कस्ता मान्छेमा भरोसा राख्ने ? भरोसा योग्य मानिसका ८ लक्षणहरु यस्ता हुन्छन् (एक प्रेरक कथा सहित)

जीवन भोगिरहदा, यात्रा गरिरहदा, बाटो हिडिरहदा, हामी कयौँ मान्छेसँग भेट्छौ, भलाकुसारी गर्छौँ, आत्मीयता देखाउँछौ, आफ्नोपन बढाउछौँ । यस्तोमा धेरै मानिसहरु साथी बन्छन् । जीवनको वास्तविकता यस्तो हुन्छ कि केही मित्रताहरु क्षणिक समय टिक्छन्, केही मित्रताहरुले लामो समयसँग यात्रा गर्छन् ।

र, अर्को वास्तविकता यो पनि हो कि हामीले भेटेका र साथी भनिएका सबै मानिसहरु भरोसा योग्य हुदैनन् तर चिन्ने कसरी ? यसको सजिलो जवाफ छैन । कहिलै पनि पहिलो भेटमा नै सच्चा मित्र चिन्न सकिदैन । न त निधारमा नै असल खराब लेखेर छुट्याइदिएको हुन्छ । न त कुनै साङकेतिक अर्थमा पहिल्याइदिएको हुन्छ । त्यस अर्थमा पनि हामी मान्छे चिन्न सक्दैनौं ।

तर, मानिसका केहि बिशेषताहरुबारे थाहा पाउँन सकिन्छ । केहि भेटघाट र समय बिताए पछि मानिसको व्यवहार र सोचाइका बारेमा संकेतहरु हेरेर आफुले संगत गरेको मानिस भरोसायोग्य हो कि होइन भन्ने थाहा पाउँन सकिन्छ । कस्ता मानिसहरु भरोसा गर्न लायक छन् भन्ने थाहा पाउँन एउटा पुरानो कथा पनि उपयोगी हुन सक्छ । सो कथा यसप्रकारका छन् :

एउटा गुरुकुलमा शिष्यहरुलाई सम्पुर्ण शिक्षा दिइसकेको थियो । यो दिन उनीहरुको अन्तिम दिन थियो । गुरुकुलको एउटा परम्परा नै थियो कि अन्तिम दिन अन्तिम शिक्षा दिइन्थ्यो । त्यसैको तयारी चलिरहेको थियो । जब सबै शिष्यहरु कोठामा उपस्थित भए तब उनीहरुले गुरुको हात काठका केही खेलौनाहरुले भरिएको देखे ।

ति खेलौना देखाउदै गुरु बोल्न थाले, “यहाँ मसँग ३ वटा खैलौनाहरु छन् । तपाईहरुले यी खेलौना बिचमा अन्तर देखाउनु होला ।” गुरुको आग्रहपछि सबै शिष्यहरुले तिनै खैलौनाहरुलाई गहिरिएर हेरे । तिनैवटा खेलौना काठले बनेका थिए । तिनैवटा एकदमै उस्तै थिए । जसमा फरक छुट्याउन एकदम मुस्किल थियो । कसै गरेर पनि कुनै पनि शिष्यले ति खेलौनाहरुमा फरक थाहा पाउँन सकेनन् ।

त्यसपछि गुरुले थप जानकारी दिए, “यहाँ भएका ३ खेलौनाहरु फरक फरक छन् । यी मध्ये कुनै एक खेलौनाले त्यस किसिमका मानिसहरुको प्रतिनिधित्व गर्छ, जसलाई हामी भरोसा गर्न सक्छौँ र बाँकी दुई खेलौनाले ति मानिसहरुलाई संकेत गर्छन्, जसलाई भरोसा गर्न धेरै पल्ट सोच्नु पर्छ ।”

गुरुको कुराले शिष्यहरु झन् चकित परे । त्यसपछि यी खेलौनाहरुको अर्थ भनिदिन शिष्यहरुले अनुरोध गरे । गुरुले एउटा धातुको पातलो तार दिदै भने, “ल ! यस तारलाई त्यसमा हाल ।”

शिष्यले गुरुले जस्तो भनेको हो, त्यही गरे । त्यो तार एउटा कानबाट पसेर अर्को कानबाट निस्कियो । दोस्रो खेलौनामा तार कानबाट हाल्दा मुखबाट निस्कियो । अन्तिममा एउटा तार हाल्दा कहिँबाट पनि निस्केन ।

गुरुले आफ्ना शिष्यलाई सम्झाए, “यसरी नै जिन्दगीमा तिन किसिमका मान्छेहरु भेटिन्छन् । एक किसिमका मान्छे हुन्छन्, जो केही सुनाउँदा एउटा कानले सुनेर अर्को कानले उडाउछन्, यस्ता व्यक्तिसँग केही कुरा पनि साट्ने गर्नु हुदैैन । अर्को किसिमका मान्छे जो भनेका कुरा सुनेर अरुलाई सुनाउँछ, त्यस्तासँग गम्भिर कुरा गर्नु हुदैन । अर्को किसिमका मानिसहरु हुन्छन्, जसले कुराहरु पचाउँन सक्छन् । यस्तो व्यक्तिलाई आफ्ना कुराहरु सुनाउनु जस्ले केही बोल्दैन, त्यस्ता व्यक्तिसँग सल्लाह लिन सकिन्छ । यस्ता मान्छे हाम्रा तागत बन्न सक्छन् । यस्ता मानिस भरोसा गर्न लायक हुन्छन् ।”

यो त भयो कथाले दिएको सन्देश । व्यवहारिक रुपमा पनि भरोसायोग्य मानिस थाहा पाउँन असम्भव नै भने हुन्न । माथि नै भने जस्तै मानिसले आफ्नो व्यवहार र जीवनशैलीमा आफ्नो विशेषताबारे केहि न केहि संकेत वा लक्षणहरु देखाउँछ । तिनै लक्षणहरुको हिसाबबाट हामी आफुले संगत गरेको मानिस भरोसायोग्य छ कि छैन भन्ने थाहा पाउँन सकिन्छ । यहाँ त्यस्ता ८ वटा लक्षणहरुका बारेमा लेखेको छु । कृपया, मन परे सेयर गर्नुहोला ।

१. गल्ति औँल्याउँछ

भरोसायोग्य मान्छे चाप्लुसी गर्दैन । चाप्लुसी गर्ने मानिस भरोसायोग्य होइन । चाप्लुसी गर्नुको अर्थ उसको फाइदाका लागि सेवा गर्दैछ भन्ने हो । जो मानिस स्वार्थ बिना संगत गर्छ, त्यसो मानिसमात्र भरोसायोग्य हुन्छ । त्यस्तो मानिसले तपाईले गल्ति गर्दा पनि तपाईको प्रंशसा गरेर बस्दैन । बरु गल्ति भयो भनेर जानकारी दिन्छ ।

उसले दिने जानकारी प्रत्यक्ष तपाईसँग भन्नेछ वा तपाईले बुझ्ने गरि संकेत गर्ने छ तर तपाईको गल्ति सार्वजनिकरुपमा भन्दैन । उसले हेक्का राख्छ कि तपाईको गल्तिका कारण तपाईले लज्जित, अपमानित हुन नपरोस् । तपाईको प्रगतिको लागि तपाईको गल्ति औँल्याइदिन्छ ।

२. गल्ति सच्याउँछ

कुनै कारणवश तपाईले गल्ति गरिहाल्नु भएको छ भने उसले सो गल्तिलाई त्यसै छोडिदिदैन । तपाईको गल्तिलाई उसले सकेसम्म सच्याएर तपाईलाई सुधार्छ वा तपाईलाई सजिलो बनाइदिन्छ । तर यसको अर्थ यो होइन कि तपाईको सबै गल्तिहरु सच्याएर तपाईलाई उ प्रति निर्भर बनाउँछ, बरु उसले तपाईको गल्ति सच्याउँछ र त्यसबारे तपाईलाई जानकारी दिन्छ, ताकि अर्को पल्ट तपाईले सोही गल्ति नदोहोर्याउँनुहोस् ।

३. माफी माग्छ र माफी दिन्छ

भरोसायोग्य मानिसको मात्र होइन, माफी माग्ने र माफी दिने विशेषता त्यस्ता मानिसहरुको लक्षण हो, जसमा आफ्नो गल्तिको जिम्मेदारी लिन सक्ने सामर्थ्य हुन्छ र अर्काको गल्तिलाई बिर्सिदिने भावना हुन्छ । गल्ति सबैले गर्छन् तर गल्ति लुकाउँने गल्ति मुर्खले मात्रै गर्छ भने अहंकारीले मात्रै अर्काले माफी माग्दा माफी दिदैन । जीवनमा कुनै पनि हालतमा मुर्ख र अंहकारीको भरोसा गर्नु हुदैन ।

आफ्नो गल्तिप्रति माफी माग्ने र अर्काले गल्तिमा माफी माग्दा मनमा अलिकति पनि द्धैष भावना नराखी माफी दिने मानिसलाई भरोसा गर्दा जीवनमा अफ्ठ्याराहरु कम हुन्छन् । मनको तनाव कम हुन्छ । सम्बन्ध सुन्दर हुन्छ ।

४. आवश्यक पर्दा उपस्थित हुन्छ

कोही कोही संगत स्वार्थको हुन्छ । कुनै विशेष समय वा प्रयोजनमा मात्रै ति तपाईको वरिपरी हुन्छन् । तिनलाई भेट्ने बित्तिकै भोज चाहिन्छ वा रमाइलो हुनु पर्छ तर ति आवश्यक पर्दा भने अनेक बहाना बनाएर तर्किन्छन् । यस्ता विशेषता भएका मानिसहरुसँग संगत छ भने संगत टुंग्याउँदा नै राम्रो हुन्छ ।

तर जस्तो सुकै विपदमा होस् या खुसीमा होस्, उपस्थित हुने र सकेको मद्दत गर्ने वा मद्दत गर्न अग्रसर हुने संगतलाई भने भरोसा गर्नु पर्छ ।

५. कुरा सुन्छ

आफ्नो मात्रै महिमा गाएर बस्नेहरुले तपाईको मनलाई नै भारी बनाइदिन्छन् । त्यस्ता मानिसहरुको भरोसा गर्नुहोस् जो तपाईको कुरा सुन्छ । जसले तपाईको बोलीको महत्व बुझ्छ ।

६. मेरो एउटा साथी छ

तपाईमा आफुले संगत गरेको मानिसप्रति विश्वास हुन पर्छ । कुनै पनि बेला आफुलाई अफ्ठ्यारो परे तपाईले मेरो एउटा साथी छ भनेर सम्झन विश्वास कमाएको मानिसलाई भरोसा गर्न सकिन्छ । उसले पक्कै पनि विगतमा केहि विशेष गुणकै कारण तपाईको विश्वास जितेको हुन सक्छ । त्यसलाई निरन्तरता दिनु पर्छ ।

७. प्राथमिकतामा तपाई

उसको प्राथमिकतामा तपाई पर्नु हुन्छ कि हुन्न भन्ने कुराले कोही व्यक्तिलाई भरोसा गर्ने कि नगर्ने भन्ने निर्णय गर्न सकिन्छ । यदि जस्तो सुकै अवस्थामा पनि तपाई प्राथमिकतामा पर्नु हुन्न वा तपाई भन्दा उसको लागि महत्वपुर्ण कुरा अरु नै छ भने त्यस्ता व्यक्तिलाई भरोसा गर्नु हुदैन । कुनै परिस्थिति वा समय विशेष भए कुरा अर्कै हुन्छ तर सामान्य अवस्थामा पनि तपाईको महत्व नबुझ्नेलाई पटक्कै भरोसा नगर्नुहोस् ।

८. सुधार गर्न बल गर्छ

असल मानिसले तपाईको प्रगति चाहन्छ । तपाईलाई थप सुधार्न चाहन्छ । तपाईको प्रगतिको लागि चिन्तन गर्छ, छलफल गर्छ र प्रेरणा दिन्छ । त्यस्तो मानिसलाई भरोसा गर्नु लाभकारी हुन्छ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

नमस्ते, म गणेश कार्की । एउटा आममान्छे । सामाजिक सञ्जाल मात्रै होइन, हाम्रो समाज नै नकारात्मक खबर र जानकारीहरुले भरिएको छ । ‘नकारात्मक मात्रै बिक्छ’ भन्ने सोच व्याप्त छ । यस्तोमा सकारात्मक कुरा लेखेर पनि व्यवसायिक हुन सकिन्छ भन्ने उदाहरण देखाउँने मेरो सानो प्रयास हो । उज्यालो पाटोमा म जीवनको उज्यालो पाटोको बारेमा लेख्छु । अथवा, जीवनलाई उज्यालो पाटोमा कसरी लैजाने भन्ने बारेमा आफुले देखेका भोगेका र पढेका कुराहरु बाढ्नेछु । सामाजिक सञ्जालमा अलिकति भए पनि सकारात्मक र ज्ञानवद्धर्क कुराहरु सेयर हुन योगदान गर्न सकुँ । यस्ता कुरा पढ्न चाहनेले पढ्ने ठाउँ बनोस् । यस्ता कुरा लेख्न सक्नेहरु व्यवसायिक रुपमा लेख्ने हिम्मत गर्न सकुन् । मेरो इच्छा यति हो । यो भन्दा धेरै हाशिल भए म झन् खुसी हुनेछु । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

गणेश कार्की – who has written posts on उज्यालो पाटो.


Post Comment