अभिभावक हुनु सामान्य कुरा होइन । अभिभावकले गर्ने सामान्य कुराहरुको पनि बालबालिकका लागि त्यो महत्वपुर्ण शिक्षा बन्छ । यो कुरा धेरै अभिभावकलाई थाहा त हुन्छ तर त्यसको प्रयोगका बारेमा भने धेरैलाई थाहा नभएको हुन सक्छ । यो जानकारीको अभावको केहि पूर्ति पुरा होस् भनेर यहाँ हामीले सन्जीवन प्रधानको लेख प्रस्तुत गरेका छौँ । आशा छ, तपाईहरुलाई उपयोगी हुनेछ ।
अहिले हामी स्मार्टफोनको जमानामा छौ । प्राय सबैजना स्मार्टफोन बोक्छौ । यो आवश्यकता पनि हो, प्रयोग नगरि पनि जीवन नचल्ने भइसक्यो ।
प्रबिधीका अरु कुराहरुमा मोबाइलको प्रयोग आवश्यक छ तर हामीले मोबाइललाई फरक फरक किसिमले प्रयोग गर्न थालेका छौँ जसलाई सकभर प्रयोग नगर्दा राम्रो हुन्छ । जस्तै : अहिले अभिभावकहरु यसको प्रयोग बच्चाहरु रिसाएको बेला शान्त पार्ने एउटा अचुक अस्त्रको रूपमा गर्छन् । बच्चाहरु रुने बित्तिकै अभिभावकहरु भन्छन्,”ला बाबु, मोबाईल हेर् ।”
फलस्वरुप, बच्चा रुन छोड्छ । हाम्रो तत्कालिन आवश्यकता पुरा हुन्छ । हामी खुशी हुन्छौ । बच्चा रिसाउदा,अटेरी गर्दा,’अब यसलाई मोबाईल चाहियो होला भन्छौँ ।’ अनी मोबाइल तेर्साइ दिन्छौँ । हामीले मोबाइल दिदै गर्दा, बिस्तारै बच्चालाई मोबाईलको नराम्रो लत लाग्न थाल्छ । त्यो कुराबाट अन्जान हामी ‘मेरो बच्चाले त आफै लक खोल्न सक्छ । यूटुयुब हेर्छ’ भन्दै अचम्मित हुन्छौँ । फुर्ति पनि लगाउछौँ ।
बिस्तारै दिनहु केही समय बच्चाले मोबाईलसँग बिताउँन थाल्छ । मोबाईल नपाएको खन्डमा, उसले अनेक बहाना बनाउँछ । प्राय: सबै अभिभावकहरुले बच्चालाई मोबाईल दिइरहने हुनाले यो कुरा अभिभावकहरुलाई सामान्य लाग्छ तर त्यो सामान्य जस्तो देखिने कुराले कालान्तरमा बच्चाहरुलाई मानसिकरूपमा ठुलो आघात पुर्याइदिन्छ । यस प्रकारको बानीले गर्दा बच्चाहरुमा पर्ने मानसिक असरहरुको बारेमा डा. सेफाली साबरीले आफ्नो पुस्तक “दी कन्सस प्यारेन्ट” मा धेरै कुरा लेख्नु भएको छ ।
तिनै कुराको केही सार यहाँ पस्कदै छु ।
डा. सेफाली भन्नुहुन्छ –
अभिभावकहरुले आफ्ना सन्तानहरुलाई जहिले पनि समस्याबाट तुरुन्तै उकासी हाल्ने कार्य गर्नु हुन्न । त्यसो गरेको खन्डमा, यो सबै भन्दा घातक कार्य बनिदिन सक्छ । त्यसो गर्नुको सट्टा बरु, समस्याहरुलाई हेर्ने सकारात्मक दृष्टिकोणको बिकास गर्ने बिधी सिकाइदिनु पर्छ । समस्याहरुको समाधान, आत्मनियन्त्रण तथा आत्मपरिक्षणबाट सम्भव हुन्छ भन्ने कुरा सानै उमेरमा बुझाई दिनु पर्छ ।
आफ्ना भावनाहरुलाई बुझ्ने, तिनको चलखेलहरुलाई कसरी पहिचान गर्ने र त्यसलाई कसरी शान्त पार्ने भन्ने कुरोको बारेमा जानकारी दिनु पर्छ । रिस, झर्को, खुसी, प्रेम यि सबै मानबिय भावनाहरु हुन् । हामी भित्र यि भावनाहरुको चलखेल, उतार चढावहरु सधै भईरहन्छ । बच्चाहरुले पनि यस्तै कुरा बारम्बार महसुस गर्छन् ।
जब बच्चाहरु रिसाउछन्, तिनिहरुलाई केही समय (आफ्नो निगरानीमा राखेर, प्रत्यक्ष हस्तक्षेप नगरिकन) रिसाउन दिनुपर्छ । त्यसो गर्दा बच्चाहरुले आफुभित्र रहेको रिसको बारेमा बिस्तारै बुझ्ने मौका पाउँछन् । मैले यसलाई आँफै सम्बोधन गर्नुपर्छ र यसको समाधान आँफै खोज्नुपर्छ भन्ने चेतनाको पनि बिकास हुन्छ । हामीले बच्चा रिसाउने बित्तिकै मोबाईल फोन थमाइदिदा, उसले आफ्ना भावनालाई बुझ्ने मौका नै पाउदैन । फलस्वरूप, उसले आफ्ना आवेगहरु शान्त पार्ने माध्यम आँफै भित्र नभएर बाहिर रहेछ भनि बुझ्न थाल्छ । आफ्नो सन्तान निरास भएको बेला हामी उसलाई हत्त न पत्त अङ्गालो हाल्न कुदिहाल्छौँ ।
‘के भयो तिमीलाई ? तिमीलाई के चहियो ?’ भन्छौ । उसलाई मनपर्ने कुरो किन्न बजारतिर दौडी हाल्छौँ । यो कार्यले फेरि उसको मस्तिस्कमा अर्को कुरा भरिदिन्छ । ‘म निरास भएको बेला मलाई फकाउन कोहि न कोही आउने रहेछ’ भनेर सोच्न थाल्छ । यसले उसमा परनिर्भरताको जग बसाली दिन्छ ।
‘मैले मेरो निराशाको कारण आँफै भित्र खोज्न सक्नुपर्छ । मैले आत्मनियन्त्रण गर्दै आँफैमा खुशी हुन सक्नु पर्छ’ भन्ने भावनाले अङ्कुरितसम्म हुने मौका पाउदैन । यो कार्यले फेरि उसको मस्तिस्कमा अर्को कुरा भरिदिन्छ । उसले आफ्ना समस्याहरुको समाधान बह्य भौतिक साधनमा, परनिर्भरतामा खोज्न थाल्छ । बिस्तारै यो कुराले उसको अवचेतन मनमा जरो गाडीदिन्छ ।
जब उसले आफ्नो समस्याको समाधान बाह्य भौतिक संसारमा, सम्बन्धहरुमा पाउदैन, उ एकदिन भावनात्मक रूपमा क्षतबिक्षत बन्न सक्ने सम्भावना हुन्छ । जब त्यो पिडा असह्य हुन्छ, अन्तत उसले आत्महत्यासम्म पनि रोज्न सक्छ ।
कोही अभिभावक पनि यस्तो पक्कै नै चाहदैनन् तर नजानेर नै आफ्ना सन्तानलाई अल्पकालिन खुसीको लोभमा जीवन भरको अभिसाप दिने काम गर्छन् । कृपया आफ्नो सन्तानलाई यस्तो अभिसाप दिने काम नगरौँ ।
आफ्ना सन्तानलाई माया गरौँ । तिनिहरुको आवश्यकता पुरा गरिदिउ तर आफ्ना सन्तानलाई माया दिदै गर्दा, तिनिहरुको आवश्यकता पुरा गरिदिदै गर्दा, आँफैले आँफैलाई केही प्रश्नहरु भने अवस्य गरौँ । मैले मेरो सन्तानहरु भित्र अन्तरनिहित आत्मनियन्त्रण गर्न सक्ने क्षमता, आत्मपरिक्षण गर्न सक्ने क्षमता, अनावश्यक भौतिक सामाग्री बिना आँफैमा रम्न सक्ने क्षमताहरुलाई कतै जानी न जानी धवस्त त पारीरहेका छैनौँ ? कतै म आँफै मेरो सन्तानहरुको सबै भन्दा ठुलो शत्रु त बनिरहेको छैन ?
आशा छ, यो लेखले अभिभावकहरुलाई आफ्ना सन्तानप्रति गर्नु पर्ने व्यवहारका बारेमा थोरै भए पनि जानकारी हाशिल हुनेछ ।
सन्जीवन प्रधान एक विचारक, सेल्स तथा लिडरशिप कोच हुन् । उनले विगत लामो समयदेखि यस क्षेत्रमा सम्लग्न भई नेपालका विभिन्न संघ संस्थाहरुलाई व्यापार अभिवृद्धि, नेतृत्व विकास कसरी गर्ने भन्ने सम्बन्धमा तालिम प्रदान गर्छन् ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।
Thank you