सफलताका ९ सुत्रहरु जसलाई पालना गर्दा सफल हुने निश्चित छ

तपाई सफलतालाई केवल भाग्य वा लेखान्त वा दैवी कार्य सम्झिनु हुन्छ भने यो लेख तपाईका लागि उपयोगी नहुन सक्छ । यसमा लेखले सफलता भन्ने कुरा मानिसको सहि निर्णय, मिहिनेत, क्षमता, योजना, कार्यान्वयन लगायतका कुराहरुको प्रतिफल हो भन्ने कुराको वकालत गर्छ भने सफलतालाई भाग्यको खेल भन्ने सोचाइलाई निरुत्साहन गर्ने प्रयास गर्छ । यदि सफलतालाई भाग्य वा लेखान्त मान्ने हो भने कुनै पनि किसिमको परिश्रम वा लगावको त्यति ठुलो अर्थ लाग्दैन । यदि भाग्यमा सफलता छ भने जसरी नि मिल्छ र भाग्यमा लेखेको छैन भने कुनै हालतमा पनि पाइदैन भन्ने तर्क र विश्वासले मानिसलाई कर्म गर्नबाट विमुख गराउँछ । विमुख नगराए पनि निरुत्साहित भने पार्छ, पार्छ ।

यस्तै यो लेखमा सफलता भन्ने कुरा चिठ्ठा परे जस्तो आकस्मिक हुने वा चिठ्ठा पर्नु नै सफलता हो भन्न खोजिएको होइन । सफलता भन्नाले केवल पैसा कमाउँनु वा ठुलो पदमा पुग्नु मात्र पनि होइन । तर यसो भन्दैमा चिठ्ठा पर्नु, पैसा कमाउँनु वा ठुलो पदमा पुग्नु सफल हुनु होइन भन्न खोजिएको होइन तर सफलता मानक त्यतिमा मात्रै सिमित भने हुदैन । सफल हुनुको अर्थ योजना बन्नु, त्यसको कार्यान्वयन सम्पन्न हुनु र उद्देष्य प्राप्त हुनु चै हो ।

अत: मानिसको सहि निर्णय तथा व्यवहारहरु के कस्ता हुन्छन् ? मानिसले कस्ता सुत्रहरुको प्रयोग गरे सफल हुने निश्चित हुन्छ भन्ने कुराको जानकारी यहाँ पाउँन सकिन्छ । यहाँ भएका सुत्रहरुको व्यवहारिक प्रयोग गर्दा आजको भोली नै जादु वा चिठ्ठा परे जस्तो सफल हुने भने होइन तर निरन्तर प्रयोग र अभ्यासले सफलता भने दिलाएरै छोड्छ । कृपया ! लेख पुरा पढ्नुहोला । मन परे आफ्नो सोसल एकाउन्टमा सेयर गरिदिनुहोला ।

नियम १ : अरुसँगै शान्तसँग बढ्नुहोस्

सफलता पाउँनुको सबै भन्दा पहिलो शर्त हो, अरुसँगको सम्बन्ध । कुनै पनि मान्छेले आफ्नो क्षमता वा पौरखमा गौरव गर्न सक्छ तर आधुनिक समाज यस्तो जेलिएको र जटिल छ कि केवल एकजना मानिसको प्रयासले मात्रै सफल हुन असाध्यै गाह्रो हुन्छ । यसैले सफल हुनका लागि सबै भन्दा पहिले अरुको क्षमतालाई सम्मान गर्ने र अरुसँगको सम्बन्धलाई महत्व दिनु पर्छ ।

यसका लागि तपाईले अरुलाई पनि साथ सहयोग दिनुहोस् र अरुसँग पनि साथ सहयोग माग्न नहिच्किचाउँनुहोस् तर आफ्नो परिश्रम वा सोच वा सहयोग वा सम्बन्धका बारेमा भने बढि हल्ला खल्ला नगर्नुहोस् । भनाई नै छ नि परिश्रम यति शान्तसँग गर्नुहोस् कि नतिजाले हल्ला गरोस् ।

नियम २ : आत्मविश्वास र दृढतापुर्वक चल्नुहोस्

एउटा प्रसिद्ध भनाइ छ, तपाई त्यति नै गर्न सक्नु हुन्छ, जति तपाई आफुले गर्न सक्छु भन्ने सम्झिनु हुन्छ । कुनै फरक सन्दर्भमा वा अपवादमा कहिलैकाँही सोच्दै नसोचेको क्षमताको काम पनि गरिएको हुन सक्छ तर सफलता त्यसरी प्राप्त हुदैन । आफुलाई विश्वास गर्ने र आफ्नो विश्वासमा अडिक भएर अगाडी बढिरहने हो भने सफलता प्राप्त गर्न सजिलो हुन्छ ।

त्यसो त जुन सुकै काम गर्दा पनि अफ्ठ्यारा आउँछन् । बेला बेला ति अफ्ठ्याराहरु यति भयंकर देखिन्छन् कि त्यो आफ्नो क्षमताले समाधान गर्नै नसक्ने जस्तो पनि लाग्न सक्छन् तर तपाई कुनै न कुनै रुपमा समाधान गर्न सक्ने कुरामा दृढ बन्नु भयो भने उपाय निस्किन्छ । तिनै अफ्ठ्यारा अनुभव बन्छन् र तपाई थप क्षमतावान् बन्नु हुनेछ ।

नियम ३ : तपाईको सिमा तपाई मात्रै हो

तपाईले याद गर्नु भएको छ, तपाईले कुनै योजना बनाउँदा मानिसहरुले कस्तो प्रतिक्रिया दिन्छन् ? सामान्यतया, मानिसहरु तपाईको योजनाका अफ्ठ्याराहरु सुनाउँछन् । उस्तै परे अनेक जटिलता देखाएर तपाईले गर्न नसक्ने भन्दै हतोत्साहित पनि पार्न सक्छन् । यी कुराहरुको बढि वास्ता गर्ने हो भने योजना सुरु गर्न असम्भव प्राय छ ।

यसैले मानिसहरुले तपाईका बारेमा के सोच्छन् भन्ने कुरामा साह्रै धेरै ध्यान नदिनुस् । मानिसले देख्ने तपाईको क्षमतामा पनि निर्भर नहुनुहोस् । त्यस्तै कसैसँगको प्रतिष्प्रर्धामा पनि धेरै आफ्नो समय र परिश्रम खर्च नगर्नुहोस् । किनकि, ति कुनै पनि कुराले तपाईको क्षमतालाई निर्धारण गर्दैनन् । तपाईको क्षमता र सफलताको सिमा तपाई मात्रै हो । हरेक दिन अघिल्लो दिनको आफु भन्दा बढि अब्बल र सकारात्मक बनाउँनुहोस् । सफलता कदममा पाइन्छ ।

नियम ४ : व्यक्तित्व विकाश गर्नुहोस्

यो बिषयमा धेरै लेख्न आवश्यक छैन । हामी सबैलाई थाहा छ, व्यक्तित्व विकाश गर्नु भनेको महंगो र आडम्बरी सामानहरुको प्रयोग गर्नु मात्रै होइन । बरु बौद्धिकरुपमा प्रखर र लचक हुनु पनि हो । नयाँ कुरा प्रति चासो राख्नुहोस् । सिक्न नछोड्नुहोस् ।

यस्तै नम्र बन्नुहोस् तर चाप्लुसी नगर्नुहोस् । गौरव गर्नुहोस् तर घमण्ड नगर्नुहोस् । खुल्ला विचारको हुनुहोस् तर अराजक नबन्नुहोस् । व्यक्तित्व वजनदार बनाउँनुहोस् ।

नियम ५ : निश्चित उद्देष्य राख्नुहोस्

उद्देष्य के हो भन्ने सँधै प्रस्ट हुनुहोस् । कुन उद्देष्य वा लक्ष्य भन्ने निर्धारण नगरी अगाडी बढ्दा कहाँसम्म पुग्ने र कहाँ गएर अडिने भन्ने पत्तो लगाउँन गाह्रो हुन्छ । त्यस्तै असाध्यै धेरै उद्देष्यहरु पनि नराख्नुहोस् जसले तपाईलाई कुन समयमा के गर्ने भन्ने निश्चित गर्न गाह्रो हुन्छ । यसै पनि एक भन्दा बढि डुंगामा खुट्टा राखेर खोला तर्न सम्भव हुन्न ।

नियम ६ : सफलता योजनाबद्ध हुन्छ

सफलता कसैले दानमा दिएर वा कसैको अनुकम्पाले प्राप्त हुने होइन । त्यस्तै अपवाद बाहेकको अवस्थामा सफलता एक्कासी पनि प्राप्त हुदैन । सफलता सँधै योजनाबद्ध र क्रमवद्ध हुन्छ । यसमा विश्वास राख्नुहोस् । आफुलाई सक्षम बनाएर धैर्य हुने हो भने परिश्रमको फल पाइन्छ ।

नियम ७ : उत्पादनशील हुनुहोस्, व्यस्त होइन

कोही मानिस हरेक दिन जति बेलै व्यस्त भइराखेको देख्न पाइन्छ । हुन पनि अहिलेको गतिशिल समयमा सबै मानिस व्यस्त भएको देखिन्छ तर के व्यस्त हुनु सहि हो त ? धेरै जसो अवस्थामा व्यस्त मानिसहरु अव्यवस्थित र भद्रगोल देखिन्छन् । यसैले व्यस्त हुनु मात्रै पनि सहि हुदैन । बरु समयको सहि व्यवस्थापन गरेर आफुलाई उत्पादनशील बनाउँदा सफल हुने बाटो खुल्छ ।

नियम ८ : अनुपयोगी कुराहरु छोड्नुहोस्

कहिलेकाँही सुन्न पाइन्छ, म बोल्छु अनि त्यसलाई सहि बनाउँछु । झट्ट सुन्दा ठिक जस्तो लाग्छ तर कहिलेकाँही बोलेका कुरा गलत पनि हुन सक्छन् । त्यस्तो कुरालाई गलत हो भनेर स्विकार्दा र छोड्दा जीवन सजिलो र बोझ रहित हुन्छ ।

त्यस्तै, कामहरु गर्दा वा योजना बनाउँन कतिपय अनुपयोगी कुराहरुलाई महत्वपुर्ण ठानिएको हुन सक्छ । यस्तोमा अनुपयोगी हुने कुराहरु कम गर्दै जानु पर्छ । यसै पनि गह्रुंगो झोला बोकेर हिड्नु भन्दा कम वजनको झोला बोकेर पहाड चढ्न सजिलो हुन्छ ।

नियम ९ : समय व्यवस्थित गर्नुहोस्

अध्ययनहरुले देखाएको छ कि हरेक दिन आज गर्नु पर्ने काम भनेर सूचि बनाउँने हो भने मानसिक दवाव कम हुन्छ । त्यस्तै समय व्यवस्थित गर्दा प्राथमिकताहरु तय गर्न सजिलो हुन्छ । प्राथमिकतामा प्रमुख कुराहरुलाई कति समय दिने र कम महत्वपुर्ण कुराहरुलाई कति समय छुट्याउँने भन्ने पहिले नै तयार भइन्छ । यसले दैनिकी धपेडीपुर्ण हुनबाट रोक्छ । स्फुर्त अवस्थामा गरिएको कामले सफलता दिलाउँन मुख्य भुमिका खेल्छ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

नमस्ते, म गणेश कार्की । एउटा आममान्छे । सामाजिक सञ्जाल मात्रै होइन, हाम्रो समाज नै नकारात्मक खबर र जानकारीहरुले भरिएको छ । ‘नकारात्मक मात्रै बिक्छ’ भन्ने सोच व्याप्त छ । यस्तोमा सकारात्मक कुरा लेखेर पनि व्यवसायिक हुन सकिन्छ भन्ने उदाहरण देखाउँने मेरो सानो प्रयास हो । उज्यालो पाटोमा म जीवनको उज्यालो पाटोको बारेमा लेख्छु । अथवा, जीवनलाई उज्यालो पाटोमा कसरी लैजाने भन्ने बारेमा आफुले देखेका भोगेका र पढेका कुराहरु बाढ्नेछु । सामाजिक सञ्जालमा अलिकति भए पनि सकारात्मक र ज्ञानवद्धर्क कुराहरु सेयर हुन योगदान गर्न सकुँ । यस्ता कुरा पढ्न चाहनेले पढ्ने ठाउँ बनोस् । यस्ता कुरा लेख्न सक्नेहरु व्यवसायिक रुपमा लेख्ने हिम्मत गर्न सकुन् । मेरो इच्छा यति हो । यो भन्दा धेरै हाशिल भए म झन् खुसी हुनेछु । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

गणेश कार्की – who has written posts on उज्यालो पाटो.


Post Comment