गुगलबाट तानेर फेसबुकमा लेखेर ज्ञान देखाउँनेहरु ढोङ्गी कि ज्ञानी ?

फेसबुकको टाइमलाइन चहार्दै गर्दा एकजना साथीको स्टाटस देखियो, लेखिएको थियो – ‘फेसबूकमा कसै कसैको अभिव्यक्ति हेर्दा त यस्तो लाग्छ कि ऊ भित्र असिमित ज्ञानको भण्डार नै छ । होइन रहेछ, पछि थाहा भयो उसँग त असिमित इन्टरनेट डाटा रहेछ ।’ उनले स्टाटसका पछाडी इमोजी जोडेका थिए, जसले स्टाटसहरु व्यंग्यका रुपमा रमाइलोको लागि लेखिएका हुन् भन्ने संकेत गर्थे ।

रमाइलो वा व्यंग्यका लागि लेखिएकै भए पनि उनको स्टाटसले एउटा ठुलो समूहको प्रतिनिधित्व गर्छ, जसलाई इन्टरनेटमा त्यो पनि खासगरि सामाजिक साइटहरुमा देखिने बौद्धिकताको भरोसा लाग्दैन र ति त्यस्ता बौद्धिकताहरु प्रति कटाक्ष गर्न मन पराउँछन् । मैले उनको स्टाटसलाई त्यहि प्रतिनिधि विचारका रुपमा लिएको छु ।

फेसबुक लगायतका सामाजिक साइटहरुमा हेर्दा यस्तो देखिन्छ पनि । सबै ज्ञानी र सबै इमान्दार भए झैँ देखिन्छन् । सबैमा गजबको सजगता र अचम्मको सक्रियता देखिन्छ । राष्ट्रका लागि हदैसम्मको संवेदनशिलता पनि देखिन्छ भने आवेगका आँधीहरु पनि टाइमलाइन भरि मडारिएका देखिन्छन् । म आफैले पनि फेसबुकमा अराजक देखिने मान्छेलाई वास्तविक भेटमा हदैसम्मको लचक र व्यवहारवादी भेटेको छु । यसैले मान्छेहरुले भने जस्तै ‘फेसबुकमा देखिने र वास्तविक मान्छे फरक हुन्’ भन्ने कुरा गलत होइन कि भन्ने पनि सोच्छु ।

मान्छे किन सामाजिक साइटहरुमा अराजक बन्छन् वा आफु दैनिक जीवनमा देखिने भन्दा फरक हुन खोज्छन् भन्ने बिषयमा कुनै अर्कै लेख लेखौँला । अहिले म साथीको स्टाटसले गरेको व्यंग्यलाई आफ्नो बिषय बनाउँदैछु । के वास्तवमै इन्टरनेटको असिमित डाटाले मान्छे बौद्धिक देखिए जस्तो भएको हो ? के यो ढोङ्ग मात्रै हो ? बौद्धिकताले गलत बाटो रोजेको हो ? यो लेखमा यो बारेमा कुरा गरौँ ।

सबै भन्दा पहिलो कुरा त, ज्ञान परिवर्तनशिल हुन्छ र ज्ञानका अनेक रुपहरु हुन्छन् । निरपेक्ष भनिएका ज्ञानहरु पनि समयसापेक्ष हुने चटारोमा रहेको देखिन्छ । इतिहासमा अनुपयोगी र बतासे भनिएको ज्ञान समयसँगै असाध्यै उपयोगी भएको पनि देखिएको छ । यसैले, इतिहास देखि वर्तमानसम्म मात्रै हेर्ने हो भने यो नै अन्तिम ज्ञान हो भन्नलाई मुस्किल पर्छ । अझ भविष्यको असिमित सम्भावनालाई पत्याउँने हो भने त ज्ञानलाई कुनै परिधि वा परिभाषामा बाध्नु केवल वर्तमानलाई हल्का बनाउँने प्रयास जस्तो मात्रै लाग्छ ।

देखिएको छ, ज्ञानको परिभाषा पनि फेरिने रहेछ । पहिले कण्ठस्थ पार्नु नै ज्ञानी हुनु हो भन्ने मानिन्थ्यो । कुन मानिस कति ज्ञानी छ भन्ने कुरा उसले कतिवटा वेद र पुराणहरु मुखाग्र भन्न सक्छ भन्ने कुराले निर्धारण गर्थ्यो । यसैले शास्त्रहरु लेख्दा पनि लेखिदैनन् थिए, श्रुतिमा आधारित थिए । वेद, पुराण, उपनिषदहरु लेखिएनन् । पछि यी पनि लेखिन थालिए । लेख्नुको कारण केवल ज्ञानको परिभाषा फेरिएर मात्रै होइन, वा परिभाषा फेर्नलाई मात्रै लेखिएको पनि होइन ।

समयसँगै बुझ्न थालियो कि ज्ञानलाई केवल सुनेर कण्ठस्थ पार्नेहरुका लागि मात्रै सिमित पार्नु हुदैन । लेख्न थालियो तर अझै पनि लेखेर शास्त्रलाई जोगाउँन सकिन्छ भन्ने कुरा कठिन थियो । थोरै मान्छे मात्रै लेख्न र पढ्न सक्ने थिए जसले गर्दा सिमितमात्रामा मात्रै लेखिने र पढिने थियो तर जसै लेख्ने र पढ्ने बढे अनि अझ एउटालाई हुबहु प्रतिलिपी निकाल्न सकिने गरि छापाका माध्यमहरु आए, तब ग्रन्थहरुको प्राप्यता बढ्यो । अब कण्ठस्थ नगरे पनि हुने भयो ।

र, ज्ञानीको परिभाषा पनि फेरियो, भन्न थालियो – कण्ठस्थ पारेर मात्रै त हुन्न, भाव जान्न पर्छ, चुरो बुझ्न पर्छ अनि पो ज्ञानी । ज्ञानीले मैले जानेको छु भन्नलाई कण्ठस्थ गरेर सुनाउँनु पर्ने युगको अन्त्य भयो । यसपछि संश्लेषण गर्ने युगको सुरुवात भयो । यो युगमा कण्ठस्थ गर्न पर्दैन थियो तर सकेसम्म धेरै पढेर तिनीहरु बिचको सम्बन्ध स्थापित गर्नु पर्थ्यो । बुझेको कुराको साराशं निकाल्न सक्नु पर्थ्यो । यो संश्लेषण युगमा त्यहि अनुसारका अध्ययनका दस्तावेजहरु प्रकाशित हुन थाले, जसमा आफ्नो विचारसँग पहिलै स्थापित विचारहरुको गठजोड वा भिन्नता पनि दिनु पर्थ्यो । र, दस्तावेजमा पहिले यो बिषयसँग सम्बन्धित कुन कुन विचार थिए भन्ने मैले जानेँ भन्ने देखाउँन स्रोत र साभारहरु खुलाउँनु पर्थ्यो ।

परिक्षाका तरिकाहरु पनि यो युगमा फरक किसिमका देखिन थाले । हुन त अझै पनि धेरै विश्वविद्यालय र धेरै निकायहरुले परिक्षा लिने बेलामा सबै भन्दा पुरानो कण्ठस्थ गर्ने कार्यलाई नै ज्ञानको मानक बनाएका छन् तर पनि कण्ठस्थ भन्दा संश्लेषण राम्रो भनेर खुला पुस्तक परिक्षा वा घरमै बसेर परिक्षा दिने चलन पनि व्याप्त छन् । खुला पुस्तक परिक्षामा तपाईले पुस्तकहरु साथमै राखेर पढ्दै परिक्षा दिन पाउँनु हुन्छ । तपाईलाई प्रश्न पत्र दिइन्छ जसलाई तपाईले घरैमा बसेर जवाफ लेख्न सक्नु हुन्छ । यस्ता परिक्षामा वस्तुगत भन्दा बिषयगत प्रश्नहरु हुन्छन् । अझ तपाईको विश्लेषणात्मक क्षमता परख गर्ने किसिमका ।

खुला किताब परिक्षा, घरमै बसेर दिइने परिक्षाहरुले पाएको आधिकारिकता र सूचना प्रबिधीमा भएको विकाशले ज्ञानको पुराना परिभाषाहरु भत्काएका छन् । अब तपाईले स्वयम आफुले नै संश्लेषण गरिराख्न पनि पर्दैन । चुरो कुरो यो हो भनेर चुरो पत्ता लगाउँन धेरै मिहिनेत गरिराख्न पनि पर्दैन । तपाईले कुन शब्द हानेर गुगल लगायतका सर्च इन्जिनमा खोजी गर्दा भावहरुको नतिजा देखिन्छ भन्ने थाहा भए पुग्छ । त्यसरी देखिएका जानकारीहरु सहि हुन् कि होइनन् भनेर सत्य जाँच गर्ने वेबसाइट कुन हो र त्यसलाई कसरी प्रयोग गर्ने भन्ने प्रयोग गर्न सके पुग्यो ।

झट्ट हेर्दा ज्ञान असाध्यै सजिलो भएको र जो सुकै ज्ञानी भएको ढोंग गर्न सक्ने भएको झैँ देखिन्छ । यो सत्य पनि हो तर सबै सत्यहरुले विकास रोक्न सक्दैनन् । त्यसो त कण्ठस्थ गर्नेहरुको युगमा जन्मिएकाहरुले लेखेको पढेर भाव मात्रै बुझ्दा पुग्ने युगलाई पनि ढोंगको युग नै ठान्थे । त्यस्तै, अहिले गुगलमा खोजेर भेटेको ज्ञानलाई फेसबुकमा लेख्दा इन्टरनेटको कमाल भनेर मानिसको ज्ञान र सिपलाई कम ठानिन्छ । यो एउटा युगबाट अर्को युगमा पुग्दाको संक्रमणकालिन अफ्ठ्यारो मात्रै पनि हुन सक्छ ।

ज्ञानको सुगमताले ढोंग बढाउँछ र वास्तविक ज्ञानलाई प्रदुषित गर्छ भन्ने तर्क आजको मात्र होइन । यहि तर्कले गर्दा धेरै ग्रन्थहरु आज पनि संस्कृतमा मात्रै कैद छन् । ति अन्य भाषामा पनि लेखिएर सुगम भए भने त्यो ज्ञान फराकिलो हुन्छ कि कलुषित हुन्छ भन्नेमा विवाद गर्न सायद पर्दैन । मान्छेहरुसम्म सहजै पुग्दा ज्ञानको प्रभाव बढ्ने रहेछ भन्ने त भानुभक्तले रामायणलाई नेपालीमा लेख्दा पनि पुष्टि भएको थियो र अहिले फेसबुकमा विज्ञापन गरिगरि प्रचार गरिने कुराले पनि पुष्टि गर्छन् ।

यसैले ज्ञानी हुन – १. शास्त्रहरु कण्ठस्थ पार्नु पर्ने, २. पढेर चुरो कुरा बुझ्नु पर्ने, ३. खोज्न र सत्य जाँच गर्न सक्ने हुनु पर्ने चरणहरु ज्ञानमा भएको विकाश हो । यी तिनै चरणहरु ज्ञानका साधन र दृष्टिकोणका फरक फरक संस्करण मात्रै हुन् । संस्करणहरु समय अनुसार परिमार्जित हुन्छन् । यसमा कुन सहि र कुन गलत भन्नु केवल बुद्धिबिलास र बसिबियालो मात्रै हुन सक्छ । बरु कुन मान्छेलाई तिन मध्ये ज्ञानको कुन चरण सहि लाग्छ भन्नेले तपाई कुन संस्करणको मान्छे भन्ने चै संकेत गर्छ ।

यति सैद्धान्तिक पक्ष हुँदा हुँदै पनि व्यवहारत: ज्ञानको सुगमताले बौद्धिकताको ढोंग गर्नेहरुलाई सहज भएको पनि देखिन्छ । यो समस्या आजको मात्रै समस्या होइन, कण्ठस्थ पार्ने युगमा हरफ बिर्सेका वा पाना नै नाघेर अर्को पानाबाट सुनाए पनि आममानिसले ज्ञानी हो कि होइन भन्ने छुट्याउँन सक्दैन थियो, त्यस्तै चुरो थाहा पाए पुग्ने युगमा पनि अन्यत्रबाट जस्ताको तस्तै सारेर आफैले संश्लेषण गरेको ध्वाँस दिने पनि हुन्थे भने अहिले पनि गुगल गरेर फेसबुकमा सार्दै ज्ञानी देखिनेहरु हुन्छन् । यसका लागि ‘ज्ञानी रहेछ’ भन्नु पुर्व आफुले पनि परिक्षण गर्ने पर्छ । यसैले अहिलेको समस्या ज्ञानी हो कि ज्ञानी देखियो भन्ने भन्दा ज्ञानी र ढोंगी छुट्याउँने साधनहरु छन् या छैन र त्यसको उपयोग कसरी हुन्छ भन्ने थाहा पाउँनु मुख्य हो ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment