‘भन्नलाई सजिलो छ तर परे पछि मात्रै थाहा हुन्छ’ यो यस्तो भनाइ हो जसलाई धेरैले आफुले कति बेहोरिरहेको छु भन्ने प्रमाणित गर्न प्रयोग गर्छन् । मैले मेरो जिन्दगीमा बेहोरेको दुख र अफ्ठ्यारो तिमीले भोगेका छैनौँ त्यसकारण यति सजिलै भन्दिन्छौ भनेर कसैको मुख टाल्न सायद यो निकै महत्वपुर्ण वाक्य हो ।
कसैले आफ्नो भोगाइलाई साह्रै ठुलो ठान्नु अनौठो कुरा पनि होइन, तर मेरो मात्रै भोगाइ वा मेरो मात्रै दुख संसारकै ठुलो हो भन्नु चै भ्रम मात्रै हो । तर यो भ्रम सबैमा नै रहन्छ । संसारमा एकदमै थोरै मानिसले मात्रै यो दुख धेरैलाई पर्छ, मलाई पनि पर्यो भनेर सामान्यीकरण गर्न सक्छन् । कतिपय अवस्था त यस्तो पनि हुन्छ कि दैनिक जीवनमा आइपुर्ने झमेला र अफ्ठ्याराकै कारण मानिस आफुलाई निर्बल, असक्षम र कम महत्वपुर्णको सम्झिन थाल्छ तर मानिसले बिर्सिन्छ कि कसैको जीवनमा दुख र अफ्ठ्यारो मात्रै हुदैन । कहिलेकाँही झमेलाहरुले मानिसका राम्रा पक्ष र सबलतालाई छोपिदिएको हुन्छ ।
यसो त तपाई कति महत्वपुर्ण र सक्षम हुनुहुन्छ भन्ने धेरै कुराहरुले संकेत गरिरहेका हुन्छन् । हुन सक्छ, तपाईले चाहे जस्तै कुराहरुको तपाई प्राथमिकतामा नपरेको हुन सक्नु हुन्छ तर त्यसको अर्थ यो होइन कि तपाई कसैको पनि प्राथमिकतामा पर्नु हुदैन । खाली दृष्टिकोण बदल्नु पर्ने मात्रै पनि हुन सक्छ । आज यो लेखमा म ति कुराहरुका बारेमा लेख्दैछु जसले तपाईलाई तपाईको सक्षमताका बारेमा जानकारी दिन्छन् । तपाईले ति संकेतहरुलाई कम आँक्नु भएको हुन सक्छ । म ति संकेतहरुमा लागेका पर्दालाई खसाउने प्रयास गर्नेछु ।
१. के गर्नु पर्छ भन्ने होइन, के गरेँ भन्ने सूचि बनाउनुहोस्
स्विकार्नुहोस् कि गर्नु पर्ने कामको ताँती देखेर कहिलेकाँही त मुटु फुट्ला जस्तो हुन्छ नि ! करिअरको लागि गर्नु पर्ने कुराहरु, परिवारका लागि गर्नु पर्ने कुराहरु, समाजका लागि गरिदिनु पर्ने कुराहरु अनि अफिसका लागि नगरी नहुने कुराहरु । साँच्चै नै आत्याउँने गरिका सूचि हुन्छन् जीवनमा । यी कुराहरु मात्रै सोचियो भने आफुले केहि गर्न नसकेको र जीवन त्यसै खेर गइरहेको जस्तो भावना आउँनु सामान्य कुरा हो ।
कतिपयले तनाव कम गर्न गर्नु पर्ने कामहरुको दैनिक सूचि बनाएका पनि हुन्छन् तर यो जति नै सकारात्मक भए पनि एक पक्षिय कुरा भयो । तपाईको जीवनमा गर्नु पर्ने कामको सूचिले मात्रै सकारात्मक भाव दिदैन, बरु के के गरियो भन्ने कामको सूचिले झन् धेरै सकारात्मक बनाउछ । यसैले त्यस्ता कामहरुको सूचि बनाउनु होस् । ति सूचिमा ठुला काम मात्रै राख्न पर्दैन । साना कामहरुले पनि गरेका काम र तपाईले लगानी गर्नु भएको समयको दस्तावेज बनाउँछन् । यसमा तपाईले बिजुलीको बिल तिरेदेखि कुकुरका लागि खाना दिएको सम्म काम राख्न सक्नु हुनेछ । सक्दो सूचि लामो बनाउनुहोस् ।
२. युट्युबमा हेर्छु भनेका फिल्महरु नबिर्सनुहोस्
टिभी हेरेर बस्नु तथा अनलाइनमा फिल्म हेरेर बस्नु कसरत गराउने गुरुहरु तथा सिर्जनशील हुनु पर्छ भन्ने कलाकार तथा व्यवसायीहरुको नजरमा समयको बर्बादी मात्रै होला । तर त्यो त उनीहरुको इच्छाको बिषय हो । त्यसले तपाईको इच्छा पुरा नगर्न सक्छ र तपाईलाई ति कुराहरु प्रति चासो र जाँगर नहुदा आफु झन् कमजोर भए जस्तो अनुभुति गराउन सक्छ । यसैले ति प्रेरणादायी कुराहरुलाई अलिकति पर धकेल्नुहोस् र युट्युबमा हेर्छु भनेर राखेका फिल्महरु हेर्नुहोस् ।
ति फिल्म हेर्न समय दिदै गर्दा याद गर्नुहोला, तपाईले आफ्नो लागि समय निकालेर आफुलाई खुसी बनाउदै हुनुहुन्छ । तपाई आफुलाई खुसी बनाउन सक्षम हुनुहुन्छ । त्यो भन्दा अर्थोक के चाहियो जीवनमा । यसै पनि अरुका लागि केहि दिनु भन्दा पहिले आफु भरिएको हुनै पर्छ । आफुसँग हुदै नभएको कुरा अरुलाई दिनै सकिदैन ।
३. फेसबुकबाट एकछिन छुट्टी लिनुहोस्
सामाजिक साइटको कहिलै नसकिने जस्तो टाइमलाइनलाई घिसार्दा घिसार्दा अनि अनेक मानिसहरुको बनावटी खुसी देखिदा कहिलेकाँही आफ्नो मात्रै जीन्दगीमा केहि नभएको जस्तो महसुस गर्छ । त्यस्तै, को नजिकको र को अलि टाढाको भन्ने पनि छुट्याउन गाह्रो हुन्छ । यसैले फेसबुक लगायतका सामाजिक साइटबाट एकछिन छुट्टी लिनुहोस् । वास्तवमै आफ्ना कति साथी छन् भन्ने छुट्याउनुहोस् । यसले आफ्नो वास्तविक जीवनमा नियाल्नका लागि सहयोग पुर्याउँछ । कम साथी भए केहि छैन, साथी बनाउन के गर्नु पर्छ भनेर खोजी गर्नुहोस् ।
३. लाजसरमको चक्रबाट निस्कनुहोस्
आफ्नो जीवन माया, खुसी र महत्वका लागि कति उल्लेख्य छ भन्ने थाहा पाउनका लागि सबै भन्दा पहिले लाज र पश्चाताप बिचको फरक थाहा पाउनु पर्छ । लाज र पश्चाताप फरक फरक कुरा हुन् । मैले खराब काम गरेँ भन्नु पश्चाताप हो तर म खराब हुँ भन्नु लाजसरम हो । पश्चातापले तपाईलाई सुधार्न भुमिका खेल्छ तर लाजसरमले तपाईलाई भित्रैदेखि खोक्रो बनाउँछ ।
हुन त यी दुवै भावनाहरु मानिसका लागि असाध्यै मानविय र स्वभाविक भावनाहरु हुन् । फरक यति हो कि पश्चाताप उत्पादनशील भावना हो । पश्चातापले तपाईलाई सकारात्मकरुपमा फेरिनका लागि र आफ्नो असफलतालाई सफलतामा बदल्न सहयोग गर्छ । तपाईले कुनै काम खराब गर्नु भयो भने सुधार्नु होस् र अगाडी बढ्नुहोस् । जब यो समस्या समाधान हुन्छ तब थाहा पाउनुहुन्छ कि समस्या समाधानमा तपाई कति सक्षम हुनुहुन्छ ।
४. बिषाक्त साथी र आफन्तलाई पाखा लाउनुहोस्
तपाईको कुनै साथी छ, जसलाई समस्या सुनायो भने जवाफ नै दिदैन ? सिर्जनशीलताका कुरा गर्यो भने उल्टै उडाउँछ ? आफन्त छन्, जो पैसा मात्रै माग्छन् र तपाईको अफ्ठ्यारो बुझ्दैनन् ? तपाईले गर्न लागेका कुराप्रति नकारात्मक धारणा मात्रै राख्छन् ? यस्तो अवस्था छ भने ति बिषाक्त साथी र आफन्तहरुलाई पाखा लाउनुहोस् ।
तपाईका सबै कुराप्रति समर्थन गर्नु पर्छ भन्ने छैन । तपाईको कमीकमजोरी हटाएर त्यसलाई झन् राम्रो बनाउन आलोचना गर्नु राम्रो हो तर केवल नकारात्मक कुराले मात्रै त्यो गर्न सक्दैन । यो कुरा तपाईलाई पनि थाहा हुन्छ तर ति साथी र आफन्तलाई कसरी टाढा पार्ने भन्ने बारेमा तपाईलाई अफ्ठ्यारो लागिरहेको हुन सक्छ । आँट गरेर कुशलतापुर्वक ति मानिसहरुलाई पाखा लाउनुहोस् । यसले निरन्तर तपाईलाई नकारात्मक पाटो मात्रै देखाउनेहरु तपाईको जीवनबाट कम हुन्छन् र तपाईले आफ्नो सक्षमता पनि देख्न पाउनुहुनेछ ।
५. प्रंशसालाई लेख्नुहोस्
मान्छेको स्वभावजन्य कुरा हो कि कसैले भनेका नराम्रा कुरा लामो समयसम्म दिमागमा रहन्छ तर कसैले गरेको तारिफ वा प्रशंसा चाँडो समयमा नै दिमागबाट हट्छन् । यसले गर्दा आफ्नो दिमागमा केवल अरुबाट पाएका नकारात्मक गाली तथा आरोपहरु धेरै रहन्छन् भने प्रशंसाका कुराहरु कम हुदै र हराउँदै जान्छन् । यसको प्रभाव तपाईको मनस्थितिमा नै पर्छ । धेरै यस्ता कुराहरु थुप्रिदै जाँदा तपाई आफुले आफुलाई नै कम महत्वको सम्झिन थाल्नु हुनेछ । यसैले प्रशंसा नबिर्सनुहोस् । लेख्नुहोस् । ति कुराहरु सम्झिरहदा आफ्नो महत्व छ भन्ने कुराको पुनरावृति भइरहन्छ ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।