यी ५ किताबहरु जसले लकडाउनको समय सदुपयोग गरेको निश्चित पार्छन्

“त्यो पात कुन रंगको छ ?” पण्डितले रुख तिर देखाउँदै शिवलाई सोधे ।

“हरियो छ ।” शिवले भने ।

“तपाईलाई किन लाग्छ कि त्यो हरियो छ ?” पण्डितले फेरि सोधे ।

“किनकी त्यो हरियो छ ।” शिवले यो पटक हासेर जवाफ दिए ।

“इन्द्रेणीमा देख्न सक्नु हुन्छ, प्रकाशमा सातवटा रंगहरु हुन्छन् ।” पण्डितले भने, “कुनै पनि वस्तुले आएको प्रकाश मध्ये जुन रंगलाई सोस्दैन वा अस्विकार गर्छ, त्यसले त्यहि रंगलाई छोड्छ र हामी त्यो वस्तु देख्छौँ ।”

“अनि ?” हरियो रंगको भनेको पात तिर निरन्तर हेर्दै शिवले सोधे ।

“त्यसो भए त्यो पात हरियो रंगको छ कि हरियो बाहेक संसारभरका सबै रंगहरुको छ ?” पण्डितले मुस्कुराउँदै भने, “जसले जुन रंग राखेकै छैन र अस्विकार गरेको छ, तपाईले त्यसलाई त्यहि रंगको भन्दै हुनुहुन्छ ।”

शिव रनभुल्लमा परे ।

अमिश त्रिपाठीको The immortals of Meluha भित्रको एउटा प्रसंगको सम्पादित अंश हो, जहाँ पण्डितले शिवलाई बिष्णु र महादेव संस्थाहरुको भुमिकाका बारेमा बताउँछन् । जति पल्ट पढे पनि र सुने पनि मज्जाको लाग्छ मलाई यो प्रसंग तर यो पुस्तकको यो नै विशेष अंश होइन । असाध्यै धेरै प्रसंग, संवाद र व्याख्याहरु छन्, जसले हामीले सोचिरहेको कुराहरुलाई नयाँ तरिकाले सोच्न बाध्य बनाउँछन् ।

अहिले यो प्रसंगलाई यहि बिट मार्दै म यो लकडाउनमा पढ्न मन पराउँनेहरुका लागि केहि किताबहरु सिफारिस गर्ने बारेमा लेखिरहेको छु । यी किताबहरु पढिसके पछि तपाईलाई लाग्ने छ कि लकडाउन भएर पनि उति खराब नै चै भएन । र, मलाई त के लाग्छ भने यी किताब पढिसके पछि मानिसको सोचाइ किताब पढ्न थाल्नु अगाडीको जस्तो रहदै रहदैन । यहाँ नम्बर दिएको केवल सूचिकृत गर्न सजिलो होस् भनेर मात्रै हो, अघिल्लो नम्बरका बढि सिफारिस गरिएको र पछिल्लो नम्बरका कम सिफारिस गरिएको भन्ने नमानिदिनुहोला ।

१. अमिश त्रिपाठीको शिव ट्रायोलोजी

अमिश त्रिपाठीले लेखेको शिव ट्रायोलोजीमा ३ वटा किताबहरु छन् अर्थात ३ वटा किताबहरु पढिसके पछि मात्रै कथा सकिन्छ । माथिको प्रसंग ट्रायोलोजीको पहिलो किताब The immortals of Meluha बाट लिएको सम्पादित अंश हो । यो ट्रायोलोजीको दोस्रो किताब The secret of the Nagas र तेस्रो किताब The Oath of the Vayuputras हो ।

यी ३ किताबमा अमिशले हिन्दु मिथकमा रहेका शिव, राम, सति लगायतलाई एउटा ऐतिहासिक समयरेखामा वर्णन गर्न खोजेका छन् । हिन्दु धर्म शास्त्रहरुमा रुचि हुनेका लागि मात्रै नभएर सबै किसिमका पाठकहरुलाई यी पुस्तकहरु उपयोगी लाग्नेछन् । यसले धर्ममा भएको लचकता, कठोरपनालाई नयाँ ढंगले वर्णन गर्छ ।

यी पुस्तकहरु अमिशले अंग्रेजीमा लेखेका थिए तर अहिले अंग्रेजी बाहेकका भाषाहरुमा पनि अनुवाद भएका छन् । हिन्दीमा यी पुस्तकहरु क्रमश : मेलूहाके मृत्युंजय, नागाऔँ का रहस्य र वायुपुत्रोंका सपथ नाममा प्रकाशित छन् । युट्युबमा Motivation 2 read च्यानलमा यी किताबहरुको वाचन चलिरहेको छ ।

फरक विचारहरुका सम्बन्धमा यो पुस्तकमा राखिएको विचार र धर्म तथा दर्शनहरुको लचक व्याख्याबारे बुझाउँने भएकाले यो किताबलाई यो सूचिमा राखेको हुँ ।

२. युभल नोआ हरारीको सेपियन्स

सजिलोको लागि युभल नोआ हरारीको सेपियन्स भनेको भए पनि यो किताबको पुरा नाम sapiens a brief history of humankind हो । सन् २०१४ मा अंग्रेजी भाषामा प्रकाशित यो पुस्तकले मानिसको उत्पति हुनु भन्दा अगाडी देखि अहिलेसम्मको विकाशक्रमलाई पछ्याएको छ । विज्ञानका र विकाशका कुरा मात्रै नभएर मानिससँग जोडिएर आउँने सम्पुर्ण कुराहरुको बारेमा उनको यो पुस्तकमा पढ्न पाइन्छ । प्रकाशन भए पछि अन्तराष्ट्रियस्तरमा असाध्यै पढिएको र तारिफ गरिएको किताब हो यो ।

धर्म, पैसा, राज्य, राजनीति, मानव अधिकार लगायतका कुराहरु मात्रै नभएर मानव समाज विकाशका लागि मान्छेले समय रेखामा के के गर्यो भन्ने कुराको सरल व्याख्या पनि छ । मानिससँग जोडिएका सामान्य देखि अति जटिल कुराहरुलाई पनि वर्तमान विम्बहरुको प्रयोग गर्दै सबैले बुझ्ने गरि भन्न सक्नु हरारीको लेखनको सफलता हो ।

मान्छे वा समाज कसरी यहाँसम्म आइपुग्यो र मानिस कता जाँदैछ भन्ने बुझ्नका लागि यो किताब सबै भन्दा उपयोगी ठानेको छु । मान्छेले जान्न खोज्ने हरेक कुरालाई एउटा किताबमा विश्वासयोग्य किसिमले लेख्न सक्नु हरारीको कलाको जति तारिफ गरे पनि कम हुन्छ । भन्नेहरुले यो किताबलाई हाम्रो समयको बाइबल वा गीता भनेका छन् र यो पढे पछि त्यो भनाइमा विमति राख्नु पर्ने कुराहरु सायदै भेटिन्छन् ।

सेपियन्सले जहाँसम्म मानिसको विकाशक्रम पछ्यायो, त्यहाँबाट सुदुर भविष्यसम्मको आंकलन उनले अर्को पुस्तक homo deus a brief history of tomorrow मा लेखेका छन् भने एक्काइसौँ शताब्दीका लागि भने उनले 21 lessons for the 21st century मा लेखेका छन् । यीनका तिनै पुस्तकहरु पठनयोग्य छन् ।

मानव सभ्यता तथा मानिससँग जोडिएर आउँने सम्पुर्णकुरालाई वर्तमान परिपेक्षमा यो किताबमार्फत हेर्न सजिलो हुने भएकाले यो किताबलाई यहाँ सूचिकृत गरेको हुँ ।

३. हर्मन हेस्सेको सिद्धार्थ

साहित्य तर्फको नोबेल पुरस्कार विजेता जर्मन लेखक हर्मन हेस्सेले लेखेको पुस्तक हो सिद्धार्थ । शिर्षक सुन्दा सिद्धार्थ गौतमको बारेमा लेखिएको किताब झै लाग्छ तर रमाइलो के छ भने कथाको सिद्धार्थ पनि उनै बुद्धको समयका पात्र हुन्, जसले बुद्धलाई भेट्छन् तर बुद्धलाई गुरु मान्न सक्दैनन् ।

यो पुस्तकलाई सुशिल शर्माले नेपालीमा अनुवाद गरेका छन् । कुनै पनि पुस्तकको नेपाली अनुवाद यतिको मिठो र सुन्दर अनुवाद कमै मात्र भएका होलान् । भाषा प्रकटीकरणमा प्रयोग भएको शब्दहरुले पुस्तकको वजनमा कुनै कमि हुन दिएको छैन ।

एउटा मानिसले बुद्धत्वप्राप्त गर्न के के गर्छ, के के भोग्छ भन्ने देखाइएको किताब पुर्विय सभ्यतासँग एकदमै निकट लाग्छ । कथानकहरुमा रहदै गरिएको जीवन र जगतको सैद्धान्तिक व्याख्याले किताबको वजन एकदमै गहकिलो बनाएको छ ।

मानिसको जीवनमा आउँने अफ्ठ्यारा, सहनशीलता र परिवर्तनका कुराहरुको औचित्य बुझ्नका लागि उपयोगी हुने भएकाले यो पुस्तकलाई यहाँ सूचिकृत गरेको हुँ ।

४. नारायण ढकालको प्रेतकल्प

यो राणाकालिन समयको नेपाली समाज र राजनीतिमा आधारित भएर लेखेको उपन्यास हो ।

राणाकालमा अन्धविश्वास र धार्मिक मान्यताहरुको गलत व्याख्या गर्दै कसरी सत्ताले त्यसको दुरुपयोग गरिरहेको थियो भन्ने देखाइएको छ । काशी गएर पण्डित भएर आएको एक युवालाई मुख्य पात्र बनाइएको उपन्यासमा पहिले कहिलै नखोलिएको नेपाली समाजको इतिहास खोतलिएको छ ।

दयानन्द सरस्वतीको सत्यार्थ प्रकाशको वैचारिक धरातलमा अडिएर त्यहि अनुसार समय बदल्न खोज्दा समाजमा देखिएको अड्चन र व्यवधानले अहिलेको नेपाली समाजलाई पनि तुलना गर्न सकिन्छ । राणाशासन सकिएर पञ्चायत र प्रजातन्त्र हुदै गणतन्त्र प्रवेश गरि सकेको समयमा पनि त्यो उपन्यास पढ्दा पुस्तक क्रान्तिकारी लाग्छ ।

नेपाली समाज बुझ्नका लागि एकदमै उपयोगी पुस्तकको प्रतिनिधी गर्दै यो पुस्तकलाई यो सूचिमा राखेको हुँ ।

५. डोरबहादुर बिष्टको भाग्यवाद र विकाश

fatalism and development शिर्षकमा पहिले अंग्रेजीमा प्रकाशित पुस्तकको नेपाली अनुवाद हो भाग्यवाद र विकाश । डोरबहादुर बिष्ट नेपालमा चर्चित समाजशास्त्री/मानवशास्त्री हुन् ।

यो किताबमा जातिय बाहुल्यता देखि नेपाली समाजमा भएको चरित्रका बारेमा लेखिएको छ । नेपाली समाजमा व्याप्त रहेको सोचाइले हाम्रो विकाशमा पारेको प्रभावका बारेमा सैद्धान्तिक व्याख्या गरिएको छ । हुन त, नेपाली समाजमा विवादित पुस्तकहरुमा पनि पर्छ यो ।

तर, फरक दृष्टिकोणले हामीले भोगिरहेको समाजको व्याख्या भएकाले पढ्नै पर्ने पुस्तकमा यसलाई समेटेको हुँ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment