चिन्ता लिनु राम्रो हो तर त्यति मात्रै लिनुहोस्, जति लिदा काम बन्छ

दाजु र बहिनी उमेरमा साना छन् । दाजु त्यहि ७ बर्ष‍ जतिको होला र बहिनी ५ बर्ष जति कि । दुवै जनाले कुनै स्कुलको सेतो रंगको पोसाक लगाएका छन् । उनीहरु हिडिरहेको बाटोमा स-साना खाल्डाखुल्डीहरु छन् । ति खाल्डाखुल्डीमा हिलो पानी जमेको छ । फुच्चे दाई आफ्नी सानी बहिनीलाई होसियारीका साथ डोहोर्याइरहेको त छ तर खाल्डाखुल्डीमा बहिनीलाई जोगिएर हिड्न गाह्रो भएको देखिन्छ । नभन्दै, दाईले समाउँदा समाउँदै पनि बहिनीको जुत्ता चिप्लिन्छ । बहिनी हिलो खाल्डोमा पर्छे र उसको सेतो कपडामा हिलो लाग्छ ।

सेतो पोसाकमा लागेको बाटोको हिलोसँग सिकसिकाउँदै दाई तिर हेरेर बहिनी रुन थाल्छे । साना केटाकेटीहरु घरकै भित्तामा लापरवाहीपुर्वक ठोकिए भने पनि उनीहरुलाई पकाउँन हामी भित्तोको गल्ति भन्दै भित्तोलाई पिटे झैँ गर्छौँ । फुच्चे दाईले नि त्यस्तै गर्छ । हिलो जमेको खाल्डोलाई लाती हान्दै पिटे झैँ गर्छ । सो उपक्रममा दाईको सेतो पोसाकमा बहिनीको भन्दा हिलाम्मे हुन्छ । पोसाकमात्रै होइन, दाई पुरै हिलाम्मे हुन्छ ।

खाल्डाले पिटाइ खाएको देखेर बहिनी सन्तुष्ट हुन्छे । रुँदै गरेकी उ मुसुक्क हास्छे । अनि स्क्रिनमा देखिन्छ, दागले केहि राम्रो गर्छ भने दाग राम्रो हो । यो लुगा धुने एउटा सरफको विज्ञापनको कुरा थियो तर यसले दिने सन्देश भने जीवनउपयोगी छ । जीवनमा कुनै पनि कुरा बिल्कुलै अनुपयोगी वा हानिकारक हुदैन । हामी कपडामा दागलाई जसरी सम्झिन्छौँ, त्यस्तै मनस्थितिमा चिन्ताको उपस्थिति पनि दाग जस्तै नै हो । यसैले केहि दाग राम्रो हुन सक्छ भने केहि चिन्ता पनि राम्रो हुन्छ कि ! तपाईले यसतर्फ कहिलै सोच्नु भएको छ ?

चिन्ताले चितासम्म पुर्याउँछ भन्ने हामीले असाध्यै धेरै पटक सुनेका छौँ । चिन्ता शक्तिशाली हुन्छ भन्ने कुरामा हामी कसैको पनि दुइमत नहोला । त्यसो भए के चिन्ताको शक्तिलाई उपयोग गर्न सकिदैन त ? ज्यान लिने सर्पको बिषबाट पनि औषधी बन्छ । खुट्टामा बिझेको काँडो निकाल्न अर्को काँडोकै आवश्यकता हुन्छ । त्यहि सिद्धान्तमा आधारित हुने हो भने चिन्ताको शक्तिलाई जीवनका लागि सदुपयोग गर्न पनि सम्भव छ । यसै पनि हामी चिन्तालाई बिल्कुलै गलत भन्न सक्दैनौँ । यसको मात्रामा हो हाम्रो चासो ।

सहि मात्राको चिन्ताले हामीलाई सजग र अनुशासित बनाउँछ । निश्चित मात्रा सम्मको चिन्ता लिइराख्ने मानिसहरुमा मानसिक समस्या देखिदैन भन्ने विभिन्न अध्ययनले देखाएको छ तर सहि वा निश्चित मात्राको चिन्ता भनेर कसरी थाहा पाउँने ? के अवस्थामा पुगे पछि चिन्ता नियन्त्रण बाहिर पुगेको भनेर उपचारको खोजी गर्ने ? आउँनुहोस्, यो लेखमा लिनु पर्ने चिन्ता र गर्न नहुने चिन्ताका बारेमा जानकारी लिऔँ ।

१. स्वास्थ्यका बारेमा चिन्ता

चिन्ता लिनु पर्ने बिषयमा स्वास्थ्य मुख्य मध्येमा पर्छ । जस्तै: नियमित स्वास्थ्य अवस्था भन्दा केहि फरक अवस्था महसुस हुँदा त्यसबारे चिन्ता लिनेहरु रोकथामका उपायहरु अपनाउँछन् र स्वास्थ्य थप बिग्रिनबाट जोगिन सक्छन् । त्यस्तै स्वास्थ्यको बारेमा चिन्ता लिनेहरु नियमित स्वास्थ्य परिक्षण गर्छन् भने खानामा पनि ध्यान दिन्छन्, यसले स्वास्थ्य स्थिति राम्रो हुन्छ ।

वास्तवमा तौल नियन्त्रणका उपायहरु अपनाउँने, शारिरिक कसरत तथा योग र ध्यान गर्नेहरुमा पनि स्वास्थ्य प्रतिको चिन्ता रहेको हुन्छ ।

२. भविष्यको बारेमा चिन्ता

म सहि बाटोमा छु ? मैले गरेका कामहरुले भविष्यमा थप के कस्ता सम्भावनाका ढोका खोल्छन् ? कुन ठाउँमा लगानी गर्दा भविष्य सुरक्षित हुन सक्छ ? यस्ता चिन्ताहरुले तपाईको भविष्यलाई आकार दिनलाई मद्दत गर्छन् ।

त्यस्तै चिन्ताले खराब कुराहरुलाई त्याग्न र सहयोगका लागि कसैलाई अनुरोध गर्न पनि सहयोग गर्छ । यसले गर्दा अनावश्यक बोझहरुबाट तपाईलाई जोगाउँछ ।

३. सम्बन्धका बारेमा चिन्ता

सम्बन्धको चिन्ता भन्नाले शंका वा अन्य नकारात्मक कुराहरु होइनन् तर सम्बन्धलाई थप मजबुत कसरी बनाउँन सकिन्छ भन्ने चिन्ताले सम्बन्ध थप बलियो बन्छ । तपाईले आफ्नो साथीका बारेमा सोच्नुहुन्छ । यसले प्रेम झांगिन्छ ।

४. सुरक्षाका बारेमा चिन्ता

तपाईको घरको ढोका सजिलै खुल्छ कि खोल्दा भित्र सुतिरहनु भएको तपाईले थाहा पाउँनु हुन्छ ? बाइकको ब्रेक र चेनको कन्डिसन कस्तो छ ? भर्खरै बनाएको भर्याङले कति वजन थाम्छ ? पौडिन लागेको स्विमिङ पुल कति गहिरो छ र उद्दार गर्ने कर्मचारी कता छन् ? यस्ता चिन्ताहरुले तपाईलाई खराब गर्दैनन्, बरु तपाईलाई सुरक्षित बनाउँछन् । कुनै पनि दुर्घटनामा पर्नु भन्दा त्यसबारे चिन्ता लिएर सजग हुनु वा पुर्व तयारी गर्नु पक्कै पनि फाइदाकारी कुरा हो ।

५. परिवार र बालबच्चाको चिन्ता

परिवारको सुखसयल, उन्नति प्रगति लगायत बालबच्चाको सुरक्षा र भविष्यको चिन्ता सामान्य मानिसले लिनै पर्ने चिन्ता हो । मानिसले यहि चिन्ता लिने कारण नै मानिस सामाजिक प्राणी भएको हो । परिवार र बालबच्चाप्रतिको चिन्ताले मानिसलाई बाँधेर राख्छ । उसलाई आफ्नो कोही छ भन्ने र परिवार तथा बच्चाहरुको लागि पनि कोही छ भन्ने अपनत्वको भावना कायम राख्छ ।

कति मात्राको चिन्ता भयानक हुन्छ ?

माथि उल्लेख गरिएका ५ किसिमका चिन्ताहरु आममानिसका दैनिक जीवनका चिन्ताहरु हुन् । यी हानिकारक चिन्ता होइनन् । यी चिन्ताहरुमा बाँधिएकै कारण मानिसले प्रगति गर्छ, माया पाउँछ र माया गर्छ तर बुझ्नु पर्ने कुरा के हो भने चिन्ताले मात्रै कुनै पनि कुराको समाधान दिदैन । हुन त कहिलेकाँही केहि नगरी बस्नु भन्दा सामान्य चिन्ता लिएर बस्दा फाइदाकारी देखिन्छ तर सामर्थ्य भन्दा बाहिर गएर चिन्ता लिदा भने कुरा बिग्रिन्छ मात्रै, त्यसले समाधान गर्ने कल्पना नगरे पनि हुन्छ ।

तपाई केवल चिन्तामात्रै गर्नु हुन्छ र कुनै पनि चिन्ता निराकरणको तयारी वा प्रयास गर्नु हुन्न भने त्यो चिन्ता सहि होइन । चिन्ता राम्रो हो भन्नुको एउटै मात्र तर्क के हो भने चिन्ता लिइसके पछि तपाई त्यसको निराकरणको लागि तयारी गर्नु हुन्छ वा त्यसको निराकरणको लागि प्रयास गर्नु हुन्छ । तपाईले चिन्ता लिएर चिन्ता लिएको बिषय प्रति के गर्नु हुन्छ भन्ने कुराले तपाईको चिन्ता राम्रो कि नराम्रो भन्ने निश्चित गर्छ ।

यदि तपाई असाध्यै चिन्ता लिनु हुन्छ तर त्यो चिन्ताको बिषय नियन्त्रण गर्न कुनै पहलकदमी लिनु हुन्न वा लिन सक्ने अवस्था छैन भने तपाईको चिन्ताको बिषय गलत छ । त्यो कुराको चिन्ता लिनु पर्छ, जुन कुरालाई परिवर्तन गर्नु आफ्नो हातमा हुन्छ वा आफ्नो प्रयासले त्यसको परिवर्तनमा केहि भुमिका खेल्न सक्छ । यदि कुनै पनि अवस्थामा तपाईको चिन्ताले केहि पनि फरक पार्न सक्दैन भने त्यस्तो चिन्ता छोड्दिनुहोस् ।

यसका अतिरिक्त कुनै पनि चिन्ताले तपाईमा दुख थप्छ, तपाईमा समस्या थप्छ अथवा तपाई खतरामा पर्नु हुन्छ भने त्यो चिन्ता गलत छ । त्यस्तै चिन्ताले तपाईको दैनिक जीवन नै अस्तव्यस्त पार्छ र सहि निर्णय लिने क्षमतालाई प्रभावित पार्छ भने ढुक्क हुनुहोस्, तपाईको चिन्ताको मात्रा राम्रो भन्दा बढि नराम्रो तिर गइसक्यो । कुनै बिषयमा चिन्ता लिएकै कारण तपाई आफ्ना भन्नेहरुबाट एक्लिनु पर्ने अवस्थासम्म पुग्नु भयो भने तपाई गलत मात्रामा चिन्ता गर्दै हुनुहुन्छ ।

चिन्ता त्यति मात्रै लिने गर्नुहोस्, जति गर्दा काम बन्छ, जति गर्दा समस्या समाधान हुन्छ र जति गर्दा तपाईले मनमा गौरव वा अपनत्वको भाव अनुभव गर्न पाउँनु हुन्छ । यो भन्दा बढि खतरा, रिस, दुख, एक्लोपन, असफलता, समस्याहरुको अनुभव गराउँने चिन्ताहरु बेकारका चिन्ताहरु हुन् । त्यस्ता चिन्ताहरु बच्नुहोस् ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

नमस्ते, म गणेश कार्की । एउटा आममान्छे । सामाजिक सञ्जाल मात्रै होइन, हाम्रो समाज नै नकारात्मक खबर र जानकारीहरुले भरिएको छ । ‘नकारात्मक मात्रै बिक्छ’ भन्ने सोच व्याप्त छ । यस्तोमा सकारात्मक कुरा लेखेर पनि व्यवसायिक हुन सकिन्छ भन्ने उदाहरण देखाउँने मेरो सानो प्रयास हो । उज्यालो पाटोमा म जीवनको उज्यालो पाटोको बारेमा लेख्छु । अथवा, जीवनलाई उज्यालो पाटोमा कसरी लैजाने भन्ने बारेमा आफुले देखेका भोगेका र पढेका कुराहरु बाढ्नेछु । सामाजिक सञ्जालमा अलिकति भए पनि सकारात्मक र ज्ञानवद्धर्क कुराहरु सेयर हुन योगदान गर्न सकुँ । यस्ता कुरा पढ्न चाहनेले पढ्ने ठाउँ बनोस् । यस्ता कुरा लेख्न सक्नेहरु व्यवसायिक रुपमा लेख्ने हिम्मत गर्न सकुन् । मेरो इच्छा यति हो । यो भन्दा धेरै हाशिल भए म झन् खुसी हुनेछु । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

गणेश कार्की – who has written posts on उज्यालो पाटो.


Post Comment