किन सत्य बोल्न, देख्न र बुझाउँन गाह्रो हुन्छ तर झुठ सजिलै पत्याइन्छ ?

अंग्रेजीमा एउटा भनाई छ – झुठले संसारको दुई फन्को लगाइसक्दा सत्य घरबाट निस्कन भर्खर जुत्ताको तुना कस्दै हुन्छ । यसको अर्थ हुन्छ – सत्य ढिलो गरि एक ठाउँबाट अर्को ठाउँ पुग्छ तर झुठको फैलावटको गति तिव्र हुन्छ । वास्तवमा के कारणले सत्य सँधै अफ्ठ्यारो र दुर्लभ हुन्छ अनि झुठ सजिलो र सहज हुन्छ ?

यसको जवाफ रोचक छ र मानविय पनि । रोचक यो अर्थमा कि यसलाई भिन्न भिन्न किसिमले व्याख्या गर्न सकिन्छ । लामो वा छोटो आलेख तयार पार्न सकिन्छ । मानविय यो कारणले छ कि यो प्रक्रियामा कतै पनि पिण्ड र तौल वा आद्रता र प्रकाशको गति कुनै पनि कुराको असर हुन्न । असर हुन्छ त केवल मानविय क्षमता र विशेषताहरुको । त्यस्तै सत्य र ज्ञानको विशेषता तथा कमजोरीले पनि यसमा भुमिका खेलेको हुन्छ । स्वयम सत्यकै सिमितताले सत्यलाई बेला बेला कमजोर बनाइदिन्छ ।

यसबारे सामाजिक सञ्जाल फेसबुकमा एउटा कथा भेटेको छु । कथा यस प्रकार छ : उहिल्यै उहिल्यैको कुरो हो । एक दिन सत्य र झुठको भेट भयो । झुठले सत्यलाई भन्यो, “आज बढो रमाइलो घमाइलो दिन छ । सँगै खेलौँ ।” हुन पनि त्यो दिन अद्भुत नै थियो । हेर्दै राम्रो । चुपचाप बस्नै मन नलाग्ने किसिमको । सत्यले झुठको कुरा नकार्ने कारण थिएन । दुवैले धेरैबेर प्रकृतिमा डुल्दै खेल्दै रमाए । डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा इनार नेर पुगे । झुठले सत्यलाई फकायो, “उखर्माउलो गर्मी छ । हिड्दा हिड्दा असिनपसिन नै भइयो । अब इनारमा पसौँ र मज्जाले नुहाऔँ ।”

यसमा पनि सत्यले नकारेन । दुवैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनारभित्र डुबुल्की मारे । केही बेर इनारमा नुहाएपछि झुठ कुनै बहाना बनाएर इनारबाट बाहिर निस्क्यो । आफ्ना लुगा पोको पारेर बोक्यो । आफु भने सत्यका सबै लुगा लगाएर हिड्यो । झुठले आफ्ना लुगा लगाएर हिंडेको चाल पाएपछि पनि सोच्यो कि झुठ जिस्किरहेको छ तर झुठ निकै बेरमा पनि फर्किएन ।

त्यसपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर बाहिरिएर झुठलाई खोज्न निस्कियो । उ झुठलाई खोज्दै निकै परसम्म पुग्यो । मानिसहरुले उसको कुरा सुन्दै सुनेनन्, बरु नाङ्गै हिँडेको सत्यलाई देखेर दुनियाँले नाक खुम्चाए, दुत्कारे र सत्यतर्फ हेर्दै नहेरी अर्कातिर मुन्टो बटारे । सत्यले कसै गरे पनि झुठलाई भेटेन । न उसले कसैको सहयोग नै पायो । बिचरा सत्य, फेरि उही इनारमा फर्केर पानी भित्र लाज लुकाउन सदाको निम्ति गायब भयो ।

अनि झुठ त्यसबेला देखि नै सत्यको भेषमा संसारभर घुमेको घुम्यै छ । सत्यको आवरणमा ढाकिएको उसलाई सबैले मन पराएका छन् । नग्न सत्यको रुपलाई समाजले स्विकार्न चाहेको छैन । त्यसैले नग्न सत्य गायब छ । लुकी राखेकै छ । वास्तवमा सत्यको समस्या नै यहि हो । सत्यलाई पहिरन वा आवरणका आधारमा छुट्याउँन सकिदैन । भन्न त भनिन्छ, आवरण जस्तो भए पनि सत्य सँधै पुज्य हुन्छ तर व्यवहारिकरुपमा यो एकदमै कठिन हुन्छ । सत्य भन्दा झुठमा, कृत्रिम नै भए पनि चमक बढि हुन्छ । झुठसँग तर्क बढि हुन्छ ।

ज्ञान नै सत्य हो तर यो विविध हुन्छ : वास्तविक सत्य भनेको ज्ञान हो । सत्य सँधै आफुले बनाएको सत्यताको जगमा उभिएको हुन्छ तर सत्यताको जग समय र मानिस अनुसार फरक फरक हुन पुग्छ किनभने जब सत्य फैलिन्छ तब मानिसहरुले त्यसलाई आफ्नो किसिमको व्याख्या मिसाइदिन्छन् । मिसिएको व्याख्याले सत्य सुन्ने र थाहा पाउँनेहरुले आफ्नो क्षमता अनुसार बुझ्छन् । ज्ञान परिवर्तन हुन्छ । अझ आफ्नो स्वार्थको हिसाबले मानिसहरु ज्ञान र सत्यलाई तोडमरोड पनि गर्दिन्छन् । यसैले उहि सत्य पनि मानिस र समय अनुसार फरक पर्दै जान्छ ।

समय बढ्दै जाँदा र मानिसहरुको सत्य बुझ्न सक्ने क्षमताको कारणले सत्य प्राय जसो टुक्रा टुक्रामा विभक्त भएको हुने गर्छ । यो लगभग राम्ररी नसमात्दा खसेर फुटेको सिसाका टुक्राहरु जस्तो हुन्छ । यसैले सिंगो सत्य टुक्रिएर साना साना सत्यहरुमा बाडिन्छन् । जब सत्य टुक्रिएर छिन्न भिन्न हुन्छ, तब कसैले पनि थाहा पाउँन गाह्रो हुन्छ कि सिंगो सत्य नै आफुले थाहा पाएको हो वा त्यो कुनै सत्यको भाग मात्रै हो । ति सम्पुर्ण टुक्राहरु जोडिएर सिंगो सत्यका बारेमा थाहा नभए टुक्रा सत्यहरुले झन् झुठ फैलाउँछन्, अफवाह फैलाउँछन् । यहि कुरालाई ध्यानमा राखेर भनिएको हो, अल्पज्ञानम् भयंकरम् अर्थात आधा अधुरो ज्ञान डरलाग्दो हुन्छ । आधा अधुरो ज्ञानले घमण्ड बढाउँछ । जानकारी भएको भ्रम दिन्छ जसले झन् सत्यबाट विमुख गराउँछ ।

उदाहरणका लागि एउटा सन्दर्भ हेरौँ । दुई जना साथी थिए । एउटा साथीले कतैबाट पैसा चोरेर ल्याएको थाहा पाएर अर्को साथी रिसायो । रिसाएको साथीले आफ्नो साथीले चोरेको पैसा खोसेर जसको हो उसैलाई फिर्ता गरिदिने भन्ने सोच्यो । तर चोरेर ल्याएको साथीले प्रतिकार गर्यो । रिसाएको साथीले पिटपाट पारेर पैसा खोस्यो र जसको हो उसैलाई बुझाउँन हिड्यो । अब यो सन्दर्भलाई कसैले देख्यो । उसले दुईसाथीहरु बिचमा भएको सम्पुर्ण कुरा सुनेन तर यति मात्रै देख्यो कि रिसाएको एउटा साथीले अर्को साथीलाई पिटेर उसको पैसा खोसेर हिड्यो । यति थाहा पाउँनेले त पक्कै पनि रिसाउँने साथीलाई गलत देख्छ तर सत्य फरक हो ।

हुन त मानिसले गजबका साधनहरु बनाएको छ जसले टुक्रिएका सत्यहरुलाई जोड्छ र एउटा सत्य निकाल्छ तर अफवाहरुमा भर परेर सिंगो सत्य निकाल्न सकिदैन । सबै मानिसहरुसँग त्यस्ता साधन र स्रोतहरुसम्म पहुँच हुदैन । यसैले सत्य पत्ता लगाउँनु मानिसहरुको लागि सबै भन्दा कठिन कार्य हो किनभने देखिएका वा सुनिएका सबै कुराहरु सत्य नहुन सक्छन् । सत्य पत्ता लगाउँन हिडिएको बाटो र प्रयोग गरिएको साधनले सत्य पत्ता लगाउँछ भन्ने निश्चितता पनि हुदैन । त्यस्तै सत्य यति धेरै संवेदनशिल र जटिल हुन्छ कि यसका लागि असाध्यै बलियो धैर्यता, फराकिलो ज्ञानको आवश्यकता हुन्छ जुन सबैसँग हुदैन । त्यसमाथी सामान्य अवस्थामा आधाअधकल्चो सत्यले अफवाह मात्रै फैलाउँछ । अफवाहले सत्यलाई झन् कच्पल्ट्याउँछ । यसैले सत्य बोल्न, देख्न र बुझाउँन गाह्रो हुन्छ तर झुठ सजिलै पत्याइन्छ । झुठ पत्याउँनका लागि पुर्ण ज्ञान आवश्यक हुदैन । अझ त्यसमा तडकभडक थपिदिने हो भने सत्य परालमा लागेको आगो भन्दा चाँडो फैलन्छ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment