सम्झनुस् त, मानिसको अनुहारमा हुने कुराहरु के के छन् ? नाक, आँखा, ओठ, गाला, चिउँडो, आँखीभुइँ यस्तै यस्तै कुराहरु त हुन् । विशेष अवस्थामा बाहेक सामान्यतया हरेक मानिसको अनुहारमा यीनै कुराहरु हुन्छन् तर यो सात अरब मानिसहरुमा उस्तै अनुहार भएका ७ जना भन्दा बढि हुदैनन् भनिन्छ तर ति सात जना पनि उस्तै हुन् कि भन्ने हुन्छन्, दुरुस्तै हुदैनन् । उस्तै कुराहरु मिल्दा पनि अरबौँ असमान अनुहारहरु कसरी बन्छन् होला ? अचम्म छैन त ?
अझ जीवनमा त अनुहारमा भन्दा असाध्यै धेरै संयोगहरु हुन्छन् । हरेक मानिसले फरक परिस्थिति र फरक घटनाक्रम भोग्छ । परिस्थिति, अनुभव र घटनाक्रमहरुले मानिसको जीवन व्यक्ति अनुसार फरक हुन्छ । यस्तोमा हरेक व्यक्तिका लागि मिल्ने नियमहरु बनाउँनु पक्कै पनि चानचुने कुरा होइन तर यहाँ त्यस्ता ७ नियमहरु छन्, जसले भावनात्मकरुपमा नै हरेक मानिसहरुलाई जीवनको सरलतातिर उन्मुख गराउँन सक्छन् ।
यी त्यस्ता ७ नियमहरु हुन् जसले जीवन जिउँन सजिलो बनाउँछन् । यहाँ मैले त्यस्तै ७ नियमहरु संकलन गरेको छु ।
१. आफ्नो विगतसँगको द्वन्द अन्त्य गर्नुहोस्
हामी सबैसँग विगतको कुनै न कुनै दुख हुन्छ नै । यसको अफ्ठ्यारोको मात्रा फरक होला तर हामी सबैले आफ्नो विगतको पोको कतै राखेका हुन्छौँ, जसलाई खोल्दा हामी पिडा र दुख अनुभव गर्छौँ । हामी कहिलै पनि त्यसलाई परिवर्तन गर्न सक्दैनौँ । हामी वर्तमानमा विगतसँग विभिन्न अवस्थामा द्वन्दमा हुन्छौ, जसले हामीलाई दुख भन्दा अरु केहि पनि दिदैन ।
बुझ्नु पर्ने कुरा के हो भने जीवन भनेकै अनुभुतिहरुको श्रृंखला हो । त्यसमा एक पछि अर्को जोडिएकै हुन्छ । हामीले केहि गर्न सक्ने भने वर्तमानमा मात्रै हो । विगतको तितो मेटाउँनलाई हामीले वर्तमानमा गर्न सकिने केहि उपायहरु भने यस्ता हुन सक्छन् :
– ति सबैलाई माफी दिनुहोस् जसले तपाईको विगतलाई दुखद बनाए ।
– आफैलाई माफ गर्नुहोस् जहाँ तपाईले गलत निर्णय गर्नु भयो ।
– जीवनमा जे भयो, स्विकार्नुहोस् ।
– नयाँ सुरुवातका लागि आफैलाई तयार पार्नुहोस् ।
२. मान्छेले के भन्छन् ? यो तपाईले ध्यान दिनु पर्ने कुरा होइन ।
‘मान्छेले के भन्छन् ?’ यो वाक्य असाध्यै शक्तिशाली लाग्छ मलाई, उत्तिकै दुखद, उत्तिकै हिंस्रक र उत्तिकै बिडम्बनापुर्ण पनि । कसैलाई दुख नदिए पनि र कसैको हानी नपुर्याइ पनि हजारौँ लाखौँ मानिसलाई आफ्नो जिन्दगी बाँच्न, आफ्नो रहर पुरा गर्न नदिने वाक्य हो यो ।
‘मान्छेले के भन्छन् ?’ भन्नै सोच्दै नसोची आफ्नो जीवन बाँच्न सबै स्वतन्त्र छन् र हुनु पर्छ तर आफ्नो जीवन स्वतन्त्र र चाहे जस्तो बनाउँने लहडमा अनैतिक र अमर्यादित बन्न नपुगोस्, कसैको जीवन अफ्ठ्यारोमा नपरोस्, कसैलाई कुनै किसिमको क्षति नपुगोस्, यति हेक्का चै हुनै पर्छ ।
३. तपाईको खुसीको कारण तपाई मात्रै हो
खुसी कहाँ छ ? तपाईमा । तपाईले चाहनु भएन भने संसारभरका सबै राम्रा कुराहरु पाएर पनि तपाई खुसी नभइदिन सक्नु हुन्छ । त्यस्तै तपाईले चाहनु भयो भने संसारभरका कुनै पनि कुराले तपाईको खुसीलाई रोक्न सक्दैनन् ।
हामी धेरैलाई खुसी र सुख बिचको फरक छुट्याउँन गाह्रो हुन्छ । सुख भौतिक कुरा हो । सुख पाउँन अरु कुराहरुको आवश्यकता पर्छ । तपाईलाई यात्रामा कुन कुरा भए सुख हुन्छ भन्ने कुरा छुट्याउँन गाह्रो हुदैन । पक्कै पनि हिड्नु भन्दा साइकलमा, साइकल भन्दा मोटरसाइकलमा र मोटरसाइकलमा भन्दा कारमा सुख हुन्छ । अझ कारका पनि स्तर छन् । यो सुख भन्ने कुरा तुलनात्मक हुन सक्छ तर खुसी तुलनात्मक हुदैन ।
