पाठ्यक्रम बाहिरका कुरा किन पढ्ने ? ७१ बर्षे काकीको कथा र ५ कारणहरु

पुषको महिना थियो । भन्नलाई त पुष, फासफुस् भन्छन् तर काकीलाई पुषको दिन पनि लामो लागिरहेको थियो । यसै त खेतिकिसानी गर्नेका लागि पुषको महिनामा गर्नु पर्ने केहि काम हुन्न, त्यसमाथि पुषको चिसो, काकीलाई दिन नै लामो र दिक्दारलाग्दो भइरहेको थियो ।

“पुष २१ गते देखि स्कुलमा प्रौढ शिक्षाको निशुल्क कक्षा सञ्चालन हुदैछ । प्रौढ शिक्षाको कक्षा लिन चाहने निरक्षकहरुले आफ्नो नाम दर्ता गराउँनु होला ।” घर छेउकै बाटोमा माइकिङ गर्दै एउटा भ्यान कुड्दै थियो । माइकिङको चर्को आवाजमा सूचना प्रस्ट सुनिन्थ्यो । ‘यो ७१ बर्षको उमेरमा अक्षर चिनेर पनि गर्नु के छ र ?’ सूचना सुने पछि काकीलाई लाग्यो, “तर पुषको दिक्दारलाग्दो चिसोमा गाउँका अरु महिला भेट्ने बहाना त हुन्छ । अक्षर नचिने नि बसिबियालो गर्न जानु पर्ला ।”

पुषको २१ गते काकी प्रौढ शिक्षाको कक्षामा गइन् । अलमलिने उनको इच्छा पुरा भयो । गाउँका अरु महिला पुरुषहरु पनि उपस्थित थिए । पुषको महिना त्यसपछि फासफुस नै बित्यो । माघको महिना पनि बित्न समय लागेन । प्रौढ कक्षा दिनमा २ घण्टा हुन्थ्यो तर तयार हुन र पुग्न काकीलाई आधा घण्टा लाग्थ्यो । अझ साथीहरुसँग भेट गरेर गफ गर्न भनेर उनी एक घण्टा अगाडी नै पुग्थिन् । बेलुका कक्षाबाट फर्के पछि पनि गृहकार्यमा अलमलिन्थिन् ।

सुरुमा काकीलाई अक्षर अनुसार बाङ्गाटिङ्गा धर्का कोर्नै आएन । लाज पनि लाग्यो । बेकार जस्तो नि लाग्यो तर ख्यालख्यालमै उनले क, ख चिनिन् । बाह्रखरी लेख्न सिकिन् । क बाट कछुवा, ख बाट खरायो लेख्न र भन्न जानिन् ।

“अहिले त म महाभारत पढ्दैछु । देवीभारत पढिसकेँ । मुनामदन पढिसकेँ ।” प्रौढ कक्षा गएको ६ महिना जस्तो पछि उनले घरमा आएका पाहुनालाई गौरवसहित सुनाइन्, “कतै ‘के छ’ भनेर लेखेको देखेँ पनि मलाई ठिकै छ भनेर जवाफ दिनु जस्तो लाग्छ । अक्षरहरु त बोल्दा रहेछन् । हामीसँग गफ गर्दा रहेछन् ।” अक्षर चिने पछि काकीले पाएको खुसी सायदै केहि कुरासँग तुलना गर्न सकिन्छ ।

काकीले पुषको चिसोमा बसिबियालोको उपाय लाउँदा लाउँदै अक्षरको एक तह उप्काइन् । उनले पढ्न सिकिन् । निरक्षरबाट साक्षर भइन् । अक्षरहरुसँगको सम्पर्कले उनले थाहा पाइन् कि अक्षर चिन्नुको महत्व कति छ ? हामी धेरैले आफुले होस सम्हालेदेखि अक्षर चिन्ने प्रयास थाल्यौँ र अक्षर चिन्यौँ । हामीलाई अक्षर चिन्नु प्रयास गर्दाको अफ्ठ्यारो सम्झना नहुन सक्छ त्यस्तै पहिलो पल्ट वाक्यहरु पढ्न सक्दाको खुसी पनि विस्मृतिमा कतै हराइसकेको हुन सक्छ । यसैले पढ्नु जस्तो महान कर्मलाई पनि हामी सामान्यकरण गरिसकेका छौँ तर पनि भन्न सक्छौँ कि पढ्नु राम्रो कुरा हो । पढ्नु अनिवार्य छ । यसो भनिरहदा पनि हामी पढ्नुलाई केवल औपचारिक पुस्तक वा भनौँ, स्कुल वा कलेजको पढाइलाई मात्रै संकेत गरिरहेका हुन्छौँ ।

वास्तवमा पढ्नु पर्ने कुरा स्कुल र कलेजका पाठ्यक्रम भन्दा पनि धेरै बाहिर छन् । निरक्षरले पढ्न थाल्नु अगाडीको अक्षर चिन्ने प्रक्रियालाई झिँजो मानेर अक्षर नै चिन्न नसके जस्तै हामी मध्ये धेरैले पाठ्यक्रम भन्दा बाहिरका किताब पढ्ने कुरालाई झिंजो मानेर त्यहाँको संसारलाई महसुस वा अनुभव गर्नबाट चुकेका छौँ । हामी धेरैलाई बाहिरी किताबहरु पढ्नु केवल रमाइलो वा बुद्धिविलास मात्रै हो भन्ने लाग्छ ।

तर के वास्तवमै पाठ्यक्रम भन्दा बाहिरका किताबहरु पढ्नु रमाइलो वा बुद्धिबिलास मात्रै हो त ? आउँनुहोस्, एकछिन पाठ्यपुस्तक बाहिरका किताबहरु किन पढ्नु पर्छ वा पढ्दा के प्राप्त हुन्छ भन्ने बारेमा थाहा पाऔँ ।

१. पढ्दा दिमागको कसरत हुन्छ

सामान्यरुपमा भन्दा बाहिरी किताबहरु पढेर पाठ्यक्रमले थाहा नदिएका जानकारीहरु पाइन्छन् । आफ्नो ज्ञानको क्षेत्र बढ्छ । सत्य हो । ‘पढ्दा दिमागमा त्यस्तै हुन्छ, जस्तो कसरत गर्दा शरिरको हुन्छ ।’ आज भन्दा झन्डै ३ सय बर्ष अगाडी जोसेफ एडिसनले उल्लेख गरेको वाक्य हो यो । अहिले पनि वैज्ञानिक अध्ययनहरुले देखाउँछन् कि पढ्दा तपाई स्मार्ट बन्नु हुन्छ । उपन्यास तथा आख्यान पढ्नेहरुको रक्तसञ्चार राम्रो हुन्छ र दिमागसँगको सञ्चार बलियो बनाउँछ ।

२. नयाँ विचार र सोचको ढोका खोल्छ

संसार कत्रो छ वा बिषयहरु कति छन् भन्ने थाहा पाउँनु पनि ज्ञान हो । त्यस्तै, आफुलाई कति कुरा थाहा छैन भन्ने थाहा पाउँनु पनि ज्ञान हो । संसारमा यति धेरै कुराहरु यस्ता छन् कि ति बारेमा हामीलाई थाहा नै छैन । संसारमा विचारहरु यति धेरै छन् कि ति वारेमा हामीलाई कुनै पत्तो छैन । हामीले आफ्नो विचार बनाउँदै गर्दा वा मेरो सोचाइ भनेर दाबी गर्दै गर्दा हाम्रो ज्ञानको सिमाले त्यो सोचाइलाई निर्धारण गरिरहेको हुन्छ ।

पुस्तकहरु पढेर प्राप्त भएको नयाँ ज्ञान वा जानकारीले आफ्नो कायम रहेको विचारलाई थप मजबुत पनि बनाउँछ भने नयाँ किसिमको विचार र सोचको सम्भावनाको ढोका पनि खोल्छ । त्यस्तै कुनै कुराको बारेमा धारणा राख्दा पढ्नेहरुले अरु भन्दा फरक र नयाँ धारणा बनाउँन सक्छन् ।

३. परिकल्पनालाई चुनौति दिन्छ

तपाईले किताब पढ्दा, खास गरि कथा वा उपन्यास वा इतिहास पढ्दा तपाईको दिमागमा त्यसबारे केहि छायाँ बनिरहेको हुन्छ । कथाहरुमा आउँने पात्रहरुको छायाँ तपाईको दिमागमा बन्छ । त्यहाँ वर्णन गरिएको दृष्य वा स्थानको तपाईले कल्पना गर्न थाल्नुहुन्छ । हरेक नयाँ किताबको अध्ययन गर्दा तपाईले गर्न सक्ने परिकल्पनाको सिमाना भत्काउँछ । तपाईले आफु पहिले गरिरहेको कल्पना भन्दा फरक कल्पना गर्न बाध्य बनाउँछ ।

४. रुचिको क्षेत्र बढाउँछ

हामीले हाम्रो समाजमा हेरेर पनि रुचिको क्षेत्र बनाउँछौँ । सानोमा हाम्रो रुचिको क्षेत्र एउटा हुन्छ, जसै हाम्रो उमेर बढ्दै जान्छ र हामी नयाँ क्षेत्र वा नयाँ बिषयका बारेमा थाहा पाउँदै जान्छौँ, हाम्रो रुचि पनि फरक पर्छ वा हाम्रो रुचिको क्षेत्र बढ्छ । कसैको रुचि फेरिनुमा धेरै कुराले फरक पार्छ तर यसमा सो व्यक्तिले प्राप्त गरेको ज्ञानको हस्तक्षेप भने सबै भन्दा मुख्य हुन्छ ।

केहि बर्ष अगाडीसम्म मानिसहरुमा कम्प्युटर प्रोग्रामर बन्ने रुचि बोक्नेहरुको संख्या न्युन हुन्थ्यो तर अहिले यो रुचि राख्नेहरुको संख्या ठुलो छ । कम्प्युटर प्रोग्रामर बने पछि खुल्ने सम्भावनाको ज्ञानको जानकारीले यसमा ठुलो भुमिका खेलेको छ । यसैले जति पुस्तकहरु पढिन्छ र जति नयाँ कुराहरु थाहा पाइन्छ, रुचिको क्षेत्र पनि त्यसरी नै बढ्दै जान्छ । पुस्तकमा भएका बिषय, पात्र वा घटनाहरुले पनि प्रेरकको भुमिका खेलिरहेका हुन्छन् ।

५. तनाव कम गराउँछ

कुनै पनि किताब पढ्दै गए पछि त्यो किताबको बिषयले तान्दै लान्छ, किताबमा वर्णित पात्र, घटनाहरुमा तपाई डुब्दै जानुहुन्छ । यो क्रममा तपाईले बिल्कुलै आफ्नो वास्तविक संसार भुल्नु हुन्छ । यसले तपाईलाई केहि समय वास्तविक संसारका अफ्ठ्यारा र तनावहरुबाट टाढा लैजान्छ तर पुस्तकले छोटो समयका लागि मात्रै तनावबाट जोगाउँने होइन ।

तपाईले पढेका किताबमा जीवनका बारेमा, जीवनका समस्याका बारेमा, त्यस्ता समस्याहरुको प्रति राखिने दृष्टिकोणका बारेमा पनि हुन्छन् । यसले तपाईमा समस्याहरुप्रति हुनु पर्ने दृष्टिकोणमा सजग बनाउँछ । तपाईलाई तनावलाई स्विकार्ने वा बदल्ने क्षमता बढाउँन सहयोग गर्छ ।

अन्त्यमा, एउटा भनाई छ, ‘पुस्तक पढ्नेहरुले एउटै जीवनमा सयौँ जीवन भोग्न सक्छन्’ अर्थात उनीहरुले कथाका पात्र र घटनाहरुबाट सयौँ जीवनमा पाइने ज्ञान र अनुभवहरु हाशिल गर्न सक्छन् । पहिले देखिरहेको संसार भन्दा फरक संसारको क्षितिज खुल्छ । काकीले प्रोढ शिक्षा लिए पछि अक्षरहरुले बोलाएको अनुभव गरे जस्तै किताब पढ्नेहरुले पनि नयाँ संसार खुलेको अनुभव गर्न पाउँछन् ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

नमस्ते, म गणेश कार्की । एउटा आममान्छे । सामाजिक सञ्जाल मात्रै होइन, हाम्रो समाज नै नकारात्मक खबर र जानकारीहरुले भरिएको छ । ‘नकारात्मक मात्रै बिक्छ’ भन्ने सोच व्याप्त छ । यस्तोमा सकारात्मक कुरा लेखेर पनि व्यवसायिक हुन सकिन्छ भन्ने उदाहरण देखाउँने मेरो सानो प्रयास हो । उज्यालो पाटोमा म जीवनको उज्यालो पाटोको बारेमा लेख्छु । अथवा, जीवनलाई उज्यालो पाटोमा कसरी लैजाने भन्ने बारेमा आफुले देखेका भोगेका र पढेका कुराहरु बाढ्नेछु । सामाजिक सञ्जालमा अलिकति भए पनि सकारात्मक र ज्ञानवद्धर्क कुराहरु सेयर हुन योगदान गर्न सकुँ । यस्ता कुरा पढ्न चाहनेले पढ्ने ठाउँ बनोस् । यस्ता कुरा लेख्न सक्नेहरु व्यवसायिक रुपमा लेख्ने हिम्मत गर्न सकुन् । मेरो इच्छा यति हो । यो भन्दा धेरै हाशिल भए म झन् खुसी हुनेछु । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

गणेश कार्की – who has written posts on उज्यालो पाटो.


Post Comment