कुरा उहिलैको हो र एकादेशको हो । त्यो देशमा एकजना राजा थिए । राजालाई संसारकै गजबको कुरा लाग्थ्यो, बाजको उडान हेर्नु । उनी बाजको उडान हेर्नमा मग्न हुन्थे । बाजले आकाशमा निष्प्रवाह कावा खाएको देखेर उनी रोमाञ्चित बन्थे ।
प्रकृतिको एउटा अनौठो नियम छ । जुन कुरा सबै भन्दा राम्रो देखिन्छ, आफुलाई चित्त दुखाउँने खराबी पनि त्यहि कुरामा हुन्छ । राजालाई बाजको उडानले मन्त्रमुग्ध त पार्थ्यो र उनी बाजको कावा खाने कलाको हदैसम्मको विशेष ज्ञान त राख्थे तर राजाको दुर्भाग्य के थियो भने उनी हरेक बाजको कावा खाँदै उड्ने कलाको फरकपना छुट्याउँन सक्थे । हरेक बाज सँधै उहि तरिकाले आकाशमा उड्थ्यो र राजालाई एउटै बाज उडेको हेरेर सँधै रमाइलो लाग्दैन थियो । उनी नयाँ नयाँ बाज ल्याउँदै बाजहरुको उडाइ हेर्थे ।
राजाको बाजप्रतिको सौखको बारेमा देश देशान्तरसम्म खबर थियो । यसैले दरबारमा दिनहुँ जसो तालिम प्राप्त बाज लिएर कोही न कोही व्यापारी आएकै हुन्थ्यो । एकदिन त्यस्तै भयो । एकजना मानिस दुई वटा बाज लिएर दरबारको स्वागतद्धारमा आइपुग्यो ।
हरेक दिन हुने यहि घटनाका लागि राजाले बेग्लै संयन्त्र नै बनाएका थिए । उनी बाजसँग सम्बन्धित कुरामा कुनै पनि किसिमको बिलम्ब होस् भन्ने चाहदैन थिए । एकजना मानिस यहि खबर राजासम्म सोझै पुर्याउँनका लागि हरपल द्धारमा हुन्थ्यो । उसले तत्काले दुईटा बाज लिएर कोही आएको छ भन्ने कुरा राजासमक्ष पुर्यायो । खबर लिएर जाने त्यो मान्छेलाई बाज व्यापारीले थप कुरा सिकाएको थियो कि राजालाई ‘आजसम्म कै सबै भन्दा तालिम प्राप्त बाजहरु हुन्’ भनेर पनि भन्नु । त्यो सूचना लैजाने मानिसले सो कुरा पनि राजाका समक्ष हाजिर गर्यो ।
‘आजसम्म कै सबै भन्दा तालिम प्राप्त बाजहरु हुन्’ भन्ने सन्देशले राजा झन् लोभिए । आफै हतारिएर द्धारमा पुगे । बाजहरुका बारेमा धेरै ज्ञान बटुलेका राजालाई बाजहरु चिन्न गाह्रो भएन । उनले बाजहरु विशेष छन् भन्ने थाहा पाइहाले । बाज व्यापारीलाई मुल्य भन्दा बढि रकम दिएर बाज किने ।
दुईवटा तालिमप्राप्त बाजहरु कलात्मकरुपमा आकाशमा कावा खाँदै उडेको हेर्न उनी आतुर थिए । बाज उडाउँने स्थान टाढा थिएन, द्धारबाट १५ मिनेट जति थियो । राजाले त्यो बाटो भरि आकाशमा दुई बाज उडेको कल्पना गरिरहे । उनमा रोमाञ्चकताले एउटा हद नाघ्यो ।
बाज उडाउँने ठाउँबाट उनले क्रमश: दुईवटै बाजलाई उडाए । एउटा बाज साँच्चै नै कलात्मक तरिकाले आकाश छेड्दै उड्यो । अर्को बाजले त्यसलाई पछ्यायो तर यो दृष्य धेरै बेर रहेन । दोस्रो बाज पहिलो बाजलाई पछ्याइरहेको बाटो बदल्यो र आएर नजिकैको रुखको एउटा हाँगामा बस्यो । राजालाई एक्कासी भयानक दिक्दारीले छोप्यो । उनी स्वयमले त्यो बाजलाई हाँगाबाट उडाउँने केहि समय प्रयत्न गरे तर उनको केहि सिप चलेन ।
त्यस पछि हाँगाबाट त्यो बाजलाई उडाउँने सिपाही, दरबारका भाइभारदार तथा कर्मचारी र मन्त्रीसम्महरुले त्यो बाजलाई हाँगाबाट उडाउँन खोजे तर बाज हल्लिएन । यतिसम्म कि राजाको निराशा देखेर रानी आएर पनि बाज उडाउँन खोजिन् तर प्रयास विफल भयो ।
त्यसपछि नउडेको बाजले आकाशमा कावा खाएन । बरु हरेक दिन आँगनमा ओेर्लिन्थ्यो, चारो टिप्थ्यो र पुन: त्यहि हाँगोमा गएर बस्थ्यो । राजाले उर्दि जारी गरे, “जसले हाँगामा बसिराख्ने यो बाजलाई उडाउँछ, उसलाई म आजिवन दरबारको सल्लाहकार बनाउँनेछु र १० गाउँ राज्य दिनेछु ।”
त्यस पछि दरबारमा बाज उडाउँन प्रयास गर्नेहरुको ताँती नै लाग्यो । राजाको बाज भएकाले त्यसलाई चोटपटक लाग्ने गरि केहि गर्न हुन्न थियो, त्यो बाहेकका जस्तै उपाय लगाए पनि राजाको बाजले हाँगो छोडेन तर दरबारमा प्रयास गर्छु भन्नेहरुको मेला भने रोकिएको थिएन । केहि दिन त राजाले पनि प्रयास सफल होला कि भनेर आफु उपस्थित भएरै हेरे तर कुनै प्रयास सफल नभए पछि दिक्क मानेर ‘प्रयास जारी राख्नु र बाज उडे पछि मलाई खबर गर्नु’ भनेर हेर्न जान छोडे ।
एकदिन एउटा सैनिक दौडदै आएर राजालाई सुनायो, “महाराज ! बाज उड्यो ।”
आफ्नो कोठामा आराम गरिरहेका राजामा स्फुर्ति जाग्यो । उनी दौडदै झ्यालसम्म पुगेर हेर्छन् त, दुइटा बाजहरु आकाशमा मस्तसँग कावा खादै उडिरहेका छन् । दुई बाजको उडाइमा राजाले काल्पनिक चित्र बनाइरहेका थिए । राजा केहि बेर टोलाएर वास्तविकतामा फर्किए, “कसले उडाउँन सक्यो यो बाज ? त्यसलाई यहाँ किन नल्याएको ?”
“महाराज ! बाज उडे पछि उ आफ्नो घर फर्कि सक्यो ।” सैनिकले आश्चर्य लाग्दो जवाफ दियो ।
“लौ !” राजा चकित भए, “त्यसरी कहाँ जान दिएको ? मैले भेट्न पर्थ्यो । उसको हक लाग्ने पुरस्कार उसलाई सुम्पिनु पर्थ्यो ।” राजाले आदेश दिए, “उसलाई आज नै मेरो सामू ससम्मान उपस्थित गराउ ।”
राजाले सोचेका थिए, कसैले उडाउँन नसकेको बाज उडाउँन सक्ने मान्छे पक्कै पनि बाजका बारेमा विज्ञ होला । उसँग अरु अरु बाजहरु पनि होलान् ।
केहि समयमा कसैले उडाउँन नसकेको बाज उडाएको मानिस राजाको सामू उपस्थित गराइयो । मैला लुगा लगाएको एउटा किसान राजाको अगाडी ल्याइयो । किसानलाई देखेर राजा छक्क परे । निश्चित गर्न राजाले सोधे, “तिमीले नै हो त बाजलाई उडाएको ?”
राजाको अदबपुर्ण आवाजको उत्ति नै विनम्रतापुर्वक किसानले जवाफ फर्कायो, “हो महाराज, मैले नै हो ।”
‘त्यस्तो के गर्यो होला र यसले ?’ राजाले मनमनै सोचेर भनेँ, “तिमीले के गर्यौ त्यस्तो र बाज उड्यो ? कतै बाजलाई हानी त पुर्याएनौँ ?”
“मैले बाजलाई केहि पनि हानी पुर्याइन महाराज ।” किसानले सजगतापुर्वक भन्यो, “मैले बाज बसिरहेको हाँगा काटिदिएँ । अनि बाज उड्यो ।”
राजा छक्क परे । आकाशमा उडिरहने बाज एउटा रुखको हाँगाप्रति यति आसक्त होला र त्यो हाँगोलाई आफ्नो आनन्दको स्थान बनाउला भन्ने उनले कल्पना पनि गरेका थिएनन् । “त्यति गर्दैमा उड्यो र बाज ?” राजालाई अझै विश्वास भएन ।
“महाराज ! कहिलेकाँही प्राणीले आफ्नो सजिलोको स्थान वा आनन्दको स्थानसँग यस्तो आसक्ती राख्छ कि उ त्यसलाई छोडेर जति योग्य भए पनि बाहिर निस्कन खोज्दैन । बाजलाई त्यो हाँगो सजिलो लाग्यो । सायद पहिले पनि त्यस्तै हाँगोमा बस्थ्यो र त्यो हाँगोबाट बाहिर निस्किदाको जोखिम सम्झेर अरु अपार सम्भावनालाई नजरअन्दाज गरिदियो । यसै पनि उसले बाँच्नका लागि उसले प्रशस्त चारो पाएकै थियो र आकाशमा कावा नखाए पनि उ बाज नै रहिहाल्थ्यो । नउडेकै भरमा उसलाई बाज होइन भन्न सकिने अवस्था पनि होइन ।” किसानले पुलुक्क राजातिर हेरेर मुस्कुरायो र थप्यो, “जसरी तपाई आफ्नो सजिलो दरबार र आनन्दको बाजको उडानबाट बाहिरिन चाहनु भएको छैन ।”
राजाले आफु प्रतिको व्यंग्य बुझे । पक्कै पनि बाज ल्याइनु, एउटा बाजले हाँगो नछोड्नु र सामान्य किसानले बाज उडाएर सजिलोपनाबाट बाहिर निस्किने जोखिम उठाउँने प्रेरणा दिनु लगायतका सम्पुर्ण घटनाक्रम कुनै उद्देष्यले योजना गरिएको हुन सक्छ भन्ने शंका गरे । उनले किसानलाई यसबारे प्रश्न सोध्ने बित्तिकै किसानले राजगुरुको निर्देशन बमोजिम आफुले गरेको स्विकारे ।
राजाको मस्तिष्कमा सबै कुरा छर्लङ्ग भयो । बाजप्रतिको आसक्ति र दरबारको सजिलो छोडेर राज्यका अरु कुरा हेर्न नपाएको भन्ने महसुस भयो । त्यो दिन देखि राजाले बाजलाई दिने समय दरबार बाहिरका कुराहरुमा छलफल गर्नमा लगाए । राज्यको विकाश भएर यो कथा सकियो ।
तर सबै कथा यसरी सकिदैनन् । हामी धेरै राजाले झै कुनै बानी वा सजिलो कुरामा टाँसिएरै बसेका हुन सक्छौँ । जिन्दगी चलेकै छ भन्ने सजिलो सोचाइले बाहिरको अपार सम्भावना वा सफलतालाई छुटाइरहेका हुन सक्छौँ । सजिलो भन्ने कुरा केवल व्यक्तिगत सोचाइ मात्रै पनि हुदैन । ‘हाम्रो परम्परा वा आदर्श नै यहि हो’ भन्ने कुराले पनि तपाईलाई अल्झाइरहेको हुन सक्छ । सामाजिक परम्परा, दर्शन, पारिवारिक आदर्श र आफ्नै आराम विरुद्ध जोखिम उठाउँन नसक्ने सोचका कारण हामी थप खुसी र उत्साह गुमाइरहेका हुन सक्छौँ ।
राजाका लागि राजगुरुले योजना बनाए तर तपाईका लागि योजना बनाउँने तपाई स्वयमले हो । आफुलाई हाँगामा टासिराख्ने कि उडेर आकाशमा कावा खाने भन्ने अन्तिम रोजाइ तपाईकै हो तर म भन्छु, आफ्नो क्षमतालाई चिन्नुहोस् । आरामबाट निस्किएर फैलिन खोज्नुहोस् । तपाईको क्षमताको निक्यौल गर्ने तपाई मात्रले हो ।
आराम वा ‘कम्फर्ट जोन’बाट कसरी निस्किने भन्ने बारेमा म अर्को लेख लेख्नेछु । हेर्दै गर्नुहोला ।
तपाईलाई यो कथा कस्तो लाग्यो ? यो कथा नेपाल स्काउटका निर्देशक राम भट्टराईले मलाई सुनाउँनु भएको थियो । त्यसको भाव समेट्दै मैले लेखेको हुँ । यो कथा पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।