कतै तपाई ‘सेल्फ सेन्सरसिप’बाट ग्रसित त हुनुहुन्न ? यसरी थाहा पाउँनुहोस्

मलाई चिन्नेहरुले भन्छन्, ‘तँ फेसबुकमा जे सुकै लेखिरहन्छस् ।’ व्यक्तिगत चिनजानमा म किन लेख्छु भनेर सुनाइरहन्छु । हेर्नै नै हो भने, यसरी लेखिरहने ममात्रै पनि होइन र मैले लेख्ने कुराहरुको प्रभाव क्षेत्र असाध्यै ठुलो पनि छैन । म आफ्ना लागि लेख्छु र म मैले बुझेको कुरा लेख्ने हुँ । मैले फेसबुकको बायोमा प्रस्ट लेखेको छु, ‘स्टाटसहरु स्रोत उल्लेख नभएको हदसम्म मेरा हुन्, यीनले म सम्मिलित कुनै संस्थाको प्रतिनिधीत्व गर्दैनन् ।’

लेखिरहने वा लेख्न पर्छ भनेर उक्साइरहने भएकाले त्यहि अनुसारका प्रश्नहरु वा आलोचनाहरु आउँनु असामान्य होइन । म लेखेकै कारण विवादमा पर्छु कि भन्ने कुरामा त्यति हेक्का राख्दिन तर मैले पक्षपोषण गरेको बिषयका बारेमा सजग हुन्छु । मैले पक्ष लिएको बिषय कम्तिमा विकृत सोच वा व्यवहारको विपक्षमा होस् भन्ने हेक्का राख्छु । मैले लेखिदिए पछि म जस्तै विचार राख्ने वा मेरा विपक्षमा विचार राख्नेहरु पनि खुल्न सकुन् भन्ने सोचाइलाई प्रोत्साहन दिइरहेको हुन्छु ।

मेरा एकजना साथी छन् । उनको र मेरो विचारको बेमेल त्यति नै छ, जति आगो र हिउँको छ । जसरी आगोबाट बचाउँन हिउँलाई फ्रिज जस्ता विशेष साधनको जरुरत पर्छ र जसरी हिउँबाट बच्न आगोलाई घर वा त्यस्तै केहि बिशेष साधनको जरुरत पर्छ, त्यसरी नै हाम्रा विचारहरु मिल्नका लागि केहि विशेष अवस्था नै चाहिन्छ । विचार लेख्ने कार्यमा उनी अचेल कम सक्रिय छन्, म अलिक बढि । म उनले विचार राख्न बन्द गरेकोमा सन्तुष्ट छैन र उनी मैले राखेका विचारहरुसँग सन्तुष्ट छैनन् ।

भर्खरै उनीसँग भेट भएथ्यो । ‘महिनावारी बार्ने कुराको बिरोध’, ‘स्वस्थानी र ऋषि पञ्चमीका केहि कथा र प्रसंगले महिला माथि गरेको विभेदको बिरोध’, ‘छाउगोठ भत्काएको समर्थन’ लगायतका बिषयमा मेरा केहि स्टाटसहरु विवादमा परेको बेला थियो । “दाई ! तपाईलाई गाली खान मन लागेरै लेख्नु हुन्छ कि के ?” उनले सोधेका थिए, “यदि यस्तो हो भने त यो पनि मनोरोग जस्तै होला है ।” उनले मनोरोगसँग चै किन जोडेका थिए भने हामी दुवै जना एउटा फेसबुक ग्रुप मेन्स रुम रिलोडेडमा आवद्ध छौँ । र, मेन्स रुम रिलोडेडले मानसिक स्वास्थ्य सचेतनामा हरेक महिना भर्चुअल अभियान चलाएको छ, जसमा म सक्रिय सहभागिता जनाउँछु ।

उनको प्रश्नमा हासेर टार्नु सायद विचारप्रतिको अपमान हुन्थ्यो । “मानी आएका कुनै कुरा भत्केलान् वा त्यसवापत मैले गाली खाउँला भनेर विचारै नराख्ने स्वभाव चै मेरो होइन । कतिपय विचारहरु व्यक्तिगत परिणामको बारेमा नसोची पनि राख्नै पर्छ ।” मैले जवाफ दिएको थिएँ, “कसैले पनि सभ्य भाषामा विचार राख्न पाउँनै पर्छ । अनि मेरो विचारप्रति असहमति हुनेहरु खराब हुन् वा मेरा दुस्मन हुन् भन्नेमा मलाई विश्वास लाग्दैन ।”

तर के सबैले यस्तै सोच्छन् त ? मलाई गाली खानकै लागि लेख्नु हुन्छ कि भनेर प्रश्न सोध्ने साथीले पनि केवल बेफुर्सदका कारण मात्रै लेख्न बन्द गरेका हुन् त ? या कुनै किसिमको सेल्फ सेन्सरसिपबाट प्रभावित भएर लेख्न बन्द गरेका हुन् ? मैले यो लेखमा उठाउँन खोजेको कुरा यो हो ।

किन लेख्ने ?

सैद्धान्तिकरुपमा भन्ने हो भने लेख्नुका असाध्यै धेरै फाइदा छन् र यहाँ लेख्नु भन्नाले केवल लेख्नु मात्र होइन, विचारको सम्प्रेषण गर्ने सबै माध्यमहरुको संकेत हो । लेखेर नै वा विचारको सम्प्रेषण गरेर नै मानव सभ्यता यहाँसम्म आइपुगेको हो । विचारको सम्प्रेषणले नै मान्छेले सिक्ने हो, समाज अगाडी बढ्ने हो र एकजुट हुने हो । धार्मिक भनिएका ग्रन्थ देखि लिएर फेसबुकको स्टाटस सबै विचारका सम्प्रेषण नै त हुन् ।

यसका अतिरिक्त लेखिरहने हो भने आफ्नो भावना जस्ताको तस्तै उतार्ने कलाको विकाश हुदै जान्छ । आफ्नो बह पोख्ने माध्यम बन्छ । यसका कति फाइदा होलान् भन्ने कुरा सायद हामी सबैले अनुमान गर्न सक्छौँ ।

सेल्फ सेन्सरसिप के हो ?

सेल्फ सेन्सरसिप हामीले अनुभव गरेको अवस्था हुन सक्छ । मैले सल्लाह दिदा मेरो परिवारका ठुला मान्छेले अपमानित भएको ठान्लान् कि भनेर परिवारका कुनै पनि सन्दर्भमा साना मान्छेहरुले आफ्नो दृष्टिकोण दिन आफैलाई रोकेको अवस्था पनि सेल्फ सेन्सरसिप हो । शिक्षकले अर्थ लाए भन्दा फरक अर्थ लगाएर कविताको हरफको विवेचनात्मक व्याख्या नगरी शिक्षककै अर्थलाई पछ्याउँनु पनि सेल्फ सेन्सरसिप हो । हाकिमले बनाएको तालिका भन्दा फरक तालिका बनाउँदा सबैका लागि सजिलो र उत्पादक हुन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि बोल्न नसक्नु पनि सेल्फ सेन्सरसिप हो । राजनीतिक पार्टीका गलत कुराहरुको बिरोध गर्दा त्यसका कार्यकर्ताले टिक्न दिदैनन् भन्ने डरले दृष्टिकोण राख्न आफैलाई रोक्नु पनि सेल्फ सेन्सरसिप हो ।

समग्रमा भन्नु पर्दा, सभ्य तरिकाले कुनै पनि विचार राख्नु पुर्व वा राख्दै गर्दा यसले पार्ने प्रभावका बारेमा सोचेर त्यसबाट तर्किन वा बच्नका लागि आफ्नो विचार राख्दै नराख्नु, सोझै विचार राख्न नसकेर अनेक अफ्ठ्यारा बिम्ब वा संकेतहरु राख्नु वा राख्न डराउँनु नै सेल्फ सेन्सरसिप हो ।

सेल्फ सेन्सरसिप कसरी हुन्छ ?

यसका असाध्यै धेरै कारकतत्व हुन्छन् । मुख्यत: डर नै यसको कारक हो । हामी डराउँने वा धकाउँने कारणहरु फरक फरक हुन सक्छन् । अहिले सामाजिक सञ्जालमा हुने सेल्फ सेन्सरसिपलाई बढावा दिने केहि कुराहरु छन् । जस्तै : सरकारी नीति नियम र साइबर बुलिङ ।

मैले सम्प्रेषण गरेको विचार नीति नियम विपरित भएर कानुनी अफ्ठ्यारो पर्ने हो कि भनेर पनि सेल्फ सेन्सरसिप गरिन्छ । त्यस्तै, विगतमा देखेको वा भोगेको साइबर बुलिङको आक्रमणबाट बच्न पनि सेल्फ सेन्सरसिप गरिएको हुन सक्छ ।

तपाई माथि सेल्फ सेन्सरसिपको दबाब छ कि छैन ?

तपाईले सेल्फ सेन्सरसिप गरिरहेको तपाईलाई नै थाहा नभएको पनि हुन सक्छ । फलानो साथीसँग असहमति राखे जस्तो हुन्छ कि भनेर फरक प्रसंगमा राख्ने कुरा पनि तपाईले नराखेको हुन सक्छ । एक पल्ट मैले यस्तै अवस्था हुँदा साथीलाई फोन नै गरेर मैले तिम्रो लागि लेखेको होइन है, मिलेको मात्रै हो भनेको थिएँ ।

यस्तो कारणले तपाईले आफुलाई पटक पटक आफ्नो दृष्टिकोणलाई सम्प्रेषण गर्न रोक्नु भएको छ भने तपाई सेल्फ सेन्सरसिपको दबाबमा हुनुहुन्छ । त्यस्तै कुनै पनि भावनाले आफुले लेखिसकेको स्टाटस मेट्नु भएको छ भने तपाई सेल्फ सेन्सरसिपको मारमा हुनुहुन्छ ।

आजको लोकतान्त्रिक समाजमा सेल्फ सेन्सरसिप नदेखिने तर भयानक अवस्थामा रहेको छ ।

बुझ्नु पर्ने कुरा

मानिआएका चलन वा परिवार वा समाजले मानेको चलन भनेर ति जस्ता सुकै भए पनि स्विकारे बस्न तपाई बाध्य हुनुहुन्न । यस्ता असंख्य उदाहरण छन् कि सयौँ बर्षदेखि चलेका चलनहरु कतिपय समयसँगै खराब हुँदै आए भने कति खराब नियतले बर्षौँसम्म चलेर आए । यस्ता बिषयहरुका बारेमा बोल्न, लेख्न वा विचार पोख्न बन्द गर्नु हुन्न ।

तर यसका पनि सिमाहरु हुन्छन् । असहमत हुनु, विद्रोह गर्नु र अराजक हुनु फरक फरक कुरा हुन् । तपाई असहमत हुन सक्नु हुन्छ तर तपाईको असहमतीले दिने अन्तिम परिणाम के हुन्छ भन्नेमा तपाई सचेत हुनु पर्छ । आफुसँग विचार मिल्दैन भन्दैमा कि तपाई खराब वा कि अर्को पक्ष खराब हुन पर्छ भन्ने छैन । न एकआपसमा दुस्मन नै बन्न पर्छ ।

हो, बहसमा वा छलफलमा पहिले देखि मानेर आएका कुराहरुलाई समेत प्रश्न गर्नु पर्ला । सल्टिएका भनेर सोचेका कतिपय कुराहरु एकपल्ट फेरि गिजोलिएल्लान् तर त्यसका पनि फाइदाहरु हुन्छन् । समाजले नयाँ बाटो भेट्ला । समाज बद्लिने कुरामा तपाईको सानो वा ठुलो सहयोग होला तर यी सबै कुराहरुको पहिलो शर्त हो, सभ्य पारामा विचार राख्न पाउँने अवस्था ।

यसैले यो बुझौँ कि विचार राख्यो भने मात्रै पनि धेरै कुराहरु सामान्य बन्दै जान्छन् र समाधान हुदै जान्छन् । फरक विचारका एकअर्काबिचको व्यक्तिगत सम्बन्ध र सम्मान नगुमाम् । सभ्य भाषामा बोलौँ, लेखौँ तर बोल्न र लेख्नमा प्रतिबन्ध वा हतोत्साहित नगरौँ वा नहौँ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment