो गर्न सकिने कुरा हो ।”

पक्कै पनि खुशी हामी भित्रै छ तर हामीले पहिचान गर्न नसकेर भौतारिरहेका छौँ । हामीले खुशी खोज्ने कुरा त्यो मृग जस्तो हो, जसको नाभीमा मगमगाउँने बीना हुन्छ तर उ त्यहि बासनाको मुल खोज्नलाई यताउता भौतारिरहेको हुन्छ । हामी अर्को गल्ति पनि के गरिरहेका हुन्छौँ कि हामी अर्काको देखासिकी गरेर खुशी हुने प्रयत्न गरिरहेका हुन्छौँ ।

तर वास्तविकता के हो भने खुशी हुने बाहाना त मान्छेपिच्छे फरक पर्छन् । व्यवहारिकरुपमा यहि गर्दा यो मानिस खुशी हुन्छ भन्न गाह्रो हुन्छ तर मानिसहरुको सामान्य विशेषता हेर्ने हो केहि उपायहरुका बारेमा भन्न भने सकिन्छ । यी उपायहरुको व्यवहारिक प्रयोग गर्ने हो भने पक्कै पनि मानिस आफु खुशी हुने बाटोमा हुनेछ । त्यस मध्ये केहि उपायहरु यस्ता छन् :

१. आफ्नो क्षमता र रुची के हो भन्ने पत्ता लगाउ

जिन्दगीमा आफ्नो क्षमता के हो भन्ने पत्ता लगाउँन गाह्रो हुन्छ । आफु केका लागि बाचेको हु भनेर पत्ता लगाउन सके जिन्दगीका पानाहरु सहज बन्दै जान्छन् । आफु कहाँ कसरी प्रस्तुत हुने भन्ने निर्क्यौल गर्न सक्नुपर्छ । यसमा अफ्ठ्याराहरु त पक्कै आउँछन् तर आफ्नो क्षमता र रुचीको बिषय हो भने ति अफ्ठ्याराहरु छिचोल्न अवश्य नै सहज लाग्ने छ । आफ्नो क्षमता र रुचीको काम गर्न पाउँनु खुशी हुने सबै भन्दा पहिलो शर्त हो । बाध्यतावस् वा करकापमा परेर गरिएको कामले खुशी हुन गाह्रो हुन्छ ।

२. आत्मबिश्वास बढाउ

म कुनै पनि काममा खराब छु, मैले त केही पनि जानेको छैन, मेरो जन्म त व्यर्थ नै भनेर नबसौं । आफूमा भएको तागतलाई चिनौं । जसरी अपाङग भनिएकी झमक घिमिरे कुशल साहित्यकार बनिन् । जसरी धेरै पटक एस एल सी फेल भएका हरिवंश देशका राम्रा कलाकार बने । त्यसरी नै आफु पनि केहि गर्न सक्छु भन्ने सोचौँ । आफुमा कति सामार्थ्य छ भन्ने थाहा पाउँने तरिका हो, आफुमा विश्वास गर्नु । यदि आफुमा विश्वास छ भने नयाँ कुरा सिक्न वा आफ्नो क्षमतालाई तिखार्न सकिन्छ जसले जिन्दगी कायापलट गराउँछ र खुशी पनि दिन्छ ।

३. सकारात्मक कुरा मात्र स्मरण गर

कसको जिन्दगीमा नराम्रा कुराहरु घट्दैनन् र ? जिन्दगी भनेकै दुख र सुखको चक्र हो । दुवै आउँने र जाने गरिरहन्छन् । यस्तोमा हामीले सम्झनामा केवल राम्रा कुराहरु मात्रै राख्ने हो । नराम्रा कुराहरुबाट पाठ सिक्ने हो र घटनालाई बिर्सिदिने हो ।

यदि सधैभरि दिमागलाई राम्रा कुराका मात्र स्मरण गर्न लगाउने हो भने, नकारात्मक कुराले कहिल्यै ठाउँ पाउदैनन् । सकारात्मक कुराले दिमागका प्रत्येक भागलाई सकारात्मक कुरा सोच्न प्रेरक बनाइदिन्छ ।

४. सामाजिक सञ्जालको आडम्बरबाट बाहिर निस्क

फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालले मानिसमा बढी नकारात्मक कुराले असर पारेको हुन सक्छ । यी यस्ता माध्यमहरु हुन् जसले खराब समाचार असाध्यै चाँडो फैलाउँछन् । त्यस्तै बढि लाइक पाउँन मानिसहरु सतही र आडम्बरी बन्दै गएको पनि देखिन्छ । सामाजिक सञ्जालका यस्ता असरबाट बाहिर निस्किन सके राम्रो हुन्छ । यसले तपाईलाई कृत्रिमताबाट प्राकृतिक बन्न सघाउँछ । देखावटी र आडम्बरी कुराले जीवन दुखी बनाउँछ, खुशी हुने बाटो रोक्छ ।

५. जे हुन्छ, जीवन हो

जीवनमा जे हुन्छ, त्यो जीवनको बाटो हो तर गन्तब्य होइन भन्ने आधारभुत कुरा नबिर्सनुहोस् । सबैलाई लाग्छ, जीवनमा संघर्ष गरेर राम्रो बनाउँने तर सबै संघर्ष र मिहिनेतले राम्रो प्रतिफल नै ल्याउँछ भन्ने छैन । यसैले जीवनप्रति आशा गर्नुहोस् तर मैले भने जस्तै हुनु पर्छ भनेर जिद्दी नगर्नुहोस् । जिद्दीपनले मानसिक तनाव मात्रै दिन्छ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख उज्यालो पाटोको लागि युवराज कटुवालले लेख्नु भएको हो । यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment