यो लकडाउनको समयमा सामाजिक सञ्जालमा मानिसहरु पहिले भन्दा बढि सक्रिय छन् । सक्रिय नहुनुको विकल्प नभएको होइन तर सामाजिक सञ्जाल जति सरल र सहज अरु विकल्पहरु छैनन् । पुस्तक पढ्नु वा अरु रचनात्मक कुराहरु गर्नु सबैका लागि रोमाञ्चक नहुन सक्छ तर सामाजिक सञ्जाल सबैका लागि नै सहज, सरल र रोमाञ्चक छ । अझ यसमा आउँने फोटो तथा भिडियोहरुले हामीलाई बौद्धिक र विचार व्यक्त गर्ने खुराक र अवसर दिन्छन् ।
जस्तै यो तलको फोटो हेर्नुहोस् । यो फोटो अहिले लकडाउनको बेलाको नमुना फोटो हो । यो हिजो देखि मेरो फेसबुकको टाइमलाइनमा धेरै पल्ट देखिएको छ । धेरै मानिसहरुले पुलिसको ज्यादतीको बिरोध गरेका छन् तर त्यसरी बिरोध गर्नेहरु धेरैले लेखेका छन् कि यो फोटो कहाँको हो थाहा छैन तर पुलिसको काम निन्दनिय छ ।
यो फोटोको वास्तविकता के हो भन्नु पुर्व एक पल्ट ध्यान दिएर तस्विर हेर्नुहोला ।
अब फोटो खिच्नु अगाडीको पृष्ठभुमिका बारेमा कुरा गरौँ ।
१. यो मान्छे त्यसै बाइकमा हुँइकिरहेको थियो । पुलिसले रोक्यो र नजिकैको घरबाट भरि सिलिन्डर ल्याएर सजाय स्वरुप आधा घण्टा बोकेर बस्न भन्यो । यो त्यहि बेलाको तस्विर हो ।
२. यो मान्छे घरमा सिलिन्डर सकिएर खाना पकाउँने उपाय नलागे पछि सिलिन्डर साट्न बाइकमा विस्तारै पसल हेर्दै जाँदै गर्दा नयाँ ठाउँमा पुग्यो । त्यहाँका स्थानिय युवाहरुले नयाँ मान्छेको प्रवेशमा रोक लगाएका थिए । उसलाई आफैले ल्याएको सिलिन्डर बोकाएर रोड ब्लक गराएर राखे । पुलिसले आएर छुटायो । यो त्यहि बेलाको तस्विर हो ।
३. यो मान्छे घरमा सिलिन्डर सकिएर खाना पकाउँने उपाय नलागे पछि सिलिन्डर साट्न बाइकमा विस्तारै जाँदै थियो । पुलिसले देख्यो र केहि सोध्दै नसोधी यस्तो सजाय दियो । यो त्यहि बेलाको तस्विर हो ।
हरेक नम्बर अनुसार विचारहरु फरक फरक हुन्छन् । पहिलो नम्बरमा केटाकै गल्ति देखिन्छ र केटालाई बेस्मारी गाली गरिएला तर दोस्रो अवस्था भए केटाको दोष छैन र पुलिस धन्यवादको पात्र छ । तेस्रोमा पुलिसलाई गाली गरिएला । हरेक सन्दर्भमा हाम्रा विचारहरु फरक फरक हुन पुग्छ । हामी कुन सन्दर्भ रोज्छौँ भन्ने कुरा तस्विर आफैले निर्धारण गर्दैन । अर्थात, तस्विर बोल्दैन । तस्विर बोलाउँने हामीले नै हो । बरु कसरी तस्विर बोलाउँने भन्नेमा हाम्रो सत्य वा जानकारीले असर पार्छ । त्यसमाथि हाम्रो आग्रह वा पुर्वाग्रह थपियो भने त तस्विरले बोल्ने भन्दा विपरित हाम्रो विचार बन्न सक्छ । वास्तविक कुरा के हो भन्नेमा हामीलाई त्यो घटनाक्रमको सम्पुर्ण जानकारी चाहिन्छ । फोटो मात्रै हेरेर बन्ने धारणामा हाम्रो अहिलेको अवस्था, पुलिसको विगत आदिले पनि उत्प्रेरणा दिइरहेको हुन्छ ।
यसरी तस्विर वा समाचार हेरेर विचार व्यक्त गर्दा धेरै पल्ट गलत निर्णयमा पुगिन्छ । म पनि धेरै पल्ट पुगेको छु । त्यस्तोमा निर्णय बदल्नु आफ्नो कमजोरी सोच्न हुन्न । विचार बन्ने प्रक्रिया नै यसरी हो । त्यसो भए सत्य के हो त ? हामीले विचार बनाउँने कति बेला हो त ? प्रश्न जटिल बन्छ ।
एब्स्ट्रयाक चिन्तन : प्याज पुस्तकको कुनै निबन्धको कुनै प्रसंगमा निबन्धकार शंकर लामिछानेले भनेका छन्, “सत्य त्यहि हो, जे तिमीलाई थाहा छ ।” उनले सत्यलाई एकदमै सरलरुपमा भनेका हुन् । साँच्चै नै सत्य त्यति नै हो, जति तपाईलाई थाहा छ । त्यस्तै, अर्कोलाई तपाई भन्दा बढि वा कम थाहा छ भने उसका लागि सत्य तपाईको भन्दा फरक हुन सक्छ । सत्यको एउटा मात्रै रुप हुन्न । अन्तिम सत्य हुदैन र सत्य ठोस हुदैन । सत्य पानी जस्तो तरल हुन्छ । फेरिन्छ । थाहा हुदै गए पछि सत्य पनि फेरिदै जान्छन् । सत्यको यो तरलता नै सत्यको विशेषता हो ।
यसो भन्दैमा तपाईले सत्य थाहा पाउँन स्वअनुभव र स्वज्ञान हुनै पर्छ त भन्न सक्नु हुन्छ । आफुले थाहा पाएका मात्रै कुरा पत्याउँछु, अर्थोक पत्याउँदिन भनेर स्वअनुभव र ज्ञान खोज्ने एक व्यक्तिको कथामा फिल्म बनेको छ, आँखो देखा । गजबको फिल्म छ । त्यसमा एउटा पात्र छ जसले म अब देखि आफुले नदेखेका र महसुस नगरेका कुरामा विश्वास गर्दिन भन्ने अड्डी कस्छ । अब उसलाई सबै कुरा आफैले देखेर थाहा पाउँनु पर्छ । मरुभुमी तातो हुन्छ भन्ने पनि देखेर र भोगेर मात्रै थाहा हुने भो । भैसीले हान्दा दुख्छ भन्ने थाहा पाउँन पनि भैसीले आफुलाई हानेकै हुनु पर्ने भो ।
तर आजको यो युगमा यसरी सत्य थाहा पाउँन सम्भव होला र ? उहिलैको समाज जस्तो सानो क्षेत्रमा हामी खुम्चिएका छैनौँ । उहिलेको मान्छे अलिकति चलाख वा उत्सुक थियो भने उसले जीवन, जगत, राजनीति, अर्थशास्त्र, भुगोल लगायतका धेरै कुराहरुको पुर्ण ज्ञान लिन सक्थ्यो । उहि मान्छेलाई आफ्नो क्षेत्रको नक्सा बनाउँन सक्ने, कुन फलको के औषधी हुन्छ भन्ने थाहा पाउँने र कुन फल खानु हुदैन भन्ने चिन्ने लगायतका सबै कुरा थाहा हुन्थ्यो । तर अहिले त्यो सम्भव छैन । अध्ययनको तह यति सुक्ष्म र यति वृहत छ कि अहिलेको कुनै एक बिषयको ज्ञान त एकै मानिसले राख्न सक्दैन भने अहिले बिषय नै बगरमा बालुवाको गन्ति झै पुगिसके । पहिले एउटा गाउँमा च्याउ २० थरीका हुन्थे भने कसैले हेरेर सजिलै भन्दिन्थ्यो कि कुन च्याउ खान हुन्छ र कुन हुदैन । तर अहिले हामीलाई थाहा छ कि ५० हजार प्रकारका च्याउ छन् र त्यस मध्ये निकै हजार प्रकारका च्याउहरु खाएमा मरिन्छ । यसले हामीलाई कुन च्याउ खाने कि नखाने भन्नेमा बढि सजग बनाउँछ । त्यसमाथि बर्षेनी च्याउ खाएर मर्नेहरुको समाचार जुन हाम्रो गाउँ भन्दा कोसौँ पर हुन्छन्, तर तिनले पनि झस्क्याउँछन् । यो ज्ञानको अफ्ठ्यारो पनि हो । यस्तोमा सबै आफै भोग्छु भन्न सम्भव नै छैन । च्याउ त ५० हजार भन्दा बढि प्रकारका रहेछन् । अरु कति होलान् ।
के गर्ने त ? सत्य त्यस्तो अफ्ठ्यारो छ त ? सत्य आज पनि दुर्लभ छ तर विकट छैन । यसका लागि हामीले आधिकारिक स्रोतलाई विश्वास गर्नै पर्छ । धेरै जसो अवस्थामा त एक भन्दा बढि आधिकारिक स्रोत हेरेर मात्रै सत्य थाहा पाउँन सकिन्छ । यसले आफुले नै भोग्ने अफ्ठ्यारोबाट हामीलाई अलिक होलो बनाउँछ ।
र, सबै भन्दा मुख्य कुरा । मैले थाहा पाएको वा मेरो सत्य नै अन्तिम सत्य हो भन्ने अडानमा बस्नु भएन । कुनै सन्दर्भ वा जानकारी विशेष बनाएका विचारहरु परिवर्तन गर्न लचिलो बन्न पर्यो । आग्रह र पुर्वाग्रहले छुनु भएन । मान्छेका लागि विचारहरु हुन्, विचारका लागि मान्छे होइन । आफ्नो विचार राख्दै गर्दा विचार फरक परेकै भरमा विरोधी चित्रित गर्नु भएन । फरक विचार हुनु भनेको शत्रू हुनु होइन । विचार प्रति व्यंग्य वा आक्रामक हुन पाइयो तर त्यसले विचार राख्ने व्यक्तिको मर्यादा, सम्मान र स्वतन्त्रतामा दखल पुग्नु भएन ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।