“कस्ता कस्ता देशले त सकेका छैनन् । अमेरिकामा त त्यस्तो डरलाग्दो भ’को छ ।” ममीको डर आवाजमा उत्रियो र भन्नु भो, “रोगबाट बाँचे पनि धेरै दिनको लकडाउन पछि त लुटपाट र भोकमरी हुन्छ होला ।”
यो मेरो ममीको मात्रै सन्देह होइन । धेरैले रोगको समय र पछि हुन सक्ने सम्भावनाको अनुमान गरिरहेकै छन् । हामीलाई ठ्याक्कै के हुदैछ र के हुने हो भन्ने थाहा पाउँन हतार छ तर त्यो थाहा दिने स्रोतसम्म हाम्रो पहुँच भएको छैन । बरु हामी गलत र भ्रामक समाचार तथा जानकारीहरुले थप अन्यौलमा परेका छौँ ।
अहिले ठ्याक्कै के हुदैछ भन्ने जानकारी पाउँन सरकारी तथा अन्तराष्ट्रिय संयन्त्रहरुलाई विश्वास नगरी अर्को उपाय छैन । युट्युबमा आउँने षड्यन्यत्रका सिद्धान्तहरु तथा भविष्य यस्तो हुन सक्छ भन्ने जोखानाले यो चासोको सहि सम्बोधन गर्न सक्दैनन् । भोली के हुन्छ भन्ने कसैले पनि निश्चितरुपमा भन्न सक्दैन । आफुले जानेसम्मको सत्यमा आधारित भएर आंकलन गर्न सक्ने मात्रै हो । जो सत्य हुन सक्ने र सत्य नहुन सक्ने दुवै सम्भावनामा उतिकै सफल र असफल हुन सक्छ । त्यो अँध्यारोमा हानेको झटारो मात्रै हो । लाग्ला पनि र आँप झर्ला पनि वा लाग्दै नलाग्ला पनि ।
यसैले यो रोग कसरी सकिन्छ भन्ने अहिले अनुमान गर्नु असम्भव कुरा हो । अहिले लकडाउन र सामाजिक दुरी मात्रै हाम्रो लागि जीवनरक्षक विकल्प हो ।
तर सँगै हामीसँग अर्को सन्देह छ, जसलाई ममीले भन्न भयो, “रोगबाट बाँचे पनि धेरै दिनको लकडाउन पछि त लुटपाट र भोकमरी हुन्छ होला ।”
विवाद गर्ने ठाउँ त रहन्छ तर विकशित भनिएका धेरै देशहरुको तुलनामा हाम्रो जीवनशैली ‘प्राङ्गारिक’ छ वा छोटो समयमा ‘प्राङ्गारिक’ बन्न सक्छ । हाम्रोमा असाध्यै ठुलो जनसंख्या आफु स्वयमको उत्पादनले बाँच्न सक्छ । चार औँला खोसरेर बिउ हाल्दिए हामीलाई बचाउँन सक्ने अन्न उत्पादन गराउँने जमिन छ ।
विकशित भनिएका धेरै देशहरुको धरातल यस्तो प्राङ्गारिक छैन । कति मुलुकहरुसँग न उब्जनी हुने जमिन छ, न त्यो अनुसारको व्यवस्था छ । देशको असाध्यै ठुलो जनसंख्या या त सेवामुलक व्यवसायमा छ, या त निर्माणमा । अर्को अत्याउँने कुरा हो, उनीहरुले बर्षौँ पछिको कमाइ देखाएर हिजो नै ऋण लिइसकेका छन् । यो ठुलो जनसंख्या तत्कालै सेवा र निर्माण छोडेर उत्पादनमा समाहित हुन गाह्रो हुन्छ । तिनीहरुले कमाउँन बन्द गरे अर्थतन्त्र तासको महल जस्तै क्षणभरमा ढल्छ ।
अझ कुनै कुनै देशमा त्यस मध्येको ठुलो अनुपात हतियारबन्द छ । मान्छेको इतिहासले भन्छ, मान्छेले बाँच्नका लागि हतियार बनायो र जब बाँच्ने कुरा मुख्य मुद्दा बनेर आउँछ, मान्छेले अन्य सबै कुरालाई थाती राखेर हतियार उठाउँछ । यसै पनि शक्तिशाली व्यक्ति, समुह वा देश गरिब भएर बस्न सक्दैन । यो विकशित देशहरुको बिडम्बना हो । उनीहरु मान्छेलाई भन्दा व्यवसायलाई बचाउँन चाहन्छन् । मान्छेको साटो जागिर बचाउँनु खोज्नुको भित्री उद्देष्य भनेकै उनीहरुको अर्थतन्त्रको प्रभावले ल्याउँन सक्ने भद्रगोल रोक्न खोज्नु हो पनि भन्न सकिन्छ ।
हामी कहाँ फरक किसिमको दुर्भाग्य छ तर विकशित देशमा जस्तो भने छैन । हाम्रा आफ्नै खालका समस्या हुन्छन् र समाधान पनि आफ्नै खालका । अमेरिकाले त सकेन भनेर अन्त हेरेर आफ्नो खुट्टा कमाउँनुको अर्थ छैन । हामीले महाभुकम्पको समयमा पनि हैटीतिर हेरेर तर्सियौँ तर हैटीमा जस्तो केहि पनि नेपालमा भएन किनभने नेपाल र हैटीको भुगोल मात्र फरक होइन, हाम्रा अन्य धेरै सामाजिक संरचना पनि फरक छन् । हामीसँग खोस्रिएर बिउ हाल्दिदा उब्जनी हुने जमिन छ । हामीलाई मान्छे जोगाउँने कि जागिर जोगाउँने भन्ने कुरामा एउटा छान्न धर्मसंकट महसुस गर्नु पर्ने अवस्था छैन । हामी ढुक्कले भन्न सक्छौँ, पहिले मान्छे जोगाऔँ ।
यसैले कोरोना र त्यसले ल्याउँने नतिजासँग डर मानौँ तर नआत्तिऔँ । मनोबल उच्च राखौँ । मान्छेलाई माया गरौँ । अर्कालाई बचायौँ भने उसले पनि आफुलाई बचाउँछ भन्ने सोचौँ । मान्छेको ज्यान भन्दा ठुलो यो संसारमा अर्थोक केहि पनि छैन । छदै छैन ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।