यात्रा गर्दा पैदल हिड्दै मनका कुरा गर्दै हिड्नुमा जुन खुसी प्राप्त हुन सक्छ, त्यो खुसी महंगो कारमा एक्लै सवार भएर नहुन सक्छ । यसैले यो सफलता वा यो वस्तु प्राप्त भए पछि खुसी हुन्छु भन्ने भ्रमबाट मुक्त हुनुहोस् । खुसी आफुले आफुलाई मात्रै दिन सकिन्छ । तपाईको खुसीको कारण तपाई मात्रै हुन सक्नु हुन्छ ।
४. आफ्नो जीवनलाई अरुसँग तुलना नगर्नुहोस्
तपाई जस्तो संसारमा कोही पनि छैन । तपाईले भोगेको जस्तो जीवन संसारमा कसैले पनि भोगेको हुदैन । तपाईले जस्तो अनुभव र अनुभुति अरु कसैले गर्न सक्दैन । यसैले तपाई विशेष हुनुहुन्छ । आफुलाई वा आफुले भोगेको जीवनलाई वा आफुले पाएको सफलता वा असफलतालाई अरुसँग तुलना नगर्नुहोस् ।
तुलना गर्नु खुसीको अन्त्य हो । अझ तुलना दुखको कारण हो । जति कम तुलना गरिन्छ, त्यति दुखहरुबाट टाढा बस्न सकिन्छ । मानिसलाई उनीहरुकै रुपमा भेट्नुहोस् । कसैलाई पनि आफ्नो क्षमतासँग तुलना नगर्नुहोस् । तपाईले आफु प्रतिको अविश्वासलाई अरु प्रतिको इर्ष्या, डर, घृणा र पिडामा पुर्याउँनु हुदैन ।
५. समयले लगभग सबै कुराको उपचार गर्छ समय दिनुहोस्
तपाईले फोहोर भएको पानीलाई हेरेर चलाइराख्नु भयो भने त्यो पानी कहिलै सङ्लो हुन सक्दैन । त्यसका लागि धैर्यता चाहिन्छ र केहि समय पानीलाई नचलाइ छोडिदिनु पर्छ । अनि मात्रै फोहोर थिक्रिदै जान्छ वा सतहमा जम्मा हुदै जान्छ । फोहोर थिक्रिए पनि वा सतहमा जम्मा भए पनि त्यसलाई हटाउँन सजिलो हुन्छ ।
दुखको अवस्था भने सफा पानीमा फोहोर भए जस्तै हो । तपाईले त्यो दुखलाई हटाउँन जति हतार गर्नु हुन्छ, त्यो त्यति नै फोहोर हुदै गर्छ र त्यसलाई सङ्लिन उत्ति नै धेरै समय लाग्छ । यसैले धैर्यता लिनुहोस् । समयलाई छोडिदिनुहोस् । समयसँगै धेरै कुराहरु ठिक हुदै जान्छन् ।
६. धेरै सोच्न बन्द गर्नुहोस् किनकि सबै कुराको जवाफ पाउँन जरुरी छैन
संसारमा भएका सबै कुराहरु हाम्रो नियन्त्रणमा हुदैनन् भन्नेमा त हामी जानकार छौँ । त्यस्तै हाम्रै जीवनमा हुने कुराहरु पनि हाम्रो नियन्त्रणमा हुदैनन् । नियन्त्रणमा भएका कुराहरुप्रति हामीले गरेको निर्णय पनि सबै सहि नहुन सक्छन् । यस्तोमा हामीमा प्रश्नहरु आउँछन् । किन ? कसरी ? आदि ।
त्यस्तै सम्बन्धमा पनि विभिन्न प्रश्नहरु आउँन सक्छन् । हरेक कुराहरुबाट सुरक्षित हुन हामी सकेसम्म धेरै कुरा सोच्ने गर्छौँ । सोच्नु राम्रो हो । यसले सजग गराउँछ तर अत्याधिक सोच्नु सजगता होइन । अत्याधिक सोच्ने कुराले हामीले पाएका खुसीका अवसरहरुमा पनि सन्देह उत्पन्न हुन्छ । यसैले धेरै सोच्न बन्द गर्नुहोस् । धेरै कुराहरु हाम्रो जीवनमा आउँछन् र जान्छन् । तिनलाई त्यहि रुपमा लिनु पर्छ । अनि हाम्रो मनमा आएका सबै प्रश्नहरुको जवाफ पाउँन जरुरी पनि हुदैन ।
७. मुस्कुराउँनुहोस्, संसारका सबै समस्या तपाईका मात्रै होइनन्
यो संसारमा दुख नै नभएको को होला ? पक्कै पनि कोही हुदैनन् । किनकि हामीले सुनेका छौ, हामीले एकदमै सफल मानेकाहरुले आफ्नै जीवनबाट वाक्क भएर आत्महत्या गरेका छन् । समस्याबाट मुक्ति दिने भनेको न पैसाल हो, न सामर्थ्यले हो, न प्रसिद्धिले हो । समस्याबाट मुक्ति पाउँने आफैले मात्र हो ।
संसारमा सबै मानिसमा समस्या हुन्छन् । समस्याका आकार र प्रकार साना ठुला र फरक होलान् तर समस्या नभएको मानिस कतै पनि हुदैन । यसैले आफुले मात्रै समस्या भोगिरहेको भन्ने भ्रमबाट मुक्त हुनै पर्छ । ति सबै कुरा बिर्सिएर मुस्कुराउँनै पर्छ ।
भनाइ छ नि, केहि सेकेन्ड मुस्कुराउँदा तस्विर सुन्दर बन्छ भने धेरै समय मुस्कुराउँने हो भने जीवन कति सुन्दर बन्थ्यो होला ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।