८ भ्रमहरु जसले खुसी हुनबाट रोक्छ, तपाई कुनै भ्रममा त हुनुहुन्न ?

यो लेख आफैमा पनि पुर्ण लेख हो । यसलाई बुझ्नका लागि तपाईले अघिल्लो लेख पढिरहन जरुरत भने छैन तर तपाईको जानकारीका लागि मैले यो भन्नै पर्छ कि यो लेखको आधार भने उज्यालो पाटोमा यो भन्दा अगाडी प्रकाशित लेख हो । त्यो लेख पढ्नु भयो भने यो लेखले त्यसले सुरुवात गरेको सन्दर्भलाई थप बलियो र प्रस्ट बनाउने छ ।

त्यो लेखमा मैले एउटा प्रेरक कथालाई विशेष रुपमा लेखेको थिएँ । त्यो कथा तपाईले भिन्न रुपमा पहिले सुनिसकेको पनि हुन सक्छ तर पुन: पढ्दा र यो प्रसंगमा जोडिएर फेरि विवेचना गर्दा पनि अर्थपुर्ण नै लाग्ने गर्छ । त्यहि कथालाई निष्कर्षमा लेख्दै गर्दा मैले खुसीका भ्रमहरुका बारेमा लेखेको थिएँ, जसलाई म थप व्याख्या र स्पस्ट पार्न यो लेख लेख्दैछु ।

तर सबै भन्दा पहिले यो शिर्षकको अर्थ स्पष्ट हुन जरुरी छ । त्यो के भने खुसीका भ्रमहरु भन्नाले यहाँ कसैले भने जस्तो संसार निराशाजनक छ, दुखको खाडल हो तर हामी यहाँ कुनै मायामोहमा फसेर खुसी भएको भ्रममा छौँ भन्ने होइन । बरु उल्टो यो लेखको अर्थ हो, हाम्रो जीवन खुसीपुर्ण छ र रंगीन छ तर हामीलाई परम्परागतरुपमा यस्ता केहि भ्रमहरु छन् जसले यो रंगीन र खुसीपुर्ण जीवनलाई खुसी हुनबाट रोकिराखेको छ । यहाँ मैले ति भ्रमहरु मध्ये ८ वटा भ्रमहरु लेखेको छु । आशा छ, यसले कसैको जीवनलाई आमुल परिवर्तन नगरे पनि मानिसलाई थोरै विचार बनाउन भने योगदान दिन सक्नेछ ।

यदि तपाईलाई यो लेख उपयोगी लाग्छ भने कृपया सेयर गर्न कन्जुस्याइ नगर्नुहोला । उज्यालो पाटोमा म जीवन उपयोगी जानकारीहरु समेट्ने प्रयासलाई सँधै कायम राख्ने छु । तपाईको लाइक, सेयर जस्ता कुराले सन्तुष्टी र हौशला दुवै दिनेछ । अब बिषय प्रवेश गरेर बुँदागत कुरा गरौँ ।

भ्रम नम्बर १ : सहि विवाहले अनन्त खुसी दिन्छ ।

विवाहले खुसी दिन्छ । अझ भनौँ, सहि विवाहले खुसी दिन्छ र गलत मानिससँग विवाहले दुख र पिडा मात्रै दिन्छ । यो समाजले मानिआएको कुरा हो । यसैले सहि मानिसको छनौट गर्नका लागि समाजमा विभिन्न किसिमका उपायहरु छन् । तर अध्ययनले यो कुरा देखाएको छैन । अध्ययनका अनुसार मानिसले आफ्नो सहि जोडी भेटेमा उ साँच्चै नै खुसी हुन्छ तर विवाहको दुई बर्ष सम्म मात्रै यो अवस्था रहन्छ । दुइ बर्ष पछि उसको खुसीको अवस्था विवाह भन्दा अगाडीको अवस्थामा नै फर्किन्छ ।

यस्तै जोडी विचको समानता वा राम्रो जोडी भनेर उनीहरु बिच हुने खराबीका कुराले छुट्याउदैन । जस्तै कतिको विवाद हुन्छ वा हुदैन भन्ने कुराले उनीहरुको सम्बन्धको मजबुती नाप्न सक्दैन । बरु एकजनाको खुसीको कुरामा अर्को कति खुसी हुन्छ भन्ने कुराले उनीहरुको जोडी कति मजबुत छ भन्ने जानकारी दिन्छ ।

भ्रम नम्बर २ : आफुले चाहेको जागिर गर्न पाए काममा खुसी मिल्छ ।

यो पनि विवाहको कुरा जस्तै हो । अझ भनौँ, जागिर पाएको खुसी त विवाहको जति लामो समय पनि रहदैन । एउटा भनाइ छ, “मान्छेले पहिले जागिर चाहन्छ र त्यस पछि सबै कुरा चाहन्छ ।” यो एकदमै व्यवहारिक भनाइ हो । वास्तवमै मानिस सुरुमा जागिर पाएको, अझ भनौँ, आफुले पाएको जागिर पाएमा एकदमै खुसी हुन्छ तर जब उ काम थाल्छ, तब उसले त्यसमा आएका झमेला र व्यवहारिक अफ्ठ्यारोहरु थाहा पाउन थाल्छ । यसले विस्तारै उसको खुसी घटाइदिन्छ ।

केहि समय पछि प्राय मानिसहरु जो आफुले चाहेको काम नै गरिरहेका हुन्छन् वा त्यो काम पाउँदा खुसी भएका हुन्छन्, उनीहरु त्यो भन्दा फरक काम वा आफु भएको पद भन्दा अझै ठुलो पदका आशामा आफुले अनुभव गरेको खुसीलाई घटाइरहेका हुन्छन् ।

भ्रम नम्बर ३ : धेरै तलबले धेरै खुसी दिन्छ ।

केहि समय धेरै तलबले खुसी दिन्छ । पछि पछि पनि अरु मानिसहरु जसको तलब आफ्नो भन्दा कम छ, उनीहरुसँग कुरा गर्दा आफ्नो तलबले खुसी बनाउन सक्छ तर यो सँधै रहदैन । मानिस विस्तारै आफ्नो कमाइ अनुसार खर्च बढाउन थाल्छ र अझै धेरै खर्च गर्ने क्षमता चाहन्छ । त्यसका लागि उसको तलब केहि कम हुन पुग्छ । जसले गर्दा उ खुसी भइराख्न सक्दैन ।

भ्रम नम्बर ४ : भव्य घर खुसीको कारण बन्छ ।

नेपाल जस्तो देशमा त यो सबै भन्दा ठुलो भ्रम हो । भव्य घर बनाउने चाहनामा धेरै मानिसहरु बर्षौँसम्म प्यारा मान्छेहरु, आफ्नो जमिन छोडेर विदेशिएका छन् । उनीहरु बाहिर गएर ज्यान हत्केलामा राखेर कमाउछन् तर देशमा उनीहरुले गर्ने भनेको भव्य घर बनाउने नै हुन्छ । जसले गर्दा कमाएको अधिकतम पैसा यसमै सकिन्छ र उनीहरु दैनिक जीवनका खर्च पनि धान्न नसक्ने अवस्थामा पुग्छन् ।

भव्य घरले खुसी दिने भ्रममा धेरै मानिसहरु धनी देखिने लहडमा छन् । यो भ्रम चिर्न पहिले धनी देखिनु भन्दा धनी हुनु ठुलो कुरा हो भन्ने बुझ्नु पर्छ । धनी देखिने र खुसी भइने भ्रममा मानिसहले खुसीको सट्टामा दुख पाइरहेका छन् ।

भ्रम नम्बर ५ : तपाईले ठुलो लक्ष्य हाशिल गर्नु भयो भने तपाई खुसी बन्नु हुन्छ ।

एउटा उद्देष्य बनाउने । त्यसलाई हाशिल गर्न हदैसम्मको प्रयास गर्ने । अनि उद्देष्य हाशिल गरेर खुसी भएर बस्ने । यो आममानिसको भ्रम हो । यो भ्रमका लागि धेरै मानिसले वर्तमानको खुसीलाई कम आँकिरहेका हुन्छन् । उनीहरु वर्तमानमा हुन सक्ने खुसीलाई पन्छाएर भविष्यको त्यो सफलता पछिको खुसिका लागि समय विताइरहेका हुन्छन् तर व्यवहारमा एकदमै कम मानिसले मात्रै आफ्नो लक्ष्य हाशिल गर्छन् । धेरै जसो लक्ष्यमा पुग्नै सक्दैनन् । जो पुग्छन्, ति पनि त्यहि कारणले सँधै खुसी भइराख्न सक्दैनन् ।

यो कुरा पहाड चढे जस्तै हो । एउटा पहाडको टुप्पोमा पुगे पछि देखिन्छ कि चढ्न बाँकी अर्को झन् ठुलो पहाड पनि रहेछ । चढ्दै गर्दा छेलिएको मात्रै रहेछ । लक्ष्य पनि त्यस्तै हो । मानिसको लक्ष्य जीवन रहुञ्जेल रहिरहन्छ । यसैले कहिलै नसकिने लक्ष्य पाए पछि खुसी होइन्छ भन्नु भ्रम मात्रै हो ।

भ्रम नम्बर ६ : आफ्ना बालबच्चा हुर्कदै गए पछि हरेक दिन खुसीयाली बन्छ ।

बालबच्चा साना हुञ्जेल सबैलाई त्यस्तै लाग्छ कि यी हुर्किएर आफ्नो जिम्मेवारी आफैले लिन सके, आफु खुसी भइने थियो तर जब तिनले आफ्नो जिम्मेवारी लिन थाल्छन्, तब मेरो पनि जिम्मेवारी लिइदिओस् भन्ने लाग्छ तर सन्तानको आफ्नै बाध्यता, आवश्यकता र प्राथमिकता हुन्छन् जसले गर्दा तपाईसँग ति कुराहरु नमिल्न सक्छन् । यसले खुसी पक्कै दिदैन ।

भ्रम नम्बर ७ : दुख र अफ्ठ्याराहरुले खुसी घटाउँछन् ।

धेरैलाई लाग्छ, मेरो जीन्दगीमा अफ्ठ्यारा र दुखहरु छन्, जसले मलाई खुसी हुन दिएनन् । यी सबै कुरा मिले पछि म खुसी हुन्छु । तर, यसो भन्दा भन्दै आयु सकिन्छ तर मानिसलाई उमेर र समय अनुसार दुख र अफ्ठ्याराहरुले भने छोड्दैन । तर अध्ययनले भन्छ, मानिसहरु जति सुकै दुख र अफ्ठ्याराहरुबाट गुज्रिनु परे पनि त्यो लामो समय रहदैन । कार दुर्घटनामा परेर खुट्टा गुमाएको मानिस पनि केहि समय पछि आफ्नो दैनिक जीवनमा फर्किन्छ र त्यति बेला उसको खुसीको अवस्था दुर्घटना पहिलेकै तहमा हुन्छ ।

भ्रम नम्बर ८ : एउटा उमेरमा पुगे पछि खुसी हुने उमेर नै सकिन्छ ।

उल्लासपुर्वक जीवन बिताइरहेका मानिसहरु प्राय: जसो यस्तो विचार राख्ने गर्छन् । उनीहरुको दाबी हुन्छ कि पछि उमेर बिते पछि जीवनमा रमाइलो गर्ने कुरा केहि हुदैन । यसैले उमेर छँदै रमाइलो गरिहाल्नु पर्छ । तर यो भ्रम मात्रै हो । अध्ययनले भन्छ, माथिल्लो उमेर समुहका मानिसहरुको खुसीको तह कम उमेरका मानिस जस्तै हुन्छ र कतिपयको त्यो त्यो भन्दा धेरै बढि । किनभने उमेरसँगै उनीहरुको सहने क्षमता बढेको हुन्छ र सानातिना कुराहरुले उनीहरुको खुसीलाई हानी गर्दैन ।

त्यसो भए खुसी कसरी भइन्छ त ? यो बारेमा तपाईले उज्यालो पाटोमा अघिल्ला केहि लेखहरुमा पढिसकेको हुन सक्नु हुन्छ । खुसी हुने सहि समय भनेकै वर्तमान हो र खुसी हुने कारण भनेकै आफुमा सन्तुष्ट हुनु हो र परिस्थितिलाई स्विकार्नु हो ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment