चिया पसलमा दुई युवक भेटिए । कुनै विचारप्रति एकअर्कासँग मतभेद भएका । दुवै एक अर्काका सामु आफु बढि जान्ने वा पढन्ते हुँ भन्ने देखाउँन तत्पर । उनीहरुले एकअर्कामाथि प्रहार गरेका शब्दहरु भयानक मात्रै थिएनन्, स्तरहिन र अहम्तापुर्ण थिए तर उनीहरुलाई त्यसको हेक्का थिएन । विवादमा जित्न उद्यत उनीहरु जित्न जस्तो तर्क र जत्रो स्वर नि गरिरहेका थिए ।
ति दुईको विवादले चिया पसलको वातावरण स्तब्ध भयो । नजिकै चिया पिइरहेका गोपालदाईलाई चित्त बुझेन । उनले भनेँ, “भाईहरुको जुधाईले आज चिया पसल नै ननिको भयो ।”
“जुधाईले होइन, बरु भन्नु न, तिमीहरुका कुरा बुझिएन ।” विवाद गरिरहेको एउटा युवक बोल्यो, “यी कुरा बुझ्न र बहस गर्न पनि धेरै पढ्न पर्छ दाई ।” उसको बोलीमा आफुहरुले गरिरहेको बहसको बिषय र प्रयोग गरेका शब्दहरुको वजनप्रतिको उनीहरुको अभिमान झल्किन्थ्यो ।
“हो, मैले यति धेरै जुध्न सक्ने गरि पढेको छैन ।” गोपालदाईले भने, “तर पढ्नुको अर्थ मलाई थाहा छ र पढे पछि मान्छे कस्तो हुनु पर्छ भन्ने म बुझ्छु ।”
गोपालदाईको जवाफले ति युवकहरु केहिबेर चुप भए ।
“पढ्नुको अर्थ आफ्नो बोलीले बुझाउँछ कि बिझाउँछ भन्ने थाहा पाउँनु हो । पढ्नुको अर्थ पढेकासँग कसरी र नपढेकासँग कसरी व्यवहार गर्ने भन्ने थाहा पाउँनु हो । पढ्नुको अर्थ आफुसँग सहमत हुनेसँग कसरी र असहमत हुने सँग कसरी वार्तालाप गर्ने भन्ने बुझ्नु हो । पढ्नुको अर्थ सबैका लागि खुल्न सक्नु हो र पढ्न वा जान्न कति बाँकी रहेछ भन्ने थाहा पाउँनु हो । आफु भन्दा बढि जान्नेहरुले भरिएको संसारसम्म पुग्नु हो ।” गोपालदाईले थपे, “पढ्नुको अर्थ पुस्तकालय जस्तो हुनु हो र ? पुस्तकालयमा किताबका जति थाक भए पनि पुस्तकालय स्वयम् ज्ञानी बन्दैन । जसरी कसैलाई प्रयोगमा नआउँने वा कसैका लागि खुल्ने ढोका नभएको पुस्तकालय उपयोगिताविहिन हुन्छ, त्यसरी नै पढेर पनि उचित व्यवहार गर्न नसक्ने र अहमले भरिएको मानिस पनि बिनाअर्थको हुन्छ ।”
“अहम भर्नका लागि त नपढेकै राम्रो भाईहरु ।” गोपालदाईको कुरा सुनेर टोलाएका ति युवकहरुलाई नम्र स्वरमा भने, “पढेकाको व्यवहार देखेर नपढ्नेहरु चुकचुकाउँन् । पढ्नतिर आकर्षित होउन् । होइन र ?”
दुई युवक केहि बोलेनन् । दुवै त्यहाँबाट उठे । एउटा युवक चिया पसलको ढोकामा पुगेर चुपचाप अर्कोलाई पर्खियो । अर्को गएर चिया पसले दिदीलाई ५० को नोट दिदै भन्यो, “दुईटा चिया ।”
चिया पसलकी दिदीले २० रुपैया फिर्ता दिदै भनिन्, “आज चिया पसलमा पढे जत्तिको पाठ त कहिलै पढ्नु भएको थिएन होला है ।”
युवकहरु सुनेको नसुनै गरेर चिया पसलबाट बाहिरिए ।
जानकारीको बोझ र मपाइत्वको पहाड
माथिको कथा वास्तविक होइन तर वास्तवकितामा यस्ता धेरै पल्ट भएको मैले देखेको छु । पढेका मानिसहरुमा धेरैले नपढेकालाई अज्ञानी वा कुरा नबुझ्ने ठान्छन् । नपढेका मानिसहरुका अगाडी अफ्ठ्यारा शब्द वा अर्कै भाषामा (हाम्रो देशमा अंग्रेजीमा) कुरा गर्दा वा अर्कै भाषाका शब्दहरु बिच बिचमा घुसाउँदा पढेकाहरुले गौरव अनुभुति गरेको देखेको छु । अनि, मैले सोचेको कुरा नै अन्तिम र सहि सत्य हो, यसलाई जसरी पनि जोगाउँनु पर्छ भनेर आफ्ना तर्कहरुलाई व्यक्तिगत अहमको घोडा बनाएको पनि देखेको छु । चियापसलमा बहस गर्ने दुई जना युवकले तिनै पढेका मानिसहरुको प्रतिनिधित्व गर्छन्, जो पढ्नुलाई घमण्डको बिषय बनाउँछन् । गोपालदाई तिनका विरुद्धमा उभिने ति मानिसहरु जो जीवनका सिकाइहरुबाट किताबका ज्ञान भन्दा बढि हाशिल गरेका छन् ।
कथामा स्पष्ट छुट्टिए पनि दैनिक जीवनमा बेला बेला दुई युवकहरु सहि लाग्छन् । म आफुलाई पनि पढेका, अफ्ठ्यारा बिषयमा अफ्ठ्यारा शब्दहरुमा बहस गर्न सक्ने मानिसहरु विशेष लाग्छन् । हुन त, विशेष लाग्नु फरक हो र त्यस्तै फरक कुरा हो, आफु विशेष ठानेर मपाइत्वको पहाड बोक्नु ।
मपाइत्वको पहाडले मान्छेलाई किच्छ । यसले आममानिस भन्दा फरक हुँ भन्ने भ्रमको पर्खाल यति अग्लो बनाइदिन्छ कि बिस्तारै आममानिस मानिस नभएर खसीबाख्रा जस्ता लाग्छन् र आफु हाती जस्तो । आफुलाई सहि भन्नका लागि हरेक मानिससँग कारण र तर्क हुन्छन् । यस्तै आफुलाई हाती सम्झिने र अरुलाई खसीबाख्रा सम्झिनेसँग पनि तर्क हुन्छन् तर ति तर्कले मान्छेलाई नजानिदो गरि समाजबाट अलग्याउँन थाल्छ । समाजलाई सकारात्मक प्रेरणा दिन वा समाजलाई नयाँ आविश्कारको उपहार दिन केहि समय मानिस समाजबाट अलग्गिनु राम्रो पनि हो तर आफुलाई हाती सम्झिने सोचले समाजलाई समाजलाई सकारात्मक प्रेरणा दिदैन, न यसले नयाँ आविश्कारको उपहार दिन्छ ।
यस्ता मानिस आफु पनि जानकारीको बोझले थलिएका हुन्छन् । मलाई धेरै कुरा थाहा छ भन्ने जानकारी बोझ हो, यसले मान्छे, समाज वा समयसँग सहि सम्बन्ध राख्नलाई भाँझो हाल्छ । आफ्नो समस्याका बारेमा अरुसँग सहयोग माग्नबाट रोक्छ । मलाई जति अरुलाई थाहा छैन र मैले जानेको कुराले नै राम्रो परिणाम निकाल्छ भन्ने सोचाइले समस्याहरुप्रति नयाँ फरक फरक दृष्टिकोण हुने भएन, यसले एकाङ्गी समाधान मात्रै निकाल्ने भयो ।
मान्छे वास्तवमै सामाजिक हुने र उदाहरणिय हुने हो भने जानकारीको बोझ फ्याक्ने हो र मलाई थाहा नभएका कुरा साह्रै धेरै रहेछन् भनेर विश्वास गर्ने हो । मपाइत्वको पहाडबाट उठ्ने हो र नम्रताको न्यानोपन महसुस गर्ने हो ।
विनम्रता आफ्नै लागि पनि उपहार हो
मान्छे कस्तो हुने त ? सजिलो जवाफ, मान्छे नम्र हुने । अझ पढेको वा जानेको छु भन्ने मानिसमा त्यो नम्रता देखिने गरि हुनु पर्छ । माथिको कथामा गोपालदाई पात्रले भने जस्तै ‘बुझाउँदै छु कि बिझाउँदै छु भन्ने थाहा पाउँने हुनु पर्छ ।’ नम्रता र चाप्लुसीमा फरक छ भन्ने ज्ञान हुनु पर्छ । नम्रताले कसैको पनि हानी गर्दैन । भनाई नै छ, “गिलो खाना र नम्र भावनाले कसैको हानी गर्दैन ।” अझ नम्र हुने मान्छेलाई त फाइदा पुर्याउँछ ।
नम्रताले मनको अंहकार र अभिमानलाई मेटाउँदै लैजान्छ । अरु मानिस पनि सम्मानयोग्य छन् भन्ने कुराको उदाहरण दिन्छ । जति नम्र र अरुलाई सम्मान गर्ने भइन्छ, मानिसहरुले आफु प्रति राख्ने धारणा र गर्ने व्यवहार पनि सम्मानित र विनम्र हुन्छ । विनम्रताले नबन्ने कामहरु पनि बन्छन् । विनम्रताले सम्मान बढाउँछ । विनम्रताले आफु साथ भएका मानिसहरुसम्म पनि सकारात्मक आचरणको प्रभाव छोड्छ । विनम्रताले मष्तिस्कमा अनावश्यक मानसिक विकारहरु उब्जिन दिदैन ।
यसैले विनम्रता अरुका लागि मात्र पनि होइन, स्वयम् आफ्नै लागि पनि उपहार हो ।
तर विनम्रता, चाप्लुसी र सहनु फरक कुरा हुन्
विनम्र हुनुको हद चाप्लुसी होइन । विनम्रताले चाप्लुसी गर्दैन र अर्काको नराम्रो कुरा सहनु पर्छ भन्ने पक्षपोषण गर्दैन, बरु खराब कुराहरुको अराजक नभइकन बिरोध गर्नु पर्छ भन्ने सन्देश दिन्छ ।
आफुसँग भएको ज्ञानले विनम्रतापुर्वक मान्छेहरुसँग व्यवहार गर्न सकियोस् । माथि चियापसलमा भएको दुई युवा र गोपालदाई बिचको घटनाले पनि यहि कुरा देखाउँछ ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